सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वदर्शन

विश्‍वदर्शन

विश्‍वदर्शन

खर्चिलो बग

थुप्रै कम्प्युटर प्रोग्राम १९९९ बाट २००० मा प्रवेश गर्दा खासै समस्या नदेखिएकोले कम्प्युटर इन्जिनियरहरू ढुक्क भए। प्रोग्रामिङ प्रविधि अपनाएर सालको सुरुको दुई अक्षर नराखिएको हुनाले १९०० र २००० बीच फरक छुट्याउन नसक्लान्‌ र त्यसले गर्दा ठूलो क्षति पो पुऱ्‍याउने हो कि भनेर कोही कोही विश्‍लेषकहरूले अनुमान लगाएका थिए। (फेब्रुअरी ८, १९९९ को अवेक! पृष्ठ २१-३ हेर्नुहोस्‌।) त्यस अनिष्टकारी दिन आउनुअघिनै त्रुटिपूर्ण प्रणालीहरू बनाएर यसको रोकथाम गर्न प्रोग्रामरहरूले मरिमेटी काम गरे। यसको लागि कति खर्च भयो? फ्रान्सेली दैनिकी ले मोण्ड-को लेखअनुसार एउटा वित्तीय समूहले “विश्‍वव्यापी रूपमा ३ देखि ६ खरब डलर खर्च” भएको अनुमान गरेको छ। संयुक्‍त राज्य अमेरिकाले मात्र लगभग १ खरब डलर खर्च गऱ्‍यो भने फ्रान्सले २० अरब डलर खर्च गरेको छ। तुलनात्मक ढंगमा हेर्दा खाडी युद्धमा संयुक्‍त सेनाले “लगभग ४६ देखि ६० अरब डलर खर्च गरेको थियो।” तथापि, “अहिले जस्तै भविष्यमा पनि कम्प्युटरको संख्याले गर्दा नयाँ समस्याहरू पक्कै पनि . . . देखापर्नेछन्‌” भनेर द वाल स्ट्रीट जर्नल बताउँछ। खुसीको कुरा, “कुनै पनि समस्याहरू सन्‌ २००० को बग जस्तो विध्वंसकारी हुँदैन होला।” (g00 12/08)

पासवर्डका समस्याहरू

सं.रा.-का व्यापारमा पासवर्ड बिर्संदा काम नभएको र तकनिकी सपोर्टको लागि खर्च गर्नुपरेको हुँदा बर्सेनी लाखौं डलर खर्च हुने गरेको छ। “आजभन्दा २० वर्षअघि मानिसहरूले आफ्नो सामाजिक सेक्युरिटी नम्बर र सायद एक दुइटा मात्र फोन नम्बर सम्झे पुग्थ्यो” भनेर द न्यु योर्क टाइम्स बताउँछ। तर अहिले कम्प्युटरका फाइलहरू र इ-मेल सुविधाको लागि पासवर्डको प्रयोग गर्नु थुप्रैको लागि सामान्य कुरा भइसकेको छ। मानिसहरूले दर्जनौं पासवर्ड, एक्सेस कोड तथा व्यक्‍तिगत परिचय पत्रका नम्बरहरू जम्मा गर्नु सामान्य कुरा भइसकेको छ। प्राप्त प्रमाणअनुसार एक जना नेटवर्क प्रशासकले १२९ वटा पासवर्ड प्रयोग गरिरहेको हुन्छ। तसर्थ, केही कम्पनीहरूले पासवर्डमा आधारित प्रणालीहरूको सट्टा सही छाप स्क्यानर तथा अन्य उच्च प्रविधिका सुरक्षात्मक उपकरणहरूको प्रयोग गर्न खोजिरहेका छन्‌। (g00 12/08)

रिस अनि तपाईंको मुटु

ग्लोब एण्ड मेल नामक अखबार यस्तो रिपोर्ट गर्छ, “नरिसाउनेहरूलाई भन्दा रिसाहा मानिसहरूलाई हृदयघात हुने सम्भावना तीन गुणा बढी हुन्छ।” हृदय रोगसम्बन्धी खतराहरूबारे गरिएको छ वर्षे अध्ययनमा झन्डै १३,००० मानिसहरूले भाग लिए। यस अध्ययनको सुरुआतमा सहभागीहरू कसैलाई पनि हृदय रोग थिएन। हरेकलाई थुप्रै प्रश्‍न सोधेर थोरै रिसाउने, ठीक्क मात्रामा रिसाउने अथवा अचाक्ली रिसाउने व्यक्‍तिहरूको समूहमा वर्गीकरण गरियो। छ वर्षको दौडान २५६ जनालाई हृदयघात भयो। उक्‍त अध्ययनले कहिलेकाहीं रिसाउने व्यक्‍तिहरूको हृदय रोग हुने सम्भावना ३५ प्रतिशत थियो। त्यस अध्ययनका नायक उत्तरी क्यारोलाइन विश्‍वविद्यालयका डा. जेनिस विलियम्स यसो भन्छन्‌: “रिसले गर्दा सामान्य रक्‍तचाप भएका अधबैंसे पुरुष तथा स्त्रीहरूलाई विशेष गरी हृदयघात हुने सम्भावना हुन्छ।” तसर्थ, अनुसन्धानकर्ताहरू रिसाहा व्यक्‍तिहरूलाई रिस काबूमा राख्ने तरिकाहरू अपनाउने सुझाउ दिन्छन्‌। (g00 12/08)

व्यापार प्रवर्धनको रूपमा पानी

भारतका केही व्यापारीले उपभोक्‍ताहरूलाई आकर्षित गर्न हालैको खडेरीको फाइदा उठाइरहेका छन्‌। ठूलठूला घरायसी सामानहरूको खरिद गर्दा सित्तैमा पानी दिइरहेका छन्‌। एउटा खुद्रा व्यापारीले ओभन, फ्रिज, वाशिङ मेशिन अथवा टेलिभिजन सेटको खरिद गर्ने कुनै पनि ग्राहकलाई गृष्मऋतुको दुई महिनासम्म हप्ताको चार दिन ५०० लिटर पानी दिने प्रतिज्ञा गरेको कुरा द टाइम्स अफ इन्डिया-ले रिपोर्ट गऱ्‍यो। अर्को पसलेले चाहिं फ्रिज अथवा टेलिभिजनको खरिदमा ‘गृष्मऋतुभरि पानी सित्तैमा’ दिने उपहार कार्यक्रम राखेको थियो। गुजरात राज्यको उत्तरपश्‍चिमी भागमा पानीको हाहाकार परेको बेला सुन, चाँदी अथवा सित्तैमा बिदा मनाउन पाउने उपहारहरू भन्दा पानीको उपहार लोभलाग्दो देखिएको छ। राजकोट शहरको एक जना व्यापारीले पानीलाई व्यापार प्रवर्धन गर्ने माध्यमको रूपमा चलाउँदा आफ्नो व्यापारमा तीन गुणा वृद्धि भएको दाबी गरे। (g00 12/08)

युरोपमा सास्ती र अमानवीय व्यवहार

युरोपमा मानव अधिकार उल्लंघनका घटनाहरू “जबरजस्ती देश निकाला गर्दा भएको मृत्यु, थुनामा राख्दा सास्ती, प्रहरीले सिलसिलेवार ढंगमा गर्ने दुर्व्यवहार तथा जातीय अनि धार्मिक दबाउहरू” जस्ता कुराहरूमा देखिन्छन्‌ भनेर एमन्यास्टी इन्टरनेसनलको नयाँ समाचारको रिपोर्ट बताउँछ। उक्‍त बुलेटिन यसो भन्छ, “युरोपमा मानव अधिकारसम्बन्धी स्वतन्त्रता छ भनेर देखिन्छ तर वास्तवमा त्यसो होइन रहेछ किनभने थुप्रै मानिसले आधारभूत मानव अधिकार उपभोग गरिरहेको भए तापनि शरणार्थी तथा जातीय अनि साना धार्मिक समूहहरूको भने मानव अधिकार तथा स्वतन्त्रता हनन भइरहेको छ। यो कुरा प्रहरीहरूमाथि बारम्बार लगाइएको अमानवीय व्यवहारको आरोप तथा यस्ता घटनाको वृद्धिबाट स्पष्टै देखिन्छ। बेलाइतदेखि अजरबैजानसम्मै मानिसहरूले प्रहरीहरूको हातबाट निर्दयी, अमानवीय अथवा अपमानजनक व्यवहार . . . भोग्नुपरेको छ।” ती दोषीहरूलाई सजाए दिइएको छैन भनेर पनि त्यस संगठनले दाबी गरेको छ। उदाहरणस्वरूप त्यसले यो कुरा उल्लेख गरेको छ: प्रहरीको हिरासतमा लिइएको एक जना आप्रवासीमाथि “[१९९९] जुलाईमा युरोपको मानव अधिकार न्यायालयले सास्ती दिने तथा निष्पक्ष न्याय गर्ने सम्बन्धमा अन्तरराष्ट्रिय स्तरहरूको अवहेलना गरेकोमा फ्रान्सलाई दोषी ठहराएको थियो।” उक्‍त रिपोर्ट यसो पनि भन्छ, “ती दोषी ठहरिएका प्रहरीहरू त्यस वर्षको अन्ततिर पनि आ-आफ्नै ओहदामा थिए।” (g00 12/22)

के धर्मपरायण व्यक्‍तिहरू धेरै बाँच्छन्‌?

साइन्स न्युज यसो भन्छ, “सन्‌ १९७७ देखि धार्मिक क्रियाकलाप तथा स्वास्थ्यसम्बन्धी विषयमा छापिन थालेका ४२ वटा छुट्टाछुट्टै अध्ययनहरूमाथि गरिएको विश्‍लेषणअनुसार नियमित तवरमा धार्मिक क्रियाकलापहरूमा भाग लिंदा शारीरिक स्वास्थ्य पनि राम्रो हुने र धेरै समय बाँच्नसक्ने कुरा देखिएको छ। विशेष गरी, सार्वजनिक तवरमै धार्मिक क्रियाकलापमा संलग्न रहँदा धेरै वर्ष बाँच्न सकिन्छ भन्‍ने कुरा सो तथ्यांकले देखाएको कुरा वैज्ञानिकहरू बताउँछन्‌।” यसो हुनुका थुप्रै कारणहरू छन्‌ जस्तै, जोखिमपूर्ण व्यवहारहरू त्याग्नु, वैवाहिक स्थायित्व, आफ्नो हातमा नभएका कुराहरूमा अनावश्‍यक चिन्ता नलिनु, सामाजिक सरसंगत र सकारात्मक मनोवृत्ति तथा सोचाइ। एउटा रिपोर्ट निष्कर्षमा यसो भन्छ: “धार्मिक क्रियाकलापहरूमा नियमित तवरमा भाग लिइरहँदा . . . विशेष गरी आइमाईहरू लामो समयसम्म जीवित रहन सक्छन्‌ र त्यो पनि धार्मिक गतिविधिमा लाग्नेहरूले सामाजिक सहयोग पाएको, निराशा कम भएको र राम्रा बानीहरू विकास गर्न सकेको रिपोर्ट गर्छन्‌।” (g00 12/22)

कछुवाहरू फेरि फर्के!

वातावरण संरक्षकहरूलाई भारतको पूर्वीय तटमा १९८० को मध्यदेखि देखा परेको ओलिभ रीडले कछुवाहरूको धेरै अण्डा पार्ने ठाउँमा राम्रो निरीक्षण गर्न प्रोत्साहन दिइएको छ। वातावरणसम्बन्धी पत्रिका डाउन टु अर्थ-अनुसार सन्‌ १९९९ मा ओरिसा राज्यको समुद्र किनारमा भुँवरीले पारेको क्षतिको कारण त्यसो भएकोमा आश्‍चर्य व्यक्‍त गरे। यो समुद्री किनार संकटमा परेका जीवहरूले सबैभन्दा बढी अण्डा पार्ने ठाउँ हो। मार्च १३ र २० का बीच १२,३०,००० कछुवा समुद्रबाहिर आए र तिनीहरूमध्ये ७,११,००० ले फुल पारे तापनि किनारमा जाल हान्‍ने माझीहरूले २८,००० कछुवाहरूलाई मारे। जंगली बनेल, कछुवाको अण्डा खाने कुकुर, कछुवाको मासु मीठो मानेर खानेहरूलाई कछुवा बेच्नेहरू र “कछुवा नफस्ने” जाल नहुनु जस्ता कारणहरूले गर्दा यी कछुवाहरूमाथि विभिन्‍न किसिमका संकट आइपर्न सक्छन्‌। (g00 12/22)

जसलाई बचाउन खोजेको उसैबाट आक्रमण

द न्यु योर्क टाइम्स यस्तो रिपोर्ट गर्छ, “ह्वेलहरूलाई बचाउने अभियानमा लागेका क्यालिफोर्नियाका एक नाविकले दुइटा ह्वेलसितको जम्काभेटपछि प्रशान्त महासागरको आफ्नो एकल यात्रालाई त्यागेका छन्‌।” उक्‍त नाविक माइकल रेपीले जापानको योकोहामा शहरमा पुग्न सान फ्रान्सिस्कोबाट यात्रा सुरु गरे। तिनी आफ्नो ६० फिटको डुंगा थर्सडेज चाइल्ड-मा यात्रा गरेर “बन्द इलाकामा राखिएका ह्वेलहरूको दुर्दशाबारे प्रचारप्रसार” गर्न चाहन्थे। तर पहिलो दिनमै दुइटा ह्वेलले ठक्कर दिएकोले डुंगालाई नियन्त्रणमा राख्नै गाह्रो पऱ्‍यो। टाइम्स पत्रिका यसो भन्छ, “पतवारको मुन्तिरको भाग नै थिएन। हुनसक्छ, ती दुइटा ह्वेलमध्ये एउटाले धक्का दिएपछि त्यसो हुन गयो।” सन्‌ १९९७ मा “थुनामा पारिएका जनावरहरूको दुर्दशातिर ध्यानाकर्षित गर्ने” प्रयास गरेर टोकियोबाट ५०० किलोमिटर टाढा तिनको जहाज पल्टँदा त्यो प्रयास पनि विफल भयो। (g00 12/22)

मलेरिया विरुद्ध डि डि टी अझै प्रयोग गरिन्छ

“संसारको सबैभन्दा डरलाग्दो औलो रोग फैलाउने लामखुट्टे नष्ट गर्नसक्ने कीटनाशक औषधी डि डि टी-लाई झन्डै ३० वर्षअघिदेखि युरोप र संयुक्‍त राज्यमा प्रतिबन्ध लगाइएको भए तापनि यसको प्रभावकारीताकै कारण विश्‍वव्यापी रूपमै पुनः प्रयोग गर्न लागिएको छ” भनी बी बी सी वाइल्डलाइफ पत्रिका रिपोर्ट गर्छ। “यो वन्यजन्तुहरूलाई नकारात्मक असर पार्ने विष भनेर प्रमाणित भइसकेको भए तापनि स्वास्थ्य प्रवर्धकहरूका अनुसार वर्षेनी २७ लाख मानिसहरूलाई मृत्युमा पुऱ्‍याउने र ५० करोड जतिलाई गम्भीर बिरामीको सिकार बनाउने औलो विरुद्ध यो अझै पनि ढाल साबित भएको छ।” विश्‍व स्वास्थ्य संगठनले कृषिमा डि डि टी-को प्रयोग नगर्नु ठिकै छ भने तापनि औलो नियन्त्रण गर्न अर्को सुरक्षित र प्रभावकारी विकल्प नभेट्टिउञ्जेल यसलाई प्रयोग गर्नुपर्छ भन्‍ने सुझाउ दिन्छन्‌। (g00 12/22)