सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के विवाह बन्धन भनेको आजीवन सम्बन्ध हो?

के विवाह बन्धन भनेको आजीवन सम्बन्ध हो?

बाइबलको दृष्टिकोण

के विवाह बन्धन भनेको आजीवन सम्बन्ध हो?

के यस्तो प्रश्‍न सोध्नु जरुरी छ र? पश्‍चिमी विवाहवाचालाई उद्धरण गर्ने हो भने, के विवाह “सुखमा पनि, दुःखमा पनि” “मृत्युले अलग नगरुञ्जेल[को]” लागि होइन र? हो, विवाहवाचामा अक्सर दुलहा र दुलही आजीवन बन्धनमा बाँधिन लागेका छन्‌, भनिन्छ। तर आज थुप्रैले आफू त्यो विवाहवाचाप्रति वचनबद्ध महसुस गर्दैनन्‌। विवाहित दम्पतीहरूको छुट्टिने क्रम बढ्‌दो छ। कोही विवाह गरेको केही महिनाभित्र भने कोही विवाह गरेको दशकौंपछि छुट्टिरहेका छन्‌। किन विवाहप्रति आदर कम हुँदैछ? बाइबलले यसको जवाफ दिन्छ।

कृपया २ तिमोथी ३:१-३ पढ्‌नुहोस्‌ र यसलाई आज तपाईंले देख्नुहुने विश्‍व परिस्थितिसित तुलना गर्नुहोस्‌। त्यस पदका केही अंश यसप्रकार छन्‌: “आखिरी दिनमा डरलाग्दो समय आउनेछ। किनभने मानिसहरू स्वार्थी, धनका लोभी . . . बैगुणी, र अपवित्र, स्वाभाविक प्रेम रहितका, खुशी नहुने, . . . असंयमी” हुनेछन्‌। यो भविष्यवाणी एकदमै सही छ। त्यस्ता मनोभावले विश्‍वभरि वैवाहिक बन्धनलाई बिगार्नुका साथै कमजोर बनाएको छ र यसको एउटा प्रमाण सम्बन्धविच्छेद गर्नेहरूको बढ्‌दो संख्या हो।

स्पष्टतः थुप्रै मानिसले वैवाहिक बन्धनलाई आदर गर्न छोडेका छन्‌। यस कुरालाई मनमा राख्दै हामी यस्तो प्रश्‍न गर्नसक्छौं: के विवाहलाई एकदमै गम्भीरतासाथ लिनुपर्छ? वैवाहिक बन्धनको पवित्रता भन्‍ने पनि हुन्छ र? मसीहीहरूले वैवाहिक बन्धनप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ? बाइबलले विवाहित दम्पतीहरूलाई आज कस्तो मदत प्रदान गर्छ?

के परमेश्‍वरको दृष्टिकोण परिवर्तन भएको छ?

वैवाहिक बन्धन अस्थायी हो भनी परमेश्‍वरले सुरुदेखि नै भन्‍नुभएको छैन। उहाँले प्रथम पुरुष र स्त्रीलाई मिलाप गर्नुभएको विवरण उत्पत्ति २:२१-२४ मा पाइन्छ र त्यहाँ विकल्पको रूपमा सम्बन्धविच्छेद वा छुटानाम गर्न सकिन्छ भनेर उल्लेख गरिएको छैन। बरु, पद २४ यसो भन्छ: “मानिसले आफ्ना आमा-बाबुलाई छोड़छ, र आफ्नी स्वास्नीसँग मिलिरहन्छ, औ तिनीहरू एउटै जीउ हुन्छन्‌।” त्यस शास्त्रपदको अर्थ के हो?

उदाहरणका लागि मानव शरीरलाई लिनुहोस्‌, विभिन्‍न तन्तुहरू कसरी सिउनीविना नै जोडिएका छन्‌ अनि हड्डीहरू विना कुनै घर्षण कस्तो बलियोसित रहेका छन्‌। कस्तो एकता! कस्तो टिकाउ! तर यो अद्‌भुत शरीरका अंगहरू सख्त घाइते हुँदा असह्‍य पीडा हुन्छ! तसर्थ, उत्पत्ति २:२४ मा प्रयोग गरिएको “एउटै जीउ” भन्‍ने पदावलीले वैवाहिक बन्धनको घनिष्ठता र स्थायित्वलाई बुझाउँछ। यसले यो बन्धन टुट्यो भने असह्‍य पीडा हुन्छ भनेर स्पष्ट चेताउनी पनि दिन्छ।

शताब्दीयौंको दौडान मानव विचारधाराहरूमा निकै परिवर्तन आए तापनि परमेश्‍वरले विवाहलाई अझै आजीवन वचनबद्धताको रूपमा नै हेर्नुहुन्छ। लगभग २,४०० वर्षअघि केही यहूदी पुरुषहरूले पहिलो स्वास्नीलाई त्यागेर तरुणी स्त्रीहरूसित विवाह गरिरहेका थिए। परमेश्‍वरले यस्तो कार्यको विरोध गर्नुभयो र अगमवक्‍ता मलाकीमार्फत यसो भन्‍नुभयो: “तिमीहरू आफ्नो आत्माको विषयमा सचेत रहो, र कसैले आफ्नो जवानीपनको स्वास्नीलाई धोका नदेओस्‌। किनभने स्वास्नीलाई त्याग्ने कुरालाई म धिन गर्दछु, परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्छ।”—मलाकी २:१५, १६.

त्यसको लगभग चार शताब्दीपछि येशूले उत्पत्ति २:२४ मा लिपिबद्ध विवाहप्रति परमेश्‍वरको दृष्टिकोण पुनः उद्धृत गर्दै यस्तो निर्देशन दिनुभयो: “जसलाई परमेश्‍वरले एक साथ जोड़नुभएको छ, त्यसलाई मानिसले नछुट्याओस्‌।” (मत्ती १९:५, ६) वर्षौंपछि प्रेरित पावलले “पत्नी पतिबाट छुट्टेर नबसोस्‌” र “पतिले पत्नीलाई नत्यागोस्‌” भन्‍ने निर्देशन दिए। (१ कोरिन्थी ७:१०, ११) यी शास्त्रपदहरूले विवाहप्रति परमेश्‍वरको दृष्टिकोण स्पष्टसित उल्लेख गर्छ।

के बाइबलले कुनै अवस्थामा वैवाहिक सम्बन्धलाई अन्त गर्ने अनुमति दिन्छ? पति या पत्नीको मृत्यु हुँदा वैवाहिक बन्धनको अन्त हुन्छ। (१ कोरिन्थी ७:३९) व्यभिचार भएको छ र निर्दोष जोडीले छुट्टिने निर्णय गर्छ भने पनि विवाहको अन्त हुनसक्छ। (मत्ती १९:९) अन्यथा बाइबलले दम्पतीहरूलाई सँगै बस्ने प्रोत्साहन दिन्छ।

विवाह कसरी चिरस्थायी बनाउने

परमेश्‍वर वैवाहिक बन्धन जसोतसो चलिरहेको होइन तर सुखमय भएको चाहनुहुन्छ। पतिपत्नी दुवै मिलेर समस्याहरू समाधान गरेर एकअर्काको संगतिमा रमाएको उहाँ इच्छा गर्नुहुन्छ। उहाँको वचनले सुखमय चिरस्थायी वैवाहिक बन्धन बनाउने निर्देशन प्रदान गर्छ। कृपया निम्न शास्त्रपदहरूमा ध्यान दिनुहोस्‌।

एफिसी ४:२६: “घाम अस्ताउन अघिनै तिमीहरूको रीस मरोस।” a सुखमय वैवाहिक जीवनको आनन्द उठाइरहेका एक जना पुरुषले तिनी अनि तिनकी पत्नीलाई कुरा नमिल्दा समस्या सुल्झाउन उक्‍त शास्त्रपदले मदत गरेको विश्‍वास गर्छन्‌। तिनी यसो भन्छन्‌, “झगडापछि तपाईं सुत्न सक्नुहुन्‍न भने पक्कै पनि केही गडबडी छ। समस्या रहिरहन दिनु ठीक हुनेछैन।” कहिलेकाहीं तिनी र तिनकी पत्नीले रातभर बसेर भए पनि आफ्ना समस्याहरूबारे कुरा गरेका छन्‌। तर यस्तो प्रयास बेकार जाँदैन। तिनी अझ यसो भन्छन्‌: “बाइबलका सिद्धान्तहरू लागू गर्दा अत्युत्तम नतिजाहरू प्राप्त भएका छन्‌।” यसो गर्दा तिनी र तिनकी पत्नीले सुखी वैवाहिक जीवनको आनन्द उठाएको ४२ वर्ष भइसक्यो।

कलस्सी ३:१३: “एउटाले अर्कोलाई सहेर, . . . एउटाले अर्कोलाई क्षमा गर।” यो सिद्धान्त आफू र आफ्नी पत्नीले कसरी लागू गरिरहेका छन्‌ भनी एक जना श्रीमान्‌ यसो भन्छन्‌: “केही गल्ती नगर्दा पनि वैवाहिक दम्पतीहरूले एकअर्कालाई रिस उठाउनसक्छन्‌ किनभने सबैको आ-आफ्नै कमीकमजोरी तथा रिस उठ्‌ने बानीहरू हुन्छन्‌। हामी यी कुराहरू समस्याको कारण हुन दिंदैनौं।” निस्सन्देह, यस्ता भावनाहरूले यी दम्पतीलाई ५४ वर्षसम्म आनन्दमय वैवाहिक बन्धनमा बाँधिन मदत गरेको छ!

यस्ता धर्मशास्त्रीय सिद्धान्तहरू व्यवहारमा उतार्दा पतिपत्नीबीचको बन्धन झन्‌ बलियो हुन्छ। अनि तिनीहरूको वैवाहिक जीवन आनन्ददायी, सन्तोषजनक र आजीवन हुनसक्छ। (g01 2/08)

[फुटनोट]

a प्रथम शताब्दीमा मध्यपूर्वको समयअनुसार सूर्य अस्ताएपछि नयाँ दिन सुरु हुन्छ। अतः पावलले पाठकहरूलाई हरेक दिनको अन्त हुनुअघि नै मिलाप गर्न प्रोत्साहन दिइरहेका थिए।