सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

चिनियाँ वैद्यखानाको भ्रमण

चिनियाँ वैद्यखानाको भ्रमण

चिनियाँ वैद्यखानाको भ्रमण

क्वक किट निकै दिनदेखि बिरामी भएकाले वैद्यलाई भेट्‌ने विचार गरे। चिनियाँ भएकाले तिनी परम्परागत चिनियाँ औषधी नै रुचाउँछन्‌। एक जना पारिवारिक मित्रले यस्तै वैद्यलाई चिनेका छन्‌ र नजिकै यी वैद्य आफ्नो आयुर्वेदिक औषधालय चलाउँछन्‌। त्यस मित्रले क्वक किटलाई तिनको रोग निको पार्ने जडीबुटीयुक्‍त चिया उक्‍त वैद्यले बनाइदिन्छन्‌ भनेर बताउँछन्‌।

अधिकांश दक्षिण एसियाली मुलुकमा जस्तै चीनमा पनि वैद्य भेट्‌न जानु पश्‍चिमेली मुलुकहरूमा डाक्टर भेट्‌न जानुभन्दा निकै फरक छ। पश्‍चिमी मुलुकहरूमा डाक्टरलाई भेट्‌न जान अक्सर पहिल्यै समय लिनुपर्छ, डाक्टरको क्लिनिकमा जानुपर्छ, जचाउनुपर्छ अनि डाक्टरले तपाईंलाई औषधी लेखेर दिन्छ। त्यसपछि औषधी लिन बिरामी औषधी पसलमा जानुपर्छ। तर चिनियाँ वैद्यकहाँ त यो प्रक्रिया निकै सजिलो छ। जडीबुटीका वैद्य अक्सर वैद्यखानामै बस्छन्‌ र तिनी चिनियाँ औषधोपचारका डाक्टर पनि हुन्‌। तिनले तपाईंलाई जाँच्छन्‌, रोग खुट्याउँछन्‌, जडीबुटीको परिमाण ठीक ठीक मिलाउँछन्‌ र उक्‍त औषधी कसरी लिने, सबथोक एकै भेटमा बताउँछन्‌! a

औषधीको रूपमा जडीबुटी?

थुप्रै पश्‍चिमेली ट्याब्लेट, क्याप्सुल तथा सुईसित परिचित छन्‌ तर यी त औषधोपचारको जगत्‌मा नयाँ नाउँहरू हुन्‌। हजारौं वर्षदेखि मानिसहरू रोगमुक्‍त हुन प्राकृतिक तरिकाहरूमा भर पर्दै आएका छन्‌। उदाहरणका लागि, बाइबलकालीन युगमा पनि हिब्रू चिकित्सकहरूले उपचारविधिमा तेल, मलम र रक्सी प्रयोग गर्थे। (यशैया १:६; यर्मिया ४६:११; लूका १०:३४) उदाहरणका लागि, सुकेका नेभाराका पट्टीहरू पीलो निको पार्न प्रयोग गरिएको देखिन्छ।—२ राजा २०:७.

वास्तवमा, प्रायजसो राष्ट्र तथा मानिसले रोगबिमार निको पार्न एक न एक चोटि जडीबुडी र विभिन्‍न प्रकारका तयारी आयुर्वेदिक औषधी प्रयोग गरेका छन्‌। आज खाना पकाउन प्रयोग गरिने थुप्रै मसला सुरुमा औषधीका लागि नै प्रयोग गरिन्थे। तथापि, यी उपचारविधिहरू सधैं सफल भए भन्‍न खोजिएको होइन। वास्तवमा, जडीबुटीसँगसँगै अन्धविश्‍वास र अज्ञानता अक्सर विथोलित हुन्थे। तैपनि, बिरामी निको पार्न यस्ता उपचारविधिहरू प्रयोग गर्न थालिएको हजारौं वर्ष भइसक्यो। भनौं भने, आज प्रायजसो बहुचर्चित औषधीहरूसमेत बोटबिरुवाबाटै बनाइएका त हुन्‌ नि।

चिनियाँ औषधीको सिद्धान्त तथा प्रयोग

रोगव्याधिलाई जडीबुटीको प्रयोगद्वारा निको पार्ने तरिका चिनियाँ इतिहासको अभिन्‍न भाग हो। चीनमा औषधोपचार गर्नेहरूले आजसम्म प्रयोग गर्ने औषधोपचारको नियम, ने जीङ लोक परम्पराअनुसार ह्वाङ डी, पहेंला सम्राटले रचेको मानिन्छ। b यो नियम कहिले लेखिएको थियो, विवादास्पद भए तापनि उक्‍त नियममा चिकित्सासम्बन्धी पश्‍चिमेली पुस्तकमा भएजतिकै थुप्रै कुरा लेखिएका छन्‌। उक्‍त नियमले रोग खुट्याउने, त्यसको कारण पत्ता लगाउने, उपचार अनि रोकथामबारे मात्र होइन तर शरीररचना तथा शरीरले गर्ने कामहरूबारे पनि छलफल गर्छ।

दक्षिणपूर्वी एसियाका अधिकांश कला यिङ-याङ सिद्धान्तले प्रभावित भएझैं चिनियाँ औषधोपचारको सिद्धान्त र प्रयोगमा पनि यसले प्रभाव पारेको देखिन्छ। चिनियाँ औषधोपचारमा यिङले चिसो र याङले तातोको प्रतिनिधित्व गर्छ। यसबाहेक यिनीहरूले अरू विपरीत अर्थ दिने कुराहरूलाई पनि बुझाउँछन्‌। c यसको अलावा, रोग खुट्याउन र उपचार गर्न शरीरका केन्द्रबिन्दुहरूलाई पनि ध्यानमा राखिन्छन्‌। विशेष गरी, अकुपंचर गर्नुपर्दा यो कुरा लागू हुन्छ। बिरामीलाई परेको असन्तुलित यिङ-याङको प्रभावलाई उल्ट्याउन चिसो वा तातो मानिने जडीबुटी र खाना लिने सुझाउ दिइन्छ।

उदाहरणका लागि, जरो आएको बिरामीलाई तातो ठानिन्छ। त्यसकारण, उसलाई चिसो पार्ने जडीबुटीहरू लिने सुझाउ दिइन्छ। अहिले यिङ-याङको स्पष्ट उल्लेख नगरिए तापनि बिरामीको उपचार गर्ने सन्दर्भमा उक्‍त सिद्धान्त अझै पनि प्रयोग गरिन्छ। तर चिनियाँ वैद्यले रोग कसरी खुट्याउँछन्‌? अनि वैद्यखाना कस्तो हुन्छ? यो पत्ता लगाउन आउनुहोस्‌, क्वाक किटको पछिपछि तिनको साथीले बताएको पसलमा जाऔं।

अनौठो वैद्यखाना

ओहो! आज वैद्यलाई भेट्‌न क्वाक किटले कुर्नु पर्ने भएछ। रुघाखोकी जरोले सबैलाई पिरोलेछ जस्तो देखिन्छ, त्यसैकारण तिनीअघि दुई जना बिरामीहरू छन्‌। पर्खुञ्जेल आउनुहोस्‌, हामी एकैछिन वैद्यखानाको सैर गरौं।

भित्र पस्नेबित्तिकै हामीले च्याउ, चिप्लेकीरा, सिपीकीरा, अन्जीर, बदाम र अन्य खाद्य पदार्थ जस्ता एक थाक सुकेका सामग्रीहरू थुप्रै ऱ्‍याकमा सजाएर राखेका देख्यौं। हो, केही खाद्य सामग्री पनि हामीले भेट्यौं। तर सायद, यिनीहरूमध्ये केही औषधी बनाउन प्रयोग गरिन्छन्‌ होला।

त्यसपछि, हामीले साँघुरो पसलको दुवैतिर सिसाका दराजहरू तेर्साइएका पायौं। यी दराजहरूमा निकै महँगा दुर्लभ वा विशेष जडीबुटीहरू, खनिज पदार्थहरू तथा सुकाएर राखेका जनावरका अंगहरू राखिएका पायौं। नजिकै गएर हेर्दा हामीले मृगका सिङ, मोती र सुकेका माउसुली अनि समुद्री घोडाहरूलगायत थुप्रै अचम्मलाग्दा चीजहरू देख्यौं। केही वर्षअघिसम्म गैंडाका खाग, भालुका पित्ताशय तथा अन्य जनावरका अंगप्रत्यंगहरू पनि यस्ता ऱ्‍याकहरूमा सजाएर राखिन्थे तर अहिले यी सामग्रीहरू राख्न प्रतिबन्धित गरिएका छन्‌।

पसलको अर्को कुनामा हामीले रुघाखोकी र पेट दुखेको जस्ता सामान्य रोगका लागि मिश्रित जडीबुटीहरूका साथै चीनका जडीबुटीहरूबाट तयार पारिएका झोल औषधीहरूको सिसी पनि भेट्यौं। आफ्नो समस्या पसलेलाई बताउनुहोस्‌ तुरुन्तै तिनले तपाईंलाई सिसीको औषधी वा मिश्रित जडीबुटीको पोका दिनेछन्‌ र औषधीलाई घरैमा कसरी तयार पार्न सकिन्छ, त्यो बताउँछन्‌।

पसलेको पछाडि भित्तामै टाँसिएको तखतामा हामीले सिसाका ठूलठूला भाँडाहरूमा थरिथरिका सुकेको जरा, पत्ता तथा डाँठहरू देख्यौं। पसल आउने पुराना ग्राहकहरूलाई यी सामग्रीहरू के हुन्‌ राम्ररी थाह छ र उनीहरू ती आफैले रोगोपचार गर्न वा खाना पकाउन किनेर लैजाने गर्छन्‌। पसलको अर्कोतिर भुइँदेखि छानासम्मै पुग्ने दराजमा थुप्रै घर्राहरू छन्‌। यी सय वा सयभन्दा बढी घर्रामा जडीबुटीहरू हुने भएकाले यसलाई बाइटजीग्वा अथवा “एक सय छोराछोरीको दराज भनिन्छ। सिफारिस गरिएको औषधीमा अक्सर प्रयोग हुने जडीबुटीहरू यी घर्राहरूमा हुनेभएकाले तुरुन्तै भेट्टाउन सकिन्छ र प्रायजसो प्रयोग गरिने जडीबुटीहरू सजिलै भेट्टाउन सकिने ठाउँमा राखिन्छन्‌। यी घर्राहरूमा कुनै लेबल नहुनु सामान्य कुरा हो। अनुभवी पसलेलाई कुन जडीबुटी कहाँ छ त्यो राम्ररी थाह हुन्छ।

पसलमा आएकी आइमाईको निम्ति तिनी कति निपुणतासाथ जडीबुटी तौलिरहेछन्‌ ध्यान दिनुहोस्‌। तिनी एउटा हिस्सी परेको तर सही तौल दिने एसियाली ढक-तराजुमा ती जडीबुटी तौलिरहेका छन्‌। यस तराजुमा एउटा मसिनो काठ हुन्छ र त्यसको एकातिर तीनवटा धागोले थामेका रिकापीजस्तो भाँडो झुन्डिएको हुन्छ भने अर्कोतिर ढक राखिन्छ। कुनै कुनै जडीबुटी चाहिएको मात्रामा भन्दा पनि बढी दिइयो भने घातक साबित हुनसक्छ भनेर तिनलाई थाह छ, त्यसकारण ती जडीबुटीहरू जोख्दा तिनले होस पुऱ्‍याउनैपर्छ। तर सबथोक जोखेर दिइँदैन। अहिले भने तिनले विभिन्‍न घर्राहरूबाट आधा मुठीजति थरिथरिका जडीबुटीहरू निकालेर कागजमा राख्छन्‌। हो, तपाईंले ठीक भन्‍नुभयो, यो औषधीमा सिकाडा कीराका खपटाहरू पनि छन्‌। उक्‍त आइमाईलाई औषधी तयार पार्ने विधि बताउँदै तिनी जडीबुटीहरू पोको पार्दैछन्‌।

आयुर्वेदिक औषधीहरू विभिन्‍न तरिकामा तयार पारिन्छन्‌ र लिइन्छन्‌। जस्तै, कुनै कुनै औषघी धूलोको रूपमा हुन्छन्‌। बिरामीले त्यो घूलो औषघीलाई तातो पानीमा मिसाएर पिउँछ। कुनै कुनै लेदो हुन्छ। यसलाई मह वा कुनै रक्सीसित मिसाएर लिइन्छ। तथापि, यस आइमाईलाई प्रायजसो औषधी प्रयोग गर्ने तरिका अर्थात्‌ उमालेर खानु भनेर बताइन्छ। यसको अर्थ, तिनले यी जडीबुटीहरूलाई लगभग एक घण्टा जति माटोको भाँडोमा उमाल्नेछिन्‌। त्यसपछि, घण्टैपिच्छे तिनले यो झोल अलिअलि पिउनेछिन्‌। तिनलाई थप औषधी आवश्‍यक पऱ्‍यो भने, फेरि पसलमा आएर चाहेजत्ति औषधी लाँदा हुन्छ, अरू केही गर्नुपर्दैन।

ए, अब त, क्वाक किटको पालो पनि आइपुगेछ। अहँ, वैद्यले न त उसको रक्‍तचाप जाँच्छ न त मुटुको धड्‌कनलाई नै सुन्छ। तर क्वाक किटलाई के के भयो भनेर सोध्छन्‌। जस्तै, तिनलाई निद्रा पर्छ कि पर्दैन, खाना पच्छ कि पच्दैन, खानाको रुचि छ कि छैन, जरो आएको छ कि छैन, छाला कस्तो छ र छालाको रंग कस्तो छ आदि सोध्छन्‌। वैद्यले तिनको आँखालाई राम्ररी हेर्छन्‌ र तिनको जिब्रोमा पनि केही फरक देखिएको छ कि त्यो जाँच्छन्‌। अब तिनी क्वाक किटको दुवै नाडीको गति विभिन्‍न तरिकामा छाम्छन्‌। यसो गर्दा शरीरका विभिन्‍न अंगहरूको अवस्था पत्ता लाग्छ भन्‍ने विश्‍वास छ। अझ अनौठो कुरा त के हो भने, बिरामीको शरीरबाट कुनै अनौठो गन्ध आइरहेको छ कि भनेर समेत वैद्यले विचार गर्दा रहेछन्‌! अब कस्तो निर्क्यौल निस्कने हो? पीर मान्‍नु पर्दैन, क्वाक किटलाई रुघाखोकी जरोले पो सताएको रहेछ। तिनलाई आराम चाहिएको छ र उमालेर खानुपर्ने औषधी प्रशस्त मात्रामा खानुपरेको छ। तिनलाई दिइने जडीबुटीयुक्‍त चिया अलि तितो छ तर यसले तिनलाई फाइदा गर्नेछ। क्वाक किटले कुन कुन खानेकुरा खानुहुँदैन भनेर बताउँदै औषधी खाइसकेपछि मुख खल्लो हुने भएकोले माया गर्दै वैद्यले तिनलाई आरुको मुरब्बा पनि दिन्छन्‌।

त्यसपछि, आफ्नो औषधीको पोका बोकेर क्वाक किट घरतिर लाग्छन्‌। वैद्यलाई भेट्‌न जान र औषधी किन्‍न तिनलाई २० डलरभन्दा पनि कम पऱ्‍यो—निकै सस्तो, हैन त? यी जडीबुटीले तुरुन्तै निको नपार्ने भए तापनि केही दिनपछि क्वाक किटलाई आराम महसुस हुनेछ। तर तिनले औषधी धेरै खाएमा छिटै निको हुन्छ भनेर कसै कसैले ठानेजस्तै चाहिं पटक्कै ठान्‍नुहुँदैन। कुनै कुनै जडीबुटी बढी मात्रामा लिंदा मानिसलाई त्यसले गम्भीर असर गऱ्‍यो भनेर सुनिनु कुनै अनौठो कुरा होइन।

केही मुलुकहरूमा जडीबुटी वा पौराणिक चिनियाँ औषधीको प्रयोगसम्बन्धी कुनै स्तरै निर्धारण गरिएको हुँदैन। यसले गर्दा ठग डाक्टरहरू पनि देखा परेका छन्‌ र घातक जडीबुटीहरूको बिक्रीसमेत गरिएको छ। त्यसकारण, पौराणिक चिनियाँ वैद्यकहाँ जानुपऱ्‍यो भने, एसियाका थुप्रै बिरामीहरू किन नातेदार तथा साथीहरूको सल्लाह लिन्छन्‌, त्यो बुझ्न सकिन्छ।

हो, चाहे पश्‍चिमी औषधीहरू हुन्‌ वा जडीबुटी, कुनैले पनि भएभरको रोगबिमार निको पार्न सक्दैन। जे होस्‌, चिनियाँ वैद्यखाना र परम्परागत औषधी दिने त्यहाँका वैद्य अझै पनि एसियाको अभिन्‍न भाग हुन्‌।

[फुटनोटहरू]

a ब्यूँझनुहोस्‌!-ले स्वास्थ्य समस्याबारे कुनै पनि उपचारलाई बढावा दिंदैन। मसीहीहरूले कुनै पनि उपचार गर्नुअघि उक्‍त उपचारविधि पछ्याउनु बाइबलका सिद्धान्तहरूअनुरूप मिल्छ कि मिल्दैन पक्का गर्नुपर्छ।

b चोउ वंशअघि सत्तामा रहेका पौराणिक शासक पहेंला सम्राटले सा.यु.पू. २६९७ देखि २५९५ सम्म शासन गरेको मानिन्छ। तथापि, थुप्रै विद्वान्‌ ने जीङ सा.यु.पू. ११०० देखि २५० सम्म चलेको चोउ वंशको शासन अन्त नभएसम्म कागजमा रेकर्ड गरिएको थिएन भनेर विश्‍वास गर्छन्‌।

c चिनियाँ अक्षर “यिङ”-को शाब्दिक अर्थ “छाया” वा “छहारी” हो र यसले अन्धकार, चिसो, स्त्रीत्वलाई संकेत गर्छ। “याङ”-ले यसको विपरीत उज्यालो, तातो, पुरुषत्वलाई चित्रित गर्छ।

[पृष्ठ २३-मा भएको चित्र]

सुकेका समुद्री घोडाहरूलगायत अनौठा चीजहरू जडीबुटी पसलमा पाउन सकिन्छ

[पृष्ठ २४-मा भएको चित्र]

सुकेका जरा, पत्ता तथा डाँठहरू होसियारीसाथ तौलिइन्छ