सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

उपचारविधिसम्बन्धी छनौट—के त्यसले केही फरक पार्छ?

उपचारविधिसम्बन्धी छनौट—के त्यसले केही फरक पार्छ?

इबलको दृष्टिकोण

उपचारविधिसम्बन्धी छनौट— के त्यसले केही फरक पार्छ?

बिमारी, रोग तथा चोटपटक मानवजातिको लागि सामान्य कुराहरू हुन्‌। सुस्वास्थ्यका यी शत्रुहरू विरुद्ध लड्‌दा अधिकांश मानिसहरूले चिकित्सा औषधोपचारद्वारा निवारण खोज्ने गर्छन्‌। येशू ख्रीष्टले निवारणका लागि गरिने यस्ता प्रयासहरूको फाइदा स्वीकार्दै यसो भन्‍नुभयो, “निरोगीलाई वैद्यको दरकार हुँदैन, तर बिरामीहरूलाई मात्र।”—लूका ५:३१.

यी शब्दहरू लेख्ने बाइबल लेखक लूका स्वयम्‌ वैद्य थिए। (कलस्सी ४:१४) सम्भवतः प्रेरित पावल र लूका सँगै यात्रा गर्दा पावलले लूकाको चिकित्सा दक्षताबाट अवश्‍यै लाभ उठाएको हुनुपर्छ। तर के धर्मशास्त्रले मसीहीहरूको लागि स्वीकार्य औषधोपचारबारे केही निर्देशन दिन्छ? के औषधोपचारसम्बन्धी तपाईंको छनौटले केही फरक पार्छ?

धर्मशास्त्रीय निर्देशन

बाइबलले औषधोपचारसम्बन्धी बुद्धिमानी निर्णय गर्न मदत दिनसक्छ। उदाहरणका लागि, व्यवस्था १८:१०-१२ ले जोखाना हेर्ने तथा टुनामुना गर्ने जस्ता काम यहोवाको दृष्टिमा “घृणित हो” भनेर स्पष्ट पार्छ। “मन्त्र-तन्त्र” विरुद्ध पावलले दिएको चेताउनीमा यस्ता निषेधित कार्यहरू समावेश गरिएको थियो। (गलाती ५:१९-२१) तसर्थ, साँचो मसीहीहरू प्रेतवादसित मुछिएका हर प्रकारका निदान तथा उपचार विधिबाट अलग बस्छन्‌।

जीवन र रगतको पवित्रतालाई सृष्टिकर्ता मूल्यवान्‌ ठान्‍नुहुन्छ भनेर पनि बाइबलले बताउँछ। (उत्पत्ति ९:३, ४) ‘रगतबाट अलग रहो’ भन्‍ने निषेधाज्ञा पालन गर्न कटिबद्ध हुँदै यहोवाका साक्षीहरू रगतबाट अलग रहन बाइबलको आज्ञा उल्लंघन गर्ने उपचारविधि अपनाउँदैनन्‌। (प्रेरित १५:२८, २९) यसको मतलब तिनीहरू सबै प्रकारको औषधोपचारलाई अस्वीकार गर्छन्‌ भनेको होइन। बरु, तिनीहरू आफू अनि आफ्ना छोराछोरीले अपनाउन मिल्ने सर्वोत्तम उपचार खोज्छन्‌। यद्यपि, तिनीहरू स्वास्थ्य विशेषज्ञहरूलाई आफ्नो धार्मिक विश्‍वाससित मेल खाने उपचारको लागि आग्रह गर्छन्‌।

आफ्ना पाइला सतर्कतासाथ चाल्ने

राजा सुलेमानले यस्तो चेताउनी दिए, “बेवकूफ मानिसले जुनसुकै कुरा पत्याउँछ, तर समझदार मानिसले आफ्ना पाइलाहरू सतर्कसाथ चाल्छ।” (हितोपदेश १४:१५ नयाँ संशोधित संस्करण) औषधोपचारसम्बन्धी निर्णय प्रत्यक्षतः बाइबल सिद्धान्त विपरीत नभए तापनि ‘आफ्नो पाइला सतर्कतासाथ चाल्नुपर्छ’। सबै प्रकारको औषधोपचार उपयोगी हुँदैनन्‌। येशूले ‘बिरामीलाई मात्र वैद्यको दरकार हुन्छ’ भन्‍नुहुँदा पक्कै पनि उहाँको समयमा उपलब्ध सबै औषधोपचारलाई स्वीकृति दिइरहनुभएको थिएन। केही औषधोपचार उचित अनि केही गलत थिए भनेर उहाँलाई थाह थियो। a

त्यसै गरी, आज पनि कुनै कुनै उपचारविधि बेकम्मा अनि कतिपय त धोका दिनेखालका पनि हुनसक्छन्‌। बुद्धिमानी सोचविचारको अभावले गर्दा कोही कोही अनावश्‍यक खतरामा फस्न सक्छन्‌। कुनै व्यक्‍तिको लागि उपयोगी हुने उपचारविधि अर्को व्यक्‍तिको लागि बेकम्मा र हानिकारकसमेत हुनसक्छ भनेर कहिल्यै बिर्सनुहुँदैन। औषधोपचारसम्बन्धी निर्णय गर्नुपर्दा, चाहे आफ्नो सुभचिन्तक मित्रबाट पाएको सल्लाह नै किन नहोस्‌ समझदार मानिसले ‘जुनसुकै कुरा पत्याउनुभन्दा’ आफूले रोजेको विकल्पलाई होसियारीपूर्वक केलाउनुपर्छ। बिरामीले भरपर्दा जानकारीहरूको खोजी गर्दै “आत्मसंयम” देखाउनेछ र यसो गर्दा ऊ सबै कुरा थाह पाएर छनौट गर्न सक्ने हुन्छ।—तीतस २:१२.

व्यावहारिक र समझदार हुनुहोस्‌

आफ्नो स्वास्थ्यबारे चिन्तित हुनु उचित हो। स्वस्थरहन उचित ध्यान दिनु भनेको जीवनको वरदान र यसको दाताप्रति मूल्यांकन देखाउनु हो। (भजन ३६:९) उपयुक्‍त औषधोपचारको खोजी गर्नुको अलावा स्वास्थ्यको मामिलामा मसीहीहरू सन्तुलित हुनुपर्छ। उदाहरणका लागि, सामान्यतया स्वस्थ व्यक्‍तिले आफ्नो स्वास्थ्य तथा तन्दुरुस्तीमा अचाक्ली ध्यान दिन थालेमा उसले “उत्तम” कुराहरू बिर्सन सक्छन्‌।—फिलिप्पी १:१०; २:३, ४नयाँ संशोधित संस्करण।

येशूको समयमा रोगले ग्रस्त भएर निराश भएकी एउटी आइमाईले चिकित्सकहरूको मदतद्वारा आफ्नो पुरानो व्यथाको उपचार गर्न “आफूसँग भएका सारा धन दौलत खर्च” गरिन्‌। तर परिणाम के भयो? निको हुनुको साटो उनको अवस्था झनै खराब भयो। त्यसले उनलाई निकै निराश तुल्याएको हुनुपर्छ। (मर्कूस ५:२५, २६) उनले आफू निको हुन आफ्नो शक्‍तिले भ्याएसम्म सबै गरिन्‌ तर केही सीप लागेन। उनको यो अनुभवले त्यत्तिबेलाको चिकित्सा विज्ञानको सीमिततालाई देखाउँछ। आजको युगमा चिकित्सा अनुसन्धान तथा प्रविधिले धेरै उन्‍नति गरे तापनि अधिकांश मानिसहरूले आफूलाई यस्तै परिस्थितिमा पाएका छन्‌। त्यसकारण, चिकित्सा विज्ञानले गर्न सक्ने कुराहरूप्रति व्यावहारिक दृष्टिकोण राख्नु महत्त्वपूर्ण छ। वर्तमान अवस्थामा पूर्णतया निरोगी हुनु असम्भव छ। “जाति जातिका मानिसहरूलाई निको” पार्ने परमेश्‍वरको समय भविष्यमा आउनेछ भनेर मसीहीहरूले बुझेका छन्‌। (प्रकाश २२:१, २) त्यसैकारण हामीले औषधोपचारसम्बन्धी सन्तुलित दृष्टिकोण राख्नुपर्छ।—फिलिप्पी ४:५.

स्पष्टतया, हामीले गर्ने छनौटहरूले फरक पार्छ। त्यसैले, उपचारविधि छनौट गर्ने निर्णय गर्नुपर्दा हाम्रो छनौटले सुस्वास्थ्य रहने र परमेश्‍वरसँग राम्रो सम्बन्ध कायम राख्ने हाम्रो इच्छा प्रकट गरेको हुनुपर्छ। यसो गरेको खण्डमा हामी ढुक्क भएर यहोवाको प्रतिज्ञा पूरा हुने समय हेर्न पर्खिरहन सक्छौं र त्यस महिमित नयाँ संसारमा “त्यहाँका बासिन्दाहरूले यसो भन्‍नेछैनन्‌, ‘म बिरामी परें’ ”—यशैया ३३:२४. (g01 1/08)

[फुटनोट]

a उदाहरणको लागि, प्रथम शताब्दीमा डिओस्कोरिडसको औषधी विश्‍वकोशमा कमलपित्त निको पार्न एक घुट्‌को रक्सी अनि बोकाको लिदी खानुपर्छ भनेर लेखिएको थियो! हो, अहिले हामीलाई थाह छ, यस्तो उपचारले रोगीको अवस्था झनै नाजुक बनाउँछ।

[पृष्ठ १८-मा भएको चित्र]

“द डक्टर,” १८९१, सर लुक फिल्डसले बनाएको चित्र

[स्रोत]

Tate Gallery, London/Art Resource, NY