सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आतंकवादको खतरा सामना गर्ने

आतंकवादको खतरा सामना गर्ने

आतंकवादको खतरा सामना गर्ने

सन्‌ १९८० दशकको अन्ततिर आतंकवाद कम भए जस्तो देखिन्थ्यो। तथापि, नयाँ किसिमको आतंकवाद देखिन थालेको छ। विशेष गरी, लागूऔषधको कारोबार, निजी व्यापार, व्यक्‍तिगत धनसम्पत्ति, चन्दा तथा स्थानीय आर्थिक सहयोगजस्ता आफ्नै आयस्रोत हुने आतंककारीको खतरा फैलिएको छ। अनि तिनीहरू अत्यन्तै निर्दयी हुन्छन्‌।

हालैका वर्षहरूमा अमानवीय आतंकवादी गतिविधि बढ्‌दै गइरहेको छ। न्यु योर्क शहरको विश्‍व व्यापार केन्द्रमा बम विस्फोट हुँदा ६ जना मानिस मारिनुका साथै लगभग १,००० जना घाइते भए। टोकियोको सबवेमा एउटा गुटले सारीन स्नायु ग्याँस प्रहार गर्दा १२ जनाको मृत्यु हुनुका साथै ५,००० भन्दा बढी घाइते भए। एक जना आतंककारीले ओक्लोहामा शहरको संघीय भवनमा ट्रक बम विस्फोट गरिदिंदा १६८ जना मानिस मारिए भने सयौं घाइते भए। पृष्ठ ४ अनि ५ को चार्टले देखाएअनुसार विभिन्‍न प्रकारका आतंककारी गतिविधिहरू अहिले धमाधम बढिरहेका छन्‌।

साधारणतया आतंककारीहरूले विगतमा भन्दा झन्‌ क्रूर व्यवहार देखाएको पाइन्छ। सन्‌ १९९५ मा ओक्लोहामा शहरको संघीय भवनमा बम प्रहार गर्ने अभियुक्‍तले आफूप्रति अत्यधिक ध्यानाकर्षण गराउन अझ “थुप्रै मानिसको हत्या गर्न” चाहेको कुरा बताए। सन्‌ १९९३ मा न्यु योर्क शहरको विश्‍व व्यापार केन्द्रमा गरिएको विस्फोटनको जिम्मेवार कट्टरपन्थी समूहका नेताले दुइटा विश्‍वप्रसिद्ध गगनचुम्बी भवनमध्ये एउटालाई अर्को भवनमाथि ढालेर त्यहाँ भएका सबै मानिसहरूलाई मार्ने इच्छा व्यक्‍त गरेका थिए।

आतंककारीहरूले प्रयोग गर्ने हातहतियारहरू पनि एकदमै अत्याधुनिक छन्‌। आतंकवादसम्बन्धी विशेषज्ञ लुइस आर. मिजेल, जेआर.-ले यसो भने: “हामीले कहिल्यै कल्पनासमेत नगरेको क्रोध तथा आणविक, रासायनिक तथा जैविक विनाशकारी हतियारहरूको युगमा हामी बाँचिरहेका छौं।” विध्वंश गर्न चाहने आतंककारीले सांघातिक हतियारहरू प्रयोग गर्दैछन्‌ जुन वर्तमान प्रविधिका नयाँ उपज हुन्‌।

शून्य र एक संख्याबाट आक्रमण

साइबरआतंकवादमा कम्प्युटर जस्तो अत्याधुनिक प्रविधिको समेत प्रयोग गरिन्छ। एउटा हतियार हो, कम्प्युटर भाइरस। यसले या त तथ्यांक सबै नष्ट गरिदिन्छ वा प्रणालीलाई कामै नलाग्ने बनाइदिन्छ। त्यस्तै “तर्क बम” पनि छन्‌, जसले कम्प्युटरलाई यसले गर्नै नसक्ने काम गराउन खोज्छ अनि त्यसपछि त कम्प्युटरले कामै गर्न छोड्‌छ। राष्ट्रको अर्थतन्त्र अनि सुरक्षा कम्प्युटर नेटवर्कहरूमा बढ्‌तै निर्भर हुँदा सर्वसाधारण जनताले त्यस्तो आतंकवादी आक्रमणको सिकार बन्‍नसक्ने खतरा बढी महसुस गर्छन्‌। अनि थुप्रै सेनासित आणविक युद्धको दौडानसमेत सञ्चारसम्बन्ध कायम राख्नसक्ने प्रणालीहरू उपलब्ध भए तापनि निजामती प्रणालीहरू जस्तै, विद्युत्‌ आपूर्ति, यातायात तथा वित्त बजारहरूचाहिं त्यति सुरक्षित छैनन्‌।

केही समयअघिसम्म मात्र पनि, आतंककारीले कुनै शहर मानौं बर्लिनमा विद्युत्‌ आपूर्ति बन्द गर्नुपऱ्‍यो भने उसले विद्युत्‌ कम्पनीमा जागिर खाएर विद्युत्‌ प्रणाली बिगार्नुपर्थ्यो। तर अहिले चाहिं कसैकसैको भनाइअनुसार एक जना दक्ष कम्प्युटर ह्‍याकरले संसारको कुनै पनि कुनाबाट घरमै बसिबसि आफूले चाहेको शहरको विद्युत्‌ आपूर्ति बन्द गर्न सक्छ।

हालैमात्र स्वीडेनबाट एक जना ह्‍याकरले फ्लोरिडाको कम्प्युटर प्रणालीमा घुसेर त्यहाँको आकस्मिक सेवाहरूलाई एक घण्टाको लागि बन्द गरिदिए। फलस्वरूप, प्रहरी, वारुणयन्त्र तथा एम्बुलेन्स सेवाले कुनै संकेतै पाएनन्‌।

“वास्तवमा भन्‍ने हो भने, हामीले प्रहरी विभागरहित विश्‍वव्यापी गाउँको सृजना गरेका छौं” भनी कूटनीति तथा अन्तरराष्ट्रिय अध्ययन केन्द्र (सी एस आइ एस) इन्फरमेसन वारफेयर टास्क फोर्सका निर्देशक फ्रान्क जे. सिल्युफोले बताए। सी एस आइ एस-कै वरिष्ठ सल्लाहकार रोबर्ट कुपरमनले सन्‌ १९९७ मा बताएअनुसार आतंककारीहरूले अत्याधुनिक प्रविधि प्रयोग गरे भने “अहिलेका कुनै पनि सरकारी निकायले तिनीहरूको आक्रमणबाट हुने सानो क्षतिको समेत सामना गर्नसक्ने छैनन्‌।”

केही विश्‍लेषकहरूले कम्प्युटर आतंककारीहरूसित सुरक्षा सैनिकहरूले प्रयोग गर्ने सुरक्षा सामग्रीभन्दा पनि शक्‍तिशाली प्राविधिक साधन हुनसक्ने विश्‍वास गरेका छन्‌। “ती शत्रुहरूले आफ्नो उद्देश्‍य पूरा गर्न चाहिने भाइरस हालेर अथवा कम्प्युटर प्रणाली प्रयोग गरेर भयंकर क्षति पुऱ्‍याउनसक्छ” भनी अमेरिकाका सेन्ट्रल इन्टेलिजेन्स एजेन्सिका प्रमुख जर्ज टिनेटले बताए।

रासायनिक पदार्थ अनि जीवाणुद्वारा आतंक

रासायनिक अनि जैविक हतियार पनि चिन्ता गर्नुपर्ने विषय नै हुन्‌। सन्‌ १९९५ को सुरुतिर टोकियोको सबवेमा आतंकवादीहरूले विषालु ग्याँसद्वारा आक्रमण गरेको सुनेर संसारै स्तब्ध भयो। त्यस घटनाको दोष यस संसारको विनाशमा विश्‍वास गर्ने गुटमाथि लगाइयो।

“आतंकवादले नयाँ रूप धारण गरेको छ” भनी सुरक्षा जाँचबुझ संस्थानका ब्राड रोबर्ट बताउँछन्‌। “पुराना आतंककारीहरू राजनैतिक अधिकार चाहन्थे। तर अहिले कुनैकुनै समूह आफ्नो मुख्य लक्ष्य आमहत्या गर्नु हो भन्छन्‌। त्यसो गर्न तिनीहरूले जैविक हतियारहरूको प्रयोग गर्न थालेका छन्‌।” के त्यस्तो हतियार पाउन गाह्रो छ? साइन्टिफिक अमेरिकन पत्रिका यसो भन्छ: “वियर बनाउने उपकरण अनि जीवाणुलाई बढ्‌न मदत गर्ने प्रोटिन तत्त्व, ग्याँस छेक्ने मुकुन्डो र प्लास्टिकको लुगा जस्ता सामान्य साधनहरू मात्र भए पनि कुनै पनि व्यक्‍तिले केही खतराविनै खरबौं जीवाणु पैदा गर्न सक्छ।” ती जीवाणुहरू तयार भइसकेपछि त्यसलाई फैलाउनु कुनै गाह्रो काम होइन। त्यसका सिकार हुनेहरूले त्यो हतियारद्वारा प्रहार गरिएको कुरा एक दुई दिन नबितुञ्जेल चालै पाउँदैनन्‌। अनि त्यतिञ्जेल निकै ढिला भइसकेको हुनसक्छ।

जैविक हतियारको रूपमा प्रयोग गरिने एउटा तत्त्व एन्थ्रेक्स पनि हो। यो रोग एन्थ्रेक्सले संक्रमण भएका जनावरहरूसित सम्पर्कमा आउँदा सर्छ र छालामा फोका उठ्‌छ। यसको प्रतिरक्षा गर्न योजना बनाउने योजनाकारहरू विशेष गरी एन्थ्रेक्सका कोषहरू मिसिएको हावामा सास फेर्दा फोक्सोमा संक्रमण हुनसक्ने कुरालाई लिएर बढी चिन्तित छन्‌। एन्थ्रेक्सको संक्रमणले थुप्रै मानिसको ज्यान लिन्छ।

एन्थ्रेक्स किन त्यस्तो प्रभावशाली जैविक हतियार भयो? किनभने त्यो जीवाणु खेती गर्न सजिलो छ र त्यसको प्रतिरोध क्षमता पनि धेरै छ। रुघाखोकी ज्वरो र थकान जस्ता यसका प्रथम लक्षणहरू केही दिनपछि मात्र देखापर्न थाल्छन्‌। त्यसपछि खोकी लाग्छ र छातीमा असजिलो महसुस हुन्छ। अनि सास फेर्न कठिनाइ पर्छ, हृदयघात हुन्छ र केही घण्टाभित्रै मृत्यु हुन्छ।

आतंककारीहरूको हातमा आणविक हतियार?

सोभियत संघको पतनपछि चोरिएका आणविक हतियारहरूले कालो बजारमा स्थान पाउला कि भनेर कसैकसैले सोचेका थिए। तथापि, थुप्रै विशेषज्ञ यस्तो घटना घट्‌नसक्छ भन्‍ने कुरामा शंका गर्छन्‌। माथि उल्लिखित रोबर्ट कुपरमनले “आतंककारीहरूको समूहले आणविक हतियार प्राप्त गर्न प्रयास गरेको कुनै प्रमाण छैन” भनी टिप्पणी गरे।

अहिलेको चिन्ताको विषय भनेको आणविक बम जस्तो प्रत्यक्षः नदेखिने तर प्राणघातक रेडियोएक्टिभ पदार्थ हो। यो विस्फोट हुँदैन। यसले बाहिरबाट देखिने गरी क्षति गर्दैन। बरु, यसले हाम्रा कोषहरूलाई मार्ने विकिरण छोड्‌छ। हड्डीका मासीहरूलाई त्यसले बढी क्षति पुऱ्‍याउँछ। ती कोषहरू मरेपछि रक्‍तस्राव अनि रोग प्रतिरोध क्षमता नाश हुनुका साथै अरू थुप्रै प्रतिकूल असरहरू हुन्छन्‌। रासायनिक हतियारहरूको प्रभाव अक्सिजन तथा चिसोको सम्पर्कमा आउने बित्तिकै कम हुनथाल्छ भने रेडियोएक्टिभ पदार्थले वर्षौंसम्म सताइरहन्छ।

ब्राजिलको दक्षिणी केन्द्रको शहर, गोइयानियामा घटेको एउटा दुर्घटनाले यस विकिरणको प्रभाव कत्तिको प्राणघातक हुनसक्छ भनेर देखाउँछ। सन्‌ १९८७ मा एक जना मानिसले फ्याँकेको एउटा चिकित्सा सामग्रीमा जोडिएको बट्टा खोले। त्यस बट्टाभित्र सेसियम-१३७ थियो। त्यस ढुंगाको निलो चमक देखेर दंग परेका उक्‍त व्यक्‍तिले आफ्ना साथीहरूलाई पनि देखाए। यसको एक हप्ता बित्न नपाउँदै यसले असर गरेका व्यक्‍तिहरू स्थानीय स्वास्थ्य चौकीमा आउन थाले। संक्रमण पत्ता लगाउन हजारौंको स्वास्थ्य परीक्षण गरियो। लगभग सय जना जति बासिन्दाहरू बिरामी भए। पचास जनालाई अस्पतालमा भर्ना गर्नुपऱ्‍यो र चार जनाको त मृत्यु नै भयो। त्यो सेसियम जानी जानी छरेको भए झन्‌ कस्तो विध्वंश हुन्थ्यो होला भनेर सोच्दा मात्र पनि आतंकवाद विरोधी विशेषज्ञहरूको आङ सिरिंङ हुन्छ।

चर्को मोल

आतंकवादको सबैभन्दा प्रस्टै देखिने परिणाम मानव जीवनको क्षति हो। तर यसको असर यति मात्र होइन। आतंकवादले संसारमा अशान्ति मच्चिरहेका ठाउँहरूमा शान्ति स्थापना गर्ने प्रक्रियालाई कि त खत्तमै पार्छ होइन भने ढिला गरिदिन्छ। यसले वैमनस्यता उत्पन्‍न गर्छ, बढाउँछ अर्थात्‌ जरा गाड्‌छ अनि हिंसाको चक्रलाई अझ तीव्र गति दिन्छ।

आतंकवादले राष्ट्रिय अर्थतन्त्रमा पनि गहिरो धक्का पुऱ्‍याउँछ। सरकारहरू यसको प्रतिकार गर्न प्रशस्त समय तथा स्रोतसाधन खर्च गर्न बाध्य हुन्छन्‌। उदाहरणका लागि, सन्‌ २००० मा संयुक्‍त राज्यमा मात्रै आतंकवाद विरोध गतिविधिका लागि दस अरब अमेरिकी डलरभन्दा बढी खर्च गर्नुपऱ्‍यो।

चाहे हामीले महसुस गरेका होऔं वा नहोऔं, आतंकवादले हामी सबैलाई असर गर्छ। यसले हाम्रो यात्रा गर्ने बाटो अनि यात्रा गर्ने ठाउँको छनौटमा ठूलो प्रभाव पार्छ। यसले गर्दा संसारभरिका राष्ट्रहरू करबाट उठेको ठूलो रकम समाजका प्रतिष्ठित व्यक्‍तिहरू, आधारभूत मेसिनहरू राखिएका प्रतिष्ठान तथा नागरिकहरूको सुरक्षाका लागि खर्च गर्न बाध्य हुन्छन्‌।

त्यसैले यो प्रश्‍न यथावतै छ, के आतंकवादको कुनै अनन्त समाधान छ? यसबारे अर्को लेखमा छलफल गरिनेछ। (g01 5/22)

[पृष्ठ ७-मा भएको पेटी/चित्र]

पर्यावरणको नाउँमा आतंकवाद

“वातावरण तथा वन्यजन्तु बचाउने निहुँमा घरमा आगो लगाउने, बम प्रहार गर्ने तथा तोडफोड गर्ने” नयाँ प्रकारको आतंकवाद फैलिएको छ भनी ओरेगोनियन पत्रिका रिपोर्ट गर्छ। यी विनाशकारी कार्यहरूलाई पर्यावरणीय आतंकवाद भनिन्छ। सन्‌ १९८० देखि संयुक्‍त राज्यको पश्‍चिमी भागमा यस्ता सयौं ठूलठूला आतंकहरू भइसके जसले गर्दा ४ करोड २८ लाख अमेरिकी डलरको क्षति भइसकेको छ। रूख ढाल्ने, मनोरञ्जन गर्न निर्जन क्षेत्रको प्रयोग गर्ने अथवा भुवा, भोजन वा अनुसन्धानको लागि जनावरहरूको उपयोग गर्ने कार्यहरूमा अवरोध खडा गर्ने मनसायले त्यस्ता आतंकहरू गरिन्छन्‌।

यस्ता कार्यहरूलाई आतंकवादी गतिविधिको रूपमा हेरिन्छ किनभने यसमा कुनै व्यक्‍ति वा संस्थाको क्रियाकलापमा परिवर्तन ल्याउन वा सार्वजनिक नीतिहरूमा हेरफेर गराउन हिंसात्मक कार्यहरू गरिन्छ। पर्यावरणीय आतंककारीहरूले प्रायजसो व्यक्‍तिविशेष वा संस्थानहरूमा राती आक्रमण गरेर सबै कुरा ध्वस्त पार्छन्‌ र खरानीको थुप्रोबाहेक कुनै पनि सुराक नछोडि अन्वेषकहरूलाई हताश तुल्याउँछन्‌। केही वर्षअघिसम्म वातावरणीय सुरक्षाको नाउँमा गरिने अपराधहरू सीमित थिए, स्थानीय तवरमा मात्र त्यसको असर पर्थ्यो र त्यसले धेरैको ध्यानाकर्षण गर्दैनथ्यो। तर हालैका वर्षहरूमा यसले थुप्रै ठाउँमा त्यस्ता आक्रमणहरू गर्न थालेका छन्‌। “यस्तो परिवर्तन चाहनुको कारणप्रति ध्यानाकर्षित गर्नु नै तिनीहरूको मुख्य लक्ष्य हो” भनी संयुक्‍त राज्य वनजंगल सेवा अनुसन्धानकर्ता तथा विशेष प्रतिनिधि जेम्स एन. डामीसीयोले बताए। “अनि तिनीहरूले आफ्नो कार्यद्वारा अरूको ध्यानाकर्षण गर्न नसक्दा अरू नै कार्य गर्छन्‌।”

[पृष्ठ १०-मा भएको पेटी/चित्र]

आतंकवाद र सञ्चार माध्यम

“इमान्दार मानिसहरू विरुद्ध आतंक फैलाउनेहरूले कुनै समय राजनैतिक उद्देश्‍य प्राप्त गर्न वा त्रास फैलाउन आफ्नो प्रमुख लक्ष्य तथा हतियारको रूपमा सञ्चार माध्यममार्फत प्रचारप्रसार गर्थे” भनी लेबनानका आतंकवादीहरूले करिब ७ वर्षसम्म बन्दी बनाएका पत्रकार टेरी एन्डरसन बताउँछन्‌। “नेताहरूको अपहरण, हत्या अथवा प्राणघातक बम प्रहार गरिएको रिपोर्ट छापिनु नै आतंककारीहरूले आफ्नो प्रथम विजय ठान्छन्‌। यस्ता आतंकहरूमा विश्‍वले ध्यान दिएन भने, यसको कुनै महत्त्व हुँदैन।”

[पृष्ठ ९-मा भएको चित्र]

१. इजराएलको जेरूशलेममा आत्मघाती बम विस्फोट

२. जातीय आतंकवादीहरूले श्रीलंकाको कोलोम्बोस्थित बैंकमा बम पड्‌काउँछन्‌

३. केन्याको नाइरोबीमा कार बम विस्फोट

४. रूसको मस्कोमा बम विस्फोटनमा परेकाहरूको आफन्त

[स्रोत]

Heidi Levine/Sipa Press

A. Lokuhapuarachchi/Sipa Press

AP Photo/Sayyid Azim

Izvestia/Sipa Press