सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यल्लोस्टोन—पानी, पत्थर अनि आगोको सँगालो

यल्लोस्टोन—पानी, पत्थर अनि आगोको सँगालो

यल्लोस्टोन—पानी, पत्थर अनि आगोको सँगालो

संयुक्‍त राज्यका ब्यूँझनुहोस्‌!-का लेखकबाट

संसारको सबैभन्दा पहिलो राष्ट्रिय निकुञ्ज, सबैभन्दा प्रख्यात अनि विशाल फोहरा र उत्तर अमेरिकाको सबैभन्दा फराकिलो ताल। यी सबै भएको संसारकै सबैभन्दा प्रमुख अनि विशिष्ट ठाउँ कुन होला भनेर सोच्दै हुनुहुन्छ भने, त्यो हो यल्लोस्टोन।

आफ्नो कौतूहलता थाम्नै नसकेर म र मेरी श्रीमती सं.रा.अ. वायोमिङस्थित यल्लोस्टोन राष्ट्रिय निकुञ्जको उत्तरी मूलद्वारतिर लाग्यौं। बाल्यकालदेखि नै हामी ओल्ड फेथफुल अनि “गेसर” तथा “हट स्प्रिङ” भनेको के होला भनेर सोच्ने गर्थ्यौं। के त्यो ठाउँ हामीले सोचेजस्तै रहेछ त?

निकुञ्जभित्र पस्ने मूलद्वारमा हामीले विशाल ढुंगाको एउटा गुमज देख्यौं। यसको माथितिर यी शब्दहरू कुँदिएका थिए: “मानिसहरूको लाभ तथा मनोरञ्जनको लागि।” सन्‌ १८७२ मा खुलेको यो यल्लोस्टोन संसारको सबैभन्दा पहिलो राष्ट्रिय निकुञ्ज हो।

हामीले मोन्टानाको सिमानासँगैको मामोथ हट स्प्रिङबाट भ्रमण थाल्यौं। यहाँ पृथ्वीको ताप कतिको सशक्‍त हुन्छ भनेर स्पष्टै महसुस गर्न सकिन्थ्यो। तलाउ अनि जलाशयको पानी उम्लेर बाफ माथि माथि उडिरहेको थियो। स-साना दरारहरूबाट बाफको मुस्लो निस्किरहेका थिए। ट्राभर्टिन भनिने गुलाबी रंगको खनिज पदार्थले बनिएका गाराहरू तपतप चुहेको मैन जस्तै देखिन्थ्यो।

यल्लोस्टोनमनि के के भइरहेका छन्‌?

यस यल्लोस्टोनमा पृथ्वीको सतहमनिका भू-तापमानका कारण हुने १०,००० जति अचम्मका कामहरू हुन्छन्‌। दुई महाद्वीपलाई छुट्याउने पानी यस उच्च पठारका भन्ज्याङहरू हुँदो बगेको पाइन्छ। a पानी पूर्व अनि पश्‍चिमतिर बहनुका साथै जमिनमनि पनि जान्छन्‌। यसरी जमिनमनि पसेको पानीबाटै यल्लोस्टोनमा आश्‍चर्यमय कुराहरू हुने रहेछन्‌ भनेर हामीले थाह पायौं। यहाँ एकताक भयानक ज्वालामुखी विस्फोटन हुँदा यस पठारलाई निकै क्षति पुऱ्‍याएको थियो। हजारौं वर्षअघि ज्वालामुखी विस्फोटन हुँदा ७५ x ४५ किलोमिटर गहिराइको विशाल काल्डेरा (क्रेटर) बन्‍न पुग्यो। जमिनमनि रहेका म्याग्मा अर्थात्‌ पग्लेका चट्टानहरूले गर्दा नै यल्लोस्टोनमनि विभिन्‍न प्रक्रिया भइरहन्छन्‌।

निकुञ्जमा राखिएका चित्रहरूले देखाएअनुसार चट्टानका छिद्रहरूबाट पानी भित्र पस्छ र म्याग्माको पत्रभन्दा माथिको असाध्यै तातो चट्टानमा पुग्छ। तापले पानीलाई माथि ठेल्छ। अनि बाहिर निस्कने प्वाल भेट्टिने बित्तिकै तातो मूल बाहिर निस्कन्छ। तर चट्टानका अवरोधहरूले गर्दा तातो पानी बाहिर निस्कन सकेन भने तातो फोहरा निस्कन्छ। अरू ठाउँमा चाहिं त्यो बाफको रूपमा बाहिर निस्कन्छ। यी छिद्रहरूलाई धूम्रछिद्र भनिन्छ। अम्लीय ग्याँस तथा पानीले मललाई हिलो र माटोमा परिवर्तन गर्ने तातो मूलहरूमा चाहिं पानी उम्लिन्छन्‌। कस्तो रोमाञ्चक दृश्‍य!

ओल्ड फेथफुल

मामोथ हट स्प्रिङ वरपर भू-तापमानले गर्दा भएका कार्यहरू देखेपछि हामीले सबैभन्दा प्रसिद्ध तातो फोहरा ओल्ड फेथफुलकै आसपास छौं भन्‍ने अनुमान लगाउन थाल्यौं। हामीले बाटोको नक्सा हेरेपछि पो बल्ल ओल्ड फेथफुल त अझ ८० किलोमिटर टाढा दक्षिणतिर रहेछ भनेर थाह पायौं। यल्लोस्टोन हामीले सोचेभन्दा निकै विशाल रहेछ। यसले २२ लाख एकड जमिन ओगटेको छ।

पश्‍चिमी भागतर्फ पर्यटकहरू हिंड्‌ने अनि पाँचवटा तातो फोहराका जलाशयहरू भएर ओल्ड फेथफुल पुऱ्‍याउने बाटोबाट तलतिर रवाना भयौं। हामीलाई गन्धकको गन्ध अनि बाफ निस्किरहेको दृश्‍य अनौठो लाग्न छोड्यो।

ओल्ड फेथफुल हेरिसकेका करोडौंले जस्तै हामीले पनि तातो फोहरा कहिले प्रस्फुटन हुने होला भनेर थाह पाउन चाह्‍यौं। हामीले सधैं यो एउटा निश्‍चित समयमा अर्थात्‌ ५७ मिनेटको अन्तरालमा प्रस्फुटन हुन्छ होला भन्ठानेका थियौं। तर चारैतिर आँखा घुमाउँदा अब १२:४७ मा तातो फोहरा प्रस्फुटन हुनेछ भन्‍ने संकेत पाटी देख्यौं। त्यसको लागि एक घण्टाभन्दा बढी नै समय बाँकी थियो र त्यो समय पनि एउटा सामान्य अनुमान मात्र थियो! हामीले त्यस निकुञ्जका रेन्जर रीकसित यसबारे सोध्यौं।

तिनले यसो भने, “ओल्ड फेथफुल सधैं एउटै समयमा प्रस्फुटन हुन्छ भन्‍ने कुरा साँचो होइन। यो प्रस्फुटन हुने समय सधैं फरक फरक हुन्छ र वर्षौंको दौडान भूकम्प हुने अनि तातो फोहराको मुहानैमा हुल्याहाहरूले अनेक थरी फ्याँक्ने हुँदा समयको दूरी झनै बढेको छ। अहिले लगभग ८० मिनेटको अन्तरालमा मात्र प्रस्फुटन हुने गर्छ। यहाँका कामदारहरूले एक चोटि प्रस्फुटन हुने समयको मात्र अनुमान लगाउन सक्छन्‌।”

अहिले १२:३० बजिसकेको थियो। प्रस्फुटन हेर्न हामी ओल्ड फेथफुलतर्फ लाग्यौं। त्यो दृश्‍य देखिने क्षेत्रको वरिपरि सयौं मानिसहरू बसिरहेका थिए र अरू धेरै जना त्यतैतिर आउँदै थिए।

ओल्ड फेथफुल प्रस्फुटन हुन दस मिनेट ढिलो भयो। तर प्रस्फुटन हुँदा देखिएको सुन्दरता कुनै पनि चित्रमा समेट्‌न सकिने खालको थिएन। एकछिन प्वालबाट हावा निस्केको आवाज आएपछि वेगसित फोहरा बाहिर निस्क्यो। सबैले ताली बजाए। तीन मिनेटसम्म प्रस्फुटन भयो र यो एकदमै माथिसम्म पुगेको देख्न पाएर हामी दंग पऱ्‍यौं। त्यो पानीको फोहरा छालजस्तै भएर ३७ देखि ४६ मिटरमाथिसम्म पुग्यो। पानीको भलमा घामको किरण मिसिएर विभिन्‍न रूप देखा पऱ्‍यो।

यो प्रस्फुटन सिद्धिएपछि हामी नजिकैको होटेलमा फर्क्यौं। तथापि, ओल्ड फेथफुलले आफ्नो वैभवता प्रदर्शन गरिरह्‍यो। त्यसपछि, दिनभरि त्यो प्रस्फुटन हुने अनुमानित समय आउनासाथै सबै पाहुनाहरू आ-आफ्नो काम छोडेर फेरि त्यो दृश्‍य हेर्न जान्थे। हामीले यहाँ अत्यधिक लम्बाइ, उचाइ र सुन्दरताका केही प्रस्फुटनहरू हेर्न पायौं र डुब्न लागेको घाममा छालका छायाँ पनि देख्यौं। यो पानीको फोहराले आफ्नो काम गर्न अहिलेसम्म पनि छोडेको रहेनछ।

निकुञ्जका रेन्जर रीकले भनेअनुसार “यस पृथ्वीमा लगभग ५०० वटा जति गेसरहरू छन्‌ र तीमध्ये ३०० वटा त यही यल्लोस्टोनमा छन्‌। अनि तीमध्ये १६० वटा यस २ किलोमिटर मात्र लामो सानो अपर गेसर बेसिन घाटीमा पर्छन्‌। अरू गेसरहरू आउँछन्‌, जान्छन्‌ र तीमध्ये कुनै सक्रिय हुन्छन्‌ त कुनै निस्क्रिय। तर ओल्ड फेथफुल अहिलेसम्म जस्ताको तस्तै छ।” तैपनि, ओल्ड फेथफुलसँगैको ग्रान्डबाट निस्कने पानीको फोहरा ६० मिटर उचाइसम्म पुग्छ। स्टिमबोटले ओल्ड फेथफुलले भन्दा तीन गुणा माथि अर्थात्‌ झन्डै १२० मिटरमाथिसम्म पठाउनसक्ने भए तापनि यो वर्षौंसम्म निष्कृय रहन्छ। नोरीसमा रहेको एकिनस नाउँको गेसरले कहिलेकाहीं यसलाई हेरेर रमाउनेहरूलाई न्यानो पानीले भिजाउने गर्छ।

राँगोलाई जित्ने

भोलिपल्ट बिहान हामीले पर्यटकहरूलाई जानकारी दिने पुस्तिका हेऱ्‍यौं। यसमा लेखिएको थियो: “सतहमनिको पानी भकभक उम्लेको हुन्छ र सतह पनि पातलो र कमजोर हुन्छ। तलाउको तापक्रम पानी उम्लिने तापक्रम जतिकै हुन्छ। हरेक वर्ष उच्च तापमान भएका ठाउँहरूमा थकित भएर हिंड्‌न नसक्ने यात्रुहरूलाई असाध्यै पोलेको र उम्लेको पानीले पोलेर मरेका समेत छन्‌।” अर्को पुस्तिका भन्छ: “सावधान: थुप्रै पर्यटकलाई राँगोले हानेका छन्‌। राँगोको वजन ९०० किलोग्रामसम्म पनि हुनसक्छ अनि तपाईंभन्दा तीन गुणा छिटो अर्थात्‌ प्रति घण्टा ५० किलोमिटरको गतिमा दौड्‌न सक्छन्‌।” हामीलाई यी राँगाहरूसित जम्काभेट नहोस्‌ जतिकै लाग्यो!

यल्लोस्टोनमा जनावरहरू कुनै रोकटोकविना बाटोमा निर्धक्क भएर हिंड्‌ने गर्छन्‌। जनावरहरू देख्नेबित्तिकै गाडीहरू टक्कै रोकिन्छन्‌ र हुनै नपर्ने ठाउँहरूमा ट्राफिक जाम हुन्छ। एउटा त्यस्तै ट्राफिक जाम खुल्नै लागेको बेला हामी आइपुग्यौं र पर्यटकहरू गाडीमा चढ्‌दै थिए। हामीले एक जना आइमाईलाई सबैजना के हेर्दै थिए भनेर सोध्दा तिनले भनिन्‌: “एउटा बडेमाको साँढे तर अब गइसक्यो।”

पछि हामीले दुईचार वटा जरायो मिलेर दुई हप्ता पुगेको पाठालाई खोला तर्न सिकाइरहेका देख्यौं। पहाडमा हिउँदको मौसम बिताएर तिनीहरू तल निकुञ्जतिर सर्दै थिए। पाठोहरू खोला तर्न नचाहेका कारण अनकनाइरहेका थिए। माउले ती बाछाहरूलाई बोलाइरहे र बल्ल खोला तरे।

“म अत्यन्तै सानो र असहाय रहेछु”

त्यसपछि हामी यल्लोस्टोनको ग्रान्ड क्यान्योनतर्फ लाग्यौं। हामी गाडीबाट ओर्लेर ३६० मिटर उचाइमा बनाइएका ठाउँहरूबाट चियाएर हेऱ्‍यौं र कहिलेकाहीं त नचाहँदा नचाहँदै पनि तल हेऱ्‍यौं। सन्‌ १८७० का नथानीएल लाङफर्डले आफ्नो खोज अभियानसम्बन्धी लेखमा यस ३२ किलोमिटर लामो पहेंलो फुस्रो रंगको भित्ता भएका खोचहरूलाई नियाल्दै तिनले “म कति तुच्छ र असहाय रहेछु” भनेर लेखेका थिए। हामीले पनि तिनले जस्तै तुच्छ अनि असहाय महसुस गऱ्‍यौं।

अर्को दिन हामी पूर्वतिर लाग्यौं। यहाँको दृश्‍य फेरि भिन्‍नै थियो। घना जंगल र यसको बाटोले महादेशहरू छुट्याउने टाँडीलाई दुई पटक पार गरेको। हामीले राँगाहरूलाई प्रायजसो एउटै किसिमको मुद्रामा देख्यौं र अन्य विशाल जनावरहरू पनि ठाउँ ठाउँमा देख्यौं। अफसोचको कुरा, हामीले यल्लोस्टोनको अर्को प्रमुख आकर्षण अर्थात्‌ भालु देखेनौं। के भएछ?

मानिस र भालुको जम्काभेट भइरहने हुँदा कोही कोही पर्यटक घाइते भए वा मारिए। भालुको लागि पनि यो राम्रो थिएन। त्यसैले, १९७० दशकको सुरुतिरै राष्ट्रिय निकुञ्ज सेवाले फोहोर फ्याँक्ने ठाउँहरूलाई बन्द गरेर ती भालुहरूलाई मानिसहरूले दिने आहारामा भर नपर्ने बनाइदियो। यसले गर्दा ती भालुहरू जंगलतिर लागे। यो अभियान सफल भयो। अहिले भालुहरू प्राकृतिक भोजन खान्छन्‌ र स्वस्थ छन्‌। तथापि, ती जनावरहरूलाई पर्यटकहरूले कुनै कुनै ठाउँमा जस्तै, फिसिङ ब्रिजमा भेटछन्‌ जहाँ मानिस र भालु दुवै खान, सुत्न र माछा मार्न आउँछन्‌।

हामीले फिसिङ ब्रिजलाई नै आफ्नो अन्तिम गन्तव्य बनायौं। यहाँ पुगेपछि हामीले आशै नगरेको अर्को एउटा अचम्मको कुरा पनि देख्यौं। हामीले जसै यल्लोस्टोनको सबैभन्दा विशाल पहाडी ताल पारि हिउँले ढकमक्क ढाकेका टेटोनहरूलाई हेऱ्‍यौं, एकछिन त हामीलाई उत्तरी इटालीमा पो छौं कि जस्तो लाग्यो। त्यो ताल र यसको वातावरण इटालीको विशाल हिमालको जस्तै थियो। तथापि, भालु यहाँ पनि थिएन।

अब यल्लोस्टोनबाट फर्कने समय भइसकेको थियो। आँखा र मन तृप्त भयो। वास्तविकता हामीले सोचेभन्दा कता हो कता राम्रो रहेछ। (g00 12/08)

[फुटनोट]

a यो उत्तर र दक्षिण अमेरिकालाई छुट्याउने टाँडी हो। अनि यसका दुवैतिरका नदीहरू विपरीत दिशा अर्थात्‌ प्रशान्त र आन्द्र महासागर तथा मेक्सिको खाडी अनि आर्कटिक महासागरतिर बहन्छन्‌।

[पृष्ठ १७-मा भएको पेटी/चित्र]

सन्‌ १९८८ को डढेलो

सन्‌ १९८८ जुलाईको अन्ततिर र अगस्तमा यल्लोस्टोनमा आगोको सानो झिल्का तुरुन्तै मानिसहरूले नियन्त्रणै गर्न नसक्ने गरी दन्कन थाल्यो। यसको एउटा कारण खडेरी पनि थियो किनभने यल्लोस्टोनको इतिहासमै सबैभन्दा बढी सुक्खा मौसम १९८८ को गृष्मऋतु हो। अर्को कारण थियो, हुरी बतास। प्रति घण्टा ८० किलोमिटरको दरले आएको हावाले दिनभरिमा डढेलोलाई लगभग २० किलोमिटर टाढासम्म फैलायो। त्यस हावाको वेगले गर्दा धेरै टाढा टाढासम्म आगो फैलियो र वारुण कर्मीहरूले पहिले कहिल्यै यस्तो अनुभव गरेका थिएनन्‌। यी भुंग्रोहरूले नयाँ नयाँ ठाउँमा आगो सल्काउँदै गए।

त्यो डढेलोले भयानक रूप लिंदा त्यसलाई निभाउन १२ करोड अमेरिकी डलर खर्च हुनुका साथै १०,००० नागरिक अनि सैनिक वारुण नियन्त्रकहरू र १०० वटाभन्दा बढी दमकलको प्रयोग गरियो। हेलिकप्टर तथा वायुयानबाट डढेलो कम गराउने औषधी ५०,००,००० लिटर र ४,००,००,००० लिटर पानी खन्याइयो। यी प्रयासहरूलाई चुनौती दिंदै आगोका ती झिल्काहरूले निकुञ्ज बाहिरका समुदायहरूलाई समेत केही हदसम्म क्षति पुऱ्‍याए। दिन दिनै आगोको एउटा बाक्लो मुस्लो हावामा थपिंदै थियो। गृष्मऋतुको अन्ततिर त्यो निकुञ्ज युद्धभूमी जस्तो देखियो। सेप्टेम्बरको बीचतिर १४ लाख एकड जमिन जलेर ध्वस्त भइसकेपछि मात्र चिसो हावा, हुरी र हल्का हिमपातले आगो निभायो।

आगोले त्यहाँका जनावरहरूको जनसंख्यामा खासै क्षति पुऱ्‍याएन र त्यसबेलादेखि त्यहाँ आउने पर्यटकहरूको संख्या बिस्तारै बढिरहेको छ। त्यहाँको जम्मै धूँवा हटेपछि शरदऋतुमा रमणीय दृश्‍य देखिन थाल्यो अनि पहिला केही नभएका ठाउँहरूमा पनि जंगली फूलका पालुवाहरूले चारैतिर ढकमक्क ढाक्यो। डढेलो लागेको समयदेखि यता पहिला जलेका ठाउँहरूमा पनि प्रशस्तै नयाँ नयाँ बोटविरूवा उम्रिएका छन्‌।

[पृष्ठ १५-मा भएको चित्र]

ओल्ड फेथफुल

लोअर फल्स

[स्रोत]

NPS Photo

[पृष्ठ १६-मा भएको चित्र]

फायरहोल रीभर

[पृष्ठ १७-मा भएको चित्र]

मर्निङ ग्लोरी पुल

[स्रोत]

NPS Photo