अतीतबाट हामी के सिक्नसक्छौं?
अतीतबाट हामी के सिक्नसक्छौं?
“इतिहासकारहरू कुनै पनि कुराको कारण र परिणाम बताउनु सबैभन्दा महत्त्वपूर्ण ठान्छन्।”—इतिहासका सहप्राध्यापक, जेराल्ड श्लाबक।
इतिहासकारहरू प्रायजसो कुनै पनि घटना कसरी र किन भयो भन्ने प्रश्न गर्छन्। उदाहरणका लागि, रोमी साम्राज्यको पतन भयो भनेर हामी इतिहासबाट थाह पाउँछौं। तर यसको पतन किन भयो? यसको कारण भ्रष्टाचार हो वा विलासिता? त्यो साम्राज्य अत्यन्तै अव्यवस्थित हुनुका साथै यसको सेना अत्यन्तै खर्चिलो भएकोले पो हो कि? अथवा रोमका शत्रुहरू धेरै अनि शक्तिशाली भएकोले?
एक समय पश्चिमको लागि खतरा ठानिएको पूर्वी युरोपेली साम्यवाद अहिले एकपछि अर्को गर्दै रातारात सबै देशमा पतन भयो। तर किन? यसबाट कस्तो पाठ सिक्नसक्छौं? इतिहासकारहरू यस्तै खालका प्रश्नहरूको जवाफ दिन खोज्छन्। तर जवाफ दिंदा, तिनीहरूको निर्णयलाई व्यक्तिगत पूर्वाग्रहले कुन हदसम्म असर गर्छ?
के इतिहास पत्याउन सकिन्छ?
इतिहासकारहरू वैज्ञानिकहरूजस्ता नभई जासुसजस्ता हुन्छन्। तिनीहरू पुराना रेकर्डहरू जाँचपड्ताल गर्छन्, केरकार गर्छन् र त्यसबारे तर्कवितर्क गर्छन्। तिनीहरू सच्चाइ खोज्छन् तर तिनीहरूको लक्ष्य अस्पष्ट हुन्छ। यसो हुनुको एउटा कारण हो, इतिहासकारहरूले प्रायः मानिसहरूबारे अध्ययन गर्छन् र तिनीहरूले मानिसको मनमा भएको कुरा भने थाह पाउन सक्दैनन् र विशेष गरी मरिसकेका व्यक्तिहरूको मन त झनै बुझ्न सक्दैनन्। इतिहासकारहरूको आफ्नै पूर्वकल्पित धारणा तथा द्वेषभाव हुनसक्छ। तसर्थ, कहिलेकाहीं एकदमै भरपर्दो इतिहास पनि इतिहासकारको आफ्नै निजी धारणा मात्र हुनसक्छ।
निस्सन्देह, इतिहासकारले आफ्नै दृष्टिकोण प्रस्तुत गऱ्यो भन्दैमा त्यो गलत हुन्छ नै भन्ने पनि छैन। बाइबलमा लिपिबद्ध शमूएल, राजा तथा इतिहासका पुस्तकका लगभग उस्तै विवरणहरू पाँच भिन्नाभिन्नै व्यक्तिले लेखेको भए तापनि विरोधाभासपूर्ण अथवा अमिल्दो छैन भनेर देखाउन सकिन्छ। त्यही कुरा सुसमाचारका चारवटा पुस्तकहरूबारे पनि भन्न सकिन्छ। थुप्रै बाइबल लेखकहरूले आफ्नै भूल अनि मूर्ख्याइँहरूबारे समेत लेखेका छन् जुन कुरा संसारका पुस्तकहरूमा विरलै देख्न पाइन्छ।—गन्ती २०:९-१२; व्यवस्था ३२:४८-५२.
सम्भाव्य पूर्वाग्रहको अलावा इतिहास पढ्दा ध्यान दिनुपर्ने अर्को महत्त्वपूर्ण पक्ष लेखकको मनोवृत्ति पनि हो। “शक्तिको बाहुल्य देखाउन खोज्ने वा शक्ति पिपासु वा तिनीहरूका मित्रहरूले बताएको कुनै पनि इतिहासलाई पूर्णतया शंकालु दृष्टकोणले हेर्नुपर्छ” भनी अ कम्पानियन टु द स्टडी अफ हिस्ट्री-का लेखक माइकल स्टानफोर्ड लेख्छन्। इतिहासका पुस्तकहरूमा अस्पष्ट अथवा स्पष्ट गरी राष्ट्रियता अनि देशभक्तिको भाव झल्किन्छ भने पनि लेखकको मनोभावमा शंका गर्नुपर्ने हुन्छ। दुःखको कुरा, यस्ता कुराहरू कहिलेकाहीं स्कूलका पाठ्यपुस्तकहरूमा पनि पाइन्छ। इतिहास पढाउनुको उद्देश्यबारे एउटा देशको सरकारी आदेश यसरी खुलेआम घोषणा गरियो, “मानिसहरूको हृदयमा राष्ट्रियता अनि देशभक्ति बढाउनु हो . . . किनभने राष्ट्रको अतीतबारे ज्ञान हुनु नै देशभक्ति झल्कने क्रियाकलापहरू गर्ने प्रेरणाका स्रोत हुन्।”
धाँधलीपूर्ण इतिहास
कहिलेकाहीं इतिहास पक्षपातपूर्ण मात्र होइन तर धाँधलीपूर्ण पनि हुन्छ। उदाहरणका लागि, भूतपूर्व सोभियत गणतन्त्रले “ट्रोट्स्की नाउँलाई रेकर्डबाटै हटाएर तिनको नामोनिसान मेटिदिए” भनेर ट्रुथ इन हिस्ट्री पुस्तक बताउँछ। ट्रोट्स्की को थिए? तिनी रसियन बोल्सेभिक रिभोलुशनका नेता र लेनिनपछिको दोस्रो महत्त्वपूर्ण नेता थिए। लेनिनको मृत्युपछि स्टालिनसित ट्रोट्स्कीको मनमुटाउ भएकोले तिनलाई कम्युनिस्ट पार्टीबाट बर्खास्त गरियो र पछि हत्या गरियो। तिनको नाउँ सोभियत संघका विश्वकोशहरूबाट समेत हटाइयो। इतिहासका यस्तै विकृतिहरू अझ भनौं भने, आफ्नो विचारधारा विपरीतका पुस्तकहरूलाई जलाउनेसम्मका कामहरू तानाशाही शासनबाट निरन्तर भएको पाइन्छ।
तथापि, धेरै पहिले अर्थात् मिश्री र अश्शुरीहरूको पालादेखि नै इतिहासमा धाँधली हुँदै आएको पाइन्छ। घमण्डी तथा अहंकारी फिरऊन, राजा र सम्राटहरूले आफ्ना कार्यहरूबारे प्रशंसा गरिएको छ कि छैन भनेर पक्का गर्थे। त्यसैले तिनीहरूका उपलब्धिहरू सधैंजसो बढाइचढाइ गरिएको हुन्थ्यो र युद्धमा पराजयजस्ता अपमानजनक र बेइज्जतीपूर्ण कुराहरू फाटफुट मात्र उल्लेख गर्ने अथवा नामेट पार्ने वा कहिलेकाहीं त रिपोर्टसमेत गरिएको पाइँदैन। त्यसको ठीक विपरीत इस्राएलको इतिहासबारे बाइबलमा लेखिएका कुराहरूमा राजा र रैतीका असफलता अनि कीर्ति दुवैबारे लेखिएका छन्।
पुराना लेखोटहरूको सत्यता इतिहासकारहरू कसरी जाँच्छन्? तिनीहरूले यी कुराहरू पुराना करका रेकर्ड, मुलुकी ऐन, दासको लिलामीसम्बन्धी विज्ञापनहरू, व्यापार तथा व्यक्तिगत पत्र अनि रेकर्डहरू, माटाका टुक्राहरूमा कुँदिएका विवरणहरू, जहाजका दैनिकी र चिहानमा
भेट्टिएका कुराहरूसित तुलना गर्छन्। यी विविध कुराहरूले औपचारिक लेखोटहरूमा भिन्नै कुरा वा बेग्लै दृष्टिकोण प्रस्तुत गर्छ। कुनै जानकारी उपलब्ध नभएमा वा निश्चित नभएमा निष्ठावान् इतिहासकारहरूले आफ्नै सिद्धान्त प्रतिपादन गर्नसक्ने भए तापनि त्यसो गर्दैनन् र जानकारी अपुग छ भनेर स्वीकार्छन्। जे भए पनि, बुद्धिमान् पाठकहरू ऐतिहासिक घटनाहरूबारे निष्पक्ष विवरण चाहन्छन् भने एकभन्दा बढी सन्दर्भसामग्रीहरू हेर्छन्।इतिहासकारहरूले थुप्रै चुनौतीहरू सामना गर्नुपरे तापनि तिनका कामले उपयोगी जानकारी उपलब्ध गराउनसक्छ। एउटा इतिहासको पुस्तक यसो भन्छ: “लेख्न जतिसुकै गाह्रो भए तापनि, . . . विश्व इतिहास हाम्रोलागि महत्त्वपूर्ण छ र अत्यावश्यक कुरा पनि हो।” इतिहास, अतीत जान्ने माध्यम भए तापनि यसले हाम्रो वर्तमान मानव अवस्थाबारे समझ बढाउँछ। उदाहरणका लागि, प्राचीन समयका मानिसहरूले देखाएको जस्तै व्यवहार आजका मानिसहरूले पनि गरिरहेका छन् भनेर थाह पाउन धेरै बेर लाग्दैन। यी व्यवहारहरूमा इतिहासले धेरै प्रभाव पारेको पाइन्छ, सायद यसले इतिहास दोहोरिन्छ भन्ने भनाइलाई साबित गरिरहेको पनि हुनसक्छ। तर के त्यो निष्कर्ष तार्किक छ?
के इतिहास दोहोरिन्छ?
के हामी विगतको आधारमा भविष्यबारे सही कुरा अनुमान लगाउनसक्छौं? हो, कुनै कुनै घटना फेरि दोहोरिन्छन्। उदाहरणका लागि, संयुक्त राज्यका भूतपूर्व परराष्ट्र मन्त्री हेन्री किसिंगरले यसो भने: “कुनै न कुनै समय अस्तित्वमा रहेका सभ्यताहरू पछि पतन भएका छन्।” तिनले यसो पनि भने: “इतिहास असफल प्रयास अनि अपूर्ण आकांक्षाको अभिलेख हो। . . . त्यसैले इतिहासकारको हैसियतले दुःखदायी घटनाको सत्यतालाई पनि स्वीकार्नुपर्ने हुन्छ।”
कुनै पनि साम्राज्यको पतन एकै किसिमले भएको छैन। बेबिलोन सा.यु.पू. ५३९ मा मादी र फारसीको अगाडि एकै रातमा पराजित भयो। महान् सिकन्दरको मृत्युपछि रोमको बाटो सोझ्याउँदै युनान विभिन्न राज्यमा विभाजित भयो। तथापि, रोमको पतनचाहिं रहस्यमै छ। इतिहासकार गेराल्ड स्कलबाक सोध्छन्: “रोम कहिले ढल्यो? के यसको साँच्चै पतन भएको हो र? सा.यु. ४०० र सा.यु. ६०० को बीच पश्चिम युरोपमा केही परिवर्तन भयो। तर धेरैजसो कुरा भने यथावत रह्यो।” a स्पष्टतः इतिहासका केही पक्ष दोहोरिन्छन् भने अरूचाहिं दोहोरिंदैनन्।
इतिहासमा बारम्बार दोहोरिएको एउटा पाठ मानव शासनको असफलता हो। सबै युगलाई केलाएर हेर्ने हो भने, स्वार्थ, अदूरदर्शिता, लोभ, भ्रष्टाचार, नातावाद र विशेष गरी शक्ति हडप्ने लालसाले असल सरकारलाई ढालेको पाइन्छ। तसर्थ, हतियारको प्रतिस्पर्धा, निष्फल सन्धि, युद्ध, सामाजिक कलह तथा हिंसा, धनको पक्षपातपूर्ण बाँडफाँड तथा आर्थिक मन्दीले अतीतको इतिहास भरिएको छ।
उदाहरणका लागि, द कोलम्बिया हिस्ट्री अफ द वर्ल्ड-ले पश्चिमी सभ्यताले बाँकी संसारमा कस्तो प्रभाव पाऱ्यो भन्नेबारे के भन्छ ध्यान दिनुहोस्: “कोलम्बस र कोर्टेसले पश्चिमी युरोपका मानिसहरूलाई बाँकी संसारमा पाइने सम्भाव्यताबारे सजग गराएपछि धर्म परिवर्तन गराउने, नाफा अनि ख्याति कमाउने लोभ तिनीहरूमा जाग्यो र जबरजस्ती गरेर नै पश्चिमी सभ्यता संसारको प्रायः सबै भागमा फैलियो। तिनीहरूको तृष्णा मेटाउन अनि विशिष्ट हतियारहरूको प्रयोग गर्दै संसारका बाँकी भागहरू यी युरोपेली महाशक्तिले जबरजस्ती आफ्नो साम्राज्यमा गाभे। . . . संक्षेपमा भन्ने हो भने, यी [अफ्रिका, एसिया अनि अमेरिका] महादेशका मानिसहरूबाट निर्दयी अनि क्रूर ढंगमा नाजायज फाइदा उठाए।” उपदेशक ८:९ मा व्यक्त गरिएका यी शब्दहरू कति सत्य छन्: “एउटा मानिसले अर्को मानिसलाई दुःख दिने अधिकारको समय थियो।”
यस्तो दयनीय विवरणले गर्दा एक जना जर्मन दार्शनिकले कस्तो टिप्पणी गरे भने विगतलाई केलाएर हेर्दा मानिसले त्यसबाट केही सिकेका रहेनछन्। यर्मिया १०:२३ यसो भन्छ: “हे परमप्रभु, मलाई थाह छ, कि मानिसहरूको मार्ग त्यो आफैमा छैन। आफ्नो पाइलालाई ठीक मार्गमा हिंडाउने शक्ति मानिसमा छैन।” मुख्यतया आफ्नो पाइलालाई ठीक मार्गमा हिंडाउन नसक्ने क्षमताप्रति हामी चिन्तित हुनुपर्छ। किन? किनभने हामी पहिले कहिल्यै नभोगेका तीन थुप्रो समस्याहरूले घेरिएका छौं। उसोभए हामीले कसरी सामना गर्ने?
पहिले कहिल्यै नभएका समस्याहरू
सम्पूर्ण मानव इतिहासमा अहिलेसम्म नभएको अनुपातमा वन विनाश, भूक्षय, मरभूमिकरण, बोटबिरुवा तथा केही जातका जनावरहरूको लोप, वायुमण्डलीय ओजन तहको विनाश, प्रदूषण, पृथ्वीको तापक्रममा वृद्धि, महासागरको पानी घट्नु तथा मानिसहरूको जनसंख्यामा अत्यधिक वृद्धिजस्ता थुप्रै समस्याहरूले यस पृथ्वीलाई त्रसित बनाइरहेको छ।
“आधुनिक समाजले सामना गर्नुपरेको अर्को चुनौती तीव्र परिवर्तन हो” भनेर अ ग्रीन हिस्ट्री अफ द वर्ल्ड पुस्तक बताउँछ। वर्ल्ड वाच पत्रिकाका सम्पादक एड आर्ज यस्तो लेख्छन्: “प्रशस्त प्रमाण पाए तापनि एउटा कुरा हाम्रो समझबाहिर छ। त्योचाहिं अहिले हामीलाई सम्हाल्ने संसारमा भइरहेको जैविक तथा भौतिक परिवर्तन हो।”
यी र यीसित सम्बन्धित अन्य समस्याहरूलाई ध्यानमा राख्दै इतिहासकार पार्डन इ. टीलिङघास्ट भन्छन्: “आजको समाज लम्किरहेको दिशा असाध्यै जटिल भइसकेको छ र हामीमध्ये धेरैको लागि यो द्विविधा खतरनाक छ। अहिले अलमल्लमा परेका मानिसहरूलाई पेशेवर इतिहासकारले कस्तो निर्देशन दिनसक्छन्? खासै केही दिन सक्दैनन् जस्तो देखिन्छ।”
पेसेवर इतिहासकारहरू के सल्लाह दिने भनेर रनभुल्लमा होलान् तर हाम्रो सृष्टिकर्ताको कुराचाहिं अर्कै छ। वास्तवमा, यस संसारले आखिरी दिनमा “डरलाग्दो समय” सामना गर्नुपर्नेछ भनेर बाइबलमा भविष्यवाणी गरिएको छ। (२ तिमोथी ३:१-५) तर परमेश्वरले इतिहासकारहरूले गर्नै नसक्ने अर्थात् समाधान पनि बताउनुभएको छ र यसबारे हामी आउँदो लेखमा छलफल गर्नेछौं। (g01 3/8)
[फुटनोट]
a रोम साम्राज्यबाटै निस्केको राज्यले यसको शक्ति हडप्नेछ भनेर दानियल अगमवक्ताले गरेको पूर्वानुमानसित स्कलबाकको दृष्टिकोण मिल्दोजुल्दो छ। वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित पे अटेन्सन टु डानियल्स प्रोफेसी! पुस्तकको अध्याय ४ र ९ हेर्नुहोस्।
[पृष्ठ ५-मा भएको ठूलो अक्षरको क्याप्सन]
“शक्तिको दुरुपयोग गर्नेहरूले . . . बताएका कुनै पनि इतिहासलाई पूर्णतया शंकालु दृष्टकोणले हेर्नुपर्छ।”—इतिहासकार माइकल स्टानफोर्ड
[पृष्ठ ४-मा भएको चित्र]
सम्राट नेरो
[स्रोत]
Roma, Musei Capitolini
[पृष्ठ ७-मा भएको चित्र]
हरेक युगमा “एउटा मानिसले अर्को मानिसलाई दुःख” दिएको छ
[स्रोत]
“The Conquerors,” by Pierre Fritel. Includes (left to right): Ramses II, Attila, Hannibal, Tamerlane, Julius Caesar (center), Napoléon I, Alexander the Great, Nebuchadnezzar, and Charlemagne. From the book The Library of Historic Characters and Famous Events, Vol. III, 1895; planes: USAF photo