सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के राशिफलअनुसार तपाईंको जीवन चलाउनु ठीक होला?

के राशिफलअनुसार तपाईंको जीवन चलाउनु ठीक होला?

बाइबलको दृष्टिकोण

के राशिफलअनुसार तपाईंको जीवन चलाउनु ठीक होला?

“राशिफल हेरेर आफ्नो भाग्य पत्ता लगाउन खोज्ने जवान तथा वयस्कहरूको कुनै कमी छैन।”—पोप जन पल द्वितीय।

एउटा सर्वेक्षणअनुसार एक चौथाइ अमेरिकीले कुनै निर्णय गर्नुपर्दा राशिफल हेर्ने गर्छन्‌। यसो भन्दैमा त्यहाँका मानिसहरूले मात्र राशिफल हेर्नेचाहिं पटक्कै होइन। संसारभरिकै मानिसहरूले आर्थिक मामिला, यात्रा योजना, पेसा, विवाह मिति अनि सैन्य रणनीति आदि तय गर्न राशिफल हेर्ने गर्छन्‌। राशिफल हेरेर सम्भाव्य विवाह जोडी मिलाउन अनि जोडी मिल्ने हो कि होइन भनेर थाह पाउन सकिन्छ भन्‍ने दाबीसमेत गर्छन्‌। पूर्वदेखि पश्‍चिमसम्म ज्योतिषविद्याले लाखौं मानिसहरूको ध्यानाकर्षण गरेको छ। तर राशिको सुरुआत कसरी भयो?

ऐतिहासिक पृष्ठभूमि

अनेकन्‌ राशिहरूको सुरुआत केलाउने हो भने हामी मानव सभ्यताको सुरुआतसम्मै पुग्छौं। बाइबलले समेत “नक्षत्र र आकाशका तारा-मण्डल[बारे]” उल्लेख गरेको छ। (२ राजा २३:५) पुरातन समयमा हिन्दुलगायत चिनियाँ, मिश्री, युनानी तथा अन्य मानिसहरूले राशि हेर्ने गर्थे भन्‍ने कुरा स्पष्ट छ। तथापि, राशिबारे सबैभन्दा प्राचीन उल्लेख पुरातन बाबेलमा पत्ता लागेको थियो।

बेबिलोनीहरूले भविष्य पत्ता लगाउन ज्योतिषविद्या सुरुआत गरेका हुन्‌। आकाशीय पिण्डहरूको गति हेरेर विस्तृत चार्ट तथा सूची बनाउँथे। यसैको आधारमा मानव गतिविधि र पृथ्वीमा हुने घटनाहरूको भविष्यवाणी गर्थे। ज्योतिषीहरूले सरसल्लाह नदेउञ्जेल प्रायजसो अवस्थामा राजनैतिक वा सैन्य निर्णयहरू गरिंदैनथ्यो। यसर्थ, विशेष ज्ञान र असामान्य शक्‍ति भएको दाबी गर्ने पूजाहारीवर्ग निकै प्रभावशाली हुन थाल्यो। अझ भन्‍ने हो भने, बेबिलोनका सबै ठूलठूला मन्दिरहरूमा आकाशीय पिण्डहरू अवलोकन गर्ने अलग्गै ठाउँ नै थियो।

वर्तमान समयमा पनि राशिले थुप्रैको जीवनमा महत्त्वपूर्ण भूमिका खेल्छ। राशिफलमा विश्‍वास नगर्ने मानिसहरूले समेत सामान्य मनोरञ्जन वा कौतूहलले गर्दा हेर्ने गर्छन्‌। हुन त हो, ज्योतिषीहरूले गरेका कुनै कुनै भविष्यवाणी साँचो साबित भएका छन्‌। तर के यसको मतलब राशिफल हेर्नु लाभदायक छ? परमेश्‍वरका पुरातन सेवकहरूले ज्योतिषविद्याप्रति कस्तो दृष्टिकोण राख्थे?

अदृश्‍य खतरा

विश्‍वासी यहूदीहरू बेबिलोनीहरूले जस्तो ज्योतिषविद्यामा भाग लिंदैनथे र यसो गर्नुको ठोस कारण छ। परमेश्‍वरले तिनीहरूलाई स्पष्टसित यस्तो चेताउनी दिनुभएको थियो: “भावी बताउने, जोखाना हेर्ने, जादूगरी गर्ने, टुना-मुना गर्ने, मसान जगाउने अथवा बिजुवा झाँक्री तिमीहरूका बीचमा कोही नहोस्‌। यस्तो काम गर्ने व्यक्‍ति परमप्रभुको अगि घृणित हो।” aव्यवस्था १८:१०-१२.

परमेश्‍वरका सेवकहरू ज्योतिषविद्या विरुद्ध अडिग रहे। उदाहरणका लागि, वफादार राजा योशियाहले “पूजा-थानमा धूप बाल्ने नियुक्‍त भएका र बाललाई औ घाम, जुन, नक्षत्र र आकाशका तारा-मण्डलका निम्ति धूप बाल्नेहरूलाई दमन गरिदिए।” भनिन्छ, योशियाहले “परमप्रभुको दृष्टिमा जे कुरो असल थियो त्यही गरे” अनि यहोवाले तिनलाई आशिष्‌ दिनुभयो। (२ राजा २२:२; २३:५) तर कसै कसैले यस्तो प्रश्‍न गर्लान्‌, ‘के ज्योतिषीहरूका कुनै कुनै भविष्यवाणी साँचो साबित हुँदैनन्‌ र?’

चाखलाग्दो कुरा, मसीही युनानी धर्मशास्त्रमा हामी “जोखनाबाट त्यसका मालिकहरूका निम्ति धेरै पैसा कमाएर ल्याइदिने” एउटी दासीबारे पढ्‌छौं। यो दासीले भविष्यवाणी गरेका कुनै कुनै कुरा साँचो साबित भए किनभने त्यसका मालिकले यसबाट धेरै पैसा कमाए। तर यो दासीले भविष्य बताउन सक्नुको कारण के थियो? बाइबलले भन्छ, तिनीसित “जोखना हेर्ने आत्मा” थियो।—प्रेरित १६:१६, नयाँ संशोधित संस्करण।

बाइबलले बताएअनुसार “सारा संसार त्यस दुष्ट,” शैतान अर्थात्‌ दियाबलको “अधीनमा परेको छ।” (१ यूहन्‍ना ५:१९) कुनै कुनै भविष्यवाणी साँचो साबित गर्न घटनाक्रमलाई आफ्नो नियन्त्रणमा लिएर शैतान र त्यसका दूतहरूले लाखौं मानिसहरूको ध्यान खिचेको छ।

स्पष्ट भाषामा भन्‍ने हो भने, ज्योतिषविद्या “शैतानका युक्‍तिहरू[मध्ये]” एक हो र त्यसले मानिसहरूमाथि नियन्त्रण जमाउन यसको प्रयोग गर्छ। तसर्थ, बाइबलले मसीहीहरूलाई ज्योतिषविद्यालगायत शैतानका धूर्त युक्‍तिहरू विरुद्ध “खडा” हुन आग्रह गर्नुको कारण बुझ्न सकिन्छ। (एफिसी ६:११) तर के यसको मतलब भविष्यको लागि हामीलाई कुनै डोऱ्‍याइ छैन?

भरपर्दो डोऱ्‍याइ—बाइबल

लाखौं मानिसले निर्णय गर्ने सन्दर्भमा बाइबलले भरपर्दो डोऱ्‍याइ प्रदान गरेको महसुस गरेका छन्‌। भजनरचयिता दाऊदले भनेझैं “परमप्रभुको साक्षीवचन पक्का छ, निर्बोधहरूलाई बुद्धिमान तुल्याउने।” (भजन १९:७; ११९:१०५) यसको मतलब, बाइबलले मानिसहरूलाई हरेक कदममा यस्तै गर्नुपर्छ भनेर बताउँछ भनेको होइन। तर हाम्रा ज्ञानेन्द्रिय शक्‍तिहरूलाई प्रशिक्षण दिने सिद्धान्तहरू परमेश्‍वरको वचनमा पाइन्छ। यसले हामीलाई सही र गलत छुट्याउन अनि बुद्धिमान्‌ निर्णय गर्न मदत गर्नेछ।—हिब्रू ५:१४.

त्यसकारण, साँचो मसीहीहरूले मनोरञ्जन वा सामान्य कौतूहल मेटाउनसमेत राशिफल नहेर्नुमा असल कारण छ। परमेश्‍वरको वचनले सबै धूर्त चाललगायत दियाबलका सबै प्रभाव विरुद्ध दिने चेताउनीहरू बुद्धिमानीपूर्वक पालन गर्छन्‌। राशिफल होइन तर बाइबलको सल्लाहअनुसार आफ्नो जीवन यापन गरेर तपाईंले अनन्तसम्म परमेश्‍वरको आशिष्‌ पाउन सक्नुहुनेछ।—भजन ३७:२९, ३८.

[फुटनोट]

a भावी बताउनु भनेको तन्त्रमन्त्र गरेर मुख्यतया भविष्यसम्बन्धी ज्ञान हासिल गर्ने हो।

[पृष्ठ २६-मा भएको चित्र]

पूर्वीय राशि

[पृष्ठ २६-मा भएको चित्र]

पश्‍चिमी राशि