प्रेमशून्य विवाहको दलदलमा फसेको
प्रेमशून्य विवाहको दलदलमा फसेको
“अत्यधिक सम्बन्धविच्छेद हुने समाजमा थुप्रै असन्तुष्ट विवाहित दम्पतीको सम्बन्धविच्छेद हुनुका साथै अझ थुप्रै वैवाहिक जीवनमा बेमेल बढ्दै जानसक्छ।”—अमेरिकाको परिवारसम्बन्धी परिषद्।
भनिन्छ, जीवनको सबैभन्दा आनन्द र दुःखको एउटै स्रोत विवाह हो। निस्सन्देह, जीवनमा त्यति धेरै आनन्द वा पीडा ल्याउन सक्ने अरू कुराहरू कमै होलान्। सँगैको पेटीले देखाएअनुसार थुप्रै दम्पतीले अत्यन्तै तनाउ महसुस गरिरहेका छन्।
तर सम्बन्धविच्छेदसम्बन्धी तथ्यांकले समस्याको सानो अंश मात्र देखाउँछ। एकातिर थुप्रै वैवाहिक जीवन डुबिरहेका छन् भने अर्कोतिर जसोतसो तैरिरहेका अनगिन्ती विवाहित दम्पतीहरू छन्। विवाह गरेको ३० वर्षभन्दा बढी भइसकेको एउटी महिलाले यस्तो भाव व्यक्त गरिन्, “पहिले हाम्रो सुखी परिवार थियो तर पछिल्ला १२ वर्ष भने असाध्यै पीडादायी भए। मेरो श्रीमान् मेरा भावनाहरूको पटक्कै वास्ता गर्नुहुन्न। मेरो सबैभन्दा ठूलो भावनात्मक शत्रु भनेको उहाँ नै हुनुहुन्छ।” त्यसै गरी, विवाह गरेको झन्डै २५ वर्ष भइसकेको पतिले यस्तो दुखेसो पोखे: “मेरी श्रीमतीलाई मेरो माया लाग्नछोड्यो रे। उनको भनाइअनुसार हामी एउटै डेरामा दुई अपरिचित व्यक्तिजस्तो भएर बस्ने र आफ्नो फुर्सतको समय आफूले चाहेजस्तो ढंगमा छुट्टाछुट्टै बिताउने हो भनेचाहिं सायद जसोतसो बस्न सकिन्छ कि।”
हो, यस्तो नाजुक अवस्थामा पुगेका कसै कसैले आफ्नो वैवाहिक सम्बन्धविच्छेद गर्छन्। तथापि, थुप्रैले भने सम्बन्धविच्छेदलाई विकल्पको रूपमा अँगाल्न सक्दैनन्। किन? डा. करेन केसरले बताएअनुसार छोराछोरी, सामाजिक दबाउ, आर्थिक अवस्था, साथीभाइ, नातेदार वा धार्मिक विश्वासले गर्दा कतिपय दम्पतीहरू प्रेमरहित वैवाहिक जीवनरूपी डुंगालाई पनि जसोतसो खियाइरहेका हुन्छन्। तिनी अझै यसो भन्छिन्, “कानुनी तवरमा सम्बन्धविच्छेद गर्न प्राय प्राय असम्भव भएको हुँदा यस्ता दम्पतीहरू आफ्नो पति वा पत्नीसित भावनात्मक तवरमा सम्बन्धविच्छेद गरेर सँगै बसिरहेका हुन्छन्।”
वैवाहिक सम्बन्ध कमजोर हुँदै गइरहेको दम्पतीले के यस्तो असन्तुष्ट जीवनशैलीसँग हार मान्नै पर्ने हो त? के प्रेमरहित वैवाहिक जीवनको एक मात्र विकल्प सम्बन्धविच्छेद हो त? अनुभवहरूले देखाएअनुसार थुप्रै समस्याग्रस्त विवाहलाई सम्बन्धविच्छेदजस्तो पीडाबाट मात्र होइन तर प्रेमरहित अवस्थाबाट समेत बचाउन सकिन्छ। (g01 1/08)