प्रेम किन सेलाउँछ?
प्रेम किन सेलाउँछ?
“माया गाँस्नु जत्ति माया मर्न नदिनु सजिलो छैन।”—डा. करेन केसर।
प्रेमरहित वैवाहिक जीवन छ्यासछ्यासती देखा पर्नु कुनै अचम्मको कुरा होइन। विवाह भनेको एकदमै जटिल मानव सम्बन्ध हो तर थुप्रै मानिस आफू तयारै नभई त्यसमा बाँधिन्छन्। डा. डिन एस एडल यस्तो टिप्पणी गर्छन्, “सवारी चालक अनुमति पत्र लिन हामीले केही खास दक्षता देखाउनुपर्छ तर विवाह अनुमति पत्र लिन एउटा हस्ताक्षर गरे पुग्छ।”
यसर्थ, थुप्रै विवाह सुखद तथा आनन्दमय छन् भने अरू कतिपय चाहिं असाध्यै तनाउग्रस्त छन्। हुनसक्छ, पति वा पत्नी दुवैले वैवाहिक जीवनबाट ठूलठूला आशा राखेका होलान् तर तिनीहरूसित दीर्घकालीन सम्बन्धको लागि चाहिने योग्यताहरू नहुनसक्छन्। डा. ह्यारी राइज यसो भन्छन्, “सुरु सुरुमा एकअर्कासित नजिकिन थाल्दा दुवैले एकअर्काबाट निकै आडभरोसा पाएको महसुस गर्छन्।” तिनीहरूलाई “आफू दुई जनाबाहेक आफ्नो कुरा बुझ्ने यो संसारमा अरू कोही छैन जस्तो लाग्ला। तर कहिलेकाहीं यस्तो भावना सेलाउँछ र यसरी सेलाउँदा वैवाहिक सम्बन्धमा अत्यन्तै नकारात्मक प्रभाव पार्नसक्छ।”
खुसीको कुरा, थुप्रै विवाह यो अवस्थासम्म आइपुग्दैनन्। तर प्रेम सेलाउन सक्ने केही कारणहरूबारे छोटो छलफल गरौं।
निराशा—“यस्तो होला भनेर मनमा चिताएकै थिइनँ”
रोज भन्छिन्, “मैले जिमसित विवाह गर्दा हाम्रो वैवाहिक जीवन मुना मदन र मधु मालतीको कथाको जस्तो मायाप्रीति, कोमलता अनि एकअर्काको हेरचाहले भरिएको सुमधुर सम्बन्ध होला भन्ठानेकी थिएँ।” समय बित्दै गएपछि भने रोजको सपनाको “राजकुमार” आफूले सोचेजस्तो आकर्षक देखिन छोड्यो। उनी अझै यसो भन्छिन्, “मैले उहाँबाट आशा गरेको कुनै पनि कुरा नपाउँदा म साह्रै खिन्न भएँ।”
थुप्रै चलचित्र, पुस्तक र लोकप्रिय गीतहरूले प्रेमबारे अव्यावहारिक वर्णन गर्छन्। विवाह गर्ने विचारले सम्बन्ध बढाउँदै लैजाँदा तिनीहरूलाई आफ्नो सपना साकार भएजस्तो लाग्नसक्छ; तर विवाह गरेको दुई चार वर्ष नबित्दै तिनीहरू आफूले देखेको सुखद विवाहको सपना सपनै मात्र पो रहेछ भन्ने निष्कर्षमा पुग्छन्! आफ्नो वैवाहिक जीवन प्रेमकथाको जस्तो नभए तापनि छाँटकाँट गरेर सफल बनाउन सकिने वैवाहिक सम्बन्धसमेत पूरै असफलजस्तो तिनीहरूलाई लाग्नसक्छ।
हुन त, विवाहबाट केही पाउने आशा राख्नु पूर्णतया उचित कुरा हो। उदाहरणका लागि, आफ्नो पति वा पत्नीबाट माया, चासो अनि सहयोगको आशा राख्नु उचित हो। यद्यपि, कहिलेकाहीं यस्ता आशाहरूसमेत साकार हुँदैनन्। भारतकी नववधू मीना यसो भन्छिन्, “मलाई आफ्नो विवाह भएको जस्तै लाग्दैन। म असाध्यै एक्लो र मूल्यहीन महसुस गर्छु।”
अमेल —“हाम्रो एउटै कुरा मिल्दैन”
एउटी महिला यसो भन्छिन्: “मेरो श्रीमान् र म प्रायः सबै कुरामा ठीक उल्टा छौं। मैले उहाँसित बेकारमा विवाह गरेछु भनेर पछुतो नलागेको दिनै हुँदैन। हामी दुई जनाको जोडी नै मिल्दैन।”
विवाहअघि आफूहरूबीच जति कुरा मिलेको जस्तो देखिन्थ्यो, वास्तवमा त्यति मिल्दैन रहेछ भनी थाह पाउन विवाहित दम्पतीहरूलाई धेरै बेर लाग्दैन। डा. निना एस. फिल्ड्स यस्तो लेख्छिन्, “अविवाहित छँदा एकअर्काबाट लुकाउन सफल भएका सबै स्वभावहरू विवाहपछि उदांग हुन्छन्।”
फलस्वरूप, विवाहपछि कोही कोही दम्पतीलाई आफूहरू एकदमै अमिल्दो जोडी जस्तो लाग्नसक्छ। डा. एरोन टि. बेक यसो भन्छन्, “रुचि वा व्यक्तित्वमा केही समानता होलान् तर प्रायजसो मानिसहरू स्वभाव, आनीबानी र मनोवृत्तिमा एकदमै भिन्न हुँदाहुँदै पनि वैवाहिक सम्बन्धमा बाँधिन्छन्।” अनि थुप्रै दम्पतीलाई यस्तो भिन्नता कसरी सुल्झाउने भन्नेबारेमा ज्ञानै छैन।
विवाद—“हाम्रो सधैं भनाभन मात्र भइरहन्छ”
“हामीबीच झैझगडा मात्र कहाँ हो र, बाजाबाज अनि भनाभन गर्दै रिसले मुरमुरिएर दिन बितेको समेत हामीलाई पत्तै हुँदैन रहेछ, छक्कै लाग्छ” भन्दै सिन्डी आफ्नो विवाहका सुरु सुरुका दिनहरू सम्झन्छिन्।
वैवाहिक जीवनमा कहिलेकाहीं ठाकठुक त भइहाल्छ। तर यसलाई कसरी सुल्झाउन सकिन्छ? डा. डानियल गोलमन यस्तो लेख्छन्, “सफल वैवाहिक जीवन बिताउने पतिपत्नी आफ्नो गुनासो पोख्न अप्ठ्यारो महसुस गर्दैनन्। तर प्रायजसो अवस्थामा रिसको झोंकमा चर्को भनाभन हुँदा एकअर्काको मन दुख्ने गरी वचनको बाणले चरित्रमाथि आक्रमण गरिन्छ।”
यसो हुँदा, कुराकानी आफ्नै कुरामा जिद्दी गर्ने रणभूमिमा परिणत हुन जान्छ र वचनले आत्मीय सम्बन्ध कायम गर्नुको साटो एकअर्कालाई प्रहार गर्ने धारिलो हतियार बन्न पुग्छ। विशेषज्ञहरूको एउटा टोली यसो भन्छ: “मुखमा जे आयो, त्यही बोल्दै जाँदाको सबैभन्दा खतरनाक पक्ष के हो भने, यस्तो अवस्थामा पतिपत्नी दुवैले वैवाहिक जीवनको मुटु नै छेड्ने गरी वचन बाण प्रहार गरिरहेका हुन्छन्।”
भावशून्यता—“हाम्रो केही सीप लागेन”
विवाह गरेको पाँच वर्षपछि एउटी स्त्रीले यसो भनिन्, “हाम्रो वैवाहिक जीवनलाई सफल बनाउन मैले प्रयास गर्नै छोडिदिइसकें। अब यो कुनै हालतमा पनि सुध्रँदैन। त्यसकारण, मलाई अब छोराछोरीको मात्र पीर छ।”
भनिन्छ, प्रेमको विपरीत घृणा होइन बरु भावशून्यता हो। साँच्चै हो पनि। किनभने वैवाहिक जीवनमा आफ्नो जोडीको बेवास्ता गर्नु वैमनस्यता जत्तिकै घातक हुन्छ।
तर दुःखको कुरा, कुनै कुनै दम्पतीलाई प्रेमरहित वैवाहिक जीवनको बानी परिसकेको हुँदा अवस्था सुध्रिनसक्छ भन्ने आशै गर्न छोडेका छन्। उदाहरणका लागि, विवाह गरेको २३ वर्ष भइसकेका पतिलाई आफ्नो वैवाहिक जीवन “आफूलाई मन नपरेको जागिरमा मरिमेटिरहेको जस्तो मात्र लाग्यो।” तिनले अझै यसो भने: “बस्, जसोतसो टाऱ्यो, त्यति हो।” त्यसै गरी, वैवाहिक बन्धनमा बाँधिएर सात वर्ष बिताइसकेकी वेन्डीले आफ्नो पतिसितको सम्बन्ध सुध्रिएला भन्ने आशा मारिसकेकी छिन्। उनी यसो भन्छिन्, “मैले धेरै चोटि प्रयास गरें तर उहाँले कहिल्यै साथ दिनुभएन। त्यसपछि त मेरो पनि मनै मऱ्यो। म फेरि त्यसरी निराश हुन चाहन्नँ। केही भैहाल्छ कि भन्ठान्यो, आखिर पीडा मात्र हात पर्छ। त्यसो हुनुभन्दा त बरु आशै नगर्नु बेस, म खुसी हुन्नँ होला तर निराश हुनुभन्दा धेरै बेस छ।”
प्रेमरहित वैवाहिक जीवनका थुप्रै कारणहरूमध्ये निराशा, बेमेल, विवाद र भावशून्यता त केही उदाहरण मात्र हुन्। स्पष्टतः यसका अरू थुप्रै कारण पनि छन् र केही कारणहरू पृष्ठ ५ को पेटीमा दिइएका छन्। कारण जे सुकै होस्, प्रेमरहित वैवाहिक जीवन बिताउन बाध्य जोडीहरूको लागि के कुनै आशा छ त? (g01 1/08)