सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आमाबुबा भन्‍नुहुन्छ मेरो डेटिङ गर्ने उमेरै पुगेको छैन, के गर्ने?

आमाबुबा भन्‍नुहुन्छ मेरो डेटिङ गर्ने उमेरै पुगेको छैन, के गर्ने?

युवा जनहरू सोध्छन्‌ . . .

आमाबुबा भन्‍नुहुन्छ मेरो डेटिङ गर्ने उमेरै पुगेको छैन, के गर्ने?

“ममी, तपाईं पुरानो विचारधाराको हुनुहुन्छ। यो ५० वर्षअगाडिको जमाना होइन। सबैजना डेटिङ गर्छन्‌! म अब ठूली भइसकें।”—१६ वर्षीया जानी। a

अहिले डेटिङ गर्ने उमेरै पुगेको छैन भन्दा तपाईंलाई चित्त नबुझ्नसक्छ। एक किशोर यसो भन्छन्‌, “बाइबलले भनेअनुसार म आफ्नो आमाबाबुको आदर गर्न चाहन्छु तर मेरो विचारमा उहाँहरूको कुरा नै नमिलेको जस्तो लाग्छ। खै, उहाँहरूलाई कसरी चित्त बुझाउने होला?” यस ठिटोलाई जस्तै तपाईंलाई पनि आफ्ना आमाबाबु अव्यावहारिक हुनुहुन्छ र आफ्नो भावनाको कदरै गर्नुहुन्‍न जस्तो लाग्नसक्छ। हुनसक्छ, तपाईंले आफूलाई मन परेको व्यक्‍ति भेट्‌नुभयो र उसलाई तपाईं अझै राम्ररी चिन्‍न चाहनुहुन्छ। सायद, तपाईंलाई यस्तो पनि लाग्ला डेटिङ गर्दा तपाईं साथीहरूबीच सजिलै घुलमिल हुन सक्नुहुन्छ। मिशेल भन्छिन्‌, “साथीहरूबाट दबाउ आउँछ। यदि तपाईंको केटा वा केटी साथी छैन भने स्कूलका केटाकेटीहरूले तपाईंलाई पाखे ठान्छन्‌।”

एक जना परिवार परामर्शदाताले डेटिङबारे यसो भने: “यस विषयमा आमाबाबुले रोक लगाउँदा छोराछोरीलाई आफ्ना आमाबाबु विनाकारण अव्यावहारिक भएको जस्तो लाग्नसक्छ।” तर तपाईंलाई आफ्नो आमाबाबु अव्यावहारिक जस्तो लाग्दैमा के उहाँहरू साँच्चै अव्यावहारिक हुनुहुन्छ त? आखिर, तपाईंलाई सिकाउने, प्रशिक्षण दिने तथा डोऱ्‍याउने जिम्मेवारी परमेश्‍वरले आमाबाबुलाई नै दिनुभएको छ। (व्यवस्था ६:६, ७) के आमाबाबु तपाईंको हितबारे चिन्तित हुने जायज कारण छैन र? एउटी आमा यसो भन्छिन्‌, “म एउटा खतरा देख्छु र यो साह्रै डरलाग्दो खतरा हो।” आफ्ना छोराछोरीले उमेरै नपुगी डेटिङ गर्दा आमाबाबु किन यत्ति साह्रो चिन्तित हुन्छन्‌?

खतरनाक सोचाइ

चौध वर्षीया वेथ यस्तो गुनासो गर्छिन्‌, “मेरो आमाबाबु मैले कसैलाई मन पराएँ कि त बित्यासै पऱ्‍यो जस्तो गरी सोच्नुहुन्छ।” यद्यपि, यदि तपाईंका आमाबाबु मसीही हुनुहुन्छ भने, परमेश्‍वरले नर र नारीलाई एकअर्काप्रति आकर्षित हुने गरी बनाउनुभएको थियो भनेर उहाँहरूलाई पक्कै पनि राम्ररी थाह छ। (उत्पत्ति २:१८-२३) यो आकर्षण स्वाभाविक हो र यसले मानिसजाति “पृथ्वीमा भरिंदै” जाओस्‌ भन्‍ने हाम्रो सृष्टिकर्ताको उद्देश्‍यअनुरूप काम गर्छ भनेर पनि उहाँहरूलाई थाह छ।—उत्पत्ति १:२८.

यसको अतिरिक्‍त, “बैंस[मा]” यौन इच्छा कत्तिको तीव्र हुन्छ भनेर तपाईंका आमाबाबुले बुझेका छन्‌। (१ कोरिन्थी ७:३६) यस्तो इच्छालाई कसरी नियन्त्रण गर्ने भन्‍ने विषयमा तपाईंसित अनुभव छैन भनेर पनि उहाँहरूलाई थाह छ। यदि तपाईंले विपरीत लिंगको कुनै व्यक्‍तिसँग भेटघाट, टेलिफोन, चिठी वा इ-मेल गरेर धेरै समय बिताउन सुरु गर्नुभएमा आकर्षण बढ्‌ने सम्भावना बढी हुन्छ। तपाईं सोध्नु होला, ‘यसमा खासै के खराबी छ र?’ यस्ता इच्छाहरू पूरा गर्ने तरिका के हुन्‌ त? त्यसोभए, के तपाईं यस्ता भावनाहरूको अन्त अर्थात्‌ विवाहको लागि तयार हुनुहुन्छ? सायद हुनुहुन्‍न होला।

उमेर नपुग्दै डेटिङ गर्दा केही गम्भीर खतराहरू आइपर्नसक्छन्‌। बाइबल यस्तो चेताउनी दिन्छ: “आफ्नो लुगा नडढ़ाईकन के कुनै मानिसले आफ्नो छातीमा आगो राख्नसक्छ?” (हितोपदेश ६:२७) उमेर नपुगी डेटिङ गर्नाले प्रायः विवाहपूर्व यौन सम्बन्ध राख्ने, विवाह नगरी गर्भधारण गर्ने र यौनजन्य रोगहरूको सिकार हुने सम्भावना हुन्छ। (१ थिस्सलोनिकी ४:४-६) उदाहरणका लागि, किशोरी टमीलाई उनका आमाबाबुले डेटिङ गर्न अनुमति नदिदा आमाबाबुले आफूमाथि अन्याय गरिरहेको ठानिन्‌। त्यसैले, उनी गोप्य रूपमा आफ्नै स्कूलको एकजना केटासित घुम्न थालिन्‌। धेरै समय नबित्दै टमी गर्भवती भइन्‌ र उनको जीवनले अर्कै मोड लियो। आफ्नो गल्ती स्वीकार्दै अहिले उनी यसो भन्छिन्‌: “डेटिङको विषयमा राखिने रोमाञ्चक सोचाइहरू वास्तवमा साँचो होइन रहेछ।”

तर यदि जवान जोडीले सावधानी अपनाएर अनुचित सम्बन्ध राखेनन्‌ भने नि? यसो गर्दागर्दै पनि प्रेमका गलत भावनाहरू जाग्ने खतरा हुन्छ। (श्रेष्ठगीत २:७ नयाँ संशोधित संस्करण) केही वर्ष-पछि मात्र पूरा गर्न सकिने उत्तेजनाहरूलाई काबूमा राखेन भने केवल निराशा र दुःख आइपर्नेछन्‌।

ध्यान दिनुपर्ने अन्य केही बुँदाहरू छन्‌: के आफ्नो विवाह जोडीमा हुनुपर्ने गुणहरूबारे जान्‍ने पर्याप्त अनुभव तपाईंसित छ? (हितोपदेश १:४) अर्कोतिर, साँचो प्रेम अनि आदर गर्न पति वा पत्नीमा हुनुपर्ने गुण तथा दक्षताहरू के तपाईंसित छ? के तपाईंसित दीर्घकालीन सम्बन्ध कायम राख्ने धैर्य र संकल्प छ? त्यसैले होला किशोरावस्थामा गरिएका धेरैजसो रोमान्टिक सम्बन्ध अल्पकालीन र दुःखदायी हुन्छन्‌। कमै विवाह मात्र स्थायी हुन्छन्‌।

अठार वर्षीया मोनिका यी सबै कुराबारे संक्षिप्तमा यसप्रकार भन्छिन्‌: “स्कूलका साथीहरू सबैले आ-आफ्ना प्रेमीसँग बिताएका क्षणहरूबारे मलाई भन्‍ने गर्थे। तर तिनीहरूमध्ये केहीले त सानै उमेरमा विवाह गरे र अन्य कतिपयको चाहिं रोमान्सको दुःखलाग्दो तरिकामा अन्त्य भयो किनभने तिनीहरू विवाह गर्न तयार थिएनन्‌।” ब्रान्डन नाउँका ठिटोले यसो भने: “यदि तपाईं त्यस व्यक्‍तिप्रति वचनबद्ध हुन तयार हुनुहुन्‍न तर हेलमेल भने बढिसकेको छ भने, के गर्ने कसो गर्ने हुनसक्छ। अर्को व्यक्‍तिको चित्त नदुखाई आफू कसरी पन्छिने?”

यसमा कुनै शंका छैन, तपाईंका आमाबाबुले तपाईंलाई त्यस्तो चोट अनि निराशाबाट जोगाउन विवाहको वचनबद्धता पूरा गर्ने उमेर नभएसम्म डेटिङ नगर्न जोड दिनुहुन्छ। साँच्चै भन्‍ने हो भने, तिनीहरूले उपदेशक ११:१० मा दिइएको प्रेरित सल्लाहअनुसार गरेका मात्र हुन्‌: “असन्तुष्टतालाई तेरो मनबाट पर हटा, र शरीरको दुःखलाई टकटक्याइदे।”

‘ठूलो मनको हुनुहोस्‌’

यद्यपि, यसको अर्थ तपाईंले विपरीत लिंगको व्यक्‍तिसँगको संगतिबाट कुनै आनन्दै उठाउनु हुँदैन भनेको होइन। तर किन एउटै व्यक्‍तिसँग मात्र संगत गरेर आफ्नो संगतिलाई सीमित तुल्याउने? अर्कोतर्फ बाइबलले हामीलाई “ठूला मनका” हुन प्रोत्साहित गर्छ। (२ कोरिन्थी ६:१२, १३) किशोरकिशोरीका लागि यो राम्रो सल्लाह हो। यसो गर्ने एउटा तरिका केटा र केटी दुवै भएको समूहमा संगति गर्नु हो। टमी यसो भन्छिन्‌, “यसो गर्दा खुबै रमाइलो पनि हुन्छ।” मोनिका अझै यसो भन्छिन्‌, “धेरै साथीहरू हुनु राम्रो हो। सामूहिक विचार तथा राय साँच्चै राम्रो कुरा हो किनकि तपाईंले विभिन्‍न व्यक्‍तित्व भएका व्यक्‍तिहरूसँग भेट्‌ने मौका पाउनुहुनेछ र यसले तपाईंलाई आफूले थुप्रै मानिसलाई भेटेकै रहेनछु भन्‍ने महसुस गराउँछ।”

अरू जवानहरूसँग लाभदायक संगतिको आनन्द उठाउने प्रबन्ध मिलाउन तपाईंका आमाबाबु पनि मदत गर्न इच्छुक हुनेछन्‌। दुई छोराछोरीकी आमा एन यसो भन्छिन्‌: “हामी सधैं घरमा केटाकेटीहरूले रमाइलो गर्न सक्ने वातावरण सृजना गर्न चाहन्छौं। हामी तिनीहरूका साथीहरूलाई घरमा बोलाउँछौं र खानेकुरा खान अनि खेलहरू खेल्न पनि दिन्छौं। यसो गर्दा तिनीहरूलाई घरमै बसेर पनि रमाइलो गर्न सकिन्छ भन्‍ने महसुस हुन्छ।”

समूहमा भेटघाट गर्दा पनि एक जना व्यक्‍तिलाई मात्र विशेष ध्यान नदिन तपाईं होसियार हुनुपर्छ। केही जवानहरू यस्तो तर्क गर्छन्‌, अरू व्यक्‍तिहरूको माझमा होउञ्जेल तिनीहरू डेटिङ गरिरहेका हुँदैनन्‌। यस्तो सोचाइ राखेर नबहकिनुहोस्‌। (भजन ३६:२) आफ्नो साथीहरूसँग भेला हुँदा तपाईं सधैं एउटै व्यक्‍तिसँग मात्र बस्नु भनेको डेटिङ गर्नु जस्तै हो। b विपरीत लिंगसँग मित्रता गाँस्दा सही निर्णय गर्नुहोस्‌।—१ तिमोथी ५:२.

पर्खनुको महत्त्व

डेटिङ गर्ने उमेरै पुगेको छैन भन्दा चित्त नबुझ्ला। तर तपाईंका आमाबाबुले तपाईंको चित्त दुखाउन खोज्नुभएको होइन। बरु, उहाँहरूले तपाईंलाई मदत गर्न अनि खतराबाट जोगाउन यथासक्य गरिरहनुभएको छ। त्यसैले, आफ्नै बुद्धिमा भरोसा गरेर उहाँहरूको सल्लाह बेवास्ता गर्नु सट्टा उहाँहरूको अनुभवी सल्लाहबाट लाभ उठाए कसो होला? उदाहरणका लागि, अर्को पटक विपरीत लिंगको व्यक्‍तिसँग व्यवहार गर्दा केही समस्या आयो भने उहाँहरूसित सल्लाह मागे कसो होला? हितोपदेश २८:२६ ले यसरी सम्झाउँछ: “आफ्नै बुद्धिमा मात्र भरोसा गर्नु सरासर मूर्खता हो।” जवान कनी यसो भन्छिन्‌, “कुनै केटोले मलाई मन पराएर घुम्न जाने दबाउ दिंदा आमासित कुरा गरेपछि त्यसको प्रतिरोध गर्न सजिलो हुन्छ। उहाँले मलाई विगतमा उहाँका साथीहरू तथा परिवारले भोग्नु परेका अनुभवहरू बताउनुहुन्छ। यस्तो अनुभवले साँच्चै मदत गर्छ।”

डेटिङ गर्न हतार नगर्नाले तपाईंको भावनात्मक विकासमा रोकावट आउँदैन अनि तपाईंको स्वतन्त्रता पनि हनन हुँदैन। तपाईंले विवाहपूर्व गरिने भेटघाट र विवाह जस्तो उमेर पुगिसकेका व्यक्‍तिहरूले उठाउनु पर्ने जिम्मेवारी अझै नउठाउनुभएकोले ‘आफ्नो युवावस्थामा सुखी हुनुहोस्‌।’ (उपदेशक ११:९) पर्खनाले तपाईंको व्यक्‍तित्व, परिपक्वता र सबैभन्दा महत्त्वपूर्ण त आध्यात्मिकता विकास गर्न समय मिल्नेछ। (विलाप ३:२६, २७) एक किशोरी मसीही बहिनीले यसो भनिन्‌, “कसैलाई वचन दिनुअघि तपाईं यहोवासित वचनबद्ध हुनुपर्छ।”

तपाईंको उमेर बढ्‌दै गएपछि तपाईंको प्रगति सबैले देख्नेछन्‌, तपाईंप्रति आमाबाबुको दृष्टिकोण पनि फरक हुनेछ। (१ तिमोथी ४:१५) जब तपाईं साँच्चै डेटिङ गर्न योग्यको हुनुहुन्छ त्यतिबेला तपाईंले आमाबाबुको समर्थन सहित यसो गर्नसक्नुहुनेछ। (g01 1/22)

[फुटनोटहरू]

a नाउँ परिवर्तन गरिएका छन्‌।

b थप जानकारीको लागि वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ पुस्तकको पृष्ठ २३२-३ हेर्नुहोस्‌।

[पृष्ठ २१-मा भएको चित्र]

विपरीत लिंगको कुनै एक व्यक्‍तिलाई मात्र विशेष ध्यान दिन थालेमा . . .

[पृष्ठ २१-मा भएको चित्र]

. . . रोमान्टिक भावनाहरू पैदा हुनसक्ने खतरा हुन्छ

[पृष्ठ २१-मा भएको चित्र]

कुनै एक जना व्यक्‍तिलाई मात्र पछ्याउनुको सट्टा धेरै जनासँग मित्रता बढाउनुहोस्‌