वैकल्पिक उपचारविधिका
वैकल्पिक उपचारविधिका
उदाहरणहरू
“चिकित्सकहरू र वैकल्पिक औषधोपचारका उपचारकहरूबीच उच्चस्तरीय वार्तालाप भएको खण्डमा मात्र वैकल्पिक उपचारविधि अपनाउने बिरामीहरूले राम्रो स्वास्थ्य सेवा पाउन सक्छन्।”
माथिको भनाइ नोभेम्बर ११, १९९८ को द जर्नल अफ दी अमेरिकन मेडिकल एसोसिएशन-मा (जामा) छापिएको थियो। उक्त लेखमा यसो भनिएको थियो: “स्वास्थ्य बिमा सुविधाहरूले वैकल्पिक उपचारविधिलाई समावेश गर्न थालेपछि यसको प्रयोगसँगसँगै यस्तो [वार्तालापको] खाँचो पनि बढ्नेछ भन्ने आशा गर्न सकिन्छ।”
अत्याधुनिक उपचारसँगसँगै वैकल्पिक उपचार गर्ने बिरामीहरूको संख्या पनि बढ्दैछ। यद्यपि, कोही कोही भने आफूले अपनाइरहेको उपचारविधिबारे
चिकित्सकलाई नभनी चुपो लागेर बस्छन्। त्यसैले, अप्रिल २००० को टफ्ट्स युनिभर्सिटी हेल्थ एण्ड न्युट्रिशन लेटर-ले यस्तो आग्रह गऱ्यो: “एक्लैले गुपचुपमा नगरी डाक्टरलाई त्यसबारे बताएर सहयोग गर्नुभयो भने सबैभन्दा राम्रो हुन्छ।” त्यसले अझै यसो भन्यो: “चिकित्सकलाई तपाईंको उपचारविधि स्वीकार्य होस् या नहोस् तिनलाई यसबारे बताउँदा तपाईंकै भलाइ हुन्छ।”आधुनिक औषधी र कुनै कुनै जडीबुटी एकै चोटि प्रयोग गर्दा स्वास्थ्य खतराहरू हुने सम्भावना भएकाले यो जानकारी दिनुपरेको हो। आफ्ना बिरामीहरूमध्ये कतिपयले वैकल्पिक उपचारविधि अपनाएका हुन्छन् भन्ने बुझेर स्वास्थ्य पेसेवरहरूले आफ्नै धारणामा मात्र बढी जोड नदिएर बिरामीको फाइदाको लागि वैकल्पिक उपचार पनि गर्ने मदत दिन्छन्।
थुप्रै मुलुकमा वैकल्पिक उपचारविधि प्रयोग गर्नेहरूको संख्या बढिरहेको हुँदा हाम्रा पाठकहरूलाई तीमध्ये केहीको छोटो विवरण यहाँ प्रस्तुत गरेका छौं। तर नबिर्सनुहोस्, ब्यूँझनुहोस्!-ले यहाँ उल्लिखित वा अन्य प्रकारको चिकित्सा उपचारै प्रयोग गर्नुपर्छ भन्न खोजेको होइन।
जडीबुटी उपचार
वैकल्पिक उपचारमध्ये सबैभन्दा लोकप्रिय यही होला। शताब्दीयौंदेखि औषधीको रूपमा जडीबुटी प्रयोग गरिए तापनि वैज्ञानिकहरूले गहन अध्ययन गरेका वनस्पतिहरूको संख्या सीमित छ। अनि सुरक्षा र प्रभावकारिताको दृष्टिकोणले विस्तृत अध्ययन गरिएका वनस्पतिहरूको संख्या झनै कम छ। जडीबुटीहरूबारे प्रायजसो जानकारी त्यसको विगतको प्रयोगमा आधारित छ।
तथापि, सामान्य निराशा, ढल्कँदो उमेरले गर्दा स्मरणशक्तिमा ह्रास अनि प्रोस्ट्रेट ग्रन्थिको सामान्य उपचारमा कुनै कुनै जडीबुटी प्रभावकारी भएको थुप्रै वैज्ञानिक अध्ययनहरूबाट पत्ता लागेको छ। त्यसरी अध्ययन गरिएको एउटा जडीबुटी ब्ल्याक कोहोश हो र यसलाई ब्ल्याक स्नेकरुट, बगबेन वा राटलरुट पनि भनिन्छ। अमेरिकी आदिवासीहरूले रजस्वला हुँदाको पीडा र सुत्केरी-बेथा कम गर्न यसको जरा उमालेर प्रयोग गर्ने गर्थे। अप्रिल २००० को हाभर्ड विमेन्स हेल्थ वच-अनुसार हालैका अध्ययनहरूले जर्मन बजारमा बिक्री गरिने गुणस्तरीय ब्ल्याक कोहोशबाट तयार पारिएको साधन, “रजस्वला हुन बन्द भएपछि देखा पर्ने लक्षणहरू कम गर्न” प्रभावकारी हुनसक्ने देखियो।
कृत्रिम औषधीहरूभन्दा यी जडीबुटीहरू सुरक्षित
हुन्छन् भन्ने धारणाले गर्दा पनि त्यस्ता प्राकृतिक उपचारविधिहरूको माग बढेको हुनसक्छ। हुन त हो, तर कुनै कुनै जडीबुटीसँगसँगै अरू औषधी पनि सेवन गर्ने गरेको छ भने त्यसको प्रतिकूल असर हुनसक्छ। उदाहरणका लागि, श्वासप्रश्वास गर्न गाह्रो हुँदा र वजन घटाउन अत्यधिक प्रयोग गरिने एउटा जडीबुटीले रक्तचाप र मुटुको धड्कन बढाउनसक्छ।साथै, बिरामीलाई अत्यधिक रक्तस्राव गराउने जडीबुटीहरू पनि छन्। “रगत पातलो गर्ने” कृत्रिम चिकित्सा औषधीसँगसँगै यी जडीबुटीहरू प्रयोग गर्दा गम्भीर समस्याहरू हुनसक्छन्। मधुमेह वा उच्च रक्तचापजस्ता गम्भीर स्वास्थ्य समस्या भएका वा अन्य औषधी सेवन गरिरहेका व्यक्तिहरू जडीबुटीको प्रयोग गर्दा होसियार हुनुपर्छ।—सँगैको पेटी हेर्नुहोस्।
जडीबुटी औषधी प्रयोग गर्दा चिन्ताको अर्को विषय, त्यसको उत्पादन गुणस्तर कायम गर्न नसक्नु हो। हालैका वर्षहरूमा ती उत्पादनहरूमा घनत्व बढी भएका धातु र अन्य प्रदूषकहरू पाइयो। साथै, कुनै कुनै जडीबुटी उत्पादनहरूमा लेबलमा भनेजस्तो तत्त्वहरू एकदमै कम वा पटक्कै नभएको पनि पाइयो। यी उदाहरणहरूले यस्ता जडीबुटी र अन्य स्वास्थ्य सामग्रीहरू राम्रो नाउँ चलेको तथा भरपर्दो स्रोतबाट किन्नुपर्ने महत्त्वलाई प्रकाश पार्छ।
भोजन सहायकहरू
भिटामिन र खनिजजस्ता भोजन सहायकहरू रक्तअल्पता अनि हाडसम्बन्धी रोगको उपचार र कुनै कुनै जन्मदोष रोक्नसमेत उपयोगी साबित भएको रिपोर्ट पाइन्छ। सरकारको मापदण्डबमोजिमको भिटामिन तथा खनिजहरू सेवन गर्नु सुरक्षित तथा उपयोगी मानिन्छ।
अर्कोतर्फ, कुनै कुनै रोग उपचारको लागि दिइने तीन थुप्रो भोजन सहायकहरू स्वास्थ्यको लागि हानिकारक हुनसक्छ। यसले गर्दा अरू पोषण लिन वा त्यसको कार्यसञ्चालनमा अवरोध खडा गरेर घातक प्रतिकूल असरहरू हुनसक्छन्। यसो हुनसक्ने सम्भावनाका साथै भिटामिनको अत्यधिक प्रयोगले फाइदा नै गर्छ भन्ने ठोस प्रमाण भेटिएको छैन भनेर बिर्सनु हुँदैन।
होमियोप्याथी
सन् १७०० को दशकमा लोकप्रिय अन्य उपचारहरूको तुलनामा राम्रो र भरपर्दो उपचारको रूपमा होमियोप्याथीको उत्पत्ति भएको हो। होमियोप्याथी “फलामले फलाम काट्छ” र औषधीको मात्रा एकदमै कम प्रयोग गर्ने सिद्धान्तमा आधारित छ। होमियोप्याथी उपचारमा निवारक तत्त्व एकदमै न्यून मात्रामा प्रयोग गरिन्छ र कहिलेकाहीं त मूल तत्त्वको एउटा अणुसमेत बाँकी रहँदैन।
जे होस्, प्लासिबोको तुलनामा होमियोप्याथी उपचार दम, एलर्जी वा बच्चाहरूलाई पखाला लाग्दा निको पार्न केही हदसम्म प्रभावकारी भएको पाइयो। होमियोप्याथी औषधीमा हुने तत्त्वहरू कडा नहुने हुँदा यो सुरक्षित नै हुन्छ। मार्च ४, १९९८ को जामा-मा प्रकाशित एउटा लेखले यस्तो टिप्पणी गऱ्यो: “यही रोग हो भनेर निदान नभएका पुराना रोगीहरूको लागि होमियोप्याथी उपचार महत्त्वपूर्ण र उपयोगी हुनसक्छ। ठिक्क मात्रामा प्रयोग गरेको खण्डमा होमियोप्याथीलाई आधुनिक औषधीको ‘परिपूरक’ मान्न सकिन्छ।” तथापि, ज्यानै जान सक्ने आपत्कालीन अवस्थामा भने आधुनिक चिकित्सा उपचार प्रयोग गर्नु नै बुद्धिमानी हुनसक्छ।
काइरोप्राक्टिक
हड्डी मिलाएर उपचार गर्ने वैकल्पिक उपचारविधिहरू पनि थुप्रै छन्। विशेष गरी, अमेरिकामा अत्यधिक प्रयोग गरिने वैकल्पिक उपचार, काइरोप्राक्टिक हो। यो उपचार मेरुदण्डका हाडहरूको ठाउँ सऱ्यो भने त्यसलाई मिलाएर उपचार गर्ने सिद्धान्तमा आधारित छ। त्यसकारण, काइरोप्राक्टरहरू बिरामीको हड्डी मिलाउन मेरुदण्ड चलाउन पोख्त हुन्छन्।
आधुनिक औषधीहरूले तल्लो ढाड दुखेको निको पार्छ नै भन्ने छैन। अर्कोतर्फ, काइरोप्राक्टिक उपचार गरेका बिरामीहरूले निकै सन्चो महसुस गरेको कुरा बताएका छन्। काइरोप्राक्टिक उपचारविधिले दुखाइबाहेक अन्य बिसन्चो निको पारेको प्रमाण विरलै पाइन्छ।
यसको उल्लेखनीय पक्ष के हो भने, निपुण उपचारकले हड्डी मिलाएको खण्डमा प्रतिकूल असर पर्ने सम्भावना एकदमै कम हुन्छ। यद्यपि, घाँटी
मऱ्याकमुरुक गर्दा हृदयघात र पक्षघातजस्ता गम्भीर खतरा हुनसक्छ भनेर बिर्सनु हुँदैन। यस्तो खतरा कम गर्न कोही कोही विशेषज्ञ त्यसरी हड्डी मिलाउनु सुरक्षित होला कि नहोला भनेर विस्तृत स्वास्थ्य परीक्षण गर्ने सुझाउ दिन्छन्।मालिस
प्रायजसो सबै संस्कृतिले मालिस गर्दा हुने फाइदाहरू बुझेको छ। बाइबलमा समेत यसको प्रयोगबारे बताइएको छ। (एस्तर २:१२) नोभेम्बर ६, १९९९ को ब्रिटिश मेडिकल जर्नल-ले (बी एम जे) यस्तो टिप्पणी गऱ्यो: “परम्परागत चिनियाँ तथा भारतीय स्वास्थ्य सेवामा मालिस प्रविधिहरूको महत्त्वपूर्ण भूमिका छ। पर हेन्रिक लिङले १९ औं शताब्दीको प्रारम्भतिर युरोपेली मालिस प्रणालीलाई व्यवस्थित गरे अनि यो अहिले स्वीडेली मालिसको नाउँले चिनिन्छ।”
भनिन्छ, मालिस गर्दा मांसपेशीहरू लचकदार हुन्छन्, रक्तसञ्चार राम्रो हुन्छ अनि तन्तुहरूमा जम्मा भएका विषादीहरू निष्कासन गर्न मदत मिल्छ। अचेल डाक्टरहरू ढाड दुखेको, टाउको दुखेको अनि पाचन समस्याहरू निको पार्न पनि मालिस गर्ने सुझाउ दिन्छन्। मालिस गरेका कतिपय व्यक्तिहरू यसले गर्दा तिनीहरूलाई निकै सन्चो भएको बताउँछन्। डा. सान्ड्रा म्याकलानाहानका अनुसार “८० प्रतिशत जति रोगबिमार तनाउले गर्दा हुन्छ अनि मालिसले तनाउ कम गर्छ।”
बि एम जे-ले यस्तो रिपोर्ट गऱ्यो: “प्रायजसो मालिस प्रविधिहरूको प्रतिकूल असर अत्यन्तै न्युन हुन्छ। मालिस गर्नु उपयुक्त छैन भन्ने तर्क प्रायजसो आफ्नै सामान्य ज्ञानमा (उदाहरणका लागि, पोलेको ठाउँमा घर्षण नगर्ने वा रगत जमेको नसामा मालिस नगर्ने) निर्भर हुन्छ . . . क्यान्सर रोगीहरूलाई मालिस गर्दा रोग फैलिएको कुनै प्रमाण पाइँदैन।”
“मालिस, झन् झन् लोकप्रिय हुँदै गएकोले मालिस गर्नेहरू कत्तिको भरपर्दो अनि निपुण हुन् भनी जान्न बिरामीहरू उत्सुक छन् र हुनु पनि पर्छ” भनी अमेरिकन मसाज थेरापी एसोसिएशनका भूतपूर्व अध्यक्ष इ. युस्टन लिब्रुनले टिप्पणी गरे। बि एम जे-ले “बिरामीहरूलाई ती मालिस गर्ने व्यक्तिहरू सही निकायमा दर्ता भएका व्यक्तिहरू हुन् कि होइनन्” भनी पक्का गरेको खण्डमा गलत उपचारबाट जोगिन सकिन्छ भन्ने सल्लाह दियो। गत वर्षको एउटा रिपोर्टले अमेरिकाका २८ वटा प्रान्तमा यी मालिस गर्ने व्यक्तिहरूले अनुमति पत्र प्राप्त गरेको कुरा बतायो।
अकुपंक्चर
अकुपंक्चर पनि एक प्रकारको निवारण प्रविधि हो र संसारभरि नै लोकप्रिय भएको छ। “अकुपंक्चर”
शब्दले थुप्रै प्रविधिलाई बुझाउनसक्छ तर सबैजसोले मसिना सियोहरू दुखेको भागमा घोचेर निको पारिने प्रक्रियालाई संकेत गर्छ। गत केही दशकमा गरिएको अनुसन्धानले देखाएअनुसार स्नायु प्रणालीलाई असर गर्ने एन्डोर्फिनजस्ता तत्त्वहरू निष्कासन गर्न अकुपंक्चरले मदत गर्छ। फलतः पीडा र सुजन कम हुन्छ।कुनै कुनै अनुसन्धानले देखाएअनुसार थुप्रै प्रकारका स्वास्थ्य समस्याहरू उपचार गर्न अकुपंक्चर प्रभावकारी भएको हुनसक्छ र बेहोस पार्न प्रयोग गरिने अन्य रासायनिक पदार्थहरूभन्दा यो सुरक्षित साधन हो। विश्व स्वास्थ्य संगठनले १०४ प्रकारको स्वास्थ्य समस्याको उपचारमा अकुपंक्चर गर्न सकिने बतायो। अनि अमेरिकाको राष्ट्रिय स्वास्थ्य संस्थानले रोजेको एउटा निकायले शल्यक्रियापछिको पीडा, मांसपेशीको दुखाइ, रजस्वला हुँदाको पीडा, केमोथेरापी वा गर्भवती हुँदा चक्कर र वाकवाकी लाग्ने समस्या कम गर्न अकुपंक्चर उपयोगी भएका प्रमाणहरू उल्लेख गरे।
अकुपंक्चरका घातक प्रतिकूल असरहरू नभए तापनि उपचार गरिएको भाग कडा हुने, लाटो हुने वा चसक्क घोचे जस्तो अनुभूति हुनसक्छ। संक्रमण हुनसक्ने खतरा कम गर्न सियोलाई जीवाणुमक्त गर्नुपर्छ वा सियोलाई एक चोटि मात्र प्रयोग गरेर फ्याँक्नुपर्छ। धेरैजसो अकुपंक्चर उपचारकहरूसित रोग निदान गर्ने वा अन्य उचित उपचारविधि अपनाउन सुझाउ दिन हुनुपर्ने चिकित्सा योग्यता हुँदैन। विशेष गरी, गम्भीर लक्षणहरू कम गर्न अकुपंक्चर गर्ने हो भने यस्तो अयोग्यता बेवास्ता गर्नु बुद्धिमानी हुनेछैन।
अनगिन्ती विकल्पहरू छन्
माथि उल्लिखित विवरणहरू कुनै कुनै मुलुकमा वैकल्पिक उपचारविधि भनिने थुप्रै उपचारविधिमध्ये केही मात्र हुन्। भविष्यमा यीमध्ये कुनै कुनै र यहाँ छलफल नगरिएका उपचारविधि पनि सामान्य हुनेछन् जुन कुरा संसारको कुनै कुनै ठाउँमा भइसक्यो। अरू कतिपय भने प्रयोग गर्न बन्द होलान् वा बदनाम होलान्।
दुःखको कुरा, बाइबलले बताएझैं पीडा र दुःखकष्ट मानव जीवनको अभिन्न भाग हो: “सारा सृष्टि पनि साथसाथै पीड़ाले सुस्केरा हाल्दै प्रसव वेदनामा अहिलेसम्म परेको छ भनी हामी जान्दछौं।” (रोमी ८:२२) अतः मानिसहरूले छुटकारा पाउने आशा राख्नु स्वाभाविकै हो। तर हामी कसको मदत माग्न सक्छौं? कृपया यहाँ दिइएका केही टिप्पणीहरू विचार गर्नुहोस् र यसले चिकित्सा उपचार छनौट गर्नुअघि मदत पुऱ्याउनसक्छ।
[पृष्ठ ८-मा भएको पेटी/चित्र]
औषधीसँगसँगै जडीबुटीको प्रयोग—यसका खतरा के के हुन्?
बेग्लाबेग्लै औषधीहरू एकै चोटि सेवन नगर्नू अनि औषधी सेवन गरिरहेको बेला मद्यपान नगर्नू भनेर जनसाधारणलाई बारम्बार चेताउनी दिइएको छ। के डाक्टरको औषधीसँगसँगै कुनै कुनै जडीबुटी सेवन गर्नु खतरनाक हुनसक्छ? यो चलन कत्तिको सामान्य छ?
द जर्नल अफ दी अमेरिकन मेडिकल एसोसिएशन-मा प्रकाशित लेखले “डाक्टरको औषधीसँगसँगै जडीबुटीहरूको प्रयोगबारे” बतायो। त्यसमा यसो भनिएको थियो: “चिकित्सकको औषधी नियमित तवरले लिने ४४% वयस्कहरूमध्ये ५ जनामा १ (१८.४%) जनाले एक प्रकारको जडीबुटी, भिटामिनको अत्यधिक मात्रा वा दुवै एकै चोटि सेवन गर्ने गरेको पाइयो।” त्यसो गर्नाको सम्भाव्य खतराबारे थाह पाउनु महत्त्वपूर्ण छ।
कुनै कुनै खास प्रकारको जडीबुटी सेवन गर्नेहरू, बेहोस गर्नुपर्ने उपचारविधि अपनाउँदा पनि होसियार हुनुपर्छ। अमेरिकन सोसाइटी अफ एनेस्थेसियोलोजिस्टका अध्यक्ष, डा. जोन नेल्डले यसो भने: “जिन्सेङ र सेन्ट जोन्स वर्टजस्ता प्रख्यात जडीबुटीले गर्दा रक्तचाप एकदमै तलमाथि हुनसक्ने थुप्रैले अनुभव गरेका छन्। बेहोस अवस्थामा यो अत्यन्तै खतरनाक हुनसक्छ।”
उक्त डाक्टरले अझ यसो भने: “गिंको बिलोबा, अदुवा र फिभरफ्युजस्ता जडीबुटीहरूले रक्तस्राव रोक्ने प्रक्रियामा बाधा पुऱ्याउनसक्छ र यो विशेष गरी एपिड्युरल एनेस्थेसियामा खतरनाक हुन्छ किनभने मेरुदण्ड नजिकै रक्तस्राव भयो भने पक्षघातसमेत हुनसक्छ। सेन्ट जोन्स वर्टले लागू पदार्थ वा एनेस्थेटिक औषधीहरूको असरलाई चर्काउन पनि सक्छ।”
स्पष्टतः कुनै कुनै जडीबुटी र औषधीहरू एकै चोटि सेवन गर्दा हुनसक्ने खतराबारे थाह हुनु अत्यावश्यक छ। यसरी जडीबुटी र औषधी एकै चोटि सेवन गर्दा आफ्नो बच्चामा पर्नसक्ने हानिबारे गर्भवती र सुत्केरी आमाहरूलाई विशेष गरी थाह हुनुपर्छ। तसर्थ, बिरामीहरूले वैकल्पिक या अन्य जुनसुकै उपचार गरिरहेका हुन्, स्वास्थ्य सेवा कार्यकर्ताहरूसित छलफल गर्नु बेस हो।
[पृष्ठ ७-मा भएको चित्र]
स्वास्थ्य समस्याहरूको उपचारमा कुनै कुनै जडीबुटी मदतकारी ब्ल्याक कोहोश
भएको छ
सेन्ट-जोन्स-वर्ट
[स्रोत]
© Bill Johnson/Visuals Unlimited
[पृष्ठ ७-मा भएको चित्र]
राम्रो परिणामको लागि बिरामी तथा स्वास्थ्य सेवा पेसेवरहरू एकअर्कासित मिलेर काम गर्नुपर्छ