सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईंको स्वास्थ्यलाई सुरक्षा दिने पहरेदारहरू

तपाईंको स्वास्थ्यलाई सुरक्षा दिने पहरेदारहरू

तपाईंको स्वास्थ्यलाई सुरक्षा दिने पहरेदारहरू

रक्‍त परीक्षणको नतिजा जाँच्दै डाक्टरले भेरोनिकालाई यसो भने: “तपाईंको रोग प्रतिरोध क्षमता एकदमै कमजोर भएको रहेछ।” भेरोनिकालाई बिसन्चो भएको केही समय भइसकेको थियो। बारम्बार ब्रोन्काइटिस भएको कारण तिनी कमजोर भएकी थिइन्‌ र हालसालै तिनको कानमा संक्रमण हुनुका साथै पिनासले पनि दुःख दिइरहेको थियो।

रोग प्रतिरोध क्षमता भनेको के हो र यो किन त्यस्तो महत्त्वपूर्ण छ? त्यसले के गर्छ?

आक्रमणबाट सुरक्षित गर्छ

रोग प्रतिरोध प्रणालीमा अणुहरूको जटिल संरचना र संक्रमण हुनदेखि जोगाउने विशेष कोषहरू हुन्छन्‌। जीवाणु वा किटाणुजस्ता बाह्‍य आक्रमणकारीहरूसित लड्‌न हामी रोग प्रतिरोध क्षमतामा भर पर्छौं।

यसलाई बुझ्न हामी आफ्नो शरीरलाई पुरातन शहरसित तुलना गर्नसक्छौं। सामान्यतया पुराना शहरहरू अलि अग्लो ठाउँमा हुन्थे र यसले गर्दा शत्रुहरू आएको टाढैबाट देख्न सकिन्थ्यो। अनि शहरलाई सुरक्षित पर्खाल र ढोकाले घेर्नुका साथै सुरक्षाकर्मी तथा पालेहरू पनि हुन्थे। त्यस्तो प्रतिरक्षाको कारण शहर सुरक्षित ठाउँ हुन्थ्यो। हामीले आफ्नो शरीर त्यस्तो शहरसित तुलना गऱ्‍यौं भने त्यस्ता आक्रमणहरूबाट बच्न के गर्नुपर्छ भनी राम्रोसित बुझ्नेछौं।

जीवाणुहरूको आक्रमण विरुद्ध हाम्रो शरीरमा पहिलो सुरक्षा छाला र लेसिलो झिल्ली (उदाहरणका लागि, हाम्रो नाक र घाँटीभित्र यो हुन्छ) हुन्‌। हाम्रो छालाले महत्त्वपूर्ण छेकबारको काम गर्छ। हाम्रो छालाको सतहमा हुने अरबौं जीवाणुहरू छालाको बाहिरी भागसँगसँगै शरीरबाट निस्कन्छन्‌।

लेसिलो झिल्ली छाला जत्तिको बलियो हुँदैन, कमजोर हुन्छ। तथापि, त्यसमा थुप्रै प्राकृतिक तत्त्व हुन्छन्‌ जसले जीवाणुहरू विरुद्ध लड्‌न मदत गर्छन्‌। ती तत्त्वहरूमध्ये एउटा हो, लाइसोजाइम र यो आँसु, राल अनि पसिनामा पाइन्छ। पसिनामा हुने अम्ल मात्र पनि जीवाणुहरूको वृद्धि रोक्न पर्याप्त हुन्छ तर लाइसोजाइमले तिनीहरूको [कोष भित्ता] नै नाश गरिदिन्छ। पशुहरूले आफ्नो घाउ चाटेर नै निको पार्नसक्नुको कारण यही हो।

प्रमुख पाले—सेतो रक्‍त कोषिका

शरीरमा घाउ वा संक्रमण हुँदा रोग सार्ने जीवाणु “शहर” भित्र छिरेको कल्पना गर्नुहोस्‌। कोषहरूको दल तुरुन्तै काममा लागिहाल्छन्‌। यी सबै कोषहरूको एउटै उद्देश्‍य हुन्छ अर्थात्‌ आक्रमण गरिरहेका जीवाणुहरूलाई हटाउने र त्यसपछि रोग निको गर्ने। शरीरको रक्षा गर्न संघर्ष गर्ने कोषलाई ल्युकोसाइट्‌स वा सेतो रक्‍त कोषिका भनिन्छ। यतिबेला संघर्ष गर्ने तीन प्रमुख सेतो रक्‍त कोषिकाहरू मोनोसाइट्‌स, न्युट्रोफिल्स र लिम्फोसाइट्‌स हुन्‌।

मोनोसाइट्‌सले कुनै खास भाग सुनिएको रासायनिक संकेत “सुनेपछि” रक्‍तनली छोडेर प्रभावित तन्तुभित्र छिर्छ र त्यहाँ त्यो म्याक्रोफेज अर्थात्‌ “महा खन्चुवा” हुन्छ। त्यहाँ तिनीहरूले शरीरलाई नचाहिने बाह्‍य तत्त्वहरू सबै खान्छन्‌। साथै, तिनीहरूले साइटोकिन्स भनिने महत्त्वपूर्ण तत्त्व निकाल्छन्‌ र यसले शरीरलाई संक्रमण विरुद्ध लड्‌न तयार पार्छ। साइटोकिन्सको थुप्रै काममध्ये एउटा हो, ज्वरो निकाल्नु। ज्वरो भनेको एउटा राम्रो संकेत हो किनभने यसले प्रतिरोधात्मक तत्त्वहरू सक्रिय भएको प्रमाण दिन्छ। यसले निको हुने प्रक्रिया तीव्र गर्नुका साथै उपयोगी निदान सूचकको रूपमा पनि काम गर्छ।

त्यसपछि, न्युट्रोफिल्सले सुनिएको भागबाट रासायनिक संकेत “सुन्छ” र म्याक्रोफेजलाई मदत गर्न तुरुन्तै गइहाल्छ। तिनीहरूले पनि जीवाणुहरू खान्छन्‌ वा निल्छन्‌। यी न्युट्रोफिल्सहरू मरेपछि तिनीहरू शरीरबाट पीपको रूपमा बाहिर निस्कन्छन्‌। तसर्थ, पीप जम्नु पनि एक प्रकारको सुरक्षा प्रणाली नै हो। यस सन्दर्भमा शताब्दीयौंअघिदेखि डाक्टरहरूले चलाउँदै आएको ल्याटिन अभिव्यक्‍ति लागू हुन्छ: पस बोनस इट लडाबिल। यसको अर्थ, “असल र प्रशंसायोग्य पीप” हो। पीपले संक्रमण फैलिनदेखि रोक्छ। जीवाणुहरू खाइसकेपछि हाम्रो मित्र म्याक्रोफेजले लिम्फोसाइट्‌सलाई आक्रमणकारीबारे चेताउनी दिन जीवाणुको सानो भाग “दिन्छ” वा प्रदर्शन गर्छ।

संक्रमण हुन नदिन लिम्फोसाइट्‌सले विशिष्ट भूमिका निर्वाह गर्छ। तिनीहरू एन्टिबडिज्‌ र एउटा विशेष प्रकारको जीवाणुसँग मिल्छ। लिम्फोसाइट्‌सको दुई महत्त्वपूर्ण समूह छ र यिनीहरूको क्षमता पनि भिन्‍नाभिन्‍नै छन्‌। पहिलो हो, बी कोष। यसले प्रतिजीवीहरू रक्‍तनलीमा पठाउँछ। बी कोषहरूलाई रोग प्रतिरोध क्षमतासहितको सशस्त्र सैन्य दल भनिन्छ र तिनीहरूले हानेको बाण अर्थात्‌ प्रतिजीवीको निसाना कहिल्यै चुक्दैन। यी प्रतिजीवीहरूले आफूले चिन्‍ने जीवाणु “खोज्छन्‌” र बाणले जस्तै जीवाणुको महत्त्वपूर्ण भागमा प्रहार गर्छ। लिम्फोसाइट्‌सको अर्को प्रमुख समूह हो, टि कोष। यसले चिन्‍ने प्रतिजीवीहरूलाई सतहमै राखिराख्छ। तिनीहरूले ती प्रतिजीवीहरू शत्रुहरूलाई आक्रमण गर्न चलाउँछन्‌। प्रतीकात्मक अर्थमा भन्‍ने हो भने, तिनीहरू कुस्ती लड्‌न थाल्छन्‌।

अब कुरा झनै जटिल हुन्छ। सहायक टि कोष भनिने टि कोषको उपसमूहले आफ्ना मित्र बी कोषलाई धेरै मात्रामा प्रतिजीवीहरू उत्पादन गर्न मदत गर्छ। आक्रमण गर्नुअघि सहायक टि कोषले आपसमा सम्पर्क राख्छन्‌। हालै गरिएको अनुसन्धानले देखाएअनुसार रासायनिक संकेतहरूद्वारा यी कोषहरू एक आपसमा जोस्सिएर “कुरा” गर्नुका साथै विदेशी आक्रमणकारीहरूबारे जानकारी आदानप्रदान गर्छन्‌ र यसलाई जोसिलो वार्तालाप भनिन्छ।

अर्को महत्त्वपूर्ण समूह, जन्मजात ज्यानमारा कोषले पनि मदत गर्छ। यिनीहरूले प्रतिजीवीहरू त उत्पादन गर्दैनन्‌ तर संक्रमणको कारण “विदेशी” भएका कोषहरूलाई मार्छन्‌। त्यसैले, प्राकृतिक ज्यानमाराहरूले पनि शरीरको सुस्वास्थ्य जगेर्ना गर्न मदत पुऱ्‍याउँछन्‌।

आफ्नो रोग प्रतिरोधात्मक क्षमताबारे स्मरणशक्‍ति भएकोले लिम्फोसाइट्‌सले जीवाणुहरूको स्वभावबारे आफूसँग रेकर्ड वा फाइल भए जत्तिकै सम्झनसक्छ। त्यसकारण, एकै प्रकारको जीवाणु देखा पर्ने बित्तिकै लिम्फोसाइट्‌सले खास प्रतिजीवीहरू चलाएर यसलाई नाश गरिहाल्छ।

रोग प्रतिरोध क्षमतालाई सक्रिय बनाउने म्याक्रोफेजले सुन्‍निएको कम गर्न मदत गरेर पनि सघाउँछ। प्रभावित क्षेत्रबाट सबै मृत कोष, टुटेफुटेका सामग्री वा “रणभूमिमा” युद्धपछि बाँकी रहेका कोषका टुक्राहरू हटाएर “शहरमा” सुव्यवस्था पुनर्स्थापना कायम गर्छ।

रोग प्रतिरोध क्षमता कमजोर हुँदा

माथि उल्लिखित विषयवस्तु रोग प्रतिरोध क्षमताले कसरी काम गर्छ भन्‍नेबारे सानो झलक मात्र हो। तर रोग प्रतिरोध क्षमता अन्य कारणहरूले गर्दा पनि कमजोर हुनसक्छ। प्रथमतः रोग प्रतिरोध क्षमतामा जन्मजात केही त्रुटि हुनसक्छ र दोस्रो, कुनै रोग लागेको कारण कमजोर भएको हुनसक्छ।

यी रोगहरूमध्ये सबैभन्दा घातक एड्‌स हो। यो डरलाग्दो महामारी सन्‌ १९८० को दशकदेखि अकस्मात्‌ तीव्र गतिमा फैलिएको छ। यो रोग ह्‍युमन इम्युनोडेफिशियन्सी भाइरसले (एच आइ भी) गर्दा लाग्छ अनि यसले रोग प्रतिरोध क्षमताको मुख्य भागलाई नै आक्रमण गर्दै एक प्रकारको लिम्फोसाइट्‌सलाई नाश गर्न थाल्छ। अतः यसले मानिसको प्रतिरोध क्षमताको अत्यन्तै महत्त्वपूर्ण भागलाई कमजोर बनाइदिन्छ। त्यसपछि, बेलाबेलामा संक्रमण भइरहन्छ र कहिल्यै पूर्णतया निर्मूल हुँदैन। वास्तवमा, अवस्था झन्‌ झन्‌ नराम्रो हुँदै जान्छ र शरीरमा प्रतिरोध गर्ने क्षमता नै हुँदैन। यो पर्खाल नभएको वा तहसनहस भएको शहरजस्तै हुन्छ जसमाथि जोसुकैले पनि विजय हासिल गर्नसक्छ।

खुसीको कुरा, सबै रोग प्रतिरोध क्षमतामा भएका कमजोरीहरू त्यस्तो गम्भीर प्रकारका हुँदैनन्‌। सुरुमा उल्लिखित भेरोनिकाको भने फोक्सोमा हावा पुऱ्‍याउने बाटोमा हुने लेसिलो झिल्लीमा एक प्रकारको प्रतिजीवी उत्पादनमा अलि कमी भएको रहेछ। यसर्थ, तिनलाई बारम्बार संक्रमण हुनुको कारण बुझ्न धेरै बेर लागेन।

भेरोनिकालाई सन्चो हुन थाल्यो। डाक्टरको कुरा सुनेपछि भेरोनिकाले डाक्टरले सल्लाह दिएजस्तै गरिन्‌। पिनास निको भएपछि प्रतिजीवीहरू उत्पादन गर्न मदत गर्ने सुई लिन पनि तिनी राजी भइन्‌। a तिनले धूम्रपान पनि छोडिन्‌ र बढी आराम गर्ने प्रबन्ध मिलाइन्‌। त्यसको केही समयपछि तिनको स्वास्थ्य स्थितिमा निकै सुधार आयो।

हो, हामी सुस्वस्थ हुनसक्ने गरी बनिएका छौं। रोग प्रतिरोध क्षमताको आश्‍चर्यलाग्दो जटिलता र मानव शरीरका अन्य सूक्ष्म कुराहरूलाई विचार गर्दा हामी हाम्रो सृष्टिकर्ताको बुद्धिको सराहना गर्न र उहाँप्रति कृतज्ञ हुन उत्प्रेरित हुन्छौं। (भजन १३९:१४; प्रकाश १५:३) अहिले मानव असिद्धताको कारण सधैं सुस्वास्थ्यको आनन्द उठाउन नसके तापनि परमेश्‍वरको प्रेरित वचनले चाँडै आउन लागेको नयाँ संसारमा मानिसहरू सिद्ध शरीर र सिद्ध मनमा पुनर्स्थापित हुनेछन्‌ भन्‍ने आश्‍वासन दिएको छ। “त्यहाँका बासिन्दाहरूले यसो भन्‍नेछैनन्‌ ‘म बिरामी परें।’ ”—यशैया ३३:२४. (g01 2/08)

[फुटनोट]

a ब्यूँझनुहोस्‌!-ले कुनै खास प्रकारको उपचारविधिको पक्ष लिंदैन। स्वास्थ्य मामिलासम्बन्धी निर्णय गर्नु पूर्णतया व्यक्‍तिगत कुरा हो भनी यसले मानि लिन्छ।

[पृष्ठ ११-मा भएको पेटी]

रोग प्रतिरोध प्रणालीहरू:

छाला तथा लेसिलो झिल्लीहरू

• ल्युकोसाइट्‌स वा सेतो रक्‍त कोषहरू

मोनोसाइट्‌स प्रभावित तन्तुभित्र छिर्छ र आक्रमण गर्ने जीवाणुहरूलाई खान्छ

न्युट्रोफिल्सले जीवाणुहरू खान मदत गर्छ र शरीरबाट पीपको रूपमा बाहिर निस्कन्छ

लिम्फोसाइट्‌स- को प्रतिरोधात्मक क्षमताको स्मरणशक्‍ति तेज हुन्छ। त्यस्तै प्रकारको जीवाणु देखा पर्ने बित्तिकै खास प्रतिजीवीहरू चलाएर नाश गरिहाल्छ।

बी कोष-ले ठ्याक्कै निसानामा लाग्ने बाणजस्तै प्रतिजीवीहरू निकाल्छ र यसले जीवाणुहरू “खोज्छ” र आक्रमण गर्छ

टि कोष-ले प्रतिजीवीहरू उत्पादन गर्न मदत गर्छ जसले जीवाणुहरूसँग “कुस्ती” लड्‌छ

सहायक टि कोष-ले ठूलो मात्रामा प्रतिजीवीहरू उत्पादन गर्न बी कोषलाई मदत गर्छ

जन्मजात ज्यानमारा कोषहरूले प्रतिजीवीहरू उत्पादन नगरी सीधै कोषहरू मार्छन्‌

[पृष्ठ १३-मा भएको चित्र]

सेतो रक्‍त कोषले जीवाणुलाई आक्रमण गर्छ

[स्रोत]

Lennart Nilsson