सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

शहरहरूको भविष्य कस्तो छ?

शहरहरूको भविष्य कस्तो छ?

शहरहरूको भविष्य कस्तो छ?

शहरहरूलाई नियाल्नु भनेको आफ्नो भविष्य हेर्नु हो।” उक्‍त भनाइ विश्‍व बैंकका इश्‍माएल सेरागेल्डिनको हो। तथापि, हामीले अहिलेसम्म जति नियाले पनि हाम्रो भविष्य उज्ज्वल देखिएको छैन।

तर खुसीको कुरा के छ भने, थुप्रै शहरी क्षेत्रहरूमा जीवनशैली सुधार्न मानिसहरू गम्भीरतासाथ जुटेका छन्‌। न्यु योर्क शहरको म्यानह्‍याटनस्थित टाइम्स स्क्वायर हालै मात्र जीर्णोद्धार गरियो। पहिला यो ठाउँ अश्‍लील कार्य, लागू औषधको दुर्व्यसन र अपराधिक गतिविधिको निम्ति कुख्यात थियो। अहिले बाटोको दायाँबायाँ नयाँ पसल तथा रंगमञ्चहरू खोलिएका हुनाले हजारौं यात्रुहरूलाई आकर्षित गरिरहेको छ। “एक समय लण्डन र पेरिसको हाराहारीमा पुगेको असामान्य अनि विकसित शहर” इटालीको नेपल्स नेशनल जियोग्राफिक पत्रिकाअनुसार दोस्रो विश्‍वयुद्धको दौडान ध्वस्त भएको थियो। त्यसपछि यो शहर अपराध अनि गोलमालको निम्ति चिनिन थाल्यो। तथापि, उक्‍त शहरलाई १९९४ सालको राजनैतिक सम्मेलनको केन्द्रको रूपमा छानिएपछि भने फेरि शहरको केन्द्रमा ठूलठूला मर्मत सम्भार गरिए र यसको रूपरंग नै अर्कै भयो।

हो, शहर सफा अनि सुरक्षित बनाउन मूल्य चुकाउनुपर्छ। सुरक्षा व्यवस्था बढाउनुको अर्थ प्रहरीहरूको संख्या बढाउनु हो। चुकाउनुपर्ने अर्को मूल्य एकछिन पनि एक्लै बस्न नपाउनु हुनसक्छ। किनभने केही सार्वजनिक क्षेत्रहरूमा हर बखत टिभी क्यामेरा तथा साधारण पोसाकमा हिंड्‌ने प्रहरीहरूले निगरानी गरिरहेका हुन्छन्‌। तपाईं जसै पार्कमा हिंड्‌नुहुन्छ अनि फोहोरा, सालिक अथवा बगैंचाका बोटबिरुवा रोप्ने ठाउँहरू पार गर्नुहुन्छ त्यसबेला तपाईंले चालै नपाई सुरक्षा केन्द्रहरू पार गर्नुभएको हुनसक्छ।

कहिलेकाहीं उन्‍नति गर्दा गरिबहरूले झनै चर्को मूल्य चुकाउनुपर्छ। अंग्रेजीमा जेनेट्रिफिकेशन भनिने धेरै आयस्रोत भएका परिवारहरूले पहिलेका गरिब बस्तीहरूलाई किन्‍ने प्रक्रियालाई ध्यान दिनुहोस्‌। “उत्पादनबाट सेवामूलक हुने, मध्यमवर्गीय सीपको ठाउँमा स्वचालित मेसिनमा भर पर्ने” बदलँदो अर्थतन्त्रको परिणामस्वरूप यो प्रक्रिया हुन्छ। (नील स्मीथ तथा पिटर विलियम्सद्वारा सम्पादित जेनेट्रिफिकेशन अफ द सिटी) ज्यालादारहरूको सट्टा पेशेवर तथा प्राविधिक कामदारहरूको माग बढ्‌दा मध्यमवर्गीय आवासको पनि माग बढ्‌छ। धेरै पैसा कमाउने पेशेवर कामदारहरू शहरबाहिरै बसोबास गर्नुको सट्टा तुलनात्मक ढंगमा शहरभित्रै घर मर्मत सम्भार गरेर बस्न रुचाउँछन्‌।

अतः यसले वास्तवमा बस्तीहरूमा सुधार ल्याउँछ। तर बस्तीमा उन्‍नति हुनथाल्दा मूल्य वृद्धि हुन्छ। अनि आफूले वर्षौंदेखि काम गरेर बसोबास गर्दै आएको बस्तीमा गरिबहरू बस्न असमर्थ हुन्छन्‌!

शहरको मृत्यु?

नयाँ प्रविधिले उत्पन्‍न गरेको परिवर्तन शहरहरूमा महसुस गर्न थालिएको हुनसक्छ। किनमेल गर्न र व्यापारिक कार्यहरू गर्न इन्टरनेट प्रचलित हुन थालेपछि यसले नाटकीय प्रभाव पार्नसक्छ। नयाँ प्रविधिले गर्दा केही व्यापारहरू शहरबाहिर सरेका छन्‌ र तिनीहरूले थुप्रै कामदारहरूलाई पनि आफूसँगै लगेका छन्‌।

किनमेल तथा काम गर्ने प्रमुख माध्यम इन्टरनेट भयो भने मानिसहरूलाई व्यस्त व्यापारिक क्षेत्रहरूमा जाने रुचि नहुन सक्छ। सिटीज इन सिभिलाइजेशन पुस्तक यस्तो सुझाउ दिन्छ: “हामी केही मानिसहरू नियमित तवरमा विशेष गरी आंशिक समय घर वा छरछिमेकको काम गर्ने ठाउँबाटै काम गरिरहेको अनुमान लगाउनसक्छौं। . . . तसर्थ यसले पूर्णतया सवारी चाप कम गर्नेछ।” आर्किटेक्ट मोशे साफ्दी पनि त्यस्तै अनुमान लगाउँछन्‌: “यस नयाँ वातावरणमा लाखौं गाउँ छरप्रस्ट हुनेछन्‌ र यसले हरेकलाई आफ्नै गाउँको मापदण्ड अनुरूप जीवन बिताउन मदत गर्नेछ भने अर्कोतिर कम्प्युटर तथा इन्टरनेटको माध्यमबाट ठूलठूला ऐतिहासिक शहरहरूको सांस्कृतिक सम्पन्‍नता अनुरूप जीवन बिताउनसमेत मदत गर्नेछ।”

शहरहरूको भविष्य कस्तो छ?

थुप्रैको विचारमा प्राविधिक विकासका बावजूद पनि शहरमा उपलब्ध हुने सेवा तथा लाभ देखेर मानिसहरू त्यतातिर आकर्षित भइनै रहनेछन्‌। भविष्य जस्तोसुकै किन नहोस्‌ हाल शहरहरू संकटमा छन्‌! अनि शहरमा बस्ने गरिब नागरिकहरूको बढ्‌दो संख्याका लागि आवास तथा ढल निकासजस्ता तीनथुप्रा समस्याहरूको कुनै समाधान छजस्तो देखिंदैन। नता अपराध, बिग्रँदो वातावरण अथवा शहरी प्रदूषण निर्मूल पार्ने कुनै माध्यम नै कसैले भेट्टाएका छन्‌।

कसैकसैले सरकारले शहर विकासको निम्ति अझ धेरै पैसा खर्च गर्नुपर्छ भन्‍ने तर्क गर्छन्‌। तर अहिलेसम्म थुप्रै सरकारहरूले गरेको सम्पत्तिको प्रयोगसम्बन्धी उन्‍नति रेकर्डलाई ध्यान दिने हो भने शहरहरूको समस्या समाधान गर्नु भनेको चेक लेख्नु जत्तिकै सरल छ भनेर विचार गर्नु व्यवहारिक होला र? दशकौंअघि द डेथ एण्ड लाइफ अफ ग्रेट अमेरिकन सिटीज पुस्तकले यसो भनेको थियो: “हामीसित पर्याप्त पैसा भयो भने . . . गरिब बस्तीहरू सबै हटाउनसक्छौं . . . भन्‍ने गलत धारणा रहेको छ। तर हामीले सुरुमा सयौं करोड खर्च गरेर बस्तीहरू पुनर्निर्माण गऱ्‍यौं तर बदलामा के पायौं? निर्मूल पार्न खोजिएका गरिब बस्तीहरूभन्दा बढी अपराधिक गतिविधिका केन्द्रबिन्दु बनेका थोरै आम्दानी हुने आयोजनाहरू, सार्वजनिक सम्पत्तिको दुरुपयोग अनि सामाजिक नैराश्‍यता।” यी शब्दहरू साँचो साबित भइरहेका छन्‌।

तर पैसा समाधान होइन भने समाधान के हो त? शहर, भवन तथा सडकहरूले मात्र होइन, मानिसहरूले पनि बनिएका छन्‌ भनेर हामीले बिर्सनु हुँदैन। त्यसैले खासै भन्‍ने हो भने, शहरिया जीवन सुधार्न मानिसहरू आफै बदलिनुपर्छ। “नगरको महत्त्वपूर्ण अर्थतन्त्र भनेको मानिसको देखभाल र बौद्धिक विकास हो” भनेर द सिटी इन हिस्ट्री-मा लिविस ममफोर्डले बताए। अनि दुर्व्यसनी, वेश्‍यावृत्ति, प्रदूषण, वातावरणीय क्षय, सामाजिक असमानता, सार्वजनिक सम्पत्तिको दुरुपयोग, भित्तामा कोर्ने अनि त्यस्ता कुराहरू निर्मूल पार्न प्रहरीको संख्या बढाएर वा घरमा नयाँ रंग लगाएर मात्र पुग्दैन। मानिसहरूलाई तिनीहरूको सोचाइ तथा बानी व्यहोरामा आमूल परिवर्तन ल्याउन मदत गर्नुपर्छ।

व्यवस्थापनमा परिवर्तन

त्यस्तो आमूल परिवर्तन गर्नु मानव क्षमताबाहिरको कुरा हो। आजका शहरमा ती समस्याहरू समाधान गर्न जतिसुकै असल मनसाय राखेर प्रयास गरे पनि आखिरमा असफलता नै हात लाग्छ। तथापि, बाइबलका विद्यार्थीहरू निराश हुँदैनन्‌ किनभने तिनीहरू अहिलेका शहरहरूमा देखिएका समस्याहरू मानिसले हाम्रो ग्रहलाई राम्ररी सञ्चालन गर्न सक्दैन भन्‍ने कुराको थप एउटा उदाहरण मात्र हो भन्‍ने ठान्छन्‌। आजको अस्तव्यस्त अनि भद्रगोल शहरहरूले नाटकीय ढंगमा बाइबलको यर्मिया १०:२३ मा लेखिएका यी शब्दहरूलाई झनै जोड दिन्छन्‌: “मानिसहरूको मार्ग त्यो आफैमा छैन। आफ्नो पाइलालाई ठीक मार्गमा हिंडाउने शक्‍ति मानिसमा छैन।” मानिसले आफूलाई शासन गर्ने प्रयासहरूको परिणामस्वरूप धेरै दुःख आइपरेको छ। त्यस्ता समस्याहरू हाम्रा शहरहरूमा सजिलै स्पष्टसँग देख्न सकिन्छ।

तसर्थ, यस संसारका शहरबासीहरूले बाइबलको प्रकाश ११:१८ मा रेकर्ड गरिएको परमेश्‍वरले “पृथ्वीका नष्टकारीहरूलाई नष्ट” गर्नुहुनेछ भन्‍ने प्रतिज्ञाबाट सान्त्वना पाउन सक्छन्‌। यसले मानिसजातिको लागि सकारात्मक भविष्यतिर ध्यान केन्द्रित गर्छ। हाम्रो ग्रहको व्यवस्थापनलाई परमेश्‍वरले आफ्नो सरकार अर्थात्‌ राज्यको माध्यमबाट आफ्नो हातमा लिनुहुनेछ भनेर यसले प्रतिज्ञा गर्छ। (दानियल २:४४) अनि करोडौं मानिसहरूले कहालीलाग्दो गरिबी, बेघर र आधारभूत ढल निकास, सम्मान गुमाउने अथवा आशा साकार नहुने समस्याहरू भोग्नुपर्ने छैन। परमेश्‍वरको सरकार अन्तर्गत मानिसहरूले भौतिक सम्पन्‍नता, स्वस्थ शरीर अनि राम्रो आवासको आनन्द उठाउनेछन्‌।—यशैया ३३:२४; ६५:२१-२३.

त्यो नयाँ संसार मात्र आजका शहरहरूले भोगिरहेका समस्याहरूको वास्तविक समाधान हो। (g01 4/8)

[पृष्ठ ८, ९-मा भएको चित्र]

थुप्रै शहरी क्षेत्रहरूमा जीवनशैली सुधार्न मानिसहरू गम्भीरतासाथ जुटेका छन्‌

नेपल्स, इटाली

न्यु योर्क शहर, सं.रा.अ.

सिड्‌नी, अस्ट्रेलिया

[स्रोत]

SuperStock

[पृष्ठ १०-मा भएको चित्र]

परमेश्‍वरको नयाँ संसारले आजका शहरबासीहरूले भोगिरहेका समस्याहरूको समाधान गर्नेछ