सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वदर्शन

विश्‍वदर्शन

विश्‍वदर्शन

समुद्रमा फोहोर

समुद्रमा फालिएको सिसाको बोतल पूरै गलेर विलीन हुन हजारौं वर्ष लाग्छ। हातमुख पुछ्‌ने नरम कागजहरू कुहिन तीन महिना लाग्छ भने सलाईको काँटी कुहिन छ महिना लाग्छ। चुरोटको ठुटाले समुद्रलाई एकदेखि पाँच वर्षसम्म प्रदूषित गर्छ। प्लाष्टिकका झोलाले १० देखि २० वर्ष, नाइलनका सामानहरूले ३० देखि ४० वर्ष, टिनका क्यानहरूले ५०० वर्ष र पोलिस्ट्रिनले १,००० वर्षसम्म प्रदूषित गर्छ। यी अनुमानहरू इटालेली वातावरणीय संघ लेगामबियेन्टेले समुद्र किनारमा घाम र समुद्रको आनन्द लिन जाने मानिसहरूलाई वातावरणको सुरक्षा गर्न प्रोत्साहन दिएका जानकारीहरूमध्ये केही मात्र हुन्‌। यस सम्बन्धमा कोरिरा डाला सेरा भन्‍ने अखबार यस्तो प्रश्‍न गर्छ, “यो त एकदमै बढाइचढाइ गरेर भनिएका छैनन्‌ र?” उक्‍त पत्रिका यस्तो जवाफ दिन्छ, “सन्‌ १९९० देखि अहिलेसम्ममा इटालीका समुद्री तटहरूबाट ६०५ टन फोहोर जम्मा गरिसकेका क्लिन बिचेज स्वय्‌मसेवकहरूका अनुसार छैन।” (g01 2/08)

तातो खाना फ्रिजमा राख्न ढिलो नगर्नुहोस्‌

तातो खाना फ्रिजमा राख्नुअघि चिसो हुन दिनु ठीक होइन भनी सं.रा. डिपार्टमेन्ट अफ एग्रिकल्चर मिट एण्ड पोल्ट्री हटलाइनका प्रबन्धक बेस्सी बेरी भन्छिन्‌। “भर्खरै चुलोबाट निकालिएका खानाहरू पनि” तुरुन्तै खाने होइन भने फ्रिजमा राख्नुपर्छ। टफ्ट्‌स युनिभर्सिटी हेल्थ एण्ड न्युट्रिसन लेटर-ले बताएअनुसार, “तपाईंले खाना पाक्ने बित्तिकै फ्रिजमा राख्नुभयो भने हानिकारक जीवाणुहरू त्यति चाँडो बढ्‌न पाउने छैनन्‌।” तर के यसो गर्दा फ्रिज वा भित्रको मेशिन बिग्रँदैन त? श्रीमती बेरी बिग्रँदैन भन्छिन्‌। आधुनिक फ्रिजहरू तातो खाना राख्दा पनि केही नहुने गरी बनाइएका हुन्छन्‌। तातो खाना राख्यो भने फ्रिज बिग्रिन्छ भन्‍ने विचार बरफको बाकस राख्ने बेलाको कुरा हुनसक्छ जब तातोले गर्दा बरफ पग्लन्थ्यो। तथापि, दुइटा कुरामा भने होसियार हुनुपर्छ: तपाईंले ठूलो वा धेरै मात्रामा खाना जस्तै, सिंगो कुखुरा, सुरुवाको डेक्ची वा गहिरो भाँडो राख्न लाग्नुभएको छ भने पहिला त्यति गहिरो नभएको स-साना भाँडामा राख्नुहोस्‌ नत्र चाँडै चिसो हुँदैन र जीवाणुहरू त्यसमा बढ्‌नसक्छन्‌। अनि तातो खाना र फ्रिजमा भएका अन्य खानाहरूबीच खुला ठाउँ हुनुपर्छ ताकि हावा आवतजावत भएर खाना चाँडै चिसो हुन सकोस्‌। (g01 2/08)

भविष्यको लागि सफा सवारीसाधन

“विश्‍व गाडी व्यापारमा आमूल परिवर्तन ल्याउने आशा गरिएको फ्युल सेल प्रविधि चाँडै बजारमा आउन लागेको छ” भनी दी अस्ट्रेलियन अखबार रिपोर्ट गर्छ। फ्युल सेल प्रविधि विशेष गरी शहरमा गुड्‌ने बसहरूका निम्ति उपयुक्‍त छन्‌ किनभने यसको आवाज कम हुनुका साथै यसले धूवाँ पनि त्यति फाल्दैन। यस्तो प्रविधिबाट सञ्चालित बसले प्रति घण्टा ८० किलोमिटरको वेगमा ७० जना यात्रु बोकेर ३०० किलोमिटरको दूरी पार गर्नसक्नेछ। यी बसहरू युरोपभरिका यातायात कम्पनीहरूलाई दिइनेछ र एउटाको लगभग ४ करोड ५० लाख रुपियाँ पर्नेछ अनि सन्‌ २००२ को अन्तदेखि यसले सेवा थाल्ने आशा गरिएको छ। फ्युल सेल भविष्यका मोटरगाडीहरूको आधार हुनसक्छ तर हाल यसको उत्पादन सुरु गरिएको छैन। प्राध्यापक फर्डिन्यान्ड पानिक भन्छन्‌, “आन्तरिक उर्जा उत्पादन गर्ने इन्जिन तयार पार्न हामीले पहिला मूल्य, साइज र फ्युल सेल प्रणालीको वजन घटाउनुपर्छ।” (g01 2/08)

रोग विरुद्ध प्रकोपहरू

बाढी र भुइँचालोजस्ता प्राकृतिक प्रकोपहरूबारे निकै प्रचारप्रसार गरिने भए तापनि संक्रामक रोगहरूले धेरैको ज्यान लिन्छ भनी रेड क्रस रिपोर्ट गर्छ। यसबारे टिप्पणी गर्दै द न्यु योर्क टाइम्स यस्तो उल्लेख गर्छ: “एड्‌स, क्षयरोग, औलोजस्ता संक्रामक रोगले गत वर्ष टर्कीमा गएको भुइँचालो, भारतमा आएको तुफान र भेनेज्वेलाको बाढीले भन्दा १६० गुणा बढी मानिसको ज्यान लियो। . . . सन्‌ १९४५ देखि यी तीन रोगले मात्र १५ करोड मानिसको ज्यान लिएको अनुमान गरिएको छ भने सोही समय अवधिमा युद्धको कारण २.३ करोडको ज्यान गयो।” यस रिपोर्टका लेखक पिटर वकरका अनुसार यी सबैको मुख्य कारण अपर्याप्त सार्वजनिक स्वास्थ्य सेवा हो। तिनले भने, “हरेक देशमा देखावटी स्वास्थ्य सेवा सुविधा त छ तर शहरका स्वास्थ्य केन्द्रबाहेक अन्य ठाउँमा केही पनि हुँदैन।” गत वर्ष संक्रामक रोगको कारण १.३ करोडको मृत्यु भएको थियो तर ती व्यक्‍तिहरूको स्वास्थ्य हेरचाहमा प्रति व्यक्‍ति २०० रुपियाँ मात्र खर्च गरेको भए पनि तिनीहरू बच्ने थिए। त्यस लेखको अन्तमा यसो भनिएको छ: “अत्यन्तै सुविधा सम्पन्‍न अस्पताल र उच्च प्रविधियुक्‍त उपकरणहरूमा भन्दा मानिसहरूको आचारण परिवर्तन गर्न खर्च गरिंदा धेरैको ज्यान जोगिन्छ।” (g01 2/08)

उमेर ढल्कँदै जाँदा पनि सिक्न नछोड्‌नुहोस्‌

अलि उमेर ढल्किसकेका कामदारहरूलाई कम्प्युटर र सञ्चार माध्यमका नयाँ प्रविधिबारे सिक्न गाह्रो लाग्नसक्छ भनी टोरोन्टो स्टार अखबार रिपोर्ट गर्छ। काम गर्ने परिपाटीका विशेषज्ञ आन इबेका अनुसार तिनीहरूले के सिकिरहेका छन्‌ भन्दा पनि कसरी सिकिरहेका छन्‌, त्यसले फरक पार्छ। एक्सियम ट्रेनिङ एण्ड डिभेलपमेन्टका अध्यक्ष जुलिया केनेडी भन्छिन्‌: “हाम्रो उमेर ढल्कँदै गएपछि स्नायुप्रणाली सुस्त हुँदै जान्छ तर दिमाग भने स्वस्थ नै रहन्छ।” केटाकेटीहरूले कुनै कुराको अर्थ नबुझे तापनि त्यही कुरा दोहऱ्‍याई तेऱ्‍याई सिकाउँदा सिक्नसक्छन्‌ तर “वयस्कहरूले आफूले थाह पाएका (जीवनका अनुभवहरू) र भर्खरै सिकेका कुराहरू एकअर्कासित मिलान गर्नुपर्छ” भनी केनेडी बताउँछिन्‌। ज्येष्ठ कामदारहरूलाई अलि गाह्रो काम सिक्न समय लागे तापनि तिनीहरूसँग सिक्ने क्षमता हुन्छ। नयाँ र गाह्रो काम सिक्ने प्रयास गरिरहेका ज्येष्ठ कामदारहरूलाई केनेडी यस्तो सल्लाह दिन्छिन्‌: सम्भव भए, तपाईंको प्रशिक्षण समय बिहान राख्नुहोस्‌। एक एक विवरणभन्दा विषयवस्तु बुझ्ने कोसिस गर्नुहोस्‌ र आफूलाई अरूसित तुलना नगर्नुहोस्‌। (g01 2/22)

गाईवस्तु तथा हरितगृह ग्यास

भनिन्छ, पृथ्वीको तापक्रम वृद्धि हुनुमा कार्बन डाइअक्साइडको भन्दा मिथेन ग्यासको २० गुणा बढी दोष छ। विश्‍वभरि दुई अरब गाईवस्तु र भेडाबाख्राले प्रत्येक वर्ष दस करोड मिथेन ग्यास उत्पादन गर्ने अनुमान गरिएको छ। द क्यानेबेरा टाइम्स-का अनुसार अस्ट्रेलियाको वस्तुभाउले हरितगृह ग्यास १३ प्रतिशत उत्पादन गर्छ भने न्युजील्याण्डमा झन्डै ४६ प्रतिशत उत्पादन हुन्छ। उग्राउने पशुहरूको पेटमा हुने अति सूक्ष्म जीवाणुहरूले घासपात टुक्राटुक्रा पारेर मिथेन ग्यास उत्पादन गर्छ र यो ग्यास पशुको मुखबाट बाहिर निस्कन्छ। विश्‍व तापक्रम वृद्धिमा पशुहरूको कार्य कम गर्ने प्रयासमा अहिले वैज्ञानिकहरूले दूध उत्पादनमा वृद्धि गरेर पशुहरूले निकाल्ने मिथेन ग्यास कम गर्ने तरिका पत्ता लगाउन खोज्दैछन्‌। (g01 2/22)

विद्युत्‌ चोरहरू

संयुक्‍त राज्यभरि विद्युत्‌ कम्पनीहरूले विद्युत्‌ चोरीको बढ्‌दो समस्याको रोकथाम गर्न प्रयास गरिरहेका छन्‌। वर्षौंअघि विद्युत्‌ अत्यन्तै सस्तो भएको कारण चोर्नु आवश्‍यक थिएन तर हालका वर्षहरूमा विद्युत्‌ महसुल अचाक्ली बढेको कारण विधुत्‌ चोर्नु सामान्य कुरा भएको छ भनी द वल स्ट्रीट जर्नल टिप्पणी गर्छ। उदाहरणका लागि, डेट्रोइट एडिसन कम्पनीले सन्‌ १९९९ मा विद्युत्‌ चोरीको कारण एक करोड अमेरिकी डलर बराबरको घाटा बेहोर्नुपरेको थियो। विद्युत्‌ चोर्दा कत्ति खतरनाक हुन्छ भनी थाह नभएको कारण चोरहरूले अत्यन्तै खतरनाक सामानहरू जस्तै, सवारीसाधनको तार, घरमा प्रयोग गरिने एक्सटेन्सन तार र तामाको पाइप प्रयोग गरेर चोर्ने गर्छन्‌। अरूले चाहिं जमिनमनि दुलो खनेर विद्युत्‌ कम्पनीहरूका तारहरूबाट लाइन चोरेका छन्‌। (g01 2/22)

कसैलाई कमी महसुस भएन?

हालै फिनल्याण्डको हेलसिन्कीस्थित एउटा कोठामा लोग्नेमान्छेको लास फेला पऱ्‍यो। आगलागी भएको संकेत दिने उपकरण जडान गर्न गएका मानिसले कोठामा चिठी पत्रहरूको एक चाङ देखे र कोठा पनि दुर्गन्धित थियो। तिनले खबर गरेपछि प्रहरीले त्यहाँ ५५ वर्षीय अवकाशप्राप्त मानिसको लास भेट्टाए। तिनी त्यहाँ एक्लै बस्थे र तिनी मरेको छ वर्ष भइसकेको थियो। हेलसिनगिन सानोमाट अखबारले रिपोर्ट गरेअनुसार यत्रो समयको दौडान सामाजिक बिमा संस्थाले तिनको पेन्सन पठाइरहेको र उपकार समितिले पनि तिनको कोठाको भाडा तिरिरहेको थियो तर तिनलाई भेट्‌नु भने कसैले भेटेको थिएन। राजधानीमा बस्ने तिनका वयस्क छोराछोरीले पनि तिनी भए नभएको वास्तै गरेनन्‌। “छ वर्षसम्म एक जना मानिस सुनसान टापुमा होइन तर शहरमा मानिसहरूको समुदायमै बस्छ तर कसैलाई तिनको कमी महसुस नभएको कारण तिनलाई के भयो वा कहाँ गयो भनी जाँचबुझ गर्ने विचारसमेत कसैले गर्दैन” भनी हेल्सिन्की डिपार्टमेन्ट अफ सोसियल सर्भिसका निर्देशक श्रीमती ओलिक्की कानानोया भन्छिन्‌। (g01 2/22)