सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईंको केशलाई नियाल्दा

तपाईंको केशलाई नियाल्दा

तपाईंको केशलाई याल्दा

एउटा पुस्तकमा यस्तो लेखिएको छ, “हरेक युग अनि संस्कृतिमा केशले मानिसको व्यक्‍तित्वबारे केही न केही बताइरहेको हुन्छ।” त्यसैकारण, अधिकांश मानिसहरूले आफ्नो केश स्वस्थ अनि आकर्षक राख्न एकदमै चासो राखेकोमा कुनै अचम्म मान्‍नु पर्दैन।

ब्यूँझनुहोस्‌!-ले चार जना अनुभवी केश सिंगार विशेषज्ञसँग केशको बनावट तथा केशको हेरचाहबारे केही सामान्य प्रश्‍नहरू सोधेको थियो। केश हेर्दा सरल देखिए तापनि वास्तवमा जटिल हुन्छ।

केश बढ्‌ने र झर्ने

प्र: केशको बनावट कस्तो हुन्छ ?

उ: केशमा केराटीन नाउँको रेसादार प्रोटिन हुन्छ। टाउकोको छालामा हुने छिद्रबाट केश उम्रन्छ। प्रत्येक छिद्रको फेदमा सोली आकारको तन्तु हुन्छ र त्यहाँ रक्‍तनलीहरूको जालो हुन्छ। यी तन्तुले केशका कोषहरू उत्पादन गर्ने काम गर्छ र ती कोषहरू छिद्रबाट बाहिर निस्केर केशहरू बन्छन्‌।

प्र: केश जति काट्यो त्यति नै बढ्‌छ भन्‍ने धारणा व्याप्त छ। के यो साँचो हो ?

उ: होइन। केही मानिसहरूले, रूखको हाँगालाई जराले पोषण दिएझैं केशलाई पनि शरीरले पोषण दिइरहेको हुन्छ भनी सोच्ने गर्छन्‌। तर टाउकोको छालाबाट केश उम्रिसकेपछि ती कोषहरू मर्छन्‌। त्यसैकारण केश काट्‌दैमा बढ्‌ने होइन।

प्र: केश फुल्नुको कारण के हो ?

उ: केशको भित्री तहमा एक किसिमको तन्तु हुन्छ जसले केशलाई यसको स्वाभाविक रंग दिन्छ। यस तन्तुका कोषहरू मरेको खण्डमा केश फुल्न थाल्छ। उमेर पाकेपछि यसो हुनु स्वाभाविक नै हो। तर उमरै नपुगी केश फुल्नुको कारण वंशाणुगत वा रोग हुनसक्छ। तथापि, रातभरिमै केश फुल्नसक्छ भन्‍ने भनाइ केवल मिथ्या हो। केशलाई स्वाभाविक रंग दिने पदार्थ टाउकोको छाला मुनतिर जम्मा हुन्छ। त्यसैले, फुलेको कपाल (एक महिनामा लगभग सवा सेन्टिमिटर जति) बढ्‌न अनि टाउकोमा देखा पर्न समय लाग्छ।

प्र: केश झर्नुको कारण के हो ?

उ: केश झर्नु भनेको केशको सामान्य चक्र हो। प्रत्येक व्यक्‍तिको दिनहुँ औसतन ५० देखि ८० वटा केश झर्ने गर्छ। तर लोग्ने मानिसहरूमा हुने तालुखुइलेपन र केश कहिल्यै नउम्रने गरी झर्नुको कारण वंशाणुगत गुण वा हर्मोनको असन्तुलन हो। असामान्य रूपमा केश झर्नुलाई अलोपिसिया भनिन्छ। a

प्र: मानिस कत्तिको स्वस्थ छ त्यो उसको केश हेरेरै थाह पाउन सकिन्छ भनी केही व्यक्‍तिहरू भन्‍ने गर्छन्‌। के तपाईंले याद गर्नुभएको छ ?

उ: छ। टाउकोको छाला मुनि केशले रगतबाट पोषण पाउँछ। त्यसैकारण स्वस्थ केश भएको व्यक्‍तिको रक्‍तसञ्चार प्रणाली पनि राम्रो हुन्छ। तथापि, सन्तुलित भोजन नखाने वा अत्यधिक मद्यपान गर्ने व्यक्‍तिहरूमा रगतले केशलाई राम्ररी पोषण पुऱ्‍याउन नसक्ने हुनाले केश कमजोर र टुक्रिने हुनसक्छ। केश झर्नु वा कमजोर हुनु कुनै रोग वा गर्भावस्थाको प्रारम्भिक लक्षण पनि हुनसक्छ।

टाउकोको छाला र केश स्वस्थ राख्ने

प्र: टाउकोको छाला र केशमा कसरी श्‍याम्पू गर्ने ?

उ: अनुभवले देखाएअनुसार टाउकोको छाला सुक्खा हुने समस्या भएका अधिकांश व्यक्‍तिले बढी श्‍याम्पू गर्ने गरेको पाइयो। हो, तपाईंको केशमा भएको तेलले गर्दा धुलो टाँसिन्छ र छालाबाट निस्कने फोहर जम्मा हुन्छ अनि यसले गर्दा छालाको छिद्रसम्म पुग्ने तेलको नली थुनिनसक्छ। त्यसैकारण बरोबर श्‍याम्पू गर्नु आवश्‍यक छ। तर यो प्राकृतिक तेलले हानिकारक ब्याक्टेरियाहरूबाट बचाउँछ र छालालाई चाहिने चिल्लो बाहिर निस्केर सुक्खा हुन दिंदैन। धेरै श्‍याम्पू गर्नाले तपाईंले आफ्नो टाउकोको छालाबाट यस सुरक्षात्मक तहलाई खुर्किरहनुभएको हुनेछ। अधिकांश केश विशेषज्ञहरू टाउकोको छाला वा केश मैलो भएपछि मात्र श्‍याम्पू गर्ने सल्लाह दिन्छन्‌। चिल्लो केश भएको व्यक्‍तिले साधारण वा सुक्खा केश भएको व्यक्‍तिले भन्दा प्रायः धेरै श्‍याम्पू प्रयोग गर्नु पर्ने हुन्छ।

श्‍याम्पू गर्दा टाउकोको छालाको मालिस गर्नुहोस्‌। यसले मरेका कोषहरूलाई हटाउनुका साथै राम्ररी रक्‍तसञ्चार हुन दिन्छ र तपाईंको केशले राम्रो पोषण पाउँछ। केशलाई राम्ररी पखाल्न नबिर्सनुहोस्‌! साबुनले हात धोएपछि राम्ररी हात पखाल्नु भएन भने तपाईंको छाला सुक्खा भएर फुट्‌छ। त्यस्तै यदि श्‍याम्पू राम्ररी पाखालिएन भने टाउकोको छाला सुक्खा हुन्छ र पाप्रा पाप्रा निस्कन्छ।

प्र: टाउकोको छालाको सुक्खापन हटाउन के गर्न सकिन्छ ?

उ: प्रशस्त पानी पिउनुहोस्‌ र पोसिलो भोजन खानुहोस्‌। यसले तपाईंको छालालाई सुक्खा राख्दैन र रक्‍तसञ्चारलाई ठीक अवस्थामा राख्न मदत दिन्छ। धेरै कडा श्‍याम्पू प्रयोग नगर्नुहोस्‌ र टाउको बरोबर मालिस गर्नुहोस्‌। केहीले टाउकोको छालालाई सुक्खा नराख्न पखाल्न नपर्ने कन्डिस्नर र लोसनको पनि प्रयोग गर्ने गर्छन्‌।

केशको स्टाइल

प्र: केश बनाउने व्यक्‍ति अर्थात्‌ हेयरस्टाइलिस्टकहाँ जाँदा कुन कुरा विचार गर्नुपर्छ ?

उ: यदि तपाईं आफ्नो हेयरस्टाइल परिवर्तन गर्न चाहनुहुन्छ भने, तपाईंले चाहेको स्टाइलको फोटो र सकिन्छ भने तपाईंले नचाहेको स्टाइलको फोटो पनि लानुहोस्‌। आफूले चाहेको स्टाइलबारे स्पष्ट बताउनुहोस्‌। केही हेयरस्टाइललाई बढी ध्यान दिनुपर्ने भएकोले तपाईं हरेक दिन कति समय केशको स्याहार सुसारमा बिताउन चाहनुहुन्छ स्पष्टसित बताउनुहोस्‌। तपाईं कुनै हेयरस्टाइलिस्टकहाँ दुई वा तीन चोटि जानुभएपछि मात्र उसले तपाईंको केशको बनावट थाह पाएर राम्रो सुझाउ दिन सक्छन्‌। त्यसैले छिटो छिटो आफ्नो हेयरस्टाइलिस्ट परिवर्तन नगर्नुहोस्‌।

तपाईंको केशले के बताउँछ

केशको स्याहार अनि सिंगार गर्नु आफ्नो व्यक्‍तित्व प्रकट गर्ने एउटा तरिका हो। चलनचल्तीको फेशन, धार्मिक विश्‍वास र सामाजिक अनि राजनैतिक धारणाअनुरूप केशलाई काट्‌ने, पाल्ने, सीधा बनाउने, घुम्य्राउने, रंग्याउने र विभिन्‍न स्टायलहरू गर्ने गरिन्छ। अब आफ्नो केशलाई राम्ररी हेर्नुहोस्‌। यसले तपाईंबारे के भन्छ? स्वस्थ तथा सुन्दर र चिटिक्क परेको केश हुने व्यक्‍तिको शोभा बढ्‌छ र अरूले पनि तारिफ गर्छन्‌। (g01 4/8)

[फुटनोट]

a थप जानकारीको लागि अवेक! अप्रिल २२, १९९१ अंकको “अलोपिसिया—लिभिङ इन साइलेन्स विथ हेयर लस” नामक लेख हेर्नुहोस्‌।

[पृष्ठ २०-मा भएको चित्र]

पोसिलो भोजन खाने र प्रशस्त पानी पिउने गर्नाले टाउकोको छाला सुक्खा हुनबाट बच्नसक्छ

[पृष्ठ २०-मा भएको चित्र]

उमेर पाकेपछि केश फुल्नु स्वाभाविकै हो

[पृष्ठ २०-मा भएको चित्र]

धेरै श्‍याम्पू गर्नाले तपाईंले आफ्नो टाउकोको छालाको सुरक्षात्मक तहलाई खुर्किरहनुभएको हुनेछ