विश्वदर्शन
विश्वदर्शन
अक्सिजन नपुगेको आँखा
द ग्लोब एण्ड मेल-ले प्रस्तुत गरेको रिपोर्टअनुसार “केही कन्ट्याक्ट लेन्स प्रयोगकर्ताले आफ्ना आँखालाई अक्सिजनबाट वञ्चित गराइरहेका हुनसक्छन्। कर्निया [अर्थात् आँखाको पारदर्शी झिल्लीमा] पर्याप्त अक्सिजन नपुग्दा रक्तवाहिनी नलीहरू फुल्न थाल्छन्।” फलस्वरूप, आँखा धमिलो हुन्छ वा अन्धोसमेत हुनसक्छ। डा. रेमण्ड स्टाइन, टोरोन्टो अस्पतालका नेत्र शाखाका प्रमुख यसो भन्छन्, “सबैभन्दा दुःखलाग्दो कुरा त बिरामीले आफ्नो लेन्सको हिफाजत नगर्नु र समय समयमा नेत्रविद् कहाँ गएर नजँचाउनु हो। नेत्रविद्हरू बिरामीहरूलाई आफूले प्रयोग गरेको कन्ट्याक्ट लेन्स ठीक छ कि छैन भनी नेत्र विशेषज्ञसित परामर्श लिन र निर्धारित तालिका तथा लेन्स सुरक्षाको लागि दिइएका निर्देशनहरू पालन गर्न प्रोत्साहित गर्छन्। (g01 1/08)
इन्टरनेटका अश्लील वेब साइटमा लग्गू
द न्यु योर्क टाइम्स यस्तो रिपोर्ट दिन्छ, “कम्तीमा पनि २,००,००० इन्टरनेट प्रयोगकर्ताहरू अश्लील वेब साइट र च्याट रूम वा अन्य यौन अनैतिकतासम्बन्धी विषयवस्तुमा लग्गू छन्” भनी अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन्। स्ट्याण्डफर्ड डुकेन विश्वविद्यालयका मनोवैज्ञानिकहरूले यो अध्ययन गरेका थिए र इन्टरनेटका “साइबर-सेक्स” लग्गूहरूको संख्या अनुमान गर्ने यो पहिलो टोली हो। यी अनुसन्धानकर्ताहरूको भनाइअनुसार यी लग्गूहरूले हप्तामा ११ घण्टा भन्दा बढी यस्ता अश्लील तथा प्रतिबन्धित वेब साइटहरू हेर्ने गर्छन्। अनुसन्धानकर्ताहरूको भनाइलाई उक्त अखबारले यसरी उद्धृत गरेको छ: “जन स्वास्थ्यमाथि यसबाट हुने खतरा थोरैले मात्र स्वीकारिरहेका छन् र यसलाई गम्भीरतासाथ नलिने हुँदा यसको त्यति प्रचारप्रसार भएको पाइँदैन।” (g01 1/08)
“च्यापच्याप” टाँसिने औंलाहरू
सिसा जस्तो चिल्लो सतहको भित्तामा पनि गेको माउसुली खुरर्र दौडन सक्छ। तिनीहरूले कसरी यसो गर्न सकेका? यस प्रश्नको जवाफ दिन दशकौं प्रयास गरिसकेका वैज्ञानिकहरूले अब यसको जवाफ पाएजस्तो छ। साइन्स न्युज पत्रिकाले दिएको रिपोर्टअनुसार वैज्ञानिक तथा इन्जिनियरहरूको एउटा टोलीले “माउसुलीको खुट्टामा रहेको स-साना रौं वा काँडाजस्तो धार सतहसित घस्रँदा धेरै मात्रामा यस्तो टाँसिने शक्ति पैदा हुँदो रहेछ” भनी पत्ता लगाए। “यो काँडाजस्तो सानो धारबाट पनि अरू थुप्रै स-साना धार निस्कन्छन्। माउसुलीले सतहमा खुट्टाले टेक्दा अरबौं अरब यी स-साना धारहरू गुजमुज्ज पर्छन् फलतः . . . अणुहरूबीच अन्तरशक्ति पैदा हुन्छ।” माउसुलीले सतहमा टेक्दा “सतहलाई थिच्छ र यसरी तान्ने शक्ति एकअर्कासित समानान्तर हुन्छ” भनेर पनि अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन्। यसो हुँदा “माउसुलीको खुट्टाले हल्का किसिमले थिच्ने मात्र होइन तर १० गुणा बढी बल प्रयोग भइरहेको हुन्छ” भनी उक्त अखबार बताउँछ। (g01 1/22)
अफ्रिकामा एड्सको माहामारी
संयुक्त राष्ट्र संघका महासचिव कोफी अन्नानका अनुसार विगतका वर्षहरूमा अफ्रिकामा युद्धले भन्दा एड्सले धेरै मानिसहरूको ज्यान लियो। यसमा डेमोक्रेटिक रिपब्लिक अफ कंगो, सियरा लियोन, इथियोपिया, सोमालिया, एरिट्रिया र सुडानका युद्धहरू समावेश छन्। विश्वकै लगभग दुई तिहाइ अर्थात् ३ करोड ६० लाख एड्स पीडितहरू सहारा मरुभूमिको दक्षिणी भूभागमा बसोबास गर्छन्। कोट डेभ्वामा एड्सले प्रति दिन एक शिक्षकको ज्यान लिन्छ र बोत्सवानामा मानिसहरूको औसत आयु ७० बाट घटेर ४१ पुगेको छ। सन् २००५ सम्ममा स्वास्थ्य क्षेत्रमा विनियोजित बजेटको ६० प्रतिशत एच आइ भी र एड्सको लागि खर्च हुने र त्यो पनि अपुग हुने जिम्बावेले अनुमान लगाएको छ। लण्डनको द गार्डियन अखबार यस्तो रिपोर्ट गर्छ, मलावी र जाम्बियामा मानिसहरू एड्सबारे कुरै गर्दैनन् तर यहाँ नै एड्सको बिगबिगी छ; दक्षिण अफ्रिकामा मानिसहरू एड्स पीडितहरूबाट पन्छिन खोज्छन्। श्री अन्नानले यसो भने, “आङै सिरिंङ पार्ने यस्तो तितो यथार्थले अफ्रिकाको जीवनस्तर, अर्थतन्त्र र सामाजिक तथा राजनैतिक स्थिरतामा पार्ने असरलाई हामी कसैले पनि बुझ्ने चेष्टा गरेका छैनौं।” (g01 1/08)
पीडारहित हृदयघात
अधिकांश मानिसहरू छाती थिचिएजस्तो हुनु नै हृदयघातको प्रमुख लक्षण
हो भन्ने बुझेर सतर्क हुन्छन्। यद्यपि, टाइम पत्रिकाले यस्तो रिपोर्ट दिन्छ “एक तिहाइ रोगीहरूलाई हृदयघात हुँदा छाती दुखेको महसुस हुँदैन” भनी धेरै कमलाई मात्र थाह छ। द जर्नल अफ दी अमेरिकन मेडिकल एसोशिएसन-मा छापिएको एक अध्ययनअनुसार “हृदयघात हुँदा छाती दुखेको महसुस नगर्नेहरू अस्पतालमा प्रायजसो दुई घण्टा ढिला पुग्छन्।” यद्यपि, जीवन बचाउन गरिने कुनै पनि उपचारमा ढिला गर्नु खतरनाक हुन्छ। तपाईंले ध्यान दिनुपर्ने कुराचाहिं के हो त? टाइम पत्रिकामा प्रकाशित उक्त लेख अझै यसो भन्छ, “सतर्क हुनुपर्ने अर्को लक्षण सास फेर्न गाह्रो हुनु हो।” अरू लक्षणहरूमा वाकवाकी लाग्ने, असिनपसिन हुने र “ ‘मुटु भतभती’ पोल्ने गर्छ। हिंड्दा वा अन्य शारीरिक क्रियाकलाप गर्दा यी लक्षणहरूले झनै च्याप्ने गर्छन्।” (g01 1/22)ब्याक्टेरिया विरुद्ध अर्थहीन युद्ध
यु एस ए टुडे यस्तो रिपोर्ट दिन्छ, “अमेरिकी उपभोक्ताहरू आफ्ना घरमा भित्रिने सूक्ष्मजीवहरू विरुद्ध युद्ध गर्न तम्सिएका छन् तर यो अर्थपूर्ण देखिंदैन।” टफ्ट्स युनिभर्सिटी मेडिकल स्कूलका चिकित्सक तथा सूक्ष्मजीवविज्ञानी डा. स्टुआर्ट लीभीले बताएअनुसार “प्रचुर मात्रामा उत्पादित एन्टीब्याक्टेरियल तत्त्वहरूले एन्टीब्याक्टेरियल साबुनलाई मात्र होइन तर एन्टीबायोटिक्सलाई पनि कुनै असर गर्दैन।” घरमा कुनै प्रकारको संक्रमण हुन नदिन एन्टीब्याक्टेरियल तत्त्वहरू प्रयोग गर्नु भनेको “झिंगा मार्न मुंग्रो प्रयोग गर्नु” बराबर हो। अर्कोतर्फ, घरको सफाइको लागि प्रयोग गरिने ब्लीच, हाइड्रोजन पेरोक्साइड, तातोपानी र साबुनले फोहोर सफा गर्छ तर सफा गर्न प्रयोग गरिएका यी तत्त्वहरू विरुद्ध लड्न ब्याक्टेरियाहरूलाई सक्रिय बनाउँदैन। लीभी भन्छन्, “ब्याक्टेरियाहरू हाम्रा मित्र हुन्। हामी यिनीहरूसँग मेलमिलापमा बस्नु पर्छ।” (g01 1/22)
“आफ्नो सफाइ आफै गर्ने” कमलको फूल
पूर्वीय धर्ममा पहिल्यैदेखि पवित्र मानिंदै आएको कमलको फूल किन सधैं सफा देखिन्छ? जीव विज्ञान विद्हरूलाई वर्षौंअघिदेखि अलमल्लमा पारेको यस प्रश्नको जवाफ अब जर्मन वैज्ञानिकहरूले पत्ता लगाएको दाबी गरेका छन्। वैज्ञानिक डब्ल्यु. बार्थलट र सी. नाइनहुस यसो भन्छन्, “फूलको सतहमा पानी नअड्ने कुरा धेरै पहिलेदेखि नै सबैलाई थाह छ। तर आफसे आफ सफा हुने कार्यलाई भने पटक्कै ध्यान दिइएको थिएन।” द सन्डे टाइम्स अफ इण्डिया-ले बताएझैं “कमलको पातमा रहेका पानीका थोपाहरू तल खस्दा यसले धूलोका कणहरूलाई पखाल्छ र आफै सफा हुन्छ।” यसो हुनुको कारण यसको सतह चिप्लो भएकोले होइन। सूक्ष्मदर्शक यन्त्रबाट नियाल्दा यसको पात “डल्लो, दोब्रिएको तथा गट्टाहरू जस्तो” खस्रो देखिन्छ, यसले पानीलाई अर्धचन्द्राकार वा अर्धभकुन्डो आकार दिई गुडाइदिन्छ। कमलको फूललाई सफा राख्ने अर्को तत्त्व यसको आवरणमा भएको पानी नसोस्ने मैनको लेप हो। अनुसन्धानकर्ताहरू भन्छन्, “कमलको फूलमा यो विशेष गुण” भएकोले पानी सोसिने तथा धूलोका कणहरू टाँसिने सम्भावना निकै कम हुन्छ। तिनीहरू अझै यसो भन्छन्, वातावरण अनुकूल नहुँदा पनि यो बोटले मैन उत्पादन गर्नसक्छ। यसले गर्दा मानिसहरूले बनाएको पानीले नबिगार्ने रंग वा सफाइ सामग्रीहरूभन्दा कमलको प्राकृतिक प्रभावकारिता कैयौं गुणा बढी हुन्छ। (g01 1/8)
धेरै टिभी हेर्ने बेलाइतीहरू
लण्डनको अखबार दी इन्डिपेन्डेन्ट यस्तो रिपोर्ट गर्छ, “झन्डै एक चौथाइ बेलाइतीहरूले हप्ताभरि काममा जति समय बिताउँछन्, त्यति नै समय टेलिभिजन हेर्नमा बिताउँछन्।” अनुसन्धानकर्ताहरूका भनाइअनुसार अधिकांश बेलाइतीहरूले हरेक हप्ता २५ घण्टा टिभी हेर्छन्, त्यस्तै २१ प्रतिशत बेलाइतीहरूले ३६ घण्टाभन्दा बढी समय टेलिभिजन हेरेर बिताउँछन्। उक्त अखबार यसो भन्छ, “धेरै टिभी हेर्नेहरूमा युवायुवतीहरू मात्र नभई महिला, पुरुष र वृद्धहरू पनि पर्छन्।” हप्तामा लगभग ३० घण्टा टेलिभिजन हेर्ने एउटा परिवारको भनाइअनुसार टेलिभिजनले उनीहरूलाई जीवनका “यथार्थदेखि भागेर कुनै सुखद काल्पनिक स्थितिमा पुऱ्याउँछ।” यद्यपि, यस्तो धेरै टिभी हेर्ने बानीले गर्दा ठूलो मूल्य चुकाउनुपर्छ। लण्डनको गार्डियन विक्ली-को रिपोर्टअनुसार २० मुलुकमा गरिएको अध्ययनमा बेलायत “धेरै टिभी हेर्ने देशहरूमध्ये पहिलो स्थानमा आउँछ।” अझैसम्म “बेलाइत साक्षरताका तीन मुख्य क्षेत्रहरूमा निकै पछि परेको छ।” (g01 1/22)