सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के विज्ञानले अनन्त जीवन दिनसक्छ?

के विज्ञानले अनन्त जीवन दिनसक्छ?

बाइबलको दृष्टिकोण

के विज्ञानले अनन्त जीवन दिनसक्छ?

वर्षौंअघि त्यस्तो प्रश्‍न सोध्नु मूर्खता जस्तो देखिन्थ्यो। तर, अहिले केही मानिसहरू यस सम्भाव्यतालाई गम्भीरतासाथ विचार गर्दैछन्‌। वैज्ञानिकहरूले झिंगा तथा गड्यौंलाहरूमा नयाँ प्रविधि अपनाएर यिनीहरूको आयु दुई गुणा बढाउन सकेका छन्‌ र मानिसहरूमा पनि यस्तै प्रविधि प्रयोग गर्न सकिन्छ भन्ठान्छन्‌।

मानिसहरूको कोष सीमित चोटि विभाजन हुन्छ र पछि मर्छ भन्‍ने कुरा अन्वेषणबाट पत्ता लागेको छ। त्यसपछि ती विभाजन हुँदैनन्‌। यस प्रक्रियालाई शरीर भित्र रहेको घडीसित तुलना गरिएको छ जसले मानिसहरू कहिले बूढो भएर मर्नुपर्ने हो भन्‍ने कुरा नियन्त्रण गर्छ। वैज्ञानिकहरू अब यस घडीलाई फेरि पहिलेकै अवस्थामा पुऱ्‍याउने प्रयास गर्दैछन्‌।

एउटा लोकप्रिय सिद्धान्तअनुसार वृद्धावस्थ हरेक डि एन ए त्यान्द्रोको पुछारमा हुने टेलोमेरमा निर्भर छ। जुत्ताका फित्ताहरू नछरीयोस्‌ भनेर यसको टुप्पोमा राखिएको प्लास्टिकको बिर्कोजस्तो खोलसित टेलोमेरहरूलाई तुलना गरिएको छ। हरेक पटक कोषहरू विभाजन हुँदा यी टेलोमेरहरू जलेको फ्युजजस्तै छोटो हुन्छन्‌। अन्ततः यी टेलोमेरहरू यतिसम्म छोटो हुन्छन्‌ कि कोष विभाजनै बन्द हुन्छ। तथापि, एउटा खास प्रकारको इन्जाइम भएको खण्डमा टेलोमेरहरू छोट्टिदैनन्‌। तसर्थ, त्यो सिद्धान्तअनुसार कोषहरूको विभाजनमा निरन्तरता दिनसक्ने सम्भाव्यता देखिन्छ। यस कार्यमा संलग्न एउटा कम्पनीको अधिकृतले यसो भने: “हामीले मानिसहरू अमर हुनसक्छन्‌ भनेर कल्पना गर्न सकेको पहिलोपल्ट हो।” तर सबै वैज्ञानिकहरू यस कुरामा सहमत छैनन्‌।

मृत्यु कसरी सुरु भयो

हो, बाइबलमा विश्‍वास गर्ने मानिसहरूले मानिसहरू हजारौं वर्षसम्म बाँच्नसक्ने सम्भावना छ भनेर विश्‍वास गर्छन्‌। तिनीहरू मानव वैज्ञानिकहरूमा होइन तर सबै कुरा सृष्टि गर्नुहुने, यहोवा परमेश्‍वर अर्थात्‌ सर्वोत्कृष्ट वैज्ञानिकमा भरोसा राख्छन्‌।—भजन १०४:२४, २५.

मानिसहरू मरून्‌ भन्‍ने सृष्टिकर्ताको उद्देश्‍य थिएन भनेर बाइबलले देखाउँछ। परमेश्‍वरले प्रथम मानव जोडीलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभएर प्रमोदवनरूपी बगैंचामा राख्नुभयो। तिनीहरू सिद्ध थिए, मन वा शरीरमा कुनै खोट थिएन। त्यसैले तिनीहरू पृथ्वीमा सधैंभरि बाँच्न सक्थे। परमेश्‍वरले तिनीहरूको लागि चाहनुभएको पनि यही नै थियो। उहाँले तिनीहरूलाई छोराछोरीहरू जन्माउने अनि प्रमोदवन फैलाउँदै बिस्तारै पृथ्वी भर्ने निर्देशन दिनुभयो।—उत्पत्ति १:२७, २८; २:८, ९, १५.

परमेश्‍वर विरुद्व विद्रोह गर्नुको परिणाम मृत्यु हुनेछ भनी थाह हुँदा हुँदै आदमले जानाजानी त्यसै गरे भनेर उत्पत्ति तेस्रो अध्यायले देखाउँछ। त्यसबाहेक, अनाज्ञाकारीताको मार्ग पछ्याएर तिनले आफ्ना भावी सन्तानहरूमाथि पाप र मृत्यु ल्याए। प्रेरित पावलले यसरी वर्णन गरे: “जसरी एउटै मानिसद्वारा पाप संसारमा प्रवेश भयो र पापबाट मृत्यु, त्यसरीनै मृत्यु सबै मानिसमा व्याप्त भयो। किनकि सबैले पाप गरेका छन्‌।” (रोमी ५:१२) अर्को शब्दमा भन्‍ने हो भने, आदमले पाप गरेकाले तिनको शरीर त्यस उप्रान्त सिद्ध भएन। समयको दौडान तिनी वृद्ध भए अनि मरे। तिनको सन्तानमा पनि यही असिद्धता सऱ्‍यो।

आदमको विद्रोह र त्यसपछि परमेश्‍वरको न्यायको परिणामस्वरूप मानिसहरू मर्नुपऱ्‍यो। मानिसहरूले परमेश्‍वरको न्यायलाई बदर गर्न सक्दैनन्‌। विज्ञानले चिकित्साजगत्‌मा थुप्रै उन्‍नति गरेको भए तापनि ३,५०० वर्षअघि मोशाले लेखेको प्रेरित वचन अझै पनि सत्य साबित भइरहेको छ: “हाम्रा आयु ता तीन कोरी र दश वर्ष मात्र छन्‌, पौरखले चार कोरीसम्म ता होला। तापनि तिनीहरूको घमण्ड ता केवल दुःख र मेहनत मात्र हुन्छन्‌, किनकि त्यो चाँड़ै बित्छ, र हामी उड़िजान्छौं।”—भजन ९०:१०.

अनन्त जीवनको लागि यहोवाको प्रबन्ध

खुसीको कुरा, हामी आशाविहीन छैनौं! अहिले सबै मानवजाति मर्नुपरे तापनि यो अवस्था सधैंभरि रहन दिनु यहोवाको उद्देश्‍य होइन। आदम र हव्वाले मृत्युदण्ड पाउने योग्यकै काम गरे तापनि तिनीहरूका भावी सन्तानमध्ये थुप्रैले उहाँको मायालु सुपरिवेक्षणप्रति सकारात्मक प्रतिक्रिया देखाउनेछन्‌ भनेर उहाँलाई थाह थियो। त्यस्ता मानिसहरूका लागि उहाँले यसै पृथ्वीमा अनन्त जीवनको प्रबन्ध मिलाउनुभयो। भजनरचयिताले यसो लेखे: “धर्मात्माहरूले देश अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहन्छन्‌।” (भजन ३७:२९) तर यो कसरी हुनेछ?

मानिसहरूले डि एन ए-बारे रहस्य खोल्दैमा त्यो पूरा हुनेछैन। बरु, अनन्त जीवन यहोवाले उहाँमाथि विश्‍वास गर्नेहरूलाई दिनुहुने वरदान हो। आदम र हव्वाका सन्तानलाई उद्धार गर्नुपरेको हुँदा उहाँले अनन्त जीवन पाउने माध्यम अर्थात्‌ येशू ख्रीष्टको बलिदानको प्रबन्ध गरिदिनुभयो। यस प्रबन्धबारे येशूले यसो भन्‍नुभयो: “परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्‍वास गर्ने प्रत्येक नाश नहोस्‌, तर त्यसले अनन्त जीवन पाओस्‌।”—यूहन्‍ना ३:१६.

आदमजस्तै येशू पनि सिद्ध मानव हुनुहुन्थ्यो। आदमजस्तो नभई येशू परमेश्‍वरप्रति पूर्णतया आज्ञाकारी हुनुभयो। तसर्थ, येशूले आदमको पापको लागि आफ्नो सिद्ध मानव जीवन बलिदान दिनसक्नुभयो। न्यायलाई सन्तुलनमा राख्ने यस मायालु कार्यले गर्दा आदमका सन्तान मृत्युदण्डबाट मुक्‍त हुने भए। परिणामस्वरूप, येशूमाथि विश्‍वास गर्नेहरू सबैले परमेश्‍वरले दिनुहुने अनन्त जीवनको वरदान पाउनेछन्‌।—रोमी ५:१८, १९; १ तिमोथी २:५, ६.

मानिसहरूले असिद्धता हटाउन सक्ने र अनन्त जीवन प्राप्त गर्न सक्ने भए बलिदानको आवश्‍यकता पर्ने नै थिएन। बाइबलले यस्तो बुद्धिमानी सल्लाह दिन्छ: “राजाहरूमाथि तँ भरोसा नगर्‌, मानिसमाथि पनि नगर्‌, तिनीहरूबाट केही सहायता हुँदैन। त्यसको सास निस्किहाल्छ, त्यो माटैमा मिलिहाल्छ। त्यही दिन त्यसका युक्‍तिहरू नष्ट भइहाल्छन्‌। याकूबका परमेश्‍वरलाई आफ्नो सहायक बनाउनेचाहिं सुखी हुन्छ, जसको आशा परमप्रभु तिनका परमेश्‍वरमा, हुन्छ। जसले स्वर्ग र पृथ्वी सृजनुभयो, समुद्र र त्यसमा भएका यावत्‌ थोक। जसले सधैं सत्यलाई पालन गर्नुहुन्छ।”—भजन १४६:३-६.

अनन्त जीवन वैज्ञानिक अनुसन्धानबाट होइन यहोवाबाट प्राप्त हुनेछ। परमेश्‍वरले जे गर्ने इच्छा गर्नुहुन्छ, त्यो गर्न सक्नुहुन्छ र अवश्‍य पूरा गर्नुहुनेछ। “परमेश्‍वरतर्फबाट हुने कोही कुरो असम्भव हुँदैन।”—लूका १:३७. (g00 12/08)

[पृष्ठ १८-मा भएको चित्रको स्रोत]

© Charles Orrico/SuperStock, Inc.