सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नर्सहरूको महत्त्वपूर्ण भूमिका

नर्सहरूको महत्त्वपूर्ण भूमिका

नर्सहरूको महत्त्वपूर्ण भूमिका

“नर्स भनेको बिरामी, घाइते अनि वृद्धको हेरचाह गर्न तयार अर्थात्‌ स्याहार गर्ने र बचाउने व्यक्‍ति हो।”—नर्सिङ इन टुडेज वर्ल्ड—च्यालेन्जेस, इसुज एण्ड ट्रेन्डस।

निःस्वार्थपन, अत्यावश्‍यक भए तापनि दक्ष नर्स हुन त्यति मात्र भएर पुग्दैन। असल नर्स हुन विस्तृत तालिम तथा प्रशस्त अनुभव पनि चाहिन्छ। एउटा महत्त्वपूर्ण आवश्‍यकता एकदेखि चार वर्ष वा अझ बढी समयसम्मको पढाइ र तालिम हो। तर असल नर्स हुन के कस्ता गुणहरू चाहिन्छन्‌? ब्यूँझनुहोस्‌!-ले अन्तरवार्ता लिएका अनुभवी नर्सहरूको केही जवाफ यसप्रकार छन्‌।

“डाक्टरले निको पार्छ तर नर्सले बिरामीको हेरचाह गर्छ। यसमा अक्सर भित्री तथा बाहिरी तवरमा चोट खाएका बिरामीहरूलाई सम्हाल्नु हो। यसको उदाहरणस्वरूप दीर्घकालीन रोग लागेका वा केही समयभित्रै मृत्यु हुने पक्का छ भनी थाह भएका बिरामीहरूलाई लिन सकिन्छ। बिरामीको लागि त नर्स आमा नै हुनुपर्छ।”—कार्मेन खिल्मार्तीन, स्पेन।

“बिरामीले महसुस गर्ने पीडा तथा फिक्री महसुस गर्नसक्नु र मदत गर्न चाहनु आवश्‍यक छ। दयालु हुनु र धीरजी हुनु आवश्‍यक छ। नर्सिङ र औषधोपचारबारे अझ धेरै थाह पाइरहने चाह तपाईंमा हुनैपर्छ।”—तादाशी हातानो, जापान।

“हालैका वर्षहरूमा नर्सहरूले झन्‌ धेरै व्यावसायिक ज्ञान हासिल गर्नुपरेको छ। त्यसकारण, पढ्‌ने इच्छा र पढिएको कुरा बुझ्ने क्षमता हुनु अत्यावश्‍यक छ। अनि परिस्थितिअनुसार नर्सहरूले तत्कालै निर्णय गर्नु र तुरुन्तै काम गरिहाल्नु आवश्‍यक पर्छ।”—केको कावाने, जापान।

“नर्स भएपछि तपाईंले न्यानोपन देखाउनुपर्छ। सहनशील हुनैपर्छ र समानुभूति देखाउनुपर्छ।”—आर्सेली ग्रासीया पादीया, मेक्सिको।

“असल नर्स पढैया, होसियार र एकदमै सीपालु हुनैपर्छ। आत्मत्याग छैन भने अर्थात्‌ स्वार्थको आभास मात्र छ भने पनि वा चिकित्सा विभागका अन्य उच्च पदाधिकारीहरूले सल्लाह दिंदा रिसाउने खालको छ भने त्यस्तो नर्स बिरामी र सहकर्मी दुवैका लागि अयोग्य साबित हुन्छ।”—रोसाङझेला सान्तोस, ब्राजिल।

“थुप्रै अपरिहार्य गुणमध्ये केही हुन्‌: लचकदार, सहनशील अनि धीरज। सहकर्मीहरू र चिकित्सा विभागका अन्य उच्च पदाधिकारीहरूसित मिल्नसक्ने क्षमता भएको अनि खुला प्रवृत्तिको पनि हुनुपर्छ। दक्ष भइरहन नयाँ तरिकाहरू तुरुन्तै सिक्न सक्ने हुनुपर्छ।”—मार्क क्वोलेर, फ्रान्स।

“मानिसहरूलाई माया गर्नैपर्छ र अरूलाई साँच्चै मदत गर्ने चाहना हुनैपर्छ। नर्सिङको संसार कि हस्तिनापुरको राज कि चपरिमुनिको बास भनेझैं भएकोले तनाउग्रस्त समयको सामना गर्नसक्ने हुनुपर्छ। कहिलेकाहीं सहकर्मीहरू थोरै हुँदा पनि कामको गुणस्तरसित सम्झौता नगरी त्यत्ति नै काम गर्नसक्ने हुनैपर्छ।”—क्लाउडिया रेकर-बेकर, नेदरल्याण्ड्‌स।

हेरचाह गर्ने व्यक्‍तिको रूपमा नर्स

“नर्सिङ स्वास्थ्यसम्बन्धी विभिन्‍न परिस्थितिको हेरचार गर्नुसित सम्बन्धित छ” भनी नर्सिङ इन टुडेज वर्ल्ड उल्लेख गर्छ। “यसप्रकार, चिकित्सा विज्ञान बिरामीको रोग निवारण गर्नुसित अनि नर्सिङ, उक्‍त बिरामीको हेरचाह गर्नुसित सम्बन्धित छ भनेर हामी सोच्छौं।”

नर्स, सुसारे भएकोले पक्कै पनि बिरामीको ख्याल गर्नुपर्छ। केही समयअघि १,२०० लाइसेन्स प्राप्त नर्सहरूलाई “नर्सको हैसियतमा तपाईंलाई सबैभन्दा महत्त्वपूर्ण लाग्ने कुरा के हो?” भनेर सोधिएको प्रश्‍नको जवाफमा ९८ प्रतिशतले गुणस्तरीय सेवा दिनु हो भने।

कहिलेकाहीं नर्सहरू बिरामीलाई आफूले दिने सेवाको अवमूल्यन गर्छन्‌। माथि उल्लिखित कार्मेन खिल्मार्तीन नर्स पेसामा लागेकी १२ वर्ष भइसक्यो र तिनले ब्यूँझनुहोस्‌!-लाई यसो भनिन्‌: “सिकिस्त बिरामीको हेरचाह गर्दा आफू सीमित छु जस्तो लागेको कुरा मैले एक पटक मेरी साथीलाई बताएकी थिएँ। मलाई आफू ‘घाउमा लगाउने पट्टी’ जस्तो मात्र लाग्थ्यो। तर मेरी साथीले मलाई यसो भनिन्‌: ‘हो, तिमी बिरामीलाई चाहिने अत्यन्तै मूल्यवान्‌ “पट्टी” हौ। किनकि बिरामीलाई सबैभन्दा बढी आवश्‍यक पर्ने व्यक्‍ति नै सहानुभूतिशील नर्स हो।’ ”

भनिरहनु नपर्ला, यसरी १०/१२ घण्टा वा त्यसभन्दा बढी समयसम्म हेरचाह गर्ने नर्सहरूले निकै दबाउ सहनुपर्ने हुन्छ! यी रेखदेख गर्ने आत्मत्यागी व्यक्‍तिहरूलाई नर्स बन्‍न कुन कुराले उत्प्रेरित गऱ्‍यो?

किन नर्स बन्‍ने?

ब्यूँझनुहोस्‌!-ले विश्‍वभरिका नर्सहरूको अन्तरवार्ता लियो। उनीहरूलाई यो प्रश्‍न सोधिएको थियो: “तपाईंलाई नर्स बन्‍न कुन कुराले उत्प्रेरित गऱ्‍यो?” उनीहरूले दिएका केही जवाफ यसप्रकार छन्‌।

टेरी ह्विथर्सनसित नर्स पेसाको ४७ वर्षको अनुभव छ। अहिले उनी म्यानचेस्टर, बेलाइतस्थित अस्पतालको मूत्राशय विभागमा विशेषज्ञ क्लिनिकल नर्सको रूपमा काम गरिरहेकी छिन्‌। उनी भन्छिन्‌, “म क्याथोलिक परिवारमा हुर्किएकी थिएँ र क्याथोलिक बोर्डिङ स्कूलमै पढेकी पनि हुँ। सानी छँदा मैले कि त नन वा नर्स बन्‍ने विचार गरेकी थिएँ। ममा अरूको सेवा गर्ने इच्छा थियो। तपाईं यसलाई तीव्र इच्छा पनि भन्‍न सक्नुहुन्छ। तपाईंले देखि हाल्नुभयो, म नर्स बनें।”

साइतामा, जापानकी चिवा मात्सूनागाले आफ्नै क्लिनिक सञ्चालन गरेको आठ वर्ष भयो। उनी भन्छिन्‌: “ ‘जीवनभर काम गरिरहन सक्षम बनाउने कला सिक्नु’ भनी मेरो बुबा भन्‍नुहुन्थ्यो मैले त्यसै गरें। त्यसकारण, मैले नर्सिङलाई आफ्नो पेसा बनाएँ।”

नर्सिङ पेसामा ३८ वर्षको अनुभव बटुलिसकेकी टोकियो, जापानकी प्रमुख नर्स एत्सुको कोतानी यसो भन्छिन्‌: “स्कूलमा छँदा एकदिन बुबा लड्‌नुभयो र उहाँको धेरै रगत बग्यो। अस्पतालमा बुबाको हेरचाह गर्दा मैले भविष्यमा बिरामीहरूको हेरचाह गर्न नर्स बन्‍ने निर्णय गरे।”

अरूचाहिं बिरामी छँदाको आफ्नै अनुभवले गर्दा उत्प्रेरित भएका थिए। मेक्सिकोकी नर्स अनाइडा बिएरा भन्छिन्‌: “छ वर्षकी छँदा ब्रोन्काइटिस भएकोले म दुई हप्तासम्म अस्पतालमा परेकी थिएँ र मैले त्यतिखेरै नर्स बन्‍ने निर्णय गरेकी थिएँ।”

स्पष्ट छ, नर्स हुन धेरै त्याग गर्नुपर्छ। आउनुहोस्‌, यस श्रेष्ठ सेवाका केही आनन्द तथा चुनौतीहरू के हुन्‌, नियालौं।

नर्स हुनुका आनन्द

नर्सिङका आनन्द के के हुन्‌? नर्सिङ पेसामा उक्‍त व्यक्‍तिले गर्नुपर्ने काम यही प्रश्‍नको जवाफमा भर पर्छ। उदाहरणका लागि, सुँडेनीहरू आमालाई सफलतासाथ बच्चा जन्माउन मदत गर्न सक्दा आफू सफल भएको महसुस गर्छन्‌। नेदरल्याण्डसकी एउटी सुँडेनी भन्छिन्‌, “गर्भमा बच्चाको अवस्था तथा स्थिति विचार गरेको बच्चालाई स्वस्थ जन्माउन मदत गर्नसक्नु निकै रोचक कुरा हो।” नेदरल्याण्डकै योलाण्डा खिल्न-फान-होफ्ट यसो भन्छिन्‌: “दम्पती र स्वास्थ्यकर्मीले अनुभव गर्नसक्ने सबैभन्दा आकर्षक कुरा नै बच्चा जन्माउन मदत गर्ने क्षण हो। यो चमत्कार हो!”

ड्रो, फ्रान्सका लगभग ४० वर्षीय राशीत एसाम लाइसेन्स प्राप्त एनेस्थेटिस्ट नर्स हुन्‌। तिनलाई नर्सिङ पेसा किन रमाइलो लाग्छ? तिनी भन्छन्‌, “शल्यक्रिया सफल हुनुमा आफ्नो पनि केही योगदान रहेकोमा प्राप्त हुने सन्तुष्टिका साथै रोचक तथा निरन्तर विकास भइरहने पेसाको एक सदस्य हुन पाएकोमा।” फ्रान्सकै इसाक बान्जिलीले यसो भने: “बिरामी र तिनको परिवारले दिने धन्यवाद र विशेष गरी आपत्‌कालीन अवस्थामा आशा मारिसकेको बिरामीलाई जोगाउन सक्दा पाइने धन्यवादका अभिव्यक्‍तिले मलाई छोएको छ।”

यस्तै धन्यवादको अभिव्यक्‍ति सुरुमा उल्लेख गरिएकी टेरी ह्विथर्सनले पनि पाएकी थिइन्‌। एक विधवाले यसरी लेखेकी थिइन्‌: “चार्ल्स बिरामी छँदा तपाईंको शान्त स्वभाव तथा निश्‍चिन्त बनाउने उपस्थितिबाट हामीले तनाउ मुक्‍त हुन पाएको कुरा उल्लेख नगरेको क्षण नै छैन। तपाईंको न्यानोपनले हाम्रो अन्धकार अवस्थामा उज्यालो छायो र हाम्रोनिम्ति आड भएको थियो।”

चुनौती सामना गर्दै

नर्सिङका आनन्दसँगसँगै थुप्रै चुनौतीहरू पनि छन्‌। गल्ती गर्ने त ठाउँ नै छैन! औषधी दिंदा, सिरिंजले रगत तान्दा वा सलाइन पानी चढाउँदा वा बिरामीलाई ओल्टाइपल्टाइ गर्दासमेत नर्स निकै होसियार हुनैपर्छ। नर्सले भूल गर्नु त हुँदैहुन्‍न—अनि विशेष गरी नालिस हाल्न सकिने मुलुकहरूमा त झनै होसियार हुनुपर्छ। यद्यपि, कहिलेकाहीं नर्स अप्ठ्यारो परिस्थितिमा पर्छन्‌। उदाहरणका लागि, डाक्टरले बिरामीलाई सिफारिस गरेको औषधी गलत भएको वा बिरामीलाई फाइदा नगर्ने उपचारविधिको प्रयोग गर्न आदेश दिइएको नर्सलाई लाग्यो। त्यतिखेर के गर्ने? डाक्टरलाई चुनौती दिने? त्यसो गर्न साहसी, समझदार तथा वाकपटु हुनुपर्छ र यसमा पक्कै पनि खतरा छ। दुःखको कुरा, केही डाक्टरहरू आफूभन्दा तलकाहरूले दिएको सुझाउ सजिलै मानिलिंदैनन्‌।

यससम्बन्धमा केही नर्सहरूको धारणा कस्तो छ? विस्कन्सिन, सं.रा.अ.-की ३४ वर्षीया लाइसेन्सप्राप्त नर्स बार्बरा राइनकले ब्यूँझनुहोस्‌!-लाई यसो भनिन्‌: “नर्स साहसी हुनैपर्छ। सर्वप्रथम, आफूले दिने वा उपचारमा प्रयोग गर्ने कुनै पनि औषधी र उक्‍त औषधीबाट हुने हानिका लागि तिनी कानुनी तवरमा जिम्मेवार हुन्छिन्‌। आफ्नो कार्यक्षेत्र बाहिरको उपचारविधि प्रयोग गर्ने आदेश पाउँदा वा उक्‍त उपचारविधि गलत हो भन्‍ने कुरामा विश्‍वस्त हुँदा, उक्‍त आदेश पालन गर्न इन्कार गर्ने क्षमता तिनीसित हुनैपर्छ। आजको नर्सिङ, फ्लोरेन्स नाइटिङगेलको जमानाको जस्तो वा ५० वर्षअघिको जस्तो होइन। आज नर्सहरूले डाक्टरलाई कहिले हुँदैन भन्‍ने अनि मध्य रातमै भए तापनि बिरामीलाई झट्टै हेर्न डाक्टरलाई कहिले बोलाउने, त्यो बुझ्नु आवश्‍यक छ। अनि तपाईं गलत ठहरिनुभयो भने पनि डाक्टरको उपहासलाई सजिलै पचाउनसक्ने हुनैपर्छ।”

नर्सहरूले काममा भोग्नुपर्ने अर्को समस्या हो हिंसा। दक्षिण अफ्रिकाबाट प्राप्त रिपोर्टअनुसार नर्सिङ पेसामा लागेका व्यक्‍तिहरू “कार्यस्थलमा सबैभन्दा बढी दुर्व्यवहार तथा हिंसाको सिकार हुनुपर्ने व्यक्‍तिहरूको रूपमा चिनिन्छन्‌। वास्तवमा, जेलमा तैनाथ सुरक्षाकर्मी वा प्रहरीहरूभन्दा पनि बढी नर्सहरू आफ्नै कार्यस्थलमा हमलाका सिकार हुन्छन्‌ र ७२% नर्सहरू कुटपिट नहोला भनेर ढुक्क हुनसकेका छैनन्‌।” यस्तै रिपोर्ट संयुक्‍त अधिराज्यको पनि छ र त्यहाँ हालै गरिएको सर्वेक्षणमा ९७ प्रतिशत नर्सहरूले गत वर्ष कुटपिटको सिकार हुनुपरेको नर्सलाई चिनेको बताए। कुन कारणले गर्दा यस्तो हिंसा उत्पन्‍न भयो? अक्सर, यस समस्याका कारक तत्त्वहरू ओखतीको प्रभावमा वा जाँडरक्सीले मातेका वा तनाउग्रस्त वा चिन्तित बिरामीहरू हुन्‌।

कामको दबाउले थाकेर लखतरान हुने समस्यासित पनि नर्सहरू जुझ्नुपर्छ। यसको एउटा कारण कम स्टाफ हुनु हो। कामको दबाउले गर्दा बिरामीको आवश्‍यक हेरचाह गर्न नसक्ने हुनेबित्तिकै होसियार नर्स तनाउग्रस्त हुन थालिहाल्छन्‌। आरामै नगरीकन परिस्थिति सुधार्ने प्रयास गर्दा र बढी समयसम्म काम गर्दा यसले झनै हताश मात्र पारेको देखिएको छ।

विश्‍वभरि थुप्रै अस्पतालमा स्टाफको संख्या चाहिएको भन्दा कम छ। माद्रिदको मुन्दो सानेतारियो-को एउटा प्रतिवेदन भन्छ, “हामीकहाँ पर्याप्त नर्सहरू छैनन्‌। स्वास्थ्योपचार आवश्‍यक परेका जोसुकैले नर्सहरूको आवश्‍यकता महसुस गर्छ।” यस्तो कमीको कारण? पैसा जोगाउनु! माद्रिदका अस्पतालहरूमा १३,००० जना पेसेवर नर्सहरू पुग्दैनन्‌ भनी त्यही प्रतिवेदनले बताउँछ!

तनाउको अर्को कारण, काम गर्ने समय लामो हुनु र तलब कम हुनु हो। द स्कटसम्यान यसो भन्छ: “जनसेवा समिति, युनिसनअनुसार बेलाइतका पाँच जना नर्सहरूमध्ये एकभन्दा बढी र झन्डै एक चौथाइ नर्सिङ सहायकहरूले जीवन धान्‍न अर्को काम गरेको पाइयो।” चारमध्ये तीन नर्सहरू कम तलब दिइएको महसुस गर्छन्‌। फलतः थुप्रैले नर्सिङ जागिर छोड्‌ने विचार गरेका छन्‌।

नर्सहरूलाई तनाउ हुने अन्य थुप्रै कारण पनि छन्‌। विश्‍वभरिका नर्सहरूले ब्यूँझनुहोस्‌!-लाई दिएको टिप्पणीको आधारमा विचार गर्दा बिरामीको मृत्युले पनि नर्सहरूलाई खिन्‍न पार्नसक्छ। इजिप्ट मुलकी माग्ड स्वाङ न्यु योर्कस्थित ब्रूक्लिनमा काम गर्छिन्‌। किन तिनलाई आफ्नो काम गाह्रो लाग्छ भनेर सोध्दा तिनले यस्तो जवाफ दिइन्‌: “गत दस वर्षको दौडान मैले मरणासन्‍न अवस्थाका कम्तीमा पनि ३० जना बिरामीहरूको निकै हेरचाह गर्नु पऱ्‍यो। यसले गर्दा म भावनात्मक तवरमा साह्रै थाकें।” त्यस्तै एउटा अर्को स्रोतले यसो भन्यो: “सकेजति सब थोक गर्दागर्दै पनि बिरामी मऱ्‍यो भने हेरचाह गर्ने व्यक्‍तिलाई त्यसले शारीरिक तथा भावनात्मक तवरमा निकै आघात पुऱ्‍याउँछ।”

नर्सहरूको भविष्य

बढ्‌दो प्रविधि तथा त्यसका प्रभावहरूले नर्सिङ क्षेत्रमा निकै असर गरिरहेको छ। प्रविधिलाई मानवतामा ढाल्नु, बिरामीसित मान्छेले जस्तै व्यवहार गर्नु चुनौती साबित भइरहेको छ। कुनै पनि यन्त्रले नर्सको मायालु स्पर्श तथा दयाको ठाउँ लिनसक्दैन।

एउटा लेखअनुसार “नर्सिङ कहिल्यै अन्त नहुने पेसा हो। . . . मानवता अस्तित्वमा रहुञ्जेल हेरचाह गर्ने, दया देखाउने तथा बुझ्ने व्यक्‍तिको आवश्‍यकता सधैं परिरहनेछ।” नर्सिङले यो आवश्‍यकता पूरा गर्छ। तर स्वास्थ्योपचारको सम्बन्धमा सकारात्मक हुने ठूलो कारण छ। “म बिरामी परें” भनेर कसैले पनि नभन्‍ने समय आउनेछ भनी बाइबलले देखाउँछ। (यशैया ३३:२४) परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको नयाँ संसारमा डाक्टर, नर्स अनि अस्पतालहरू आवश्‍यक पर्नेछैनन्‌।—यशैया ६५:१७; २ पत्रुस ३:१३.

“[परमेश्‍वर]ले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌” भनेर पनि बाइबलले प्रतिज्ञा गरेको छ। (प्रकाश २१:३, ४) तथापि त्यतिञ्जेल, विश्‍वभरिका करोडौं नर्सहरूले दिएको ध्यान तथा गरेको त्यागप्रति हामी कृतज्ञ हुनैपर्छ। किनकि तिनीहरू नभएका भए अस्पताल त्यति रमाइलो हुने थिएन अथवा अस्पतालहरू नै सञ्चालन हुने थिएनन्‌! त्यसकारण, “नर्सहरू—तिनीहरू नभएका भए के हुन्थ्यो होला?” भनेर सोध्नु कत्ति उपयुक्‍त छ, होइन?

[पृष्ठ ६-मा भएको पेटी/चित्र]

फ्लोरेन्स नाइटिङगेल—आधुनिक नर्सिङकी अग्रणी

सन्‌ १८२० मा इटालीका एक धनाढ्य बेलाइती आमाबाबुबाट जन्मिएकी फ्लोरेन्स नाइटिङगेल निकै पुलपुलिएर हुर्केकी थिइन्‌। यद्यपि, कलकलाउँदी फ्लोरेन्सले बिहेका प्रस्तावहरूलाई अस्वीकार गरिन्‌ र स्वास्थ्यसम्बन्धी शिक्षा हासिल गरिन्‌ र गरिबहरूको हेरचाह गर्नेतर्फ लागिन्‌। आमाबाबुको विरोधको बावजूद फ्लोरेन्स जर्मनीको केइजरस्भर्तमा नर्सहरूलाई तालिम दिने स्कूलमा भर्ना भइन्‌। पछि, तिनले पेरिसमा अध्ययन गरिन्‌ र ३३ वर्षको उमेरमा लण्डनस्थित स्त्री अस्पतालमा सुपरिटेन्डेन्ट भइन्‌।

स्वेच्छाले क्रिमियामा घाइते सिपाहीहरूको उपचार गर्न जाँदा तिनले ठूलो चुनौतीको सामना गर्नु पऱ्‍यो। त्यहाँ तिनी र ३८ जना नर्सहरूको तिनको समूहले मुसाहरूले आफ्नो घर बनाएको अस्पताल सफा गरे। तर सफा गर्नु सजिलो भएन किनकि त्यहाँ साबुन थिएन, हातधुने बेसिन थिएन, रुमालहरू थिएनन्‌ र खाट, डस्ना वा ब्याण्डेजहरू पर्याप्त मात्रामा थिएनन्‌। फ्लोरेन्स र तिनको समूहले यो चुनौती स्वीकारे र युद्धको अन्तसम्ममा तिनले विश्‍वभरिका नर्सिङ तथा अस्पतालको प्रशासनमा सुधार ल्याइसकेकी थिइन्‌। सन्‌ १८६० मा तिनले लण्डनस्थित सेन्ट थोमसेज हस्पिटलमा कुनै धार्मिक सम्बन्धबिनाको पहिलो नर्सिङ स्कूल, नाइटिङगेल ट्रेनिङ स्कूल फोर नर्सेज स्थापित गरिन्‌। सन्‌ १९१० मा तिनको मृत्यु हुनुअघि तिनी वर्षौंसम्म ओछ्यानमा परेकी थिइन्‌। तैपनि, स्वास्थ्योपचारको स्तरलाई उकास्न तिनले किताब तथा पामप्लेटहरू लेखिरहिन्‌।

नर्सिङमा पुऱ्‍याएको योगदानको निम्ति अरूलाई पनि कम्तीमा पनि उत्तिकै श्रेय दिनुपर्छ भन्दै कसै कसैले फ्लोरेन्स नाइटिङगेलको निःस्वार्थ सेवाको विरोध गरे। यसबाहेक तिनको चरित्र पनि चर्को बहसको विषय भएको थियो। ए हिस्ट्री अफ नर्सिङ पुस्तकअनुसार कसै कसैले तिनी “तुरुन्तै भड्‌किने स्वभावकी, हठी, रिसाहा र दबाउने प्रवृतिकी” थिइन्‌ भनेर दाबी गरेका छन्‌ भने अन्य कतिपयचाहिं तिनको “रौनक तथा कान्ति, तिनको अचम्मलाग्दो कार्य क्षमता र तिनको व्यक्‍तित्वले गर्दा” मोहित भए। तिनको असली व्यक्‍तित्व जस्तोसुकै होस्‌, एउटा कुरा भने पक्का छ: नर्सिङ र अस्पतालको प्रशासनमा तिनले सुरु गरेको प्रविधि थुप्रै राष्ट्रहरूमा फैलियो। तिनी, आज हामीले देखेको नर्सिङ पेसाकी अग्रणी हुन्‌।

[चित्र]

नाइटिङगेल ट्रेनिङ स्कूल फर नर्सेज स्थापित भइसकेपछिको सेन्ट थोमसेज हस्पिटल

[स्रोत]

Courtesy National Library of Medicine

[पृष्ठ ८-मा भएको पेटी/चित्र]

नर्सहरूको योग्यता

नर्स: “विशेष गरी नर्सिङको वैज्ञानिक आधारअनुसार तालिम प्राप्त व्यक्‍ति जसले शैक्षिक तथा औषधोपचारका केही निर्धारित स्तरहरू पूरा गरेको हुन्छ।”

लाइसेन्स प्राप्त नर्स: “नर्सहरूको जाँच लिने स्टेट बोर्डले जाँचिसकेपछि कानुनी तवरमा काम गर्ने अख्तियार पाएको स्नातकोत्तर प्राप्त नर्स . . . र कानुनी तवरमा R.N. पदवी धारण गर्नसक्ने नर्सहरू।”

क्लिनिकल नर्स विशेषज्ञहरू: “नर्सिङको क्षेत्रमा निकै ज्ञान, सीप र योग्यता भएको लाइसेन्स प्राप्त नर्स।”

नर्स-सुँडेनी: “नर्सिङ र सुँडेनी दुवैको तालिम प्राप्त व्यक्‍ति।”

प्राक्टिकल नर्स: “नर्सिङ हेरविचारमा अनुभव भएको तर नर्सिङ स्कूलबाट स्नातक प्राप्त नगरेको व्यक्‍ति।”

लाइसेन्स प्राप्त प्राक्टिकल नर्स: “लाइसेन्स प्राप्त वा पेसेवर नर्सको रूपमा कानुनी तवरमा मान्यता प्राप्त प्राक्टिकल नर्सको स्कूलका स्नातक।”

[स्रोत]

सं.रा.-को प्रकाशन डरल्याण्डस इलस्ट्रेटेड मेडिकल डिक्सनरी-बाट

UN/J. Isaac

[पृष्ठ ९-मा भएको पेटी/चित्र]

‘स्वास्थ्योपचारको मेरुदण्ड’

विश्‍व स्वास्थ्य संघका निर्देशक डा. ग्रो हार्लम ब्रर्न्टलानले जून १९९९ को इन्टरनेसनल काउन्सिल अफ नर्सेज सेन्टिनियल कन्फ्रेन्समा यसो भने:

“नर्सहरू आधारभूत पेसेवर स्वास्थ्यकर्मी भएकाले स्वास्थ्य ग्रह कायम राख्ने सशक्‍त व्यक्‍तिहरूको रूपमा तिनीहरूले उल्लेखनीय भूमिका निर्वाह गर्छन्‌। . . . अधिकांश स्वास्थ्य सेवाका ८०% योग्य स्वास्थ्यकर्मी त नर्स तथा सुँडेनीहरू नै हुन्छन्‌। तसर्थ, तिनीहरूले २१ औं शताब्दीमा सबैलाई सुस्वास्थ्य प्रदान गर्न आवश्‍यक परिवर्तनहरू गराउन सशक्‍त भूमिका निर्वाह गर्नसक्छन्‌। वास्तवमा, स्वास्थ्य क्षेत्रमा तिनीहरूले पुऱ्‍याएको योगदानले सम्पूर्ण स्वास्थ्योपचारलाई नै समेटेको छ। . . . नर्सहरू अधिकांश स्वास्थ्योपचार समूहहरूको मेरुदण्ड हुन्‌ भन्‍ने कुरा स्पष्ट छ।”

मेक्सिकोका राष्ट्रपति अर्नेस्टो सेदियो पोनसे दे लेनले आफ्नो वक्‍तव्यमा यसो भन्दै मेक्सिकोका नर्सहरूको विशेष प्रशंसा गरे: “दिनदिनै तपाईंहरू सबैले . . . मेक्सिकोका बासिन्दाहरूको स्वास्थ्य जोगाउन तथा सुधार्न सेवा, साहचर्य र ज्ञानले भ्याएसम्म गर्नुभएको छ। नर्स हुनुभएकोले तपाईंहरू दिनदिनै बिरामीलाई पेसागत मदत मात्र होइन तर दया, समर्पण तथा गहिरो मानव भावनाले प्रेरित सान्त्वना पनि दिनुहुन्छ। . . . तपाईंहरू हाम्रो स्वास्थ्य प्रणालीको ठूलो भाग हुनुहुन्छ। . . . कसैको जीवन जोगिंदा, कुनै बच्चालाई सूई हाल्दा, बच्चा जन्माउन मदत गर्दा, स्वास्थ्य गोष्ठीहरूको आयोजन हुँदा, बिरामी निको हुँदा अनि बिरामीलाई चाहिने ध्यान अनि निरन्तर समर्थन दिनुपर्दा हाम्रा नर्सिङ स्टाफहरूको योगदान प्रशस्त भेटिन्छन्‌।”

[स्रोत]

UN/DPI Photo by Greg Kinch

UN/DPI Photo by Evan Schneider

[पृष्ठ ११-मा भएको पेटी/चित्र]

कृतज्ञ डाक्टर

न्यु योर्क प्रेस्बाइटेरियन अस्पतालका डा. सन्दिप जोहरले असल नर्सहरूप्रति आफू आभारी रहेको स्वीकारे। एक जना मर्नै लागेका बिरामीलाई अरू थप मोर्फिन चाहिएको छ भनेर एउटी नर्सले तिनलाई होसियारीसाथ विश्‍वस्त गराइन्‌। तिनले लेखे: “असल नर्सले डाक्टरहरूलाई पनि सिकाउँछन्‌। विशेष ध्यान दिनुपर्ने बिरामीहरू राखिएका वार्डहरू जस्तै, सघन उपचार कक्षमा खटाइएका नर्सहरू अस्पतालकै सबैभन्दा राम्रो तालिम प्राप्त नर्सहरू हुन्छन्‌। अस्पतालमा काम सिक्दै गर्दा उनीहरूले मलाई क्याथेटर कसरी राख्ने र श्‍वासप्रश्‍वास प्रणालीका उपकरणहरू कसरी जडान गर्ने आदि कुरा सिकाएका थिए। उनीहरूले मलाई कुन कुन औषधी प्रयोग गर्नुहुँदैन त्यो पनि बताएका थिए।”

तिनी अझै भन्छन्‌: “नर्सहरूले बिरामीहरूसित धेरै समय बिताउने भएकोले बिरामीहरूलाई अत्यावश्‍यक मनोवैज्ञानिक तथा भावनात्मक समर्थन तिनीहरूले नै दिन्छन्‌। . . . मैले भरोसा गरेकी नर्सले मलाई तुरुन्तै बिरामीलाई हेर्नु पऱ्‍यो भन्दा मैले तुरुन्तै प्रतिक्रिया नजनाएको त कमै होला।”

[पृष्ठ ७-मा भएको चित्र]

“ममा अरूको सेवा गर्ने इच्छा थियो।”—टेरी ह्विथर्सन, बेलाइत।

[पृष्ठ ७-मा भएको चित्र]

“अस्पतालमा बुबाको हेरचाह गर्दा मैले भविष्यमा बिरामीहरूको हेरचाह गर्नसकूँ भनेर नर्स बन्‍ने निर्णय गरे।”—एत्सुको कोतानी, जापान।

[पृष्ठ ७-मा भएको चित्र]

‘एउटी सुँडेनीले अनुभव गर्नसक्ने सबैभन्दा आकर्षक कुरा नै बच्चा जन्माउन मदत गर्ने क्षण हो।’—योलाण्डा खिल्न-फान-होफ्ट, नेरदल्याण्डस।

[पृष्ठ ८-मा भएको चित्र]

बच्चा जन्माउन मदत गर्दा सुँडेनीहरूले आनन्द तथा सन्तुष्टि प्राप्त गर्छन्‌