सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सय वर्षअघिको पहिलो

सय वर्षअघिको पहिलो

सय वर्षअघिको पहिलो

संयुक्‍त राज्य अमेरिकाको पेन्सल्भेनियामा डिसेम्बर १५, १८८४ का दिन वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीको बडापत्रलाई कानुनी मान्यता दिइयो। a त्यहाँ यस सोसाइटीको मुख्यालय स्थापना गरियो। पछि, अप्रिल २३, १९०० मा बेलायतको लण्डनमा पहिलो शाखा कार्यालयको लागि भवनको प्रबन्ध मिलाइयो। यहाँ देखाइएझैं यो इस्ट लण्डन, १३१ जिप्सी लेन, फरेस्ट गेटमा अवस्थित थियो।

सय वर्षअघि बेलाइतमा पहिलो शाखा स्थापना गरिंदा त्यहाँ जम्मा १३८ जना बाइबल स्टुडेन्ट्‌स अर्थात्‌ यहोवाका साक्षीहरू थिए। त्यसको दुई वर्षपछि १९०२ मा दोस्रो शाखा जर्मनीमा खोलियो। अनि १९०४ सम्ममा अस्ट्रेलिया तथा स्वीट्‌जरल्याण्डमा थप शाखाहरू स्थापना भइसकेका थिए।

सन्‌ १९१८ मा पहिलो विश्‍वयुद्ध अन्त हुँदा विश्‍वव्यापी प्रचार कार्यमा भाग लिने बाइबल विद्यार्थीहरूको संख्या ३,८६८ पुगिसकेको थियो। त्यसको एक वर्षपछि अर्को शाखा कार्यालय, क्यानाडामा स्थापना गरियो। अनि बाइबल सन्देश घोषणा गर्ने काम तीव्र हुँदै जाँदा थुप्रै देशमा नयाँ शाखाहरू स्थापना भए र तीमध्ये १९२१ मा मात्रै छ वटा शाखा खोलियो।

सन्‌ १९३१ मा बाइबल स्टुडेन्ट्‌सले यहोवाका साक्षीहरू भन्‍ने बाइबल आधारित नाउँ अपनाउन थाल्दा संसारभरि ४० वटा शाखा कार्यालयहरू स्थापित भइसकेका थिए। (यशैया ४३:१०-१२) अर्को तीन वर्षमा यो संख्या बढेर ४९ पुग्यो! सन्‌ १९३८ सम्ममा ५२ वटा देशमा ५९,०४७ जना साक्षीहरूको शिखर संख्याले प्रचार गरिरहेका थिए तर त्यही समयतिर थुप्रै ठाउँमा मसीही क्रियाकलापहरू विरुद्ध भीषण विरोध सुरु हुन थाल्यो।

एकपछि अर्को गर्दै थुप्रै देशमा एकतन्त्रीय तथा तानाशाही शासन फैलिंदै जाँदा अनि सेप्टेम्बर १९३९ मा दोस्रो विश्‍वयुद्ध सुरु भएकोले यहोवाका साक्षीहरूको शाखा कार्यालयहरू पनि धमाधम बन्द हुन थाल्यो। सन्‌ १९४२ तिर २५ वटा मात्र चालू अवस्थामा थियो। तथापि, अचम्मको कुरा मानव इतिहासको त्यस्तो ध्वंसात्मक युद्धको दौडान पनि यहोवाका साक्षीहरू विश्‍वव्यापी क्रियाकलापमा लागिरहे र आधुनिक इतिहासमा सबैभन्दा अत्यधिक वृद्धिमध्यको एउटा अनुभव गरे।

सन्‌ १९४५ मा दोस्रो विश्‍वयुद्ध अन्त हुनै लाग्दा संसारका थुप्रै भाग अझै भताभुंग अवस्थामा थियो। यस्तो अवस्थामा पनि साक्षीहरूका शाखा कार्यालयहरू पुनः सञ्चालन गरिनुका साथै नयाँ शाखाहरू स्थापना गरिए। सन्‌ १९४६ मा संसारभरि ५७ वटा शाखा थिए। तर कति जना साक्षीहरू सक्रिय थिए त? जम्मा १,७६,४५६ जना! त्यो संख्या १९३८ को भन्दा तीन गुणा बढी थियो!

सुरुका शाखाहरू कसरी विस्तार भए

सन्‌ १९११ मा इंग्ल्याण्डको लण्डनमा अवस्थित वाच टावर सोसाइटीको पहिलो शाखालाई ठूलो भवन तथा प्रशस्त ठाउँ भएको ३४ क्रेभेन टीरेसमा सारियो। त्यसपछि, अप्रिल २६, १९५९ मा बेलाइतको मिल हिलमा अवस्थित नयाँ शाखा भवन समर्पण गरियो। पछि आवास भवनहरू पनि विस्तार गरियो अनि अन्ततः (१९९३ मा) त्यसको नजिकै बनाइएका २,००,००० वर्ग फुटको प्रिन्टरी तथा प्रशासकीय भवनहरू पनि समर्पण गरियो। यहाँ प्रहरीधरहरा तथा ब्यूँझनुहोस्‌! २३ वटा भाषामा वर्षेनी नौ करोड प्रति छापिन्छन्‌।

दोस्रो शाखाको विस्तार कार्य झनै उल्लेखनीय थियो। सन्‌ १९२३ मा जर्मनी शाखा मेगडबर्गमा सारियो। जुलाई १५, १९२३ को प्रहरीधरहरा सोसाइटीको आफ्नै प्रेसमा छापिएको पहिलो अंक थियो। त्यसको केही वर्षपछि नजिकैको जग्गा किनेर थप भवनहरू बनाइयो अनि बाइन्डिङ गर्ने सामानहरू तथा अरू प्रेसहरू पनि किनियो। सन्‌ १९३३ मा त्यस शाखालाई नाजीहरूले जफत गर्नुका साथै साक्षीहरूमाथि प्रतिबन्ध लगाए अनि केही समयपछि २००० जनालाई यातना शिविरमा पठाइयो।

सन्‌ १९४५ मा दोस्रो विश्‍वयुद्ध अन्त भएपछि त्यसबेला पूर्वी जर्मनीमा पर्ने मेगडबर्गका भवनहरू फिर्ता गरियो र शाखा कार्यालय पुनःस्थापना गरियो। तर अगस्त ३०, १९५० मा कम्युनिस्ट प्रहरीले ती भवनहरूमा आक्रमण गरेर त्यहाँका कामदारहरूलाई गिरफ्तार गरे अनि पूर्वी जर्मनीमा साक्षीहरू प्रतिबन्धित भए। यी घटनाहरूको दौडान १९४७ मा पश्‍चिम जर्मनीको वाइसबाडेनमा अर्को जग्गा किनियो। त्यसपछिका दशकहरूमा निर्माण गरिएका शाखा भवनहरू, साहित्यहरूको बढ्‌दो माग पूरा गर्न अझै विस्तार गरियो।

वाइसबाडेनमा थप विस्तारको लागि ठाउँ नपुगेकोले सन्‌ १९७९ मा सेल्टर्स शहर नजिकै ७५ एकड जग्गा खरिद गरियो। निर्माण कार्यको पाँच वर्षपछि अप्रिल २१, १९८४ मा एउटा विशाल शाखाको समर्पण गरियो। त्यसबेलादेखि लगभग एक हजारभन्दा बढी कामदारहरूका लागि आवश्‍यक बासको व्यवस्था गर्न त्यहाँ समय समयमा विस्तार कार्य भइरहेको छ। सेल्टर्सको विशाल अफसेट प्रिन्टिंग प्रेसमा हरेक महिना ३० वटा भन्दा बढी भाषामा १ करोड ६० लाख पत्रिका छापिन्छन्‌। अनि हालै बाइबललगायत अन्य पुस्तक १ करोड ८० लाख प्रति तयार गरिन्छन्‌।

ठूलठूला छापाखाना भएका अरू शाखा

जापानको कोबेमा सन्‌ १९२७ मा पहिलो शाखा स्थापना गरिए तापनि दोस्रो विश्‍वयुद्धको दौडान साक्षीहरूमाथि भएको कठोर सतावटले गर्दा तिनीहरूको क्रियाकलाप सुस्त भयो। तथापि, युद्ध भएको केही समयपछि टोकियोमा शाखा पुनःस्थापित भयो। त्यहाँ शाखा विस्तारका लागि थप जग्गा नभएको हुनाले नुमाजुमा नयाँ शाखा निर्माण गरियो। सन्‌ १९७३ मा यसको समर्पण गरियो। केही समयपछि नै यी भवनहरू पनि अपुग हुन थालेको हुनाले एबिनामा ठूलठूला नयाँ भवनहरू निर्माण गरेर १९८२ मा समर्पण गरियो। यस क्षेत्रमा विस्तार गरिएका भवनहरूमा ९०० जनासम्म बस्न सक्छन्‌ र यहाँ काम भर्खरै सिद्धिएको छ। जापानी भाषामा मात्रै १९९९ मा ९ करोड ४० लाख प्रति प्रहरीधरहरा तथा ब्यूँझनुहोस्‌!-लगायत लाखौं पुस्तकहरू छापिए।

सबै देशमा शाखा कार्यालयहरूको विस्तार उस्ताउस्तै किसिमले भएको पाइन्छ। मेक्सिकोको मेक्सिको सिटीमा १९२९ मा शाखा स्थापना गरियो। अनि साक्षीहरूको संख्या ६०,००० पुगेपछि शहरबाहिर प्रशस्त ठाउँ भएको नयाँ भवन निर्माण गरियो। यसलाई सन्‌ १९७४ मा समर्पण गरिएको थियो भने बाँकी भवनहरू १९८५ र १९८९ मा पूरा भए। अब नयाँ ठूलो छापाखाना तथा थप आवास गृहहरूको निर्माण कार्य पनि सिद्धिनै लागेका छन्‌। फलस्वरूप, यस मेक्सिको शाखामा १,२०० जना अटाउने छन्‌। अहिले नै यस शाखाले ५,००,००० साक्षी र नजिकैको शहरबाट आएर बसोबास गरिरहेका लाखौं मानिसहरूलाई पत्रपत्रिका तथा पुस्तकहरू उपलब्ध गराइरहेको छ।

सन्‌ १९२३ मा ब्राजिलको रियो दे जेनेरोमा शाखा कार्यालय व्यवस्थित गरिनुका साथै पछि नयाँ कार्यालयहरू निर्माण गरियो। तर साओ पाओलो ब्राजिलको व्यापार तथा यातायात केन्द्र भएकोले १९६८ मा त्यहीं नयाँ शाखा निर्माण गरियो। सन्‌ १९७० दशकको मध्यतिर ब्राजिलमा साक्षीहरूको संख्या झन्डै १,००,००० पुगिसकेको थियो। तथापि, साओ पाओलोमा थप विस्तार गर्नु असम्भव देखिएको हुनाले त्यस शहर बाहिर झन्डै १५० किलोमिटर टाढा सिसारीयो लेन्जमा २८५ एकड जग्गा किनियो। मार्च २१, १९८१ मा त्यस नयाँ ठाउँका शाखा भवनहरू समर्पण गरिए। यस विस्तारपछि त्यस शाखामा लगभग १,२०० जना अटाउन सक्छ। ब्राजिलले अधिकांश दक्षिण अमेरिका र संसारका अन्य भागहरूको लागि पत्रिका तथा पुस्तकहरू उत्पादन गर्छ।

सन्‌ १९९० को सुरुतिर अर्को विशाल छापाखाना भएको शाखा कोलम्बियाको बोगोटा नजिकै बनाउन सिद्धियो। त्यहाँ उत्पादन गरिने प्रहरीधरहरा तथा ब्यूँझनुहोस्‌! पत्रिकाहरू दक्षिण अमेरिकाको उत्तरपूर्वी भू-भागमा वितरण गरिन्छ।

वर्षेनी करोडौं पत्रिकाहरू छाप्ने अरू शाखाहरू अर्जेन्टिना, अस्ट्रेलिया, इटाली, कोरिया, क्यानाडा, दक्षिण अफ्रिका, नाइजेरिया, फिनल्याण्ड, फिलिपिन्स तथा स्पेन हुन्‌। इटाली शाखाले पनि हरेक वर्ष बाइबललगायत अन्य पुस्तकहरू थुप्रै भाषामा करोडौं प्रति उत्पादन गर्छ। वर्षेनी उत्पादनको अधिकांश भाग अर्थात्‌ चार करोड पुस्तक तथा एक अरबभन्दा बढी पत्रिका न्यू योर्कको ब्रूकलिनस्थित वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीको मुख्यालयका साथै न्यू योर्ककै उत्तरी भागमा रहेको छापाखानाले उत्पादन गर्ने गर्छ।

सय वर्षअगाडि एउटा मात्र शाखा कार्यालयको संख्यामा वृद्धि भएर १०९ वटा पुग्नु साँच्चै उल्लेखनीय कुरा हो। ती शाखाहरूले २३४ वटा मुलुकका यहोवाका साक्षीहरूको आवश्‍यकता पूरा गरिरहेका छन्‌। अनि विचार गर्नुहोस्‌, जम्माजम्मी १३,००० समर्पित मसीही स्वयम्‌सेवकहरू त्यहाँ कार्यरत छन्‌! साँच्चै, तिनीहरूलगायत सोसाइटीका मुख्यालयहरूमा काम गरिरहेका ५,५०० जना स्वयम्‌सेवकहरूको काम येशूले गर्नुभएको यो भविष्यवाणी पूरा गर्न अत्यावश्‍यक भएको छ, “[परमेश्‍वरको] राज्यको यो सुसमाचार सारा संसारमा . . . प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।”—मत्ती २४:१४. (g00 12/22)

[फुटनोट]

a त्यसबेला यसलाई जायन्स वाच टावर ट्राक्ट सोसाइटी भनिन्थ्यो।

[पृष्ठ २८-मा भएको चित्र]

भनिन्छ, टम हार्ट इंग्ल्याण्डका पहिलो बाइबल स्टुडेन्ट थिए

[पृष्ठ २९-मा भएको चित्र]

३४ क्रेभेन टेरेसमा लण्डन शाखा (दायाँको फोटोमा)

[पृष्ठ २९-मा भएको चित्र]

लण्डनमा हाल प्रयोग भइरहेका भवनहरू