सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वदर्शन

विश्‍वदर्शन

विश्‍वदर्शन

तनाउग्रस्त विद्यार्थीहरू

वार्षिक परीक्षाले भारतका थुप्रै विद्यार्थीहरूलाई अत्यन्तै तनाउग्रस्त बनाउँछ भनी मुम्बईको एसियन एज अखबार रिपोर्ट गर्छ। जाँच आउनै लाग्दा मात्र घोटिएर पढ्‌ने अनि राम्रो अंक ल्याउने दबाउले कोही कोही विद्यार्थीलाई अत्यन्तै तनाउग्रस्त बनाउँछ। यसकारण, यो जाँचको बेला मनोचिकित्सककहाँ आउनेहरूको संख्यामा दोब्बर वृद्धि हुन्छ। कोही कोही आमाबाबु आफ्ना छोराछोरीले जाँचमा राम्रो गरून्‌ भनेर मनोरञ्जन ठप्पै बन्द गरिदिन्छन्‌। “आमाबाबुले छोराछोरीलाई निकै दबाउ दिन्छन्‌। अनि अरू विद्यार्थीहरूसित प्रतिस्पर्धा पनि हुन्छ” भनी मनोचिकित्सक भि. के. मुन्द्रा बताउँछन्‌। साथै, “छोराछोरीलाई आराम गर्न मदत गर्दा दिमाग ताजा हुन्छ र अझ राम्ररी पढ्‌न सक्छ” भनेर थुप्रै आमाबाबुले बुझेका छैनन्‌। डा. हरिश शेट्टीले देखेअनुसार जाँचको दबाउ “अब एकदेखि सात कक्षा पढ्‌ने विद्यार्थीहरूले समेत महसुस गर्न थालेका छन्‌।”

बनेलहरू शहर पस्छन्‌

बनेल जंगलमा बस्ने लजालु प्राणी हुन्‌ तर तिनीहरूले शहरमा प्रशस्त भोजन मात्र होइन, सिकारीहरूबाट सुरक्षा पनि पाइने कुरा पत्ता लगाएको जर्मन साप्ताहिक डाइ वोश बताउँछ। भुनीहरूले बर्लिन शहरमै पाठापाठी ब्याएका छन्‌। यी भोका जनावरहरू रूखै रूख भएको वा सार्वजनिक पार्कहरूमा मात्र बस्ने गर्दैनन्‌। यी बनेलहरूले निजी बगैंचामा पसी फूलका मुनाहरू खाएर खत्तमै पार्छन्‌। यी बनेलहरूको वजन ३५० किलोग्रामसम्म हुन्छ र यिनीहरूलाई देखेर तर्सिएका थुप्रै मानिसहरू रूख वा टेलिफोन बुथमा शरण लिन्छन्‌। यी जन्तुहरूले गर्दा अनगिन्ती सडक दुर्घटना भएका छन्‌। कामबाट घर फर्किरहेका थुप्रै बासिन्दाहरूको यी काँडे जनावरहरूसित जम्काभेट भएको छ। एक जना मानिसले यसो भने: “मेरो गाडी र घरको ढोकाअगाडि २० वटा बनेल तैनाथ छन्‌ भने म कसरी भित्र छिर्ने?”

आफ्नो नाउँमा कुनै नयाँ जाति

साइन्स पत्रिका यस्तो प्रश्‍न गर्छ, “के तपाईं सर्वसम्पन्‍न प्रिय जनलाई एउटा अनमोल उपहार दिने विचारमा हुनुहुन्छ? मदत उपलब्ध छ। बायोडाइभर्सिटी अनुसन्धानको लागि चन्दा दिएबापत तपाईंले त्यस व्यक्‍तिको नाउँमा पहिले थाह नभएको सुनाखरी, लामखुट्टे वा पानी कीराको नामाकरण गरेर वैज्ञानिक प्रकाशनमा सधैंको लागि लिपिबद्ध गराउन सक्नुहुन्छ।” अथवा तपाईंकै नाउँ पनि राख्न सक्नुहुन्छ। हालैका अनुसन्धानले देखाएअनुसार अहिले अस्तित्वमा भएका जातिहरूमध्ये दश भागको एक भाग वा त्योभन्दा कम जातिको मात्र वैज्ञानिक साहित्यमा वर्णन गरिएका छन्‌। संकलन गरिएका थुप्रै जाति संग्रहालयका घर्राहरूमा कुनै नाउँ पाएर वैज्ञानिक प्रकाशनहरूमा लिपिबद्ध हुने आशामा बेनाम पर्खिरहेका छन्‌। मानिसहरूले अब यी बेनाम प्राणीहरूको चित्र वेबसाइटमा हेरेर नाउँ राख्न सक्छन्‌। अनि २,८०० अमेरिकी डलर वा त्योभन्दा बढी रकम चन्दा दिएर आफूले रोजेको जातिलाई ल्याटिन नाउँ दिन सकिन्छ। यसरी बि आइ ओ पि ए टि नामक संगठनले वनस्पति अध्ययन र नयाँ जातिहरूको संरक्षण गर्न आर्थिक सहयोग जुटाउने आशा गरेको छ।

किशोरकिशोरीहरूको विवाह

भारतका विवाहित जोडीहरूमध्ये ३६ प्रतिशत १३ देखि १६ वर्षबीचका छन्‌ भनी हालै गरिएको राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षणले देखायो। त्यही सर्वेक्षणले देखाएअनुसार १७ देखि १९ वर्षबीचका ६४ प्रतिशत केटीहरूले सन्तान जन्माइसके वा गर्भवती छन्‌ भनी मुम्बईको एसियन एज अखबार रिपोर्ट गर्छ। त्यही रिपोर्ट अझ बताउँछ, २० देखि २४ वर्षका महिलाहरूभन्दा १५ देखि १९ वर्षबीचका केटीहरूको गर्भाधारणसित सम्बन्धित समस्याहरूले गर्दा मर्ने सम्भावना दुई गुणा बढी छ। यसबाहेक, गत केही वर्षमा १५ देखि २४ वर्षबीचका युवायुवतीहरूमा यौनजन्य संक्रमण पनि दोब्बर वृद्धि भएको छ। विशेषज्ञहरू यो समस्या वृद्धिको कारण यौन विषयमा ज्ञानको अभाव र साथीभाइ तथा सञ्चारमाध्यमले दिने गलत जानकारी हो भन्छन्‌।

रोग आदानप्रदान

“तीस वर्षअघि पाँच जना इजिप्सियनमध्ये तीन जनालाई चिप्लेकीरामा हुने जीवाणुले सार्ने बिलहार्जिया रोग लाग्थ्यो” भनी दी इकोनोमिस्ट लेख्छ। बिलहार्जिया निको पार्ने आधुनिक औषधीहरूले गर्दा यो रोगको खतरा निकै कम भएको छ। तथापि, बिलहार्जिया निवारण अभियानको सुरुतिर प्रयोग गरिएको प्रणालीले गर्दा “अब लाखौं मानिसहरूलाई हेपाटाइटिस-सि लाग्ने सम्भावना भएको छ। यो प्राणघातक हुनसक्छ र इजिप्टको प्रमुख स्वास्थ्य समस्या बन्‍नसक्छ।” यसको कारण हो, बिलहार्जिया विरुद्ध खोप लगाउन “प्रयोग गरिएका सुईहरू किटाणुमुक्‍त नगरी धेरै चोटि चलाइनु। . . . वैज्ञानिकहरूले १९८८ अघिसम्म रगतबाट सर्ने हेपाटाइटिस-सि जीवाणु (एच सि भी) पत्ता लगाएकै थिएनन्‌” भनी उक्‍त पत्रिका बताउँछ। सर्वेक्षणहरूले देखाएअनुसार “हेपाटाइटिस-सि रोगीहरूको संख्या सबैभन्दा बढी भएको देश” इजिप्ट हो। भनिन्छ, सालाखाला १ करोड १० लाख इजिप्सियनहरू अर्थात्‌ हरेक ६ जनामा १ जनालाई यो रोगले संक्रमण गरेको छ। यसले संक्रमण गरेपछि ७० प्रतिशत बिरामीको कलेजोलाई गम्भीर असर गर्छ अनि ५ प्रतिशतमा प्राणघातक साबित हुन्छ। “अहिलेसम्म थाह भएकोमध्ये जीवाणु संक्रमणको यो सबैभन्दा ठूलो आदानप्रदान हो” भन्दै त्यही लेख अझ यसो भन्छ: “अलि मन ढुक्क पार्ने एउटै कुरा के हो भने, बिलहार्जिया विरुद्ध यस्तो व्यापक अभियान नहुँदो हो त अरू थुप्रै मानिसहरूको ज्यान जाने थियो।”

पीडित बालबालिका

“हरेक दिन . . . पाँच वर्षमनिका ३०,५०० केटाकेटीको अकाल मृत्यु हुने गर्छ” भनी संयुक्‍त राष्ट्र संघ बालकोशको प्रतिवेदन द स्टेट अफ द वर्ल्डस चिल्ड्रेन टु थाउजेन्ड बताउँछ। इन्डियन एक्स्प्रेस अखबारको रिपोर्टअनुसार “गत दशकको सशस्त्र भिडन्तमा लगभग २० लाख केटाकेटी मारिए, ६० लाख घाइते वा अपांग भए अनि अरू लाखौं मानव अधिकार दुरुपयोगको सिकार भए।” एक करोड पचास लाखभन्दा बढी केटाकेटी शरणार्थी भएका छन्‌ अनि १० लाखभन्दा बढी बालबच्चा आमाबाबुबाट छुट्टिएका वा टुहुरा भएका छन्‌। साथै, यो रिपोर्टमा अन्तरराष्ट्रिय श्रम संगठनले गरेका अध्ययनहरूबारे पनि उल्लेख गरिएको छ। त्यसअनुसार ५ देखि १४ वर्षबीचका २५ करोड केटाकेटी बाल श्रमिक छन्‌ र त्यसमध्ये २० प्रतिशत एकदमै खतरनाक अवस्थामा छन्‌। संसारभरि लगभग १० लाख केटाकेटी वेश्‍यावृत्तिमा संलग्न छन्‌ र तीमध्ये वर्षेनी २,५०,००० केटाकेटीलाई एच आइ भी संक्रमण हुन्छ। अनि १३ करोड केटाकेटी स्कूल जाँदैनन्‌ जसमध्ये दुई तिहाइ केटीहरू छन्‌।

चीनमा वन्यजन्तुको विशिष्ट परिकार

“परिवर्तित जीवनशैली र भोजन गर्ने बानीले” गर्दा चीनको वन्यजन्तु संकटमा परेको छ भनी डाउन टु अर्थ पत्रिका टिप्पणी गर्छ। कुनै खास प्रकारका वन्यजन्तुहरू अरू भोजनभन्दा स्वास्थ्यवर्धक हुन्छ भन्‍ने धारणाले गर्दा विशिष्ट परिकारको माग बढेको हो। अत्यधिक माग सर्पको छ र यसमा पनि अहानिकारकभन्दा विषालु सर्पहरू दुगुणा महँगो छन्‌। बनेल, जंगली बिरालो, पाहा, भ्यागुता, पाइथन, पाङगोलिन, तिब्बती जरायो अनि फाट्टफुट्ट मात्र पाइने चराहरू अत्यन्तै लोकप्रिय हुन थालेका छन्‌ र चीनका रेस्टुराँमा अर्डर गर्न सकिन्छ। यीमध्ये थुप्रै जन्तु लोप हुने अवस्थामा भएकोले सरकारी सुरक्षा पाउनैपर्छ। यद्यपि, कोही कोही रेस्टुराँका मालिकहरूले आफूकहाँ पाइने यी विशेष परिकारहरू साँच्चै जंगली हुन्‌ र घरपालुवा वा वैज्ञानिक प्रविधिद्वारा हुर्काइएका होइनन्‌ भन्‍ने विज्ञापन गर्छन्‌। चीन सरकारले यस्ता विशिष्ट भोजनको लागि जनावरहरू मार्न नदिने अभियानका साथै “वन्यजन्तु नखाऔं” भन्‍ने नारा प्रयोग गर्न थालेको छ।

धूम्रपान गरून्‌ या नगरून्‌, प्रदूषणमुक्‍त छैनन्‌

मुम्बईको टाटा इन्स्टिच्युट अफ फन्डामेन्टल रिसर्चको प्रतिवेदनअनुसार भारतमा धूम्रपान गर्ने केटाकेटीले सानै उमेरदेखि चुरोट पिउन थाल्छन्‌। औसतमा हेर्ने हो भने, आमाबाबुको सुपरिवेक्षण नपाई सडकमा गुजारा गर्ने केटाकेटीले ८ वर्षको उमेरमा र हेरचाह गर्ने अभिभावक भएका स्कूले केटाकेटीले ११ वर्षको उमेरमा सानो चुरोट पिउन थाल्छन्‌। तथापि, मुम्बईको अर्को सर्वेक्षणले देखाएअनुसार आमाबाबुको हेरचाह पाएका अनि कहिल्यै चुरोट नखाएका केटाकेटीले पनि दिनहुँ दुई बट्टा चुरोटको दरमा प्रदूषक तत्त्वहरू सेवन गरिरहेका हुन्छन्‌! दी एसियन ऐज अखबारको रिपोर्टअनुसार संसारका सबैभन्दा प्रदूषित पाँचवटा शहरमध्ये मुम्बई र दिल्ली प्रमुख हुन्‌। मुम्बईमा दिनहुँ आवतजावत गर्ने ९,००,००० र शहर भित्रबाहिर गर्ने ३,००,००० गाडीले गर्दा यहाँको प्रदूषणको मात्रा, विश्‍व स्वास्थ्य संगठनले तय गरेको मापदण्डभन्दा ६०० देखि ८०० प्रतिशत बढी छ।

चराहरूको लागि खतरनाक

“उत्तर अमेरिकाका कार्यालय भवन तथा सञ्चार धरहराहरू अज्ञात हत्यारा हुन्‌” भनी क्यानाडा, टोरन्टोको द ग्लोब एण्ड मेल लेख्छ। “यी ठाउँहरू अनि घरका झ्यालहरूमा ठोक्किएर वर्षेनी यो महादेशका एक करोड चराचुरुंगीहरू मर्छन्‌।” कार्यालय भवनमा राती त्यत्तिकै बत्ती बालिराख्दा एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्ने चराहरूको दिशाबोधलाई अलमलाइ दिन्छ। विशेषज्ञहरूको भनाइमा यो एउटा व्यापक समस्या हो। पंक्षीशास्त्री डेभिड विलार्ड भन्छन्‌, “यस्ता घटनाहरू नहुने कुनै देश वा महादेश छैन होला।” टोरन्टोको फेटल लाइट अवेरनेस प्रोग्रामजस्ता समूहहरूले कामदारहरूलाई राती बत्ती निभाउनुपर्ने महत्त्वबारे सम्झाइरहेका छन्‌।

साथै, डिस्को वा अन्य मनोरञ्जन थलोहरूमा मानिसहरूलाई आकर्षित गर्ने “आकाशबत्ती”-ले रात्रिचरालाई अलमलाइ दिन्छ भनी जर्मन दैनिकी फ्रांकफर्टर आल्जेमाइन जाइटुङ रिपोर्ट गर्छ। बत्तीले चरा तथा चमेरोको दिशाबोध क्षमतालाई खल्बलाउँछ। अलमल्ल परेका चराहरू आफ्नो बथानबाट छुट्टिन्छन्‌, दिशा परिवर्तन गर्छन्‌, कोलाहल मच्चाउँछन्‌ अनि बसाइँ सराइसमेत गोलमाल हुन्छ। यसरी रनभुल्लमा परेका चराहरू कहिलेकाहीं घुम्दाघुम्दा लखतरान भएर भुइँमा खस्छन्‌ र कमजोरहरू मर्छन। फ्रांकफर्टको चराचुरुंगी संरक्षणको लागि खडा गरिएको संस्थानले “आकाशबत्तीहरू” निषेध गर्न आह्वान गरेको छ।