तपाईंको वैवाहिक जीवन बचाउन सकिन्छ!
तपाईंको वैवाहिक जीवन बचाउन सकिन्छ!
बाइबलमा पतिपत्नी दुवैलाई फाइदा हुने व्यावहारिक सल्लाह प्रशस्त छन्। यो खासै अचम्मलाग्दो कुरा होइन किनभने बाइबल लेख्न उत्प्रेरणा दिनुहुने व्यक्ति नै विवाहको आरम्भक हुनुहुन्छ।
बाइबलले वैवाहिक जीवनको वास्तविक चित्र प्रस्तुत गर्छ। पति र पत्नीले “कष्ट” महसुस गर्नेछन् भनेर बाइबल मानि लिन्छ वा न्यु इंग्लिश बाइबल-ले भनेझैं तिनीहरूलाई “पीडा र दुःख” हुनेछ। (१ कोरिन्थी ७:२८) यद्यपि, वैवाहिक जीवन आनन्दको मात्र होइन, अत्यन्तै हर्ष र उन्मादको स्रोत हुनसक्छ र हुनुपर्ने पनि त्यस्तै हो भनी बाइबल बताउँछ। (हितोपदेश ५:१८, १९) यी दुईवटा कुरा विरोधाभासपूर्ण छैनन्। बरु, गम्भीर समस्याको बावजूद पतिपत्नीबीच घनिष्ठ र मायालु सम्बन्ध हुनसक्छ भनी देखाउँछ।
के तपाईंको वैवाहिक जीवनमा यी नै कुराहरूको कमी छ? के तपाईंको वैवाहिक सम्बन्धमा पहिलेको जस्तो आत्मीयता र आनन्दको बदला तनाउ तथा निराशा छाएको छ? तपाईंको वैवाहिक जीवन प्रेमरहित अवस्थामा रहेको निकै वर्ष भइसकेको भए तापनि एक चोटि गुमाएको कुरा फेरि पाउन सकिन्छ। निस्सन्देह, तपाईं व्यावहारिक हुनुपर्छ। कुनै पनि असिद्ध पुरुष र स्त्रीको विवाह सिद्ध हुनसक्दैन। तैपनि, नकारात्मक झुकाउलाई कम गर्न तपाईं केही कदम चाल्न सक्नुहुन्छ।
तल दिइएको विषयवस्तु पढ्नुहुँदा तपाईंको वैवाहिक जीवनमा लागू हुने खास खास बुँदा खुट्याउने प्रयास गर्नुहोस्। तपाईंको पति वा पत्नीको कमीकमजोरीहरूमा ध्यानकेन्द्रित गर्नुको साटो तपाईंले व्यवहारमा उतार्न सक्नुहुने केही सुझाउहरू छान्नुहोस् र धर्मशास्त्रीय सल्लाह लागू गर्नुहोस्। यसो गर्दा तपाईंको वैवाहिक जीवन सोचेजति निराशाजनक छैन रहेछ भनेर महसुस गर्नुहुन्छ होला।
सबैभन्दा पहिला, मनोवृत्तिबारे छलफल गरौं किनभने तपाईंको पति वा पत्नीप्रतिको वचनबद्धता र भावना सबैभन्दा महत्त्वपूर्ण कुरा हुन्।
वचनबद्धताप्रतिको तपाईंको दृष्टिकोण
तपाईंको वैवाहिक जीवनलाई सफल बनाउने हो भने दीर्घकालीन दृष्टिकोण राख्नु महत्त्वपूर्ण छ। हुन पनि, दुई बेग्लाबेग्लै मानवबीच अटुट मिलनका लागि नै परमेश्वरले विवाहको प्रबन्ध गर्नुभएको हो। (उत्पत्ति २:२४; मत्ती १९:४, ५) यसर्थ, तपाईंको विवाहित जोडीसितको सम्बन्ध आफूले चाहेको बेलामा छोड्न मिल्ने जागिर वा चित्त बुझेन भने सर्ने डेराजस्तो होइन। त्यसो नभई, विवाह गर्दा तपाईंले जस्तोसुकै वा जेसुकै आइ परे तापनि आफ्नो जोडीलाई नत्याग्ने गम्भीर प्रतिज्ञा गर्नुभएको थियो। यस्तो गहिरो प्रतिबद्धताले येशू ख्रीष्टले लगभग २,००० वर्षअघि भन्नुभएको यो कुरा पुष्टि हुन्छ: “जसलाई परमेश्वरले एक साथ जोड्नुभएको छ, त्यसलाई मानिसले नछुट्याओस्।”—मत्ती १९:६.
कसै कसैले यसो भन्लान्, ‘के भो र, हामी छुट्टिएका त छैनौं नि। के यसबाट हामीले आफ्नो वचनबद्धता टुटाएका छैनौं भन्ने प्रस्ट हुँदैन र?’ होला। तथापि, यसअघिका लेखहरूमा बताइएझैं सँगै बसिरहेका दम्पतीहरू पनि प्रेमरहित वैवाहिक जीवनको दलदलमा फसिरहेका हुनसक्छन्। तपाईंको लक्ष्य वैवाहिक जीवनलाई जसोतसो चल्ने होइन तर सुखी बनाउनु हो। वचनबद्धता केवल वैवाहिक वाचाप्रति मात्र होइन तर आफूले प्रेम र कदर गर्नेछु भनेर वाचा गरेको व्यक्तिप्रति पनि देखाउनुपर्छ।—एफिसी ५:३३.
तपाईंले आफ्नो जोडीलाई भन्नुहुने कुराले तपाईंको वचनबद्धता कत्तिको गहिरो छ भनेर देखाउँछ। उदाहरणका लागि, चर्को भनाभन हुँदा कोही कोही पतिपत्नी यस्तो कठोर बोली बोल्ने गर्छन्, “अब म तिमीसित बस्दिनँ!” वा “मेरो कुरा बुझ्ने अर्कै मान्छे खोज्नेछु!” यस्ता टिप्पणीहरू वास्तवमा साँच्चै त्यसै गर्ने मनसायले भन्न खोजेको होइन होला तर आफ्नो वचनबद्धतालाई
हल्का तुल्याएर यसो भन्ने व्यक्तिले कुनै पनि बेला आफू छुट्टिन सक्ने सम्भावना र कुनै पनि बेला छोडेर जान सक्छु भन्ने देखाइरहेको हुन्छ।तपाईंको वैवाहिक जीवनमा पुनः प्रेम जगाउने हो भने आफ्नो कुराकानीमा यस्तो वचन मुखबाट ननिकाल्नुहोस्। डेरामा सधैं बस्ने नबस्ने ठेगान छैन भने के तपाईंले डेरा सजाउनुहुन्छ र? स्थायी नहुने वैवाहिक जीवनको लागि तपाईंको जोडीले पनि प्रयास गर्ला भन्ने आशा गर्न सकिन्छ र? अतः समस्या सुल्झाउन तपाईंले साँचो प्रयास गर्नुहुनेछ भनेर कटिबद्ध हुनुहोस्।
आफ्नो श्रीमान्सित खटपट भएकी अनि तनाउपूर्ण समय बिताइसकेकी एउटी श्रीमतीले यसै गरिन्। उनी भन्छिन्, “मलाई उहाँ जतिसुकै मन नपरे तापनि उहाँलाई छोड्ने कुरा मैले कहिल्यै सोचिनँ। हामी हाम्रा कमीकमजोरीलाई जसरी भए पनि सुल्झाउन कटिबद्ध थियौं। दुई वर्षजति अत्यन्तै गन्जागोल भए तापनि अहिले भने हामी फेरि खुसी छौं भनेर नढाँटी भन्न सक्छौं।”
हो, वचनबद्धता भनेको एक्लैले गरेर हुने, सँगै बस्नु मात्र होइन तर एउटा साझा लक्ष्य राख्नु हो। तथापि, अहिले भने कर्तव्यबोधको भावनाले मात्र विवाहित जीवनलाई थामिराखेको हो जस्तो तपाईंलाई लाग्नसक्छ। यदि त्यसो हो भने, हरेस नखानुहोस्। एक चोटि गुमाइसकेको प्रेमलाई पुनः जगाउन सकिन्छ। कसरी?
आफ्नो पति वा पत्नीको आदर गर्ने
बाइबल यसो भन्छ: “सबैका बीचमा विवाहचाहिं आदरणीय होस्।” (हिब्रू १३:४, नयाँ संशोधित संस्करण; रोमी १२:१०) यहाँ “आदरणीय” भनी अनुवाद गरिएको युनानी पदलाई बाइबलका अरू ठाउँहरूमा “प्रिय” “कदर” र “मूल्यवान्” भनिएको छ। हामी कुनै कुरालाई अत्यन्तै मूल्यवान् ठान्छौं भने त्यसको हेरचाह गर्न जे गर्न पनि तयार हुन्छौं। तपाईंले देख्नुभएकै होला, एकदमै महँगो नयाँ गाडी किन्ने व्यक्तिले त्यसको कत्तिको स्याहार गर्छ। आफूलाई असाध्यै मन परेको यो गाडी सधैं टलक्क टल्काउँछ र बेलाबेलामा स्याहारसम्भार गरिरहन्छ। गाडीमा सानो कोरेको दागलाई समेत ऊ ठूलो बरबादी ठान्छ! अरू भने आफ्नो स्वास्थ्यबारे यसरी नै चिन्तित हुन्छन्। किन? किनभने तिनीहरू आफ्नो सुस्वास्थ्यलाई असाध्यै अनमोल ठान्छन् र यसलाई हर हालतमा जोगाउन चाहन्छन्।
आफ्नो वैवाहिक बन्धनलाई पनि यसरी नै जोगाउने मनोभाव देखाउनुहोस्। बाइबल भन्छ, प्रेमले “सबै कुराको आशा गर्छ।” (१ कोरिन्थी १३:७) “हामीबीच वास्तवमा माया बसेकै थिएन,” “उमेरै नपुगी बिहे गऱ्यौं” वा “के गर्दैछौं भनेर हामीलाई थाहै थिएन” जस्ता टीकाटिप्पणीहरू गरेर सुधार हुने आशै नभएजस्तो निराशावादी सोचाइ राख्नुको साटो अवस्था सुध्रनेछ भन्ने आशा राखेर प्रगति गर्न अनि राम्रो परिणामको बाटो हेरे कसो होला? विवाहसम्बन्धी एक जना सल्लाहकारले यसो भने, “मकहाँ आउने थुप्रै व्यक्तिले यसो भनेको म सुन्छु, ‘अहँ, अब म अलिकति पनि सहन सक्दिनँ!’ “कुन कुन क्षेत्रमा सुधार गर्नुपर्ने हो, त्यो पत्ता लगाउनुको साटो दुवैले सँगालेका मूल्यमान्यताहरू, विगतका घटनाहरू अनि भविष्यको प्रत्याशालाई नै चकनाचूर पारेर तिनीहरू वैवाहिक बन्धनलाई तोड्न हतारिन्छन्।”
आफ्नो पति वा पत्नीसित तपाईंले विगतमा के-कस्ता अनुभवहरू सँगाल्नुभएको छ? तपाईंको सम्बन्धमा आइपरेका जस्तोसुकै कठिनाइको बावजूद दुवैले अनुभव गर्नुभएका रमाइला क्षण, उपलब्धि तथा चुनौतीहरू सम्झन चाहनुहुन्छ होला। यी क्षणहरू सम्झनुहोस् अनि आफ्नो सम्बन्ध सुधार्ने साँचो प्रयास गर्दै आफ्नो वैवाहिक बन्धन अनि पति वा पत्नीको आदर गर्नुहुन्छ भनेर देखाउनुहोस्। विवाहित जोडीले एकअर्कासित कस्तो व्यवहार गर्छन, त्यसलाई यहोवा परमेश्वरले नियालेर हेर्नुहुन्छ भनी बाइबलले देखाउँछ। उदाहरणका लागि, अगमवक्ता मलाकीको समयमा मनमानी ढंगले आफ्नी पत्नीहरूलाई त्याग्ने इस्राएली पतिहरूको यहोवाले निन्दा गर्नुभयो। (मलाकी २:१३-१६) मसीहीहरू आफ्नो वैवाहिक जीवनले यहोवा परमेश्वरको आदर गरेको चाहन्छन्।
विवाद—कत्तिको गम्भीर?
प्रेमरहित वैवाहिक जीवनको एउटा प्रमुख कारण, चर्को भनाभन हुँदा कसो गर्नुपर्छ त्यसबारे पति र पत्नी दुवैलाई थाह नहुनु हो। दुई जना मानिस एकैनासे नहुने भएकाले सबै विवाहमा समय समयमा मनमुटाउ भइरहनेछ। तर सधैं मनमुटाउ भइरहने दम्पतीहरूको भने समयको दौडान प्रेम सेलाउन सक्छ। तिनीहरू यस्तो निष्कर्षमा समेत पुग्न सक्छन्, ‘हामी दुई जना त पटक्कै नमिल्ने रहेछौं। सधैं झगडा मात्र भइरहन्छ!’
यद्यपि, मनमुटाउ भयो भन्दैमा वैवाहिक बन्धन टुक्रिनुपर्छ भन्ने छैन। मुख्य कुरा त, मनमुटाउ कसरी सुल्झाउन सकिन्छ, त्यो पो हो। सफल वैवाहिक जीवन बिताउने पति र पत्नीले समस्याहरूबारे कुरा गर्न सिकेका हुन्छन् र एक जना विशेषज्ञले भनेझैं तिनीहरू “घनिष्ठ शत्रुहरू” हुँदैनन्।
“जिब्रोको शक्ति”
के तपाईं अनि तपाईंको जोडीलाई समस्याहरूबारे कसरी कुरा गर्नुपर्छ भनेर थाह छ? दुवै जना आफ्नो समस्याबारे कुरा गर्न इच्छुक हुनुपर्छ। यो एउटा योग्यता हो र सिक्नु चुनौतीपूर्ण हुनसक्छ। किन? किनभने हामी असिद्ध छौं र बेलाबेलामा ‘बोल्ने कुरामा भूल गर्दछौं।’ (याकूब ३:२, नयाँ संशोधित संस्करण) अनि त्यसमाथि पनि कोही कोही मानिस त आमाबाबुले सधैंजसो मनपरी रिस पोख्ने परिवारमा हुर्किएका हुनसक्छन्। भनौं भने, तिनीहरूले सानै उमेरदेखि आमाबाबुले रिस पोखेको अनि दुर्वचन गरेको देखेका हुँदा यी त सामान्य कुरा हुन् भन्ठान्न सक्छन्। त्यस्तो वातावरणमा हुर्केको केटो “रिसाउने” र “गरम-मिजास भएको मानिस” हुन्छन्। (हितोपदेश २९:२२) त्यसै गरी, त्यस्तो वातावरणमा हुर्किएकी स्त्री “झगडालु र रीसाहा पत्नी” हुनसक्ने सम्भावना हुन्छ। (हितोपदेश २१:१९, नयाँ संशोधित संस्करण) जरा गडिसकेको सोचाइ र बोलीवचनलाई जरैदेखि उखेलेर फ्याँक्न गाह्रो हुनसक्छ। a
अतः भनाभन कम गर्ने हो भने आफ्नो विचार व्यक्त गर्ने नयाँ तरिकाहरू सिक्नुपर्छ। यो कुनै चानचुने कुरा होइन किनभने बाइबल हितोपदेश यसो भन्छ: “जीवन र मृत्युको शक्ति बोलीमा रहन्छ।” (हितोपदेश १८:२१) यो सुन्दा सानो कुरा जस्तो लाग्छ तर तपाईं आफ्नो पति वा पत्नीसित कसरी कुरा गर्नुहुन्छ त्यसले तपाईंको वैवाहिक सम्बन्धलाई सपार्न वा बिगार्न सक्छ। अर्को बाइबल हितोपदेश यसो भन्छ, “असावधान वचनले मानिसलाई तरवारले झैं घोच्छ, तर बुद्धिमानको बोलीले निको पार्छ।”—हितोपदेश १२:१८, नयाँ संशोधित संस्करण।
दोष तपाईंको नभई तपाईंको पति वा पत्नीको हो जस्तो देखिएला, तापनि मनमुटाउ हुँदा तपाईं के के भन्नुहुन्छ, विचार गर्नुहोस्। तपाईंको बोलीले चित्त दुखाउँछ वा निको पार्छ? के त्यसले रिस उठाउँछ वा शान्त पार्छ? बाइबल यसो भन्छ, “मीठो जवाफले क्रोधलाई शान्त गर्छ, तर नमीठो वचनले रीस उठाउँछ।” (हितोपदेश १५:१) चित्त दुख्ने कुरा शान्तसितै भनेको नै किन नहोस्, त्यसले आगोमा घिउ थप्छ।
तपाईंलाई कुनै कुराले भित्रभित्रै खाइरहेको छ भने आफ्नो कुरा पोख्नु तपाईंको अधिकार हो। (उत्पत्ति २१:९-१२) तर तपाईंले व्यंग्य प्रहार, अपमानजनक शब्द बोलेर वा अरूलाई होच्याएर त्यसो गर्नु आवश्यक छैन। आफ्नो बोलीको सीमा तोक्नुहोस् र कुनै कुनै बोलीवचन आफ्नो पति वा पत्नीलाई कहिल्यै भन्नेछैन भन्ने संकल्प गर्नुहोस्। जस्तै, “मलाई तिमी पटक्कै मन पर्दैन” वा “हाम्रो विवाह नै नभएको भए हुन्थ्यो” आदि। हुन त प्रेरित पावलले विवाहबारे नै छलफल गरिरहेका थिएनन् तैपनि तिनले भनेजस्तै “एक-एक शब्द लिएर झगडा” गर्नु र “कचिंगल” हुने कुराहरूमा नमुछिनु बेस हो। b (१ तिमोथी ६:४, ५, नयाँ संशोधित संस्करण) तपाईंको पति वा पत्नीले यस्तो व्यवहार गर्छ भन्दैमा तपाईंले पनि त्यसै गर्नु पर्दैन। सकभर तपाईं शान्ति कायम गर्ने कोसिस गर्नुहोस्।—रोमी १२:१७, १८; फिलिप्पी २:१४.
याकूब ३:५, ८) त्यसोभए, रिस उठ्न थाल्यो भने तपाईं के गर्न सक्नुहुन्छ? आफ्नो पति वा पत्नीको रिसलाई अझ चर्काउनुको साटो रिस शान्त हुने ढंगमा तपाईं कसरी बोल्न सक्नुहुन्छ?
हो, रिसले दिमाग तातिंदा आफ्नो बोली सम्हाल्न गाह्रो हुन्छ। बाइबल लेखक याकूब यस्तो लेख्छन्, “जिब्रो पनि एउटा आगोनै हो। यो भयंकर विषले भरिएको चंचल बदमास हो।” (चर्को भनाभनलाई शान्त पार्ने
कसै कसैले अनुभव गरेअनुसार पति वा पत्नीको व्यवहारमा टोकाटोक गर्नुको साटो आफ्नै भावनामा कस्तो चोट पुग्यो भनेर विचार गर्दा रिस कम गर्न र समस्याको मूल कारण पत्ता लगाउन सजिलो हुन्छ। उदाहरणका लागि, “तपाईंले मेरो चित्त दुखाउनुभयो” वा “तपाईंलाई त्यो सिवाय अरू केही भन्नै आउँदैन” भन्नुभन्दा “तपाईंको बोलीले गर्दा मेरो चित्त दुख्यो” भन्नु राम्रो हुन्छ। आफ्नो भावना व्यक्त गर्नुहुँदा तपाईंको बोलीमा कटुता वा रिस झल्कन दिनुहुँदैन। तपाईंको उद्देश्य, व्यक्तिलाई आक्रमण गर्ने नभई समस्या बुझ्ने हुनुपर्छ।—उत्पत्ति २७:४६–२८:१.
साथै, “चूप्प लाग्ने एउटा समय छ, बोल्ने एउटा समय” छ भनेर कहिल्यै नबिर्सनुहोस्। (उपदेशक ३:७) दुई जना मानिसले एकै चोटि बोल्दा दुवैले केही पनि सुनिरहेको हुँदैन र कुनै काम बन्दैन। त्यसकारण, सुन्ने पालो तपाईंको हो भने “सुन्नालाई छिटो, बोल्नालाई ढीलो” हुनुहोस्। यसबाहेक, “रीसाउनालाई धीमा” हुनु झनै महत्त्वपूर्ण छ। (याकूब १:१९) तपाईंको पति वा पत्नीले भन्ने प्रत्येक कटु शब्दलाई केलाउने नगर्नुहोस्, न त “रीस देखाउन छिटो” हुनुहोस्। (उपदेशक ७:९) बरु, तपाईंको पति वा पत्नीले त्यस्तो बोली प्रहार गर्नु पछाडिको भावना बुझ्ने प्रयास गर्नुहोस्। बाइबल यसो भन्छ, “धीरज धारण गर्नु चातुर्य हो, दोषको वास्ता नगर्नु मानिसको गौरव हो।” (हितोपदेश १९:११) अन्तरदृष्टिले पति वा पत्नीलाई मतभेद हुनुको मूल कारण बुझ्न मदत गर्नसक्छ।
उदाहरणका लागि, पतिले आफूसित समय नबिताएको गुनासो गर्नुको अर्थ पत्नीले घण्टा वा मिनेटको कुरा गरिरहेको नहुनसक्छ। बरु, पतिले तिनको वास्ता नगरेर वा मूल्यांकन नगरेको महसुस गरेर यसो भनेकी हुनसक्छ। त्यसरी नै, सोचविचारै नगरी मनलागी मालतालहरू किन्यौ भनेर पतिले आपत्ति जनाउनुको मतलब पैसा धेरै खर्च गऱ्यौ भन्ने गुनासो मात्र नहुनसक्छ। बरु, त्यो मालताल किन्ने निर्णय गर्नुअघि उनको राय किन नलिएको भन्ने गुनासो हुनसक्छ। अन्तरदृष्टि भएको पति वा पत्नीले मुख्य कारण के हो त्यो बुझेर समस्याको जडसम्म पुग्ने प्रयास गर्नेछन्।—हितोपदेश १६:२३.
के यो भनेजति सजिलो छ र? पटक्कै छैन! कहिलेकाहीं प्रयास गर्दा गर्दै पनि कटु वचन बोलिन्छ र झनक्क रिस उठ्छ। यसो हुन लागेको देख्ने बित्तिकै हितोपदेश १७:१४ को यो सल्लाह पालन गर्नुपर्ने हुनसक्छ: “त्यो बढ्नअघिनै रीस छोडिदेऊ।” रिस मरिसकेपछि मात्र छलफल गर्नु गलत होइन। यदि चर्को भनाभन नभई कुरा गर्नै सकिंदैन भने तपाईंहरूको छलफलमा दुवैको चीनजान भएको एक जना परिपक्व साथीलाई बोलाएर तपाईंहरूबीचको मतभिन्नता सुल्झाउन मदत माग्नु बुद्धिमानी हुनसक्छ। c
व्यावहारिक दृष्टिकोण राख्नुहोस्
तपाईंको वैवाहिक जीवन, मायाप्रीति बसेको बेलामा जस्तो भएन भने हरेस नखानुहोस्। विशेषज्ञहरूको एउटा टोली यसो भन्छ: “विवाह भनेको प्रायजसो मानिसहरूको लागि सधैं हाँसखेल मात्र होइन। यो कहिलेकाहीं अत्यन्तै रमाइलो त कुनै बेला असाध्यै कठिन पनि हुन्छ।”
हो, विवाह भनेको प्रेमकथा जस्तो नहोला तर त्यसो भन्दैमा दुःखलाग्दो कथा पनि हुनु पर्दैन। कहिलेकाहीं तपाईं वा तपाईंको पति वा पत्नीले सहनुसिवाय अर्को विकल्पै नहुनसक्छ तर अरू कतिपय अवसरमा भने तपाईंहरूले मतभिन्नताको पर्वाह नगरी सँगै रमाइलो गर्दै साथीसित जस्तो कुराकानी गर्न सक्नुहुनेछ। (एफिसी ४:२; कलस्सी ३:१३) हो, यस्तो क्षणमा तपाईंले सेलाएको प्रेमलाई पुनः ताजा बनाउन सक्नुहुन्छ।
नबिर्सनुहोस्, दुई जना असिद्ध मानिसहरूको कहिल्यै सिद्ध विवाह हुन सक्दैन। तरैपनि तिनीहरूले केही हदसम्म आनन्द पाउन सक्छन्। निस्सन्देह, कठिनाइहरूको बावजूद तपाईं र तपाईंको पति वा पत्नीसितको सम्बन्ध अथाह सन्तुष्टिको मुहान हुनसक्छ। एउटा कुरा भने पक्का छ: तपाईं र तपाईंको जोडी दुवै प्रयास गरेर छाँटकाँट गर्न इच्छुक हुनुहुन्छ अनि एकअर्काको भलाइ चाहनुहुन्छ भने तपाईंको वैवाहिक बन्धन टुक्रिनदेखि बचाउन सकिन्छ भन्ने विश्वास गर्ने ठोस आधार छ।—१ कोरिन्थी १०:२४. (g01 1/08)
[फुटनोटहरू]
a आमाबाबुको त्यस्तो प्रभाव पऱ्यो भन्दैमा आफ्नो पति वा पत्नीसित कटु वचन गर्न मिल्दैन। तथापि, त्यस्तो झुकाउले गहिरो जरा गाड्नसक्छ र जरा गडिसकेपछि त्यसलाई उखेल्न किन गाह्रो हुन्छ भनेर हामी बुझ्नसक्छौं।
b यहाँ “कचिंगल” भनेर अनुवाद गरिएको मौलिक युनानी शब्दले “दुवैको चिढचिढाहपन” भन्ने अर्थ पनि बुझाउनसक्छ।
c यहोवाका साक्षीहरूले मण्डलीका प्राचीनहरूको मदत लिनसक्छन्। विवाहित दम्पतीहरूको निजी मामिलामा हस्तक्षेप गर्नु प्राचीनहरूको काम होइन तर संकटमा परेका दम्पतीहरूलाई तिनीहरूले स्फूर्ति प्रदान गर्नसक्छन्।—याकूब ५:१४, १५.
[पृष्ठ १२-मा भएको ठूलो अक्षरको क्याप्सन]
तपाईंको बोलीले चित्त दुखाउँछ वा निको पार्छ?