मेडिटरेनियन मंक सिलहरू—तिनीहरू लोप हुने हुन् कि?
मेडिटरेनियन मंक सिलहरू—तिनीहरू लोप हुने हुन् कि?
ग्रीसका ब्यूँझनुहोस्! लेखकद्वारा
होमरले आफ्नो उत्कृष्ट कृति ओडिसी-मा यिनीहरूलाई ग्रीसका समुद्रीतटमा घाम तापिरहने प्राणीहरू भनेका छन्। पुरातन एसिया माइनरको एउटा शहरले यी प्राणीहरूको आकार सिक्कामा कुँदेको थियो। भूमध्यसागर तथा ब्ल्याक सिमा यी प्राणीहरू प्रशस्तै पाइन्थे। तथापि, अब भने यी डरछेरुवा, मेडिटरेनियन मंक सिलहरू त्यति सजिलै देखिंदैन।
जीउमा भुवा भएका अधिकांश समुद्री स्तनधारीहरूजस्तै यी मेडिटरेनियन मंक सिलहरूको १८ औं र १९ औं शताब्दीमा व्यापक सिकार गरियो। त्यसको भुवा, तेल र मासुको लागि हजारौंको संख्यामा मारियो।
अब भने त्यसले पारेको क्षति प्रस्ट छ। हाल ३७९ देखि ५३० वटा जति मात्र यी मेडिटरेनियन मंक सिलहरू बाँकी रहेको अनुमान गरिएको छ। तिनीहरू लोप हुन धेरै समय लाग्नेछैन। तथापि, मोनाकस गार्जियन नामक खबरपत्रिकाले रिपोर्ट गरेअनुसार यसको अनुमानित संख्या “अत्यन्तै अपत्यारिलो तथ्यांक” हो।
के अब जोगाउने कुनै उपाय नै छैन त? यी मंक सिलहरू जोगाउन के-कस्ता प्रयासहरू गरिंदैछन्?
कठिन कार्य
मंक सिललाई यो नाउँ दिइनुको कारण यसको भुवाको रङ कुनै कुनै धार्मिक समूहको पोसाकजस्तै भएकोले हुनसक्छ। यो प्रायजसो पुग्नै नसकिने भीर र ऐजियन समुद्रको नर्दन स्पोराडेस टापुका समुद्री ओडारहरूमा बस्छ। स-साना समूहहरू भने उत्तरपश्चिमी अफ्रिकाका समुद्रीतट तथा पोर्चुगलको डिजर्टास टापुमा पाइन्छन्। यसको उचाइ ३ मिटर र वजन २७५ किलोग्रामसम्म हुनसक्छ। यो संसारमा पाइने विभिन्न जातका सिलहरूमध्ये सबैभन्दा ठूलो जातको सिल हो।
यसलाई गहिरिएर हेर्दा यसको चिम आकारको टाउकोमा चाँदीजस्तो रङको भुवा हुन्छ। यसको निखुर कालो आँखा, ठूलठूला नाकका प्वाल भएको थुतुना, कानको सानो प्वाल, तलतिर फर्केको बाक्लो जुंगा र पोक्चे चिउँडो हुन्छ। यसको शरीरमा कालो वा गाडा खैरो रङको स-साना रौं र पेटतिर भने हल्का रङ हुन्छ। अर्कोतिर, भर्खरै जन्मेका बच्चाहरूको ढाडमा लामो कालो कपाल र पेटमा अलिअलि सेतो रङ हुन्छ।
यो मंक सिलको प्रजनन दरले गर्दा पनि यसको बचावटमा बाधा पुगिरहेको छ। पोथीहरूले वर्षमा एउटा बच्चा मात्र जन्माउँछन्। अनि सबै पोथीले वर्षेनी बच्चा नजन्माउने भएकोले पनि समस्या खडा भएको हो।
यो न्युन प्रजनन दर मात्र यो समस्याको मूल कारण होइन। न्यु योर्क अक्वेरियम फर वाइल्डलाइफ कन्जर्भेसनका संरक्षक, डा. डेनिस थनी यसो भन्छन्, “मेडिटरेनियन मंक सिलको प्रजनन दर कम भए तापनि हार्बर
सिलको अवस्था भने यति नाजुक छैन। त्यसकारण, यसको संख्या घट्नुमा अरू कारणहरू पनि छन्।”आक्रमण
तपाईंको घरमा आगलागी भयो भने त्यसले कत्ति क्षति पुऱ्याउला, कल्पना गर्नुहोस् त। तपाईंको सबै सरसम्पत्ति, फर्निचर, लुगाफाटा, धनमाल अनि अन्य स्मारिकाहरू सबै नाश हुन्छन्। तपाईंको जीवन पहिलेको जस्तो रहँदैन। मेडिटरेनियन मंक सिलको आवासलाई पनि वास्तवमा यस्तै भयो। प्रदूषण, पर्यटन, उद्योग र अन्य मानव गतिविधिहरूले गर्दा यस सिलको प्राकृतिक वासस्थान विनाश भएको छ।
यसबाहेक, धेरै माछा मारेकोले पनि यो मंक सिलको खाद्य आपूर्तिमा निकै कमी आएको छ। जीव विशेषज्ञ डा. सुजान केनेडी-स्टोस्कफ यसो भन्छिन्: “सिलले भोजनको लागि सिकार गर्ने प्राणीहरू कम हुनु भनेको त्यसले आहार पाउन बढी शक्ति खर्च गर्नुपर्छ।” त्यसकारण, मंक सिलहरूले आफ्नो वासस्थान, आफ्नो घर मात्र गुमाउनु परेको होइन तर आहारको लागि पनि बढी संघर्ष गर्नुपरेको छ!
बढी माछा मार्नाले उत्पन्न भएको अर्को परिणाम हो, यी सिलहरू कहिलेकाहीं जालमा अल्झिएर डुब्नु। तर प्रायजसो भने यसलाई मछुवाहरूले नै मार्ने गर्छन्। किन? किनभने सिलहरूले जालमा नफसिकन त्यसबाट खाना चोर्न जानिसकेका छन्। त्यसैले, माछाको घट्दो आपूर्तिमा यो प्रतिस्पर्धा मानिस र जनावरबीचको हो। यो असमान संघर्षले गर्दा सिलहरू लोप हुने अवस्थामा पुगेका छन्।
भोजन चक्रमा यी मंक सिलहरू सुरुमै पर्ने हुँदा कोही कोही वैज्ञानिक यी समुद्री स्तनपायीहरू “सूचक जाति” हुन् भन्छन्। यसको मतलब, तिनीहरूको अवस्था राम्रो छैन भने, बाँकी भोजन चक्र पनि राम्रो अवस्थामा छैन भन्ने भरपर्दो संकेत हो। यसो हो भने, मेडिटरेनियन इकोसिस्टम संरक्षणको लागि यो राम्रो होइन किनभने मंक सिल युरोपमा लोप हुने अवस्थामा पुगेका जातिहरूमध्ये प्रमुख हो।
के तिनीहरू लोप हुनेछन्?
विरोधाभासपूर्ण कुरा के छ भने, यी मेडिटरेनियन मंक सिलको सबैभन्दा ठूलो शत्रु मानिस हो भने अर्कोतिर यसको सुभचिन्तक पनि मानिस नै हो। यी सिलहरूको संरक्षण गर्न निजी तथा सरकारी निकायहरू स्थापना गरिएका छन्। तिनीहरूका लागि सुरक्षित इलाकाहरू छुट्याइएका छन्। यी शानदार जन्तुहरूलाई मदत गर्न तिनीहरूको वासस्थानमै अनगिन्ती अध्ययनहरू गरिएका छन्।
सन् १९८८ मा मेडिटरेनियन मंक सिलको अध्ययन तथा संरक्षणको लागि हेलेनिक सोसाइटी गठन गरियो। यस सोसाइटीका अनुसन्धानकर्ताहरू नियमित तवरमा मंक सिलको वासस्थानमा जान्छन् अनि त्यहाँ तिनीहरूको संख्या र जगेर्नाको लागि अन्य जानकारी संकलन गर्छन्।
संरक्षित इलाकामा गार्ड टोलीले स्पीडबोटबाट पहरा दिन्छ। यस टोलीले ग्रीसको नर्दन स्पोराडेस टापुस्थित
ओलोनिसोसको नेसनल मरीन पार्कमा जाने आगन्तुक तथा मछुवाहरूलाई जानकारी तथा निर्देशन प्रदान गर्छ। बिरामी वा घाइते सिल फेला पऱ्यो भने यो टोलीले आवश्यक पशु स्वास्थ्य सेवा प्रदान गर्नुका साथै हेलेनिक सोसाइटीको पुनः सुधार केन्द्रमा पुऱ्याइदिन्छन्।सिल उपचार तथा पुनः सुधार केन्द्रमा टुहुरा, बिरामी वा घाइते बच्चाहरू राखिन्छ। यहाँ यिनीहरूको उपचार र हेरचाह गरिन्छ अनि आत्मनिर्भर भएपछि मात्र समुद्रमा छोडिन्छ। यसबाट प्राप्त परिणाम एकदमै उत्साहजनक भएको छ। वर्षौंसम्म एकदमै घट्दै गएको यी मंक सिलको संख्या अब नर्दन स्पोराडेसमा बिस्तारै वृद्धि हुन थालेको छ।
के यी प्रयासहरू सफल भइरहलान्? यो त समयले नै बताउनेछ। तथापि, यी खतरामा परेका जातिलाई बचाउने हो भने अझ धेरै कुरा गर्न बाँकी नै छ भन्ने कुराचाहिं प्रस्टै छ। स्मीथसोनियन इन्स्टिच्युटका डा. डेभिड वाइल्डले ब्यूँझनुहोस्!-लाई यसो भने: “समुद्री जीवन राम्रो हालतमा छैन। समस्या के हो भने, हामीलाई समुद्रमा के के छ भनेर राम्ररी थाह छैन अनि त्यसको कसरी संरक्षण गर्ने भनेर त झनै थाह छैन।” (g01 3/8)
[पृष्ठ १३-मा भएको पेटी]
संकटमा परेका नातेदारहरू
मंक सिलहरू संसारका अन्य समुद्रहरूमा पनि पाइन्छन् तर ती पनि संकटमा परेका छन्। नेसनल जियोग्राफिक पत्रिकाले बताएअनुसार “कोलम्बसले नयाँ संसारमा सबैभन्दा पहिला फेला पारेका सिलहरू” क्यारेबियन वा वेस्ट इन्डियन मंक सिल हुन्। “समुद्रीतटमा बस्न मन पराउने र निस्सहाय यी मंक सिलहरू बथानका बथान मारिए। . . . सन् १९५२ मा अन्तिम चोटि यो क्यारेबियन मंक सिल देखा परेको थियो।”
हवाइका वा लेसन मंक सिलहरूको लागि एक मात्र सुरक्षित वासस्थान हवायन आइल्याण्ड्स नेसनल वाइल्डलाइफ रेफ्युजका फ्रेन्च फ्रिगेट शोल हो। तथापि, हाल बाँकी लगभग १,३०० सिलहरू संरक्षण गर्न निकै प्रयास गरिए तापनि “समस्याग्रस्त” छन्।
सन् १९९७ को वसन्तऋतुदेखि पश्चिम अफ्रिकाको मरिटानियन समुद्रीतटमा बसोबास गर्दै आएका २७० मेडिटरेनियन मंक सिलमध्ये तीन चौथाइलाई एउटा महामारीले स्वाहा पाऱ्यो। साइन्स न्युज-मा प्रकाशित एउटा रिपोर्टअनुसार अधिकांश सिलहरूसित “डल्फिन मोर्बिलिभाइरस थियो र यो कुकुरलाई डिस्टेम्पर लाग्ने भाइरसजस्तै हुन्छ।”
[पृष्ठ १२-मा भएको चित्र]
मंक सिलका थुप्रै कुराहरू अचम्मका छन्, जस्तै, चिम आकारको टाउको र ठूलठूला नाकको प्वाल
सिलहरूलाई संरक्षण गर्न निकायहरू स्थापना गरिएका छन्
[स्रोत]
Panos Dendrinos/HSSPMS
[पृष्ठ १३-मा भएको चित्र]
वर्षौंसम्म एकदमै घट्दै गएको यी मंक सीलको संख्या अब नर्दन स्पोराडेसमा बिस्तारै वृद्धि हुन थालेको छ
[स्रोत]
P. Dendrinos/MOm
D. Kanellos/MOm
[पृष्ठ १३-मा भएको चित्र]
हवायन मंक सिल
[पृष्ठ १२-मा भएको चित्रको स्रोत]
Panos Dendrinos/HSSPMS