सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मोजाम्बिकको बाढी—मसीहीहरूले कसरी पीडितहरूलाई राहत दिए

मोजाम्बिकको बाढी—मसीहीहरूले कसरी पीडितहरूलाई राहत दिए

मोजाम्बिकको बाढी—मसीहीहरूले कसरी पीडितहरूलाई राहत दिए

मोजाम्बिकका ब्यूँझनुहोस्‌! लेखकद्वारा

गत वर्षको सुरुआतमा मोजाम्बिकमा आएको बाढीको खतरा बढ्‌दै गएपछि मानिसहरू डराएर रूखका हाँगामा च्याप्प समातेर बसिरहेको दृश्‍य टेलिभिजनमा देख्दा धेरै दर्शकहरू स्तब्ध भएका थिए। एउटी आइमाईले रूखमै बच्चा जन्माइन्‌ र पछि हेलिकप्टरद्वारा बच्चासहित तिनको उद्धार गरिएको देखाइएको थियो। तथापि, बाढीको पानी नघटेसम्म वा हेलिकप्टरद्वारा उद्धार नगरिएसम्म निकै दिन हजारौं मानिसहरू अलपत्र परे र कतिपयले चाहिं सर्पसँग संघर्ष गर्दै धेरै दिन बिताउनुपऱ्‍यो।

मोजाम्बिकको राजधानी मापुटोमा मुसलधारे पानी परेपछि विपत्तिको सुरुआत भयो। केही घण्टामै शहर वरपरका क्षेत्र जलमग्न भयो। केही स्थानहरूमा त पानी घरको छानासम्म पुग्यो। उर्लंदो भल आएकोले सडकहरू भयानक नदीमा परिणत भए। तीव्र गतिमा आएको पानीले गर्दा जमिन खाल्डै खाल्डामा परिणत भए अनि घर, मोटर र प्रायः सबै थोक स्वात्तै बगाएर लग्यो। तर डरलाग्दो विपत्ति आउन अझ बाँकी नै थियो।

पानी पर्न बन्द भएन, बाढीले गर्दा देशको पूरै दक्षिणी भूभाग जलमग्न भयो। छिमेकी राष्ट्र दक्षिण अफ्रिका, जाम्बिया र बोत्सवानामा पनि पानी पऱ्‍यो। यी मुलुकहरूबाट बग्ने इन्कोमती, लिम्पोपो र जाम्बेजी नदीहरू मोजाम्बिक भएर महासागरमा मिल्ने भएकाले यी सबै नदीहरूमा पानी बढ्‌दा मोजाम्बिकका अधिकांश भूभागहरू तहसनहस भए। यस विपत्तिको बेला मसीहीहरूले एकअर्कालाई मदत दिएको कथाले विश्‍वासलाई दह्रो बनाउँछ।

सुरुका क्षति

गत वर्ष फेब्रुअरी ९ मा मापुटोस्थित यहोवाका साक्षीहरूको शाखा कार्यालयका दुई जना प्रतिनिधिहरू उत्तरी भागतर्फ गए। बिहानको ९ बजेतिर तिनीहरूले सिनेभेनी शहर पार गरे जहाँ इनकोलुनी नदीमा पानी निकै बढेको थियो। तिनीहरूले गाजा प्रान्तको राजधानी शहर साइ-साइतर्फ आफ्नो यात्रा कायमै राख्ने निर्णय गरे। यद्यपि, चोकी शहरको नजिकैका क्षेत्रहरूमा सामान्य आँधीबेहरी आउँदा डरलाग्दो बाढी आउने भए तापनि तिनीहरूले त्यहाँ निरीक्षण गर्दा समस्याको कुनै संकेत देखेनन्‌। त्यसकारण, तिनीहरूले मापुटो फर्कने निर्णय गरे।

तथापि, फर्कने क्रममा जब तिनीहरू सिनेभेनी आइपुगे प्रहरीले तिनीहरूलाई रोके। प्रहरीले यस्तो चेताउनी दिए, “दक्षिण अफ्रिकाबाट आएको बाढीले राजमार्गलाई बगाइसकेको छ। बस, ट्रक केही जान सकिरहेका छैनन्‌।” तिनीहरूले बिहान मात्र पार गरेको बाटो अहिले पूरा जलमग्न थियो! सुदूर उत्तरका नदीहरू पनि बढीरहेका हुनाले देशका अन्य ठाउँसँग कुनै सम्पर्क हुन सकेन।

दुई भाइहरूले नजिकैको मासियामा रात काट्‌ने निर्णय गरे। त्यस रात परिस्थिति झन्‌ खराब भयो। सारा सिनेभेनी शहर बाढीले जलमग्न भयो र त्यहाँका बासिन्दाहरूले आफ्नो सर्वस्व गुमाए। त्यस क्षेत्रमा बसोबास गर्ने साक्षीहरूलाई मासियास्थित राज्यभवनमा पुऱ्‍याउन मदत गर्न प्रबन्ध मिलाइयो। त्यहाँ अस्थायी शरणार्थी शिविर बनाइएको थियो। साक्षीहरू तुरुन्तै गोदामहरूमा गएर आधारभूत वस्तुहरू जस्तै चामल, सिमी, पिठो, तेल आदि किनेर ल्याए।

अहिले चोकी तथा त्यस वरपरका शहरहरूमा बस्ने सँगी मसीहीहरूलाई विशेष ध्यान दिइएको थियो। चोकीस्थित मण्डलीका निरीक्षकहरू एकै ठाउँमा भेला भई बृहत्‌ उद्धार कार्यक्रमको आयोजना गरे। यो सन्देश चारैतिर पठाइयो, “आ-आफ्नो ठाउँ छोडेर तुरुन्तै मासिया गइहाल्नुहोस्‌!” यद्यपि, सिनेभेनीबाट अझ धेरै भाइबहिनीहरू आइ नपुगेको कुरा थाह पाए पछि त्यहाँका भाइबहिनीहरूको परिस्थिति बुझ्न केही साक्षीहरूलाई पठाइयो। एक मसीही प्राचीन आफ्नै घरभित्र डुबेको कुरा पनि थाह भयो। तिनको अन्त्येष्टिको निम्ति प्रबन्ध मिलाइयो र बाँकी साक्षीहरूको पनि पत्ता लाग्यो जसमध्ये कोही त घरका छानामा थिए र तिनीहरूलाई मासियासम्म जान मदत गरियो।

यी प्रबन्धहरू मिलाइ सकेपछि शाखा कार्यालयका प्रतिनिधिहरू समुद्री किनारामा अवस्थित सानो शहर बिलिनीतर्फ गए र त्यहाँबाट तिनीहरूले मापुटो जान एउटा हवाईजहाज भाडामा लिए। यात्रीहरूको आँखाले भ्याएसम्मका क्षेत्र जलमग्न देखिन्थ्यो। गाजामा मात्रै ६,००,००० मानिसहरू प्रभावित भएको रिपोर्ट प्राप्त भयो।

परिस्थिति झनै खराब भयो

अझै केही दिन पानी झन्‌ जोडले पऱ्‍यो जसले गर्दा मोजाम्बिकको मध्यभूभाग पनि तहसनहस भयो। त्यसपछि इलिन नाउँ गरेको बडेमाको तीव्र तुफान चल्यो। यसले गर्दा फेब्रुअरी २० मा इनयामबन, सोफाला र मानिका प्रान्तमा विनाशकारी पानीको भेल उर्लियो। यसको परिणामस्वरूप बाढी झन्‌ चर्कियो, मानिसहरू मरे र ठूलो क्षति भयो।

त्यसपछि, फेब्रुअरीको अन्ततिर चोकी शहर र त्यस वरपरका क्षेत्रमा यस्तो डरलाग्दो बाढी आयो जुन पहिले कहिल्यै कसैले देखेका थिएनन्‌। फेब्रुअरी २६ शनिबारका दिन मध्यराततिर ठूलो हिमपहिरो जस्तै गरी बाढी उर्लियो र बाटोमा भएका सबै थोक बगायो। एक ३२ वर्षीया साक्षी लुइस सिटलाङगु यसो भन्छिन्‌, “झ्यालबाट कराइरहेकी छिमेकीको आवाजले गर्दा हामी ब्यूँझियौं।”

सिटलाङगु यसरी वर्णन गर्छिन्‌, “हामी खाटबाट उफ्रेर तल झर्दा पानीको ठूलो गर्जन सुनिरहेका थियौं। हामी भाग्ने क्रममा धेरै सर्पहरूको सामना गर्नुपऱ्‍यो। बिहानको ६ बजे हामी अलि अग्लो स्थानमा आइपुग्यौं तर जब बाढीको पानी बढ्‌दै आयो र हामी बसेको भूमिलाई समेत ढाक्यो, हामी रूख चढ्‌न बाध्य भयौं। हामी जम्मा २० जना थियौं।

“पहिला लोग्नेमानिसहरू रूख चढें। त्यसपछि आइमाईहरूले तिनीहरूलाई केटाकेटी थमाइदिए र ती केटाकेटीहरूलाई रूखको हाँगामा बाँधियो। त्यसपछि आइमाईहरू आफ्ना कलिला बच्चाहरूसहित रूख चढे। हामी बेलाबेलामा रूखबाट तल ओर्लिएर पानीमनि जमिनमा बदामहरू खोज्थ्यौं। हामीलाई त्यस क्षेत्रमा बदामहरू उम्रन्छन्‌ भनेर थाह थियो।

“तीन दिनपछि हामीले हिंडेर चोकी जाने निर्णय गऱ्‍यौं। पानी हाम्रो छातीसम्म पुग्यो र हामीले शक्‍तिशाली धारको सामना गर्नुपऱ्‍यो। बाटोमा हामीले रूख र छानामा थुप्रै मानिस देख्यौं। अर्को दिन शहरमा ट्रकसम्म आउन हुने गरी बाढीको पानी घट्यो र मानिसहरूलाई मासियासम्म लगियो।

साक्षीहरूको शरणार्थी शिविर

मार्च ४ मा यहोवाका साक्षीहरूको शाखा कार्यालयले एउटा हवाईजहाज भाडामा लियो र प्रतिनिधिहरू संकटग्रस्त क्षेत्रतर्फ उडे। धेरै मानिसहरू भागेर मासिया आएका थिए र यस क्षेत्रलाई विशाल शरणार्थी शिविरमा परिणत गरिएको थियो। धेरै बाढी पीडितहरू इन्फ्लुएञ्जा, कुपोषण, औलो तथा अन्य रोगहरूको सिकार भए।

त्यहाँको दृश्‍य युद्धस्थलको जस्तै थियो। विभिन्‍न देशबाट पठाइएका हेलिकप्टरहरूले शहरको आकाश भरिएको थियो। राहत सामग्री वितरण गर्न अस्थायी धावन मार्गमा हेलिकप्टरहरू अवतरण गरिए। साक्षीहरूको उद्धार टोली मासियामा पुग्दा तिनीहरूले पीडितहरूलाई भोजनको मात्र प्रबन्ध गरेनन्‌ तर अस्थायी उपचार कक्ष पनि खडा गरे। तथापि, पहिले तिनीहरूले स्थानीय अधिकारीहरूबाट स्वीकृति लिए र अधिकारीहरूले तिनीहरूले देखाएको अग्रसरताको प्रशंसा गरे।

साक्षी शिविरमा बस्ने करिब ७०० जना साक्षी र त्यस्तै अन्य व्यक्‍तिहरू मिलेर हरेक बिहान ६:३० बजे बाइबल पद छलफल गर्थे। मसीही बहिनीहरूले तयार पारेको भोजन तयार भएपछि हरेक परिवारको शिरलाई बोलाइन्थ्यो। अनि तिनीहरू प्रत्येकले आफूलाई कतिवटा प्लेट चाहिन्छ औंलाले इसारा गर्थे र सोहीअनुसार खाना वितरण गरिन्थ्यो।

शिविरमा जीवनको हरेक पक्ष व्यवस्थित थियो। कसैलाई खानेकुरा किन्‍न अह्राइन्थ्यो भने अरू कसैलाई चाहिं खानेपानी स्वच्छ राख्न, चर्पी सफा गर्न र यस्तै अरू धेरै कामको लागि खटाइयो। यसरी सुव्यवस्थित ढंगमा गरिएको काम सरकारी अधिकारीहरूको दृष्टिबाट लुक्न सकेन। तिनीहरूले यस्तो टिप्पणी गरे: ‘यहाँ आउँदा आनन्द महसुस हुन्छ, यहाँ आउने सबै खाना नखाईकन फर्कंदै फर्कंदैनन्‌ र यहाँ कुनै झगडा पनि छैन।’ स्थानीय अधिकारीहरूले यसो भने: ‘काम कसरी गर्ने भनी सिक्न सबै यहोवाका साक्षीहरूको शिविरमा जानुपर्छ।’

एक दिन उद्धार समितिले मसीही प्राचीनहरूलाई बोलाएर घर तथा राज्यभवनहरू पुनर्निर्माण गरिदिने र बाढी पीडितहरूलाई अन्य आधारभूत वस्तुहरू शाखा कार्यालयले प्रदान गरिदिने कुराको जानकारी दिए। त्यसको भोलिपल्ट बिहानको दैनिक पद छलफलपछि यस योजनाबारे घोषणा गरियो। यसको प्रतिक्रियामा धेरै बेरसम्म ताली बजिरह्‍यो।

अधिकारीहरूले दुइटा ठूला पालहरू अनुदानस्वरूप दिए तापनि शिविरका धेरै मानिसहरू बाहिरै सुतिरहेका थिए। त्यसैले, स्थानीय मण्डलीको स्वामित्वमा रहेको जग्गामा एउटा ठूलो राज्यभवन बनाउन बाढी पीडितहरूबाटै एउटा टोली छानियो। त्यहाँ २०० मानिस बस्न मिल्ने मोजाम्बिक स्टाइलमा नर्कट र जस्तापाताबाट यो राज्यभवन बनाइयो। यो निर्माण कार्य केवल दुई दिन भित्रमा सकियो!

सम्पर्कमा नआएकाहरूको खोजी

त्यति नै बेला मार्च ५ मा बाढीको पानी केही कम भएपछि अलडिया डा बाराजेम शहरमा जान एक उद्धार टोली तयार गरियो र बाढी पहिरो गएको पहिलो क्षेत्रहरूमा यो पनि पर्दथ्यो। यहाँ करिब ९० जना साक्षीहरूको एउटा मण्डली थियो र त्यहाँबाट कुनै खबर प्राप्त भइरहेको थिएन।

यात्राको दौडान टोलीले १,००,००० मानिसहरू भएको सिहाकिलानी शरणार्थी शिविर पार गऱ्‍यो। बाटोको दुवै भाग बाढीले बगाएको थियो र आँखाले भ्याएसम्मको सबै क्षेत्र जलमग्न थियो। टोलीको एक जना सदस्यले यस्तो टिप्पणी गऱ्‍यो: “हामी चोकि पुग्दा हामीले केवल उराठलाग्दो दृश्‍यहरू देख्यौं। शहरको मूलद्वारमा भएका अधिकांश घरका छानासम्मै पानी थियो। धेरैजसो घरहरू पानीमा डुबेका थिए। रात पर्नै लागेको थियो र अलडिया डा बाराजेम पुग्न अझै २५ किलोमिटर बाँकी नै थियो।”

आखिरमा बल्लतल्ल राती टोली आफ्नो गन्तव्यस्थान पुगे। त्यस घटनालाई टोलीका सदस्य यसरी सम्झन्छन्‌, “हामी एकछिन रोकियौं र अब के गर्ने भनी अलमल्लमा पऱ्‍यौं।” त्यसपछि त्यहाँ मानिसहरू देखा परे र “भाइहरू!” भनी कराए अनि हर्षका आवाज गुञ्जिए। स्थानीय साक्षीहरूले दुइटा गाडीको बत्ती देख्दा तिनीहरू भाइहरू नै हुनुपर्छ भनी विचार गरे र अरूहरूलाई पनि भने। यी सबै कुराहरू देखेर अन्य मानिसहरू साँच्चै प्रभावित भए र यसो भने: ‘यी मानिसहरूको आपसमा साँच्चै प्रेम छ। तिनीहरूले खानेकुरा ल्याउँछन्‌ र भेट्‌नसमेत आउँछन्‌!’

लगातार मदत दिइएको

अलडिया डा बाराजेममा बस्ने भाइहरूलाई मासिआको शिविरसम्म पुग्न मदत दिइयो। त्यहाँ तिनीहरूको लागि भोजन, बास र औषधोपचारको प्रबन्ध गरियो। त्यति नै बेला मासिआको परिस्थिति नाजुक हुनथाल्यो। खाना, औषधी र इन्धनको अभाव भयो किनकि ती सबै हवाईजहाजबाट पठाइन्थ्यो। मापुटोसम्म पुग्ने स्थलमार्ग पुनर्स्थापित गर्नु अत्यन्तै जरुरी थियो। यो काम मार्च ८ सम्ममा गरियो।

साइ-साइको ठूलो शहर पूर्णतया जलमग्न थियो। शहरका कुनै कुनै मुख्य व्यापारिक केन्द्रहरू तीन मिटर गहिरो पानीमनि थियो! त्यहाँका भाइहरूलाई मदत गर्न साक्षीहरूले उद्धार समिति खडा गरे। यसको अतिरिक्‍त, सोफाला र मानिकामा आवश्‍यकताअनुसार पीडितहरूलाई मदत गर्न पनि समितिहरू गठन गरिए।

अन्य देशका साक्षीहरूले राहत सामग्रीहरू पठाए। उदाहरणका लागि, दक्षिण अफ्रिकी शाखाले टनका टन लुगा, कम्बल र अन्य वस्तुहरू पठाउने प्रबन्ध मिलायो। ब्रूकलिन, न्यू योर्कस्थित यहोवाका साक्षीहरूको मुख्यालयले प्राकृतिक प्रकोपबाट प्रभावित हुनेहरूको लागि कोश खडा गरे।

बाढीको पानी निक्कै घटेपछि घर गुमाउनेहरूको विवरण लिने र घर तथा राज्यभवनहरू पुनर्निर्माण गर्ने काम सुरु भयो। पुनर्निर्माण समिति गठन गरियो र यस समितिलाई सघाउन धेरै इच्छुक स्वयम्‌सेवकहरूले ठूलो योगदान दिए। त्यसपछि २७० भन्दा धेरै घर तथा कम्तीमा पनि पाँचवटा राज्यभवनको पुनर्निर्माण गरिएको छ।

साक्षी स्वयम्‌सेवकहरूले निर्माण गरेको पहिलो घरहरू तयार हुन थालेपछि मानिसहरूको ध्यान त्यसमा गयो। एक जना छिमेकीले यस्तो टिप्पणी गरिन्‌: “तपाईंहरू जीवित परमेश्‍वरको उपासना गर्नुहुन्छ। हाम्रा पादरीहरूले भेडाहरू पीडित छन्‌ भन्‍ने कुरा बिर्सन्छन्‌। तर, तपाईंहरूले यस्ता राम्रा घरहरूमा बस्न पाइरहनुभएको छ।” त्यस इलाकाका मानिसहरूले यहोवाका साक्षीहरूले प्रचार गर्ने सन्देशप्रति सकारात्मक प्रतिक्रिया देखाउन थालेका छन्‌ र धेरैले बाइबल अध्ययन पनि गर्न थालेका छन्‌।—मत्ती २४:१४; प्रकाश २१:३, ४.

धेरै साक्षीहरूले आफ्नो सबै सरसम्पत्ति गुमाए तापनि विश्‍वास भने गुमाएनन्‌। बरु तिनीहरूको यहोवा परमेश्‍वरप्रतिको प्रेम र सँगी विश्‍वासीहरूको विश्‍वव्यापी संगति बलियो भयो। तिनीहरू आफ्ना अन्तरराष्ट्रिय भ्रातृत्वप्रति कृतज्ञ छन्‌ जसले यस्तो डरलाग्दो विपत्तिमा पनि एकदमै छिट्टो मदत गरे। तिनीहरूले व्यक्‍तिगत रूपमा यहोवाको मायालु हेरचाह र सुरक्षाको अनुभव गरेका छन्‌ र तिनीहरूले सधैं बाइबलको यो अभिव्यक्‍ति सम्झनेछन्‌: “परमप्रभु महान्‌ . . . हुनुहुन्छ।”—भजन ४८:१. (g01 4/22)

[पृष्ठ २२-मा भएको चित्र]

साइ-साइ शहरलाई हिलाम्मे पानीले तहसनहस पाऱ्‍यो

[पृष्ठ २३-मा भएको चित्र]

राहत सामग्रीहरू झारिए

[पृष्ठ २४-मा भएको चित्र]

साक्षी उद्धार टोलीले उपचार कक्ष खडा गरे

[पृष्ठ २४-मा भएको चित्र]

नयाँ घरहरू निर्माण गरिंदैछन्‌

[पृष्ठ २४-मा भएको चित्र]

सबैभन्दा ठूलो शरणार्थी शिविरमा १,००,००० मानिसहरूले आश्रय पाए