सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईंले सोलोइटस्‌क्वीन्टली देख्नुभएको छ?

के तपाईंले सोलोइटस्‌क्वीन्टली देख्नुभएको छ?

के तपाईंले सोलोइटस्‌क्वीन्टली देख्नुभएको छ?

मेक्सिकोका ब्यूँझनुहोस्‌! लेखकद्वारा

मैले पहिलो पटक सोलोइटस्‌क्वीन्टली-लाई छुँदा म छक्कै परें। यसलाई छोटकरीमा सोलो भनिन्छ। यसको रौं विहीन कालो शरीर नरम र तातो थियो! यो नामुद चटके कुकुरले आफ्नो मालिकको अगाडि शानदार परेड खेल्दा हामीले यसको सलक्क परेको जीउ अनि “चित्र कोर्ने बुरुस” जस्तै पुच्छरको टुप्पो हेर्ने मौका पायौं। यसको चिल्लो अनि कालो जीउ पुच्छरभन्दा बिलकुलै भिन्‍न देखिन्थ्यो!

स्पेनीहरूको आगमन हुनुअगाडि मेसोअमेरिकामा घरपालुवा जनावरको रूपमा कुकुरको महत्त्वपूर्ण स्थान थियो। कुनै कुनै कुकुरलाई त ‘मरिसकेपछि पनि साथै’ रहोस्‌ भनेर आफ्नो मालिकसँगै गाडिन्थ्यो। समाजमा सोलो-को विशेष स्थान थियो। तिनीहरूसित उपचारात्मक शक्‍ति छ भन्‍ने विश्‍वास गरिन्थ्यो। हो, तातो शरीर हुने यो फुच्चे साथीसित सँगै बस्दा बाथ रोगले पिडित व्यक्‍तिहरूलाई सन्चो गर्छ जस्तो देखिन्थ्यो। चिसो रातमा सोलो-ले तपाईंको खुट्टालाई न्यानो राख्न पनि मदत गर्छ भन्‍ने कुरामा कुनै शंका छैन!

अधिकांश मानिसहरू आज पनि सोलो-लाई एक असल एवम्‌ प्यारो पाल्तु पशुको रूपमा लिन्छन्‌। विभिन्‍न जातका कुकुरलाई जस्तै सोलो-लाई पनि तालिम दिन सकिन्छ र यो सानोदेखि लिएर ठूलोसम्म पाइन्छ। सबैभन्दा राम्रो त यसको रौं नै हुँदैन र रौं नहुँदा यसमा उपियाँ पनि पर्दैन। कुकुरको रौंबाट एलर्जी हुनेहरूको लागि सोलो सबैभन्दा बेस हो। सोलो-लाई हेरचाह गर्न पनि निकै सजिलो छ। यसको छाला नरम बनाउन छालामा लगाउने कुनै पनि क्रिम वा तेल दले पुग्छ। सोलो-को अर्को विशेषताबारे यसका संरक्षक मिगेल एन्जेल मोरेनो यसो भन्छन्‌: “यसलाई नुहाइदिन एक मिनेट भए पुग्छ र दुई मिनेटभित्रमा यसको जीउ सुकिसक्छ।” सोलो-को उपचारात्मक उपयोगिताबारे नि? आज पनि कसै कसैले बाथले असर गरेको शरीरको भागमा सोलो-लाई राख्दा सन्चो भएको कुरा बताएका छन्‌। तथापि, मोरेनोको विचारमा सोलो “हट वाटर ब्याग” जति मात्र प्रभावकारी छ। a

सोलो-लाई संरक्षित पशुहरूको वर्गमा राखिएको धेरै भएको छैन र यसलाई संरक्षण गर्न धेरै प्रयास गरिएको छ। आजकाल सोलो यसको मातृभूमि मेक्सिकोमा मात्र होइन तर अन्य मुलुकहरू जस्तै, पेरू र संयुक्‍त राज्य अमेरिकामा पनि पाइन्छ। त्यसोभए, के तपाईं सोलोइटस्‌क्वीन्टली-लाई हेर्न चाहनुहुन्छ? एक चोटि देख्नुभएपछि तपाईंले यो कुकुर कहिल्यै बिर्सनुहुनेछैन। (g01 1/08)

[फुटनोट]

a अरू कुनै कुकुरको भन्दा सोलो-को तापक्रम धेरै हुँदैन तर यसको रौं नभएकोले यसलाई छुँदा बढी तातो महसुस हुन्छ।