जंगलमा बच्चा हुर्काउने
जंगलमा बच्चा हुर्काउने
केन्याका ब्यूँझनुहोस्! लेखकद्वारा
अफ्रिकाको विशाल घाँसे मैदानमा एउटा बच्चाको जन्म हुन्छ। झिसमिसे बिहानीको सूर्योदयसँगै त्यो भ्यात्त भुँइमा खस्छ। आमाचाहिं निहुरिएर टिलपिल टल्केको चिप्लो अनि लरखराइरहेको भर्खरै जन्मेको बच्चालाई बिस्तारै उठाउँछे। त्यो सानो बच्चालाई नियाल्न, छुन अनि सुँघ्न अरू आमा र दिदीबहिनीहरू पनि दौडेर नजिकै आइपुग्छन्। केवल १२० किलोग्राम वजन भएको र उभिंदा ९० सेन्टिमिटर जति अग्लो यो छावाको जन्मले बथानका अन्य हात्तीहरू खुसी हुन्छन्।
हजारौं किलोमिटर पर अमेरिकी महादेशमा लक्खु जत्रो एउटा सानो गुँड रूखको हाँगामा टाँसिएको छ। यो गुँडमा उड्ने कीराभन्दा पनि सानो मौरीजस्तै भुनभुनाउने एक जोडी चराले दुइटा बचेराको हेरचाह गर्ने गर्छन्। यी रंगीबिरंगी चराहरू साहसी छन् अनि आफ्ना स-साना बचेराहरूको नजिक ठूलठूला जनावर वा मानिस आएको खण्डमा यी चराहरू बेतोडले उडेर आएर शत्रुलाई धपाउँछन्।
जनावरका बच्चा हामी सबैलाई मन पर्छ। कुकुरका छाउराहरू देखेर केटाकेटीहरू दंग पर्छन्। बिरालोको न्याउराको चर्तिकला, आमाको जीउमा लुटपुटिरहेको रहरलाग्दो बच्चा बाँदर वा आफ्नो गुँडमा सुरक्षित बसेर ठूलठूला आँखा तन्काउँदै टुलुटुलु हेर्ने लाटोकोसेरोको बचेरा देख्दा कसको मन पो आनन्दित नहोला र?
जनावरका बच्चाहरू मानिसका बच्चाहरू जस्ता असहाय हुँदैनन्। कुनै कुनै त जन्मेर खुट्टाले भुँइ टेक्ने बित्तिकै दौडन सक्ने हुन्छन्। अन्य कतिपयचाहिं त्यतिकै अलपत्र छोडिएका हुन्छन् र तिनीहरूले आफ्नो सुरक्षा आफै गरेर बाँच्नुपर्ने हुन्छ। यद्यपि, अधिकांश बच्चा तथा कीरा-फटेंग्राहरू आमाबाबुको
पालनपोषण, संरक्षण, आहारा, तालिम तथा हेरचाहमा आश्रित हुन्छन्। फलतः आमाबाबु र तिनीहरूको सन्तानबीच घनिष्ठ सम्बन्ध हुन्छ।ताजुबलाग्दा सुसारेहरू
कीरा-फटेङ्ग्रा, माछा, उभयचर र घस्रने जन्तु आफ्ना सन्तानहरूको त्यति वास्ता गर्दैनन्। यद्यपि, केही उल्लेखनीय अपवाद छन्। ताजुबलाग्दा एक सुसारे भयंकर नाइल गोही हो। यी विषमतापी सरीश्रृप आमाबाबुले सन्तानको अत्यन्तै हेरचाह गर्छन्। तातो बालुवामा अण्डा पारिसकेपछि भावी सन्ततिको सुरक्षाको लागि आमाबाबु अण्डा नजिकै बसिरहन्छन्। अण्डाबाट बच्चा निक्लनै लाग्दा आमालाई अण्डा नछोप्ने संकेत दिंदै बच्चाहरू कराउने गर्छन्। पछि, पोथीले बलिया पन्जाले नवजात शिशुहरूलाई बिस्तारै जम्मा गर्छे र शरीरमा लागेका बालुवा सफा गर्न नदीको किनारासम्म लान्छे। भाले गोहीले पनि आफ्ना नवजात शिशुहरूलाई सफा गर्नको लागि पानीमा लाने गर्छन्। हाँसका चल्लाहरूले पछ्याएझैं गोहीका बच्चाहरूले पनि केही दिनसम्म पानीमा आफ्नी आमालाई पछ्याउने गर्छन्। यसरी आफ्नी आमाको सुरक्षा पाएपछि जस्तोसुकै खतराबाट पनि तिनीहरू डराउँदैनन्।
अचम्मलाग्दो कुरा त के छ भने, केही माछाहरूमा पनि असल आमाबाबुमा हुनुपर्ने गुण हुन्छ। सफा पानीमा पाइने एक प्रकारको माछाले अण्डा पारिसकेपछि सुरक्षाको लागि त्यस अण्डालाई मुख भित्र राख्ने गर्छन्। अण्डाबाट बाहिर निक्लने बित्तिकै भुराहरू आफ्ना आमाबाबुको नजिकै पानीमा पौडन थाल्छन्। खतरा देखापर्ने बित्तिकै माउ माछाले मुख खोल्छे र भुराहरू मुखभित्र लुक्छन्। खतरा टरेपछि मात्र भुराहरू बाहिर निस्कन्छन् र फेरि आ-आफ्नो नियमित क्रियाकलापमा लाग्छन्।
कमिला, मौरी अनि धमिराले आफ्ना बच्चाहरूको हेरचाह अनि सुरक्षाको लागि उल्लेखनीय इच्छुकता देखाउँछन्। सामाजिक कीरा भनेर चिनिने यी प्राणीहरू समूहमा बस्छन्, अण्डाको लागि बासको प्रबन्ध मिलाउँछन् अनि बच्चाहरूको लागि आहारा जुटाउँछन्। यस सन्दर्भमा मौरी एक चिरपरिचित उदाहरण हो। हजारौं परिश्रमी मौरीहरू चाकामा रहेका बच्चाहरूको मिलीजुली हेरचाह गर्छन्। यिनीहरूमा भएको अन्तरनिहित चेतनाले यिनीहरूलाई शिशुकक्ष निर्माण गर्न, मर्मत गर्न, सफा राख्न र त्यसको तापक्रम तथा आर्द्रता समेत नियन्त्रणमा राख्न मदत गर्छ।
बचेरा स्याहार्ने चराहरू
प्रायजसो चराहरूले आमाबाबुको भूमिका राम्ररी निर्वाह गर्छन्, गुँडको लागि ठाउँ रोज्न, गुँड बनाउन अनि परिवारको पालनपोषण गर्न निकै समय र शक्ति खर्च गर्छन्। अफ्रिकामा पाइने अत्यन्तै वफादार हर्नबिल चराको भालेलाई निरीक्षण गरिंदा पोथी १२० दिनसम्म ओथारो बसेको बेला
त्यसले १६०० भन्दा बढी पटक ओहोरदोहर गर्दै लगभग २४,००० टुक्रा फलफूल आफ्नो गुँडमा ओसाऱ्यो!आल्बाट्रस नामक फिरन्ते चरा अर्को एक भरपर्दो सुसारे हो। भाले आहारको खोजीमा हजारौं किलोमिटर यात्रा गर्दा उसकी वफादार पोथी गुँडमै धैर्यतासाथ पतिलाई पर्खिरहेकी हुन्छे।
मरुभूमि इलाकामा कुनै कुनै चराले आफ्ना बचेराहरूको तिर्खा मेटाउन प्रभावकारी तरिका अपनाउँछन्। यी चराहरू पानीको खाल्डो भएतिर उडेर जान्छन् र छातीका प्वाँखहरू पानीमा डुबाएर गुँडमा फर्कन्छन् अनि बचेराहरूले भिजेको प्वाँखबाट पानी पिउने गर्छन्।
धेरै बचेराहरूलाई चारो खुवाउन गाह्रो हुँदा केही चराका प्रजातिले “शिशु स्याहार” गराउँछन्। शिशु स्याहार्न मदत गर्ने चराहरू प्रायजसो यिनै आमाबाबुका हुर्किसकेका सन्तानहरू हुन्छन् र यिनीहरू बचेराहरूलाई खुवाउन तथा सुरक्षा प्रदान गर्न इच्छुक हुन्छन्।
आमाबाबुद्वारा गरिने सुरक्षा
बचेराहरूको सुरक्षा गर्नु पनि निस्फिक्री समय खर्च हुने काम हो। मुसलधारे पानी पर्दा आफ्ना बचेराहरूलाई न्यानो र सुक्खा राख्न चराहरूले पखेटा फिंजाएर गुँडलाई छोप्ने गर्छन्। मैनाहरूले आफ्नो घरपरिवारको एकदमै राम्रो स्याहारसम्भार गर्छन्। गुँडमा जुम्रा तथा उपियाँ पर्न नदिन यी चतुर चराहरूले कीटनाशक बोटबिरुवा बटुलेर गुँडको वरिपरि राख्ने गर्छन्। यसले कीटनाशक औषधीको काम गर्छ जसले हानिकारक जीवाणुहरूलाई मार्ने तथा रोकथाम गर्ने गर्छ।
माउ वुडकक चराले आफ्ना सन्तानहरूको सुरक्षा गर्दा असामान्य चतुऱ्याइँ देखाउँछे। खतरा देख्ने बित्तिकै त्यसले बचेराहरूलाई खुट्टा र जीउको बीचमा बेसरी च्याप्छे अनि पखेटा फिंजाइ यी बहुमूल्य धनमाल लिई सुरक्षितस्थानतिर उड्छे। सिकारीलाई बचेराहरूकहाँ आउन नदिई अलमल्याउन केही साहसी भाले पोथी घाइते भएको स्वाङ पार्छन्। घाइते भएझैं भुँइमा भ्याटभ्याट गरेर लड्दै माउले सिकारीलाई गुँडबाट भगाउँछे र खतरा टरेपछि मात्र सुरक्षित स्थानतर्फ उड्छे। जमिनमा गुँड बनाएर बस्ने चराहरूले सिकारीलाई तर्साउन नानाथरिको आवाज निकालेर झुक्क्याउँछन्। जमिनमनि बस्ने उत्तर अमेरिकी लाटोकोसेरोको दुलोलाई चलाउन खोज्दा यसले सर्पको जस्तो स्वाँ स्वाँ आवाज निकाल्छ। सुरु सुरुमा उत्तर अमेरिकामा बसाइँ सरेका आप्रवासीहरू सानो लाटोकोसेरो र राटल स्नेक नामक सर्प एउटै दुलोमा बस्छन् भन्ने कुरामा विश्वस्त भएकाले लाटोकोसेरोको दुलो चलाउँदैनथे!
स्तनधारी आमा
पशुजगत्मा शिशुहरूलाई रेखदेख गर्ने आमाबाबुमध्ये स्तनधारीहरू सबैभन्दा माथिल्लो श्रेणीमा आउँछन्। ढोई सन्तानको लागि मरिमेट्छे, जन्मेदेखि ५० वर्षसम्म पनि यो आत्मीयता रहिरहन्छ। छावा पूर्णतया आफ्नी आमामा आश्रित हुन्छ। घामलाई आफ्नो बडेमानको शरीरले छेकेर बच्चामाथि छाया पार्दै छावालाई चर्को घामबाट बचाउँछे, बिस्तारै दूध खुवाउँछे र सानो सुँडलाई आफ्नो मुखसम्म पुराएर केही घाँसपात खान दिन्छे। छावालाई सुँडले जीउभरि पानी छर्कंदै र सुँडले नै दल्दै नुहाइदिन्छे। एउटा छावा हुर्काउन परिवारका सबै सदस्य लागिपर्छन्। बथानका अन्य ढोईहरूले पनि खुवाउन र तालिम दिन
महत्त्वपूर्ण भूमिका खेल्नुका साथै पहरेदारको काम पनि गर्छन्।अर्को विशाल स्तनधारी जलगैंडाले पानीमा बच्चा जन्माउँछे। माउले पानीमनि नै स्याहारसुसार गर्छे, केही बेर हावा खान बाहिर निस्कन्छे र फेरि पानीमनि गएर बच्चाको स्याहार गर्छे। माउ जलगैंडा आफ्नो नवजात बच्चाको सुरक्षाको लागि जे गर्न पनि तयार हुन्छे।
अफ्रिकी बाँदरहरू पनि असल आमा हुन्। यिनीहरूले बच्चा जन्माउने बित्तिकै एउटा हातले बच्चाको घाँटी वा कुम च्याप्प समाउँछन्। जन्मेको पहिलो हप्तामा बच्चाले अधिकांश समय आमाको जीउमा टाँसिएरै बिताउँछ। माउले, अन्य बाँदरनीहरूलाई पनि भर्खरै जन्मेको त्यो रहरलाग्दो बच्चालाई सुमसुम्याउने, जीउ सफा गरिदिने, अँगालो हाल्ने र ऊसँग खेल्ने मौका दिन्छे।
साँच्चै भन्ने हो भने, अधिकांश प्राणीहरू “साह्रै बुद्धिमानी” छन् र आफ्ना लालबालाहरूको हेरचाह गर्ने तौरतरिकामा अत्यन्तै कौशलता देखाउँछन्। (हितोपदेश ३०:२४-२८) परिस्थिति बुझेर त्यसैअनुसार चल्न सक्ने क्षमता संयोगले आएको हुनै सक्दैन। यी सबै एक जना विवेकी सृष्टिकर्ताको बुद्धिमान् परिकल्पना हो अर्थात् सारा थोकका सृष्टिकर्ता यहोवा परमेश्वरका सृष्टि हुन्।—भजन १०४:२४. (g01 1/22)
[पृष्ठ २३-मा भएको चित्र]
लाटोकोसेरोका बच्चाहरू
[पृष्ठ २४-मा भएको चित्र]
सफा पानीमा पाइने एक प्रकारको माछाले अण्डालाई मुख भित्र राख्ने गर्छ
[स्रोत]
Courtesy LSU Agricultural Center
[पृष्ठ २४-मा भएको चित्र]
गोहीले आफ्नो बच्चा बोक्छन्
[स्रोत]
© Adam Britton, http://crocodilian.com
[पृष्ठ २५-मा भएको चित्र]
आल्बाट्रस र चल्ला
[पृष्ठ २५-मा भएको चित्र]
हर्नबिल चरा
[पृष्ठ २५-मा भएको चित्र]
मैना
[पृष्ठ २५-मा भएको चित्र]
वुडकक
[पृष्ठ २६-मा भएको चित्र]
माउ जलगैंडा आफ्नो बच्चाको सुरक्षाको लागि जे गर्न पनि तयार हुन्छे
[स्रोत]
© Joe McDonald
[पृष्ठ २६-मा भएको चित्र]
माउ बबूनले आफ्नो बच्चाको स्याहार गर्छे
[पृष्ठ २६-मा भएको चित्र]
अफ्रिकी बाँदरहरू
[स्रोत]
© Joe McDonald