सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कपर केन्यनमा यहाँलाई स्वागत छ

कपर केन्यनमा यहाँलाई स्वागत छ

कपर केन्यनमा यहाँलाई स्वागत छ

मेक्सिकोस्थित ब्यूँझनुहोस्‌!-का लेखकद्वारा

उत्तरी मेक्सिकोको सिएरा माद्रे ओक्सिदेन्तल नाउँले चिनिने पर्वतमालामा अवस्थित कपर केन्यन प्रकृतिको अद्‌भुत रचना हो र यसले झन्डै कोस्टा रिका जत्रो इलाका अर्थात्‌ ५०,००० वर्ग किलोमिटरको क्षेत्रफल ओगटेको छ।

तथापि, यो नाउँ अलि अलमल्लमा पार्ने खालको छ। कपर केन्यन मात्र एउटा केन्यन अर्थात्‌ घाटी होइन तर २० वटा घाटीहरूको श्रृंखला हो। यीमध्ये एउटा कपर केन्यन हो र यसैबाट सम्पूर्ण घाटीको नाउँ रहन गएको छ। अन्वेषक रिचर्ड फिशरअनुसार यहाँका तीनवटा घाटीहरू संयुक्‍त राज्यको ग्राण्ड केन्यनभन्दा पनि गहिरा छन्‌। a

कपर केन्यनको विस्तारित इलाकाको कारण अधिकांश पर्यटकहरू घाटीका थुप्रै अग्ला ठाउँहरूमध्ये केहीमा मात्र जानसक्छन्‌। यी ठाउँहरूबाट कपर, सिनफोरोसा र उरिके घाटी निकै सुन्दर देखिन्छन्‌। तथापि, कसै कसैको विचारमा शानदार दृश्‍य दिभिसादेरोबाट अझ राम्ररी देख्न सकिन्छ। किनकि यो ठाउँबाट कपर, उरिके र तारारेक्वा घाटीहरूलाई एकै चोटि देख्न सकिन्छ।

विभिन्‍न थरिका हावापानी

पहाडहरूको उचाइ एक्कासी बढ्‌ने हुँदा कपर केन्यनको हावापानी र वनस्पतिलाई यसले असर गरेको छ। मिगेल ग्लीसन र तिनको समूह उरिके केन्यनबाट तल्तिर झर्दा तिनले पहिलो पटक यो कुरा याद गरेका थिए। मेखिको देस्कोनोसिदो पत्रिकामा तिनी लेख्छन्‌: “हामीलाई गर्मी लाग्न थाल्यो र सल्लाका जंगलहरू हराउन थाले भने उष्ण प्रदेशमा पाइने वनस्पति जस्तै: केरा, आभोकाडो र सुन्तलासमेत पाउन थालियो। हामीले त पत्याउनै सकेनौं। सारांशमा भनौं भने, म यति छिटो र यति कम दूरीमा चिसो जंगलबाट न्यानो उष्ण प्रदेशतिर अहिलेसम्म पुगेको थिइनँ।”

घाटीका उच्च पठारहरू सल्लाका १५ थरी प्रजाति र फलाँटका २५ थरी प्रजातिले ढाकेका छन्‌। कपर केन्यनमा सिसौ र धूपीका रूखहरू पनि पाइन्छन्‌। गृष्मऋतुमा पर्वतमालाभरि थरीथरीका फूलहरू ढकमक्क फुलेकै हुन्छन्‌ र यीमध्ये कतिपय फूलहरूलाई ताराउमारा भनिने स्थानीय बासिन्दाहरूले खाद्यान्‍न वा प्राकृतिक औषधीको रूपमा प्रयोग गर्छन्‌। समुद्री सतहभन्दा १,८०० मिटरमाथिको उचाइमा पर्वतमालाको हावापानी सधैं एकैनासे नभई वर्षभरि नै कहिले न्यानो त कहिले चिसो भइरहन्छ। हिउँदमा फर्रफुर्र पानी परिरहन्छ भने कहिलेकाहीं त हिउँ पनि पर्छ।

यात्रुहरू पर्वतबाट तल झर्दै गर्दा तिनीहरूले विभिन्‍न थरीका रूखहरू देख्छन्‌ र क्याक्टस देखा पर्न थाल्छ। अझै मुनि झर्दा उष्ण हावापानी भएको ठाउँमा पुगिन्छ र त्यहाँ हिउँदको तापक्रम अर्थात्‌ औसतन १७ डिग्री सेल्सियस भएकोले हावापानी रमाइलो खालको छ। यसको विपरीत, गृष्मऋतुमा यहाँको तापक्रम ३५ देखि ४५ डिग्री सेल्सियसमा घटबढ भइरहने र खोलाहरू एकदमै बढ्‌ने गरी प्रशस्त वर्षा हुने भएकोले यहाँ बसिनसक्नुहुन्छ।

यस इलाकाको सुन्दरता दुइटा भव्य छहराहरूले गर्दा झनै चुलिएको छ। संसारका अग्ला छहराहरूमध्ये एक पियाद्रा बोलादा हो र यो ४५३ मिटरमाथिबाट झर्छ र बासासेआचेकचाहिं २४६ मिटरमाथिबाट झर्छ।

वन्यजन्तुको आश्रयस्थल

कपर केन्यन विभिन्‍न वन्यजन्तुहरूको बासस्थान हो। भनिन्छ, मेक्सिकोमा दर्ता भएका स्तनधारी जन्तुहरूमध्ये ३० प्रतिशत त यहीं नै पाइन्छन्‌। यिनमा कालो भालु, पुमा, ओंत, सेतो पुच्छर भएको मृग, मेक्सिकाली ब्वाँसो, बनेल, बे लिंक्स, राकुन, ब्याजर र पाटे स्कंकलगायत चमेरा, लोखर्के र खरायो आदि पर्छन्‌।

सुनौलो चील र पेरेग्रिना बाजलगायत करिब ४०० प्रजातिका चराहरूले पनि कपर केन्यनमा आफ्नो गुँड बनाएका छन्‌। यी घाटीहरू उत्तर तथा मध्य अमेरिकाबीच रहेकोले हिउँद छल्न यहाँ चराहरू आउने जाने गरिरहन्छन्‌। अन्य कतिपय भने आफ्नो यात्रालाई कायमै राख्न यहाँ केही समय बास बस्ने पनि गर्छन्‌।

कपर केन्यनको श्रेय अवश्‍य पनि प्रकृतिको सम्पूर्ण अद्‌भुत रचनाका स्रष्टा यहोवा परमेश्‍वरलाई नै जान्छ। एक पटक राजा दाऊदले वर्णन गरेझैं: “हे परमप्रभु, महानता, शक्‍ति, महिमा, गौरव र वैभव तपाईंकै हुन्‌। किनभने स्वर्ग र पृथ्वीमा भएका सबै कुरा तपाईंकै हुन्‌।”—१ इतिहास २९:११.

[फुटनोट]

a उरिके केन्यन १,८७९ मिटर गहिरो छ; सिनफोरोसा केन्यन १,८३० मिटर गहिरो छ र बातोपिलास केन्यन १,८०० मिटर गहिरो छ। ग्राण्ड केन्यन लगभग १,६१५ मिटर गहिरो छ।

[पृष्ठ १८-मा भएको पेटी/चित्र]

रेलबाट हेर्दा

चिहुआहुआ-प्यासेफिक रेलवे सं.रा.-मेक्सिकोको सिमानामा ओजिनागाबाट सुरु भएर कपर केन्यन हुँदै प्रशान्त महासागरको छेउ, तोपोलोबाम्पोको तटसम्म ९४१ किलोमिटर लामो छ। यहाँको भूसंरचनालाई विचार गर्दा यो रेलमार्गलाई इन्जिनियरिङ क्षेत्रको साहसिक कार्य मान्‍न सकिन्छ। यात्राको क्रममा रेलले लगभग ३७ वटा ठूला पुलहरू तर्छ। सबैभन्दा लामो पुल फुएर्ते नदीमाथि बनेको छ र यो ५०० मिटर लामो छ। चिनिपास नदीमाथि बनेको पुल सबैभन्दा अग्लो पुल हो र यो नदीबाट ९० मिटर माथि छ।

रेलले ९९ वटा सुरुङ पनि पार गर्छ। सबैभन्दा लामो सुरुङ अल देस्कान्सो हो र यो १,८१० मिटर लामो छ। रेल यात्राको दौडान पनि पर्यटकहरूले कपर केन्यनका मनमोहक दृश्‍यहरूको आनन्द उठाउन सक्छन्‌।

[पृष्ठ १५-मा भएको नक्सा]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

संयुक्‍त राज्य अमेरिका

मेक्सिको

चिहुआहुआ

ओजिनागा

चिहुआहुआ

कपर केन्यनको इलाका

ला खुन्ता

क्रिल

दिभिसादेरो

तोपोलोबाम्पो

[पृष्ठ १५-मा भएको चित्र]

 सासेआचेक छहरा

[स्रोत]

© Tom Till

[पृष्ठ १६-मा भएको चित्र]

दिभिसादेरोबाट देखिने दृश्‍य

[स्रोत]

© Tom Till

[पृष्ठ १७-मा भएको चित्र]

घाटीभरि जताततै ताराहुमाराहरू बस्छन्‌

[स्रोत]

George Hunter/H. Armstrong Roberts

[पृष्ठ १७-मा भएको चित्र]

आरारेक्को ताल

[पृष्ठ १७-मा भएको चित्रको स्रोत]

George Hunter/ H. Armstrong Roberts