सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बोल्ने को हो?

बोल्ने को हो?

बोल्ने को हो?

पर्दा खुल्छ, प्रस्तोता अनि उसको कठपुतली देखापर्छ। तिनीहरू दुई जना ठट्टा गरेको हेर्दा आफ्नै स्वर अनि व्यक्‍तित्व भएको कठपुतली जीवितै हो कि जस्तो लाग्छ। साँच्चै भन्‍ने हो भने, कठपुतलीको “आवाज” निकाल्ने प्रस्तोता चटके हो र यसो गर्दा चटकेले आफ्नो ओठ नचलाउन सधैं होसियार हुनुपर्छ।

के तपाईं यस असाधारण कलाबारे अझ बढी जान्‍न चाहनुहुन्छ? लगभग १८ वर्षदेखि व्यावसायिक चटकेको रूपमा आफ्नो कला प्रदर्शन गर्दै आएका नाचो इसट्राडासँग ब्यूँझनुहोस्‌!-ले अन्तरवार्ता लिएको थियो।

यस चटक कलाका विभिन्‍न रूपहरू के हुन्‌?

नजिकको चटक कलामा चटकेको आवाज नजिकैबाट आएको जस्तो सुनिन्छ। हेर्दा चटकेको घुँडामा च्यापिएको कठपुतलीले नै बोलेको जस्तो लाग्छ। टाढाको चटक कलामा चटकेको आवाज टाढाबाट आएको जस्तो सुनिन्छ। चटकेले आफ्नो स्वर दबाउनसक्ने भएकोले उसको आवाज वरिपरिबाटै गुञ्जिएको जस्तो लाग्छ। चटकेले बोलेको आवाज बाकस भित्र रहेको पुतलीले नै बोलेको जस्तो सुनिन्छ। केही चटकेले जनावर तथा बच्चा रोएको आवाज पनि नक्कल गर्न सक्छन्‌। तर प्रहसनको बेला तिनीहरूले आफ्नो ओठ भने चलाउँदैनन्‌।

कुशल चटकेलाई मान्छेले छिट्टै पत्याइहाल्छ। एउटा रिपोर्टअनुसार एउटा गाडा पराल बोकेर गइरहेको थियो। त्यत्तिकैमा कसैले गुहारिरहेको करुण आवाज आयो। मदतको लागि कराइरहेको मानिस भेटिन्छ कि भन्ठानेर गाडावालहरूले गाडा रोके र पराल तल झारे। तर त्यहाँ कोही पनि भेटिएन।

वर्षौंको दौडान यस प्रकारको चटक कलाको विकास कसरी भयो?

आफू मृत व्यक्‍तिसँग कुरा गरिरहेको छु भनी विश्‍वास गर्ने अन्धविश्‍वासीहरूलाई झुक्क्याउन धेरै वर्ष पहिले यस्तै प्रकरको चटक कला प्रयोग गरिन्थ्यो। पछि गएर चटक कला मान्छेको बठ्याइँ मात्र रहेछ भनेर थाह भयो। त्यसैकारण मनोरञ्जन जगत्‌मा यसलाई आदरणीय दृष्टिकोणले हेर्न थालियो र हाल शैक्षिक उद्देश्‍यको लागि पनि यसको प्रयोग गरिन्छ।

शताब्दीयौंदेखि दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्न विभिन्‍न प्रकारका कार्यक्रमहरू सञ्चालन गर्दै चटकेहरूले असाधारण खुबी प्रदर्शन गर्दै आइरहेका छन्‌। विशेष गरी, २० औं शताब्दीमा चटकेहरूले कठपुतलीसँग कुराकानी गर्ने सम्बन्धमा धेरै लोकप्रियता हासिल गर्दैआएका छन्‌।

केले गर्दा यस प्रकारको चटक कलामा तपाईंको चासो बढ्यो?

यसले मानिसहरूलाई आनन्द दिने र हँसाउन सक्ने भएकोले म यस पेसाप्रति आकर्षित भएको हुँ। “चटके” अर्थ बुझाउने अंग्रेजी शब्द, “भेन्ट्रिलोक्विस्ट” ल्याटिन शब्द भेन्टरलोक्वी-बाट लिइएको हो। यसको अर्थ “पेटबाट कराउने” अर्थात “पेटबाट बोल्ने” हो भनेर एकजना स्थानीय बिक्रेताले व्याख्या गरेपछि म सानो छँदा यस कलाप्रति आकर्षित भएँ। किनकि पेटलाई विशेषरूपले चलाएको खण्डमा मात्र चटकेको काम गर्न सकिन्छ भन्‍ने पहिला पहिला विश्‍वास गरिन्थ्यो। त्यसपछि उनले मलाई त्यससम्बन्धी केही आधारभूत कुराहरू देखाए।

अर्को दिन मैले स्कूलमा यसो गर्ने प्रयास गरें। टाढाबाट आएको आवाज निकाल्ने सीपको प्रयोग गर्दै बाहिर माइक्रोफोनबाट आएको आवाज जस्तै गरी मैले आफैलाई बोलाएँ। हुँदो रहेछ! पछि मैले पत्राचार अध्ययनबाट यस प्रकारको चटक कलाबारे अरू धेरै कुरा सिकें र यसलाई आफ्नो पेसा बनाएँ।

चटकेको काममा के के समावेश छन्‌?

म कहिलेकाहीं ठूलठूला भोजहरू र चटकेहरूको सम्मेलनहरूमा आफ्नो कला प्रदर्शन गर्छु अनि टेलिभिजनमा पनि दुई चार चोटि आई सकें तर मेरो अघिकांश समय भने स्कूलका बच्चाहरूलाई सिकाउँदैमा बित्छ। प्रदर्शनको मुख्य विशेषता भन्‍नु नै अरूलाई हँसाउनु हो। उदाहरणका लागि, व्यक्‍तिगत स्वास्थ्यसम्बन्धी कार्यक्रम देखाउँदा म मेरो कठपुतली माक्लोभोलाई देखाउँदै उसले दाँत माझेको छैन, बिहानको खानामा अण्डा खाएको थियौ भन्छु। माक्लोभो यस्तो जवाफ दिन्छ, “तपाईंको कुरा मिलेन—अण्डा त मैले हिजो पो खाएको थिएँ!”

चटकबाजले कसरी काम गर्छ?

पालैपालो अनि बेग्लाबेग्लै आवाजको लागि ओठै चलाएर बोलेको जस्तो आवाज निकाल्न हामी विशेष प्रकारले जिब्रोको प्रयोग गर्छौं र डायफ्रामबाट सास फेर्ने कलाले गर्दा आवाज टाढाबाट आएजस्तो सुनिन्छ।

अधिकांश मानिसहरूले आफ्नो कानद्वारा आवाजको स्रोत र दूरी ठम्याउन नसक्ने हुनाले यस्तो प्रकारको चटक कलाले सजिलै झुक्याउन सक्छ। यसको लागि मानिसहरूले राम्ररी हेर्नैपर्ने हुन्छ। उदाहरणका लागि: साइरनको आवाज सुन्‍ने बित्तिकै आकस्मिकसेवाको सवारी साधन कतै टाढाबाट आइरहेको छ भनेर तपाईं थाह पाउनुहुन्छ। तर गाडी कति टाढा छ? गाडी कुन दिशाबाट आइरहेको छ? यी प्रश्‍नको जवाफ दिन तपाईंले गाडीको झिलिक्‌ झिलिक्‌ चम्किरहेको बत्तीलाई नै हेर्नुपर्ने हुनसक्छ।

चटकेले ठिक्कको आवाज निकाल्दै र आवाजको स्रोतको रूपमा आफूले जुन वस्तु देखाउन खोजेको हो त्यही वस्तुमा श्रोताहरूको ध्यानाकर्षण गर्छ।

यस्तो प्रकारको चटक कला सिक्न चाहनेहरूलाई तपाईं कस्तो सल्लाह दिनुहुन्छ?

सर्वप्रथम त, आफ्नो लक्ष्यबारे निश्‍चित हुनुहोस्‌ र बाधा दिने कुनै पनि कुरालाई पन्छाउन तयार हुनुहोस्‌। मैले यो कुरालाई यहाँ उल्लेख गर्नुको कारण के हो भने, अरू प्रकारका मनोरञ्जन जस्तै यसलाई कहिलेकाहीं स्वार्थपूर्तिको लागि पनि प्रयोग गरिन्छ। व्यक्‍तिगत रूपमा भन्‍नुपर्दा म यस प्रकारको चटक कलाप्रति आकर्षित हुनुको कारण यसले जगाउने प्रेम अनि रमाइलो हो। यस उद्धेश्‍यअनुरूपका विषयवस्तु तथा कार्यक्रमहरू मात्र म गर्ने गर्छु।

यस प्रकारको चटकमा निपुण हुन तीनवटा कुरा चाहिन्छ—सीप, कल्पना शक्‍ति र अभ्यास। सीप सिक्न तपाईंले यससम्बन्धी पुस्तक तथा भिडियो प्रयोग गर्नसक्नुहुन्छ। अर्को, आफ्नो पुतलीलाई अरूले पत्याउने व्यक्‍तित्वमा ढाल्न आफ्नो कल्पनाशक्‍तिको प्रयोग गर्नुहोस्‌ र त्यस पुतलीलाई कसरी जीवितै जस्तो बनाउने त्यसबारे अध्ययन गर्नुहोस्‌। अनि अन्तमा अभ्यास गर्नुहोस्‌। तपाईंको अभ्यासमै तपाईंको निपुणता निर्भर छ। (g01 1/08)