सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वदर्शन

विश्‍वदर्शन

विश्‍वदर्शन

मानिसको घनिष्ठ मित्र?

मेक्सिकोको एल युनिभर्सल अखबारको एउटा रिपोर्टअनुसार विना सुपरिवेक्षण कुकुरसँग छोडिएका साना शिशुलाई कुकुरले टोक्नसक्ने खतरा हुन्छ। उक्‍त रिपोर्ट बताउँछ, “पहिला बच्चाले नै कुकुरलाई जिस्काउँछ अनि कुकुरले आफ्नो सुरक्षा गर्न टोक्ने गर्छ।” गत पाँच वर्षमा मेक्सिकोको एउटा अस्पतालले कुकुरले टोकेका ४२६ जना केटाकेटीको उपचार गऱ्‍यो। यी शिशुमध्ये १२ प्रतिशत गम्भीर घाइते अथवा कुरुप भएका थिए। त्यस रिपोर्टले आमाबाबुलाई आफ्ना छोराछोरीलाई कुकुरबारे यी आधारभूत नियमहरू सिकाउने आग्रह गरेको छ: कुकुरको खेलौना, खोर अनि खाना खाने भाँडालाई लापरवाही नगर्नू। खाना खाइरहेको वा सुतिरहेको कुकुरको नजिकै नजानू। उसको पुच्छर नतान्‍नु अथवा बुई चढ्‌ने प्रयास नगर्नू। (g01 3/8)

फटेंग्रा मारे बापत पैसा दिइयो

भारतको उत्तर प्रदेशस्थित वन विभागले लगभग ६,५०,००० सालका रूखहरू भएको जंगललाई २.५ सेन्टिमिटर लामो पखेटा भएका होप्लो नाउँको फटेंग्राबाट बचाउन यी फटेंग्रा मार्ने अभियान सुरु गरेको छ भनी द टाइम्स अफ इन्डिया रिपोर्ट गर्छ। हालै यी फटेंग्राको संख्या बढेकोले त्यस जातको रूख काण्डहरूमा प्वाल बनाएर रूखलाई सुक्खा बनाएपछि रूखहरू मर्न थाल्छन्‌। यी फटेंग्रालाई समात्न वन विभागले “पासो रूख” तरिका अपनाइरहेको छ। फटेंग्रा पाइने ठाउँमा नयाँ सालका रूखका बोक्राहरू छरिन्छ। यी टुक्राहरूबाट निस्कने तरल पदार्थले ती किटाणुलाई आकर्षित गर्छन्‌ र लट्ठ पार्छन्‌ अनि समात्न सजिलो हुन्छ। अनि स्थानीय ठिटाहरूलाई प्रति फटेंग्रा ७५ पैसा (करिब दुई सेन्ट) दिएर यो काम थालिएको छ। (g01 3/8)

पर्याप्त निद्रा

“हाम्रो समाज निद्राबाट एकदमै वञ्चित छ” भनेर युनिभर्सिटी अफ ब्रिटिश कोलम्बियाका मनोवैज्ञानिक स्टेनले कोरेन बताउँछन्‌। थ्री माइल आइल्याण्डको आणविक दुर्घटना र एक्जोन भाल्डेज तेल पोखिनुको पछाडि पनि केही हदसम्म अपर्याप्त निद्रा नै जिम्मेवार छ। हरेक वर्ष उत्तरी अमेरिकामा १,००,००० भन्दा बढी सवारी दुर्घटना निद्राले झप्प छोपेको कारण हुने गरेको क्यानाडाको मक्लिन्स पत्रिका रिपोर्ट गर्छ। स्टान्फोर्ड विश्‍वविद्यालयका निद्रा विशेषज्ञ डा. विलियम डेमेन्ट यस्तो चेताउनी दिन्छन्‌: “मानिसहरूले कति निद्रा चाहिन्छ भनेर राम्ररी बुझेका छैनन्‌।” राम्ररी सुत्न सक्नको लागि अनुसन्धानकर्ताहरू यसो भन्छन्‌: बेलुकीको खाना सुत्नुभन्दा तीन घण्टाअघि नै खानुहोस्‌। हरेक दिन एउटै समयमा सुत्ने र उठ्‌ने गर्नुहोस्‌। सुत्ने कोठामा टिभी अथवा कम्प्युटर नराख्नुहोस्‌। क्याफिन, मद्य अनि सुर्ती सेवन नगर्नुहोस्‌। खाटमा सुत्दा खुट्टा न्यानो पार्न मोजा लगाउनुहोस्‌। सुत्नुअघि तातो पानीले नुहाउनुहोस्‌। दिनहुँ कसरत गर्नुहोस्‌, तर सुत्नुअघि होइन। अन्तमा म्याक्लीन पत्रिका यसो भन्छ: “तपाईं सुत्न सक्नुभएन भने उठेर केही गर्नुहोस्‌। थकित महसुस गर्नुभएपछि मात्र खाटमा जानुहोस्‌ र सधैं उठ्‌ने समयमै उठ्‌नुहोस्‌।” (g01 3/8)

भान्छा कोठा सफा राख्ने

व्यस्त भान्छा कोठामा नदेखिने रोगका किटाणुहरू विरुद्ध लड्‌न “[साधारणतया] ब्लीच सबैभन्दा बेस हो” भनेर क्यानाडाको भ्यानकुभर सन अखबार बताउँछ। उक्‍त रिपोर्टले निम्न सल्लाहहरू दिन्छ: दिनहुँ ४ लिटर मनतातो पानीमा ३० मिलिलिटर ब्लीच मिसाउनुहोस्‌ तर तातो पानीमा होइन। किनकी तातो पानीमा ब्लीच उडिहाल्छ। यो पानीमा डुबाएको सफा कपडाले पुछ्‌नुहोस्‌। त्यसपछि हावामा सुक्न दिनुहोस्‌। हावामा धेरै समय सुक्न दियो भने धेरै जीवाणुहरू मर्छन्‌। भाँडाकुँडाहरू साबुन र तातो पानीमा धोएर पखाल्नुहोस्‌ र ब्लीच मिसाएको पानीमा डुबाएर जीवाणु मर्न दिनुहोस्‌। भाँडाहरू सुकेपछि केही पनि रासायनिक पदार्थ बाँकी रहँदैन। भान्छाका स्पन्ज, भाँडाकुँडा पुछ्‌ने कपडा र भाँडा माझ्ने बुरुस दिनहुँ धोएर ब्लीचमा पखाल्नुहोस्‌। अनि हातले छोएर खाना दूषित हुन नदिन हात राम्रोसित, विशेष गरी नङमनि राम्ररी सफा गर्नुहोस्‌। (g01 3/8)

अवकाशले निम्त्याएको उदासिनता

समयअगावै अवकाश लिनाले केही फाइदा त होला तर यसले ठूलो मानसिक चोट पनि पुऱ्‍याउँछ। ब्राजिलको डियारो डे पर्नामबुको-को रिपोर्टअनुसार भूतपूर्व सरकारी कर्मचारीहरूले ‘असन्तुष्टि, चिढचिढाहापन, असुरक्षा, व्यक्‍तिगत पहिचान गुमाउनुपरेकोजस्ता’ समस्याहरूदेखि लिएर निराशा अनि जीवनमा अन्धकार छाएको महसुस गरेका छन्‌। वृद्धावस्थासम्बन्धी विशेषज्ञ गीडो स्काचनीक, “चाँडै अवकाश लिने पुरुषहरूले वा रक्सी पिउन थाल्नु मद्यपान गर्न वा आइमाईहरूले चाहिं औषधी सेवन गर्न थाल्नु असामान्य कुरा होइन।” अवकाश लिने विचार गरिरहेकाहरूले “आफ्नो सीप सदुपयोग गर्न सिक्ने अनि ऋणमा चुर्लुम्म नडुब्न परामर्श लिने” सल्लाह मनोवैज्ञानिक ग्राका सान्टोसले दिइन्‌। (g01 3/8)

दिमागले हृदयलाई असर गर्छ

मानसिक तनाउले दोस्रो पटक पनि हृदयघात हुनसक्ने खतरा बढाउँछ तर “दिमागले मुटुसम्बन्धी रोगहरू बढाउन महत्त्वपूर्ण भूमिका खेल्छ भनेर बढ्‌दो प्रमाणहरूले देखाउँछ” भनी टुफ्ट्‌स युनिभर्सिटी हेल्थ एण्ड न्युट्रिशन लेटर टिप्पणी गर्छ। तथापि, “अरू मानिसहरूमा भन्दा रिसाहाहरूमा हृदयघात हुने वा मुटुका रोगले मर्ने सम्भावना तीन गुणा बढी रहेको” र “यसका असरहरू चाँडै देखापर्न थाल्छ” भनेर हालैका अध्ययनहरूले देखाउँछन्‌। तनाउले हृदयका मांसपेशीहरू तथा हृदयसित जोडिएको र घेरिएको रक्‍तनलीलाई क्षति पुऱ्‍याउँछ। निराशाको कारण हृदयधात वा मुटुसम्बन्धी अन्य रोगहरू हुने खतरा ७० प्रतिशतले वृद्धि हुनसक्छ। तर परिवार तथा मित्रहरूबाट अत्यधिक सामाजिक सहयोग पाएको खण्डमा निराशा कम गर्न सकिन्छ भनेर अनुसन्धानकर्ताहरू बताउँछन्‌। (g01 3/22)

एन्टीबायोटिकको अत्यधिक प्रयोग

“एन्टीबायोटिकको अत्यधिक प्रयोग नगर्न स्वास्थकर्मीहरूले बारम्बार चेताउनी दिए तापनि त्यसको बेवास्ता गरिएको छ” भनी न्यु साइन्टीस्ट पत्रिका टिप्पणी गर्छ। “संयुक्‍त राज्यको नौ राज्यहरूमा १०,००० मानिसहरूसित लिइएको सर्वेक्षणमा ३२ प्रतिशत मानिसहरू एन्टीबायोटिकले रुघाखोकी निको पार्छ भनेर अझै पनि विश्‍वास गर्छन्‌। अरू २७ प्रतिशतले चाहिं रुघा लाग्दा एन्टीबायोटिकको सेवन गरेमा अझ गम्भीर रोगहरूको रोकथाम हुने अनि ४८ प्रतिशतले रुघा लागेर डाक्टरकहाँ जाँदा एन्टीबायोटिक दिने आशा गर्छन्‌।” तथापि, एन्टीबायोटिक्स भाइरसको संक्रमणले हुने रुघा विरुद्ध प्रभावकारी हुँदैन। यसले ब्याक्टेरीयाको संक्रमण विरुद्ध मात्र काम गर्छ। रोगको उपचारमा औषधीले नछुनुको प्रमुख कारण एन्टीबायोटीकको अत्यधिक प्रयोग हुनसक्ने अनुमान गरिएको छ। (जनवरी ८, १९९९ को ब्यूँझनुहोस्‌! पृष्ठ २८ हेर्नुहोस्‌।) अक्सफोर्ड विश्‍वविद्यालयका ब्रायन स्प्राट यसो भन्छन्‌: “हामीले सही सन्देश पुऱ्‍याउने राम्रो तरिका खोज्नुपरेको छ।” (g01 3/22)

विवादास्पद “सन्त”

सन्‌ २००० सेप्टेम्बरमा पोप जोन पल द्वितीयले पायस नवौंलाई (पोप, १९४६-७८) सन्त बनाउने प्रक्रिया थाले। क्याथोलिक दैनिकी ला क्रावा-मा फ्रान्सेली इतिहासकार रेने रेमोन्डले पायस नवौंले “प्रचारकहरूको मनमै आघात पार्ने निर्णय” गरे, जस्तै “इटालीका देशभक्‍तहरूले पोप, राष्ट्र प्रमुख हुने अख्तियारमाथि प्रश्‍न उठाउँदा तिनले उनीहरूलाई प्राणदण्ड दिने आदेश दिए।” तिनलाई “युरोपका अन्तिम सम्राट” भन्‍ने संज्ञा दिंदै ले मोन्डेले यस पोप-राजाको असहिष्णुता र विशेष गरी “अन्तस्करणको प्रयोग गर्न स्वतन्त्रता, मानव अधिकार तथा यहूदीहरूको छुटकारा”-जस्ता कुराहरू हनन भएको टिप्पणी गऱ्‍यो। उक्‍त अखबारले पायस नवौंले “प्रजातन्त्र, धार्मिक स्वतन्त्रता अनि चर्च र पोपको विभाजनलगायत प्रेस, विचार अनि सरसंगतिसम्बन्धी स्वतन्त्रताको हनन गरे” भनेर पनि बताउँछ। सन्‌ १८६९ मा विश्‍वास अनि नैतिकतासम्बन्धी कुराहरूमा पोप चुक्दै चुक्दैनन्‌ भन्‍ने सिद्धान्त प्रतिपादन गरेर भ्याटिकन काउन्सिलको स्थापना गर्ने व्यक्‍ति पायस नवौं नै थिए। (g01 3/22)

त्यो आश्‍चर्यजनक झार—टुकी फूल

“गल्फ मैदानका सबै निरीक्षकहरू र चउर मालिकहरूले टुकी फूलका झारहरूलाई प्रमुख शत्रु ठान्छन्‌ र “हटाउनै नसकिने झार भन्छन्‌” भनी मेक्सिको शहरको द न्युज उल्लेख गर्छ। तथापि, यी टुकी फूलका बोट “संसारको सबैभन्दा स्वास्थ्यवर्धक विरुवाहरूमध्ये पर्छन्‌” र यसले तपाईंको स्वास्थ्य र भोजनमा धेरै योगदान पुऱ्‍याउँछ। भिटामिन ए र पोटासियम प्रशस्त पाइने यी टुकी फूलका झारहरू काउली अथवा पालुंगोभन्दा पनि पोषिला छन्‌। यसका लहराहरू जम्मै उपयोगी छन्‌। कलिलो पातलाई सलाद अथवा पालुंगोको सट्टा प्रयोग गर्न सकिन्छ। सुकेका र सेकिएका जराहरू कफीजस्ता पेय पदार्थहरूमा अनि फूलहरूचाहिं रक्सी बनाउन प्रयोग गर्न सकिन्छ। ऐतिहासिक विवरणहरू पल्टाएर हेर्ने हो भने, टुकी फूलका बोटलाई कलेजो बलियो बनाउने र रगत सफा गर्ने अनि रगत बढाउने र पिसाब खुलाउने औषधीको रूपमा प्रयोग गरेको पाइन्छ। यी टुकी फूल “चिनियाँ औषधीमा प्रयोग गरिने छ वटा प्रमुख जडिबुटीमध्ये एउटा हो” भनेर द न्युज घोषणा गर्छ। चउर हुने अथवा गाईवस्तु चराउने चरन नजिकै भएकाहरूले टुकी फूल सजिलै पाउनसक्छन्‌। (g01 3/22)