सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के हामी मसीही सभाहरूमा उपस्थित हुनुपर्छ?

के हामी मसीही सभाहरूमा उपस्थित हुनुपर्छ?

बाइबलको दृष्टिकोण

के हामी मसीही सभाहरूमा उपस्थित हुनुपर्छ?

“म चर्च जाने गर्थें तर अब जान छोडिसकें।” “मेरो विचारमा परमेश्‍वरलाई उपासना गर्न चर्च नै जानुपर्छ भन्‍ने छैन, जहाँ बसेर पनि उपासना गर्न सकिन्छ।” “म परमेश्‍वर र बाइबलमा विश्‍वास गर्छु तर चर्च जानुपर्छ भन्‍ने कुरामा चाहिं विश्‍वास गर्दिनँ।” के तपाईंले पनि यस्ता कुराहरू सुन्‍नुभएको छ? आज विशेष गरी पश्‍चिमी मुलुकका थुप्रै मानिसहरू यसो भन्‍ने गर्छन्‌। पहिले पहिले चर्च जाने मानिसहरू पनि अब त्यहाँ जानु त्यति महत्त्वपूर्ण ठान्दैनन्‌। चर्च जाने विषयमा बाइबलले के भन्छ?

किङ जेम्स भर्सन-मा “चर्च” र “चर्चहरू” भन्‍ने पदावली ११० भन्दा धेरै पल्ट उल्लेख गरिएको छ। अरू अनुवादहरूमा पनि यी पदावलीहरू पाइन्छन्‌। “चर्च” भनेर अनुवाद गरिएको युनानी शब्दको शाब्दिक अर्थ “बोलावट” अथवा अर्को शब्दमा भन्‍ने हो भने, मानिसहरूको जमघट हो। उदाहरणका लागि, किङ जेम्स भर्सन-को प्रेरित ७:३८ मा मोशालाई “उजाड-स्थानमा भएको चर्च” अर्थात्‌ इस्राएलको एकत्रित राष्ट्रको बीचमा थिए भनिएको छ। अर्को अवस्थामा धर्मशास्त्रले यरूशलेममा भएको मसीही समुदायलाई संकेत गर्दै “चर्चको विरुद्धमा ठूलो अत्याचार उत्पन्‍न भयो,” भन्छ। (प्रेरित ८:१) पावलले एउटा पत्रमा “[फिलेमोनको] घरको चर्च” अर्थात्‌ त्यहाँ भेला भएको स्थानीय मण्डलीलाई अभिवादन गरे।—फिलेमोन २, रिभाइज्ड स्ट्यान्डर्ड भर्सन।

स्पष्टतः बाइबलमा उल्लिखित “चर्च” भन्‍ने पदावलीले उपासना गर्ने थलोलाई नभई उपासकहरूको समूहलाई संकेत गर्छ। यो कुरामा सहमति जनाउँदै दोस्रो शताब्दीका धार्मिक शिक्षक, अलेक्जेन्द्रियाका क्लेमेन्टले यसरी लेखे: “थलोलाई होइन तर चुनिएकाहरूको मण्डलीलाई म चर्च भन्छु।” तैपनि, के मसीहीहरूको उपासना परमेश्‍वरको लागि ग्रहणयोग्य हुन तिनीहरू कुनै खास ठाउँ वा भवनमा भेला हुनैपर्छ र?

इस्राएल राष्ट्रमा उपासना

मोशाको व्यवस्थाअनुसार सबै यहूदी पुरुषहरू तीनवटा वार्षिक उत्सव मनाउन तोकिएको स्थानमा भेला हुनुपर्थ्यो। थुप्रै पुरुष तथा जवानहरू पनि त्यसमा सामेल हुन्थे। (व्यवस्था १६:१६; लूका २:४१-४४) पूजाहारी तथा लेवीहरूले कुनै खास अवसरहरूमा भेला भएको विशाल समुदायलाई परमेश्‍वरको व्यवस्था पढेर सुनाउँथे। तिनीहरूले ‘व्यवस्थाको पुस्तक राम्ररी पढेर त्यसको अर्थ बुझाउँथे। अनि जे पढिएको हो त्यसबाट तिनीहरूलाई शिक्षा दिन्थे।’ (नहेम्याह ८:८) विश्रामको वर्षको लागि चाहिं परमेश्‍वरको निर्देशन यस्तो थियो: “स्त्री, बालक र तिमीहरूका शहरभित्र भएका परदेशीहरू सबैलाई भेला गर—र तिनीहरूले सुनेर परमप्रभु तिमीहरूका परमेश्‍वरका भय मान्‍न सिकून्‌ औ यस व्यवस्थाका सबै आज्ञा होशियारीसाथ पालन गरून्‌।”—व्यवस्था ३१:१२.

मानिसहरूले परमेश्‍वरको लागि बलिदान चढाउने र पूजाहारीहरूबाट निर्देशन पाउने स्थान यरूशलेमको मन्दिर मात्र थियो। (व्यवस्था १२:५-७; २ इतिहास ७:१२) समय बित्दै जाँदा इस्राएलमा सभाघरहरू भनिने उपासनाका थलोहरू बन्‍न थाले। यी ठाउँहरूमा धर्मशास्त्र पढ्‌ने र प्रार्थना गर्ने गरिन्थ्यो। तैपनि, यरूशलेमको मन्दिर उपासना गर्ने प्रमुख स्थान थियो। यो कुरा बाइबलका लेखक लूकाको रिपोर्टबाट प्रस्ट हुन्छ। तिनी हन्‍ना नाउँकी एक जना वृद्धाबारे वर्णन गर्छन्‌ जो “मन्दिर छोड़दैन थिइन्‌। तर उपवास र प्रार्थना गर्दै रात-दिन उपासना गर्दथिइन्‌।” (लूका २:३६, ३७) अरू समर्पित मानिसहरूसित साँचो उपासनामा भाग लिनु नै हन्‍नाको जीवनको प्रमुख चासोको विषय थियो। परमेश्‍वरको भय मान्‍ने अरू यहूदीहरूले पनि त्यसै गर्थे।

ख्रीष्टको मृत्युपछि साँचो उपासना

येशूको मृत्युपछि उहाँका अनुयायीहरू मोशाको व्यवस्था अन्तर्गत रहेनन्‌ र उनीहरूले मन्दिरमा उपासना गर्नुपर्दैनथ्यो। (गलाती ३:२३-२५) तैपनि, तिनीहरू प्रार्थना गर्न र परमेश्‍वरको वचन अध्ययन गर्न एकसाथ भेला हुन छोडेनन्‌। तिनीहरूको भव्य भवनहरू थिएनन्‌, त्यसैले निजी घर र सार्वजनिक स्थलहरू प्रयोग गर्थे। (प्रेरित २:१, २; १२:१२; १९:९; रोमी १६:४, ५) रीतिथिति अनि तडकभडक नभएको हुनाले ती प्रथम शताब्दीका मसीही सभाहरू एकदमै साधारण हुन्थे।

रोमी साम्राज्यको खस्कँदो नैतिक अवस्थाहरूको माझ ती सभाहरूमा सिकाइएका बाइबल सिद्धान्तहरू हिराजस्तै चम्के। पहिलो चोटि उपस्थित हुने भिन्‍न विश्‍वास भएकाहरूले समेत चकित भएर यसो भने: “साँच्चिनै परमेश्‍वर तिमीहरूका बीचमा हुनुहुन्छ।” (१ कोरिन्थी १४:२४, २५) हो, परमेश्‍वर साँच्चै तिनीहरूका बीचमा हुनुहुन्थ्यो। “यसरी मण्डलीहरू [“चर्चहरू,” RS, JB] विश्‍वासमा दह्रो हुँदै र गन्तीमा दिनहुँ बढ़दै गए।”—प्रेरित १६:५.

के त्यतिबेला मसीहीहरूले मूर्तिपूजकहरूको मन्दिरमा अथवा एक्लै बसेर उपासना गरेको भए परमेश्‍वरलाई ग्रहणयोग्य हुन्थ्यो होला? यस सन्दर्भमा बाइबलले स्पष्ट निर्देशन दिन्छ: आफ्नो उपासना स्वीकार्य हुन एक मात्र साँचो चर्च अर्थात्‌ साँचो उपासकहरूको “एउटै शरीर,” मण्डलीमा सामेल हुनुपर्थ्यो। त्यो मण्डली, मसीहीहरू भनेर चिनिने येशूका चेलाहरू मिलेर बनेको थियो।—एफिसी ४:४, ५; प्रेरित ११:२६.

आज नि?

बाइबलले हामीलाई चर्चमा उपासना गर्नुको सट्टा चर्चसित उपासना गर्ने प्रोत्साहन दिन्छ “जो जीवित परमेश्‍वरको मण्डली” अनि “आत्मा र सत्यतामा” पुज्ने मानिसहरू हुन्‌। (१ तिमोथी ३:१५; यूहन्‍ना ४:२४) परमेश्‍वरबाट अनुमोदित धार्मिक सभाहरूले मानिसहरूलाई “पवित्र जीवन र भक्‍तिमा” चल्न सिकाउनुपर्छ। (२ पत्रुस ३:११) तिनीहरूले उपस्थित सबैलाई “खराब र असल छुट्याउन” सक्ने परिपक्व मसीही बन्‍न मदत गर्नुपर्छ।—हिब्रू ५:१४.

यहोवाका साक्षीहरू प्रथम शताब्दीका मसीहीहरूको उदाहरण पछ्याउने प्रयास गर्छन्‌। संसारभरि ९१,४०० भन्दा बढी मण्डलीहरू नियमित तवरमा बाइबल अध्ययन गर्न र एकअर्कालाई प्रोत्साहन दिन राज्यभवन, व्यक्‍तिगत घरहरू अनि अरू ठाउँहरूमा भेला हुने गर्छन्‌। यसो गर्नु प्रेरित पावलका यी शब्दअनुरूप हो: “प्रेम र सुकर्ममा उत्तेजित गराएर एउटाले अर्कोको विचार राख्ने गरौं। . . . एक ठाउँमा भेला हुनालाई नछोडौं।”—हिब्रू १०:२४, २५. (g01 3/8)