सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आतंकवादले नयाँ रूप धारण गर्छ

आतंकवादले नयाँ रूप धारण गर्छ

आतंकवादले नयाँ रूप धारण गर्छ

यो पत्रिकाले यसअघि आतंकवादबारे लेख्दा यसको आवरण पृष्ठमा चिरपरिचित चित्र छापेको थियो। त्यो बन्दुक बोकिरहेका नकाबधारी हत्याराहरूको पछिल्तिर शक्‍तिशाली बम विस्फोट भएको चित्र थियो। तथापि, अहिलेको चित्र भने बेग्लै छ।

मिरमिरे उज्यालोमा ट्रकहरूको ताँती बस्तीहरू हुँदै गुड्‌छन्‌ अनि एउटा स्कूलको भवन नजिकै पुगेर रोकिन्छन्‌। तुरुन्तै, विषालु ग्याँस नछिर्ने मुकुन्डो अनि रासायनिक पदार्थबाट पनि क्षति नपुग्ने पोसाक पहिरेका विशेष प्रशिक्षण प्राप्त दल, झारहरू पन्छाउँदै अघि बढ्‌छन्‌। तिनीहरूलाई केवल यति थाह छ कि उक्‍त स्कूलको रंगशालामा खेलकुद प्रतियोगिता भइरहेको बेला एउटा सानो विस्फोटक पदार्थ पड्‌केर त्यसको धूवाँले अनगिन्ती दर्शकहरूलाई उकुसमुकुस बनाएको थियो। त्यहाँका स्थानीय आकस्मिक कर्मचारीहरूको सहयोग लिएर उक्‍त घटनाबारे बुझ्न चार जना मानिस त्यस विषाक्‍त क्षेत्रमा होसियारीसाथ प्रवेश गर्छन्‌। त्यसबाट के निस्केको रहेछ? एन्थ्रेक्स? स्नायु ग्याँस?

ती मानिसहरू रासायनिक परीक्षण सामग्रीहरू लिएर रंगशालातिर बिस्तारै जान्छन्‌। तिनीहरू एउटा सानो कोठामा पुग्छन्‌ र त्यहाँ उक्‍त विस्फोटक पदार्थका बाँकी टुक्राटाक्री भेट्टाउँछन्‌। त्यो ग्याँस ठम्याउने सूक्ष्मयन्त्र चलाउने र गह्रौं वस्तुहरू हटाउने काम निकै जटिल छ।

तुरुन्तै तिनीहरूको मुकुन्डोभित्र पनि धूँवा छिर्न थाल्छ। प्रशिक्षण प्राप्त मानिसहरूका लागि समेत यो कुनै सजिलो काम होइन। तर, दस मिनेट पनि नबित्दै त्यहाँ बाँकी टुक्रा के रहेछ भनेर पत्ता लाग्यो। तिनीहरूसितै गएका रसायनविद्‌ले किटेरै यसो भने, “यो एन्थ्रेक्सनै हो, यसमा कुनै सन्देह छैन।”

आतंकवादको बदलिंदो रूप

यो घटना सुन्दा जति डरलाग्दो छ त्यति डरलाग्दो थिएन। किनभने यो विषालु ग्याँसको आक्रमण हुँदा त्यो दल कत्तिको सक्षम हुनेछ भनी जाँच्न न्यु योर्कको उत्तरी इलाकामा गरिएको अभ्यास मात्र थियो। यस्ता दलहरू आम विनाशमा चलाइने हतियारहरू विरुद्ध सुरक्षाका लागि सरकारलाई सहयोग गर्न हालै मात्र गठन गरिएका हुन्‌। त्यस्ता दलहरूलाई शंकास्पद जीवाणु, रसायन अथवा रेडियोएक्टिभ पदार्थहरूको परीक्षण गरेर आतंककारीहरूले आक्रमणको लागि अपनाउनसक्ने नयाँ तरिकाहरू कुन हदसम्म हानिकारक अनि खतरनाक हुनसक्छ भनेर पत्ता लगाउन खटाइएको हुन्छ।

आतंकवादी गतिविधिको बदलिंदो रूपले उब्जाएको डर अनि चुनौतीहरूको सामना गर्न संसारभरि गठन गरिएका थुप्रै दलहरूमध्ये यो पनि एक हो। a हालैका वर्षहरूमा घटेका घटनाहरूले देखाएअनुसार स्वाधीन समूह वा एकल कट्टरपन्थीले फैलाउने आतंक बढ्‌दो छ। थुप्रै आतंककारीले अझै पनि सैनिक अखडा अनि राजदूतावासलाई आफ्नो निशाना बनाउने भए तापनि कसैकसैले आफ्नो आक्रमणको सूचीमा कम सुरक्षित स्थानहरू जस्तै, यातायात मार्ग, खेलकुद प्रतियोगिता, व्यस्त शहर, होटेल अनि पर्यटकीय स्थलहरूलाई पनि समावेश गरेका छन्‌।

आतंककारीको व्यवहारमा आएको यस्तो परिवर्तनलाई ठोकुवा गर्दै संयुक्‍त राज्य अमेरिकाको प्रतिनिधि सभाको सूचना केन्द्रका अध्यक्ष पोर्टर गसले यसो भने: “आतंकवादलाई सरकारले समर्थन गरेको हुन्छ भन्‍ने हाम्रो पुरानो सोचाइलाई परिवर्तन गर्नु परेको छ। अहिले कुनै उद्देश्‍य प्राप्तिको लागि मानिसहरूले समर्थन गर्ने आतंकवादको बढ्‌दो चुनौती सामना गर्नु परिरहेको छ।”

नयाँ रूप धारण गरेको आतंकवादले रोक्न वा प्रतिरोध गर्न समेत धौ धौ पार्ने गतिविधि तथा कूटनीति अपनाइरहेको छ। थुप्रै आतंककारीले नयाँ प्रविधिको प्रयोग गर्न र आफ्ना लागि पुँजी जुटाउन सक्षम भएका छन्‌। यु एस ए यस्तो रिपोर्ट गर्छ: “नयाँ कम्प्युटर र सञ्चार प्रविधिहरू तथा नियोजित अपराधसितको सम्बन्धले गर्दा आतंकवाद हटाउन झनै कठिन भएको छ।” यस नयाँ रूपमा नौलो प्रकारका निशानाहरू पनि समावेश छन्‌। त्यसैले, रिपोर्टरहरू तथा समाचार विश्‍लेषकहरू “साइबरआतंक,” “जैविकआतंक” अनि “पर्यावरणीयआतंक” जस्ता नयाँ शब्दहरू सृजना गर्न बाध्य भएका छन्‌।

आतंकवादको यो नयाँ रूप कत्तिको भयानक छ? के तपाईंको व्यक्‍तिगत सुरक्षा खतरामा छ? के अन्तरराष्ट्रिय आतंकवादको विपत्तिको कुनै समाधान छ? आउँदा लेखहरूले यी प्रश्‍नहरूको जवाफ दिनेछन्‌। (g01 5/22)

[फुटनोट]

a आतंकवाद किन गरिन्छ भन्‍नेबारे विभिन्‍न मतभिन्‍नताहरू पाइन्छन्‌। उदाहरणका लागि, गृह कलहद्वारा विभाजित देशहरूमा ठाउँको मागअनुसार एउटा गुटले अर्कोको विरुद्ध गरेका हिंसात्मक गतिविधिलाई वैध युद्ध पनि ठानिनसक्छ र आतंकवादको रूपमा पनि हेरिन सक्छ। तसर्थ, यस श्रृंखलाबद्ध लेखमा चाहिं “आतंकवाद” शब्दले बलजफ्तीसँग आफ्नो माग पूरा गराउने उद्देश्‍यले हिंसा गर्नु भन्‍ने जनाउँछ।

[पृष्ठ ४, ५-मा भएको पेटी/नक्सा]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

आतंकवादको दशक

१. ब्युनस आयर्स, अर्जेन्टिना

मार्च १७, १९९२

कार बमले इजराएली राजदूतावास ध्वस्त पाऱ्‍यो। मृतक संख्या: २९ घाइते: २४२

२. अल्जियर्स, अल्जेरिया

अगस्त २६, १९९२

अन्तरराष्ट्रिय विमानस्थलमा बम विस्फोट हुन्छ। मृतक संख्या: १२ घाइते: कम्तीमा १२८ जना

३. न्यु योर्क शहर, संयुक्‍त राज्य

फेब्रुअरी २६, १९९३

धार्मिक कट्टरपन्थीहरूद्वारा विश्‍व व्यापार केन्द्रमा शक्‍तिशाली बम विस्फोट। मृतक संख्या: ६ घाइते: लगभग १,०००

४. मात्सुमोटो, जापान

जून २७, १९९४

अम सिनरिक्यो समूहका सदस्यहरूद्वारा आवासीय क्षेत्रमा सारीन ग्याँस प्रहार। मृतक संख्या: ७ घाइते: २७०

५. टोकियो, जापान

मार्च २०, १९९५

टोकियो सबवे ट्रेनहरूमा अम स्रिन्रीक्योका सदस्यहरूले छवटा पोकाबाट विषालु सारीन खुला हावामा छरे। मृतक संख्या: १२ घाइते: ५,००० भन्दा बढी

६. ओक्लाहोमा शहर, संयुक्‍त राज्य

अप्रिल १९, १९९५

संघीय भवनमा ट्रक बम विस्फोट। उग्रवादीहरूलाई दोष लगाइयो। मृतक संख्या: १६८ घाइते: ५०० भन्दा बढी

७. कोलम्बो, श्रीलंका

जनवरी ३१, १९९६

जनजातीय आतंककारीहरूले विस्फोटक पदार्थले टन्‍न भरिएको ट्रक बैंकभित्रै विस्फोट गरे। मृतक संख्या: ९० घाइते: १,४०० भन्दा बढी

८. लण्डन, बेलाइत

फेब्रुअरी ९, १९९६

आइरिश आतंककारीहरूले पार्किङ ग्यारेजभित्र बम पड्‌काए। मृतक संख्या: २ घाइते: १०० भन्दा बढी

९. जेरूशलेम, इजराएल

फेब्रुअरी २५, १९९६

आत्मघाती बम विस्फोटद्वारा बस ध्वस्त। धार्मिक कट्टरपन्थीहरूमाथि शंका। मृतक संख्या: २६ घाइते: लगभग ८० जना

१०. देहरान, साउदी अरब

जून २५, १९९६

प्रज्वलनशील पदार्थ ढुवानी गर्ने ट्रकमा राखेर ल्याएको बम सं.रा. सैनिक आवासीय भवनबाहिर विस्फोट भयो। मृतक संख्या: १९ घाइते: ५१५

११. न्होम पेन्ह, कम्बोडिया

मार्च ३०, १९९७

आक्रमणकारीहरूले प्रदर्शनकारीहरूको भीडमा चारवटा हाते बम फ्याँके। मृतक संख्या: कम्तीमा १६ घाइते: १०० भन्दा बढी

१२. कोइम्बटोर, भारत

फेब्रुअरी १४, १९९८

धार्मिक आक्रमणकारीहरूद्वारा एकपछि अर्को बम विस्फोट गरियो। मृतक संख्या: ४३ घाइते: २००

१३. नाइरोबी, केन्या र दार ए सलाम, तान्जेनिया

अगस्त ७, १९९८

बमले सं.रा.-का राजदूतावासहरूलाई ध्वस्त पाऱ्‍यो। मृतक संख्या: २५० घाइते: ५,५०० भन्दा बढी

१४. कोलम्बिया

अक्टोबर १८ र नोभेम्बर ३, १९९८

बम र क्षेप्यास्त्रद्वारा प्रहार। पहिलो आक्रमणमा तेलको पाइपलाइनलाई निशाना बनाइयो। मृतक संख्या: २०९ घाइते: १३० भन्दा बढी

१५. मस्को, रूस

सेप्टेम्बर ९ र १३, १९९९

दुइटा भयंकर विस्फोटले दुइटा आवास भवन ध्वस्त हुन्छ। मृतक संख्या: २१२ घाइते: ३०० भन्दा बढी

[स्रोत]

Source: The Interdisciplinary Center, Herzliya, Israel

Mountain High Maps® Copyright © 1997 Digital Wisdom, Inc.

Victor Grubicy/Sipa Press

[पृष्ठ ६-मा भएको पेटी/चित्र]

साइबरआक्रमण

मार्च १९९९: रिपोर्टहरूले देखाएअनुसार पेन्टागन कम्प्युटरहरूलाई “नियोजित अनि संगठित” रूपमा अवैध ढंगले प्रयोग गर्न खोज्नेहरूको कुनै कमी छैन। संयुक्‍त राज्य सुरक्षा विभागका कम्प्युटर प्रणालीहरूमा खराब नियत भएका कम्प्युटर विशेषज्ञहरू अर्थात्‌ ह्‍याकरहरूले दिनहुँ ६० देखि ८० चोटिसम्म बिगार्न खोजेको रेकर्ड गरिएको छ।

सन्‌ १९९९ को बीचतिर: संयुक्‍त राज्यको संसद, जाँचबुझ आयोग, अमेरिकी सेना, ह्वाइट हाउस तथा अन्य मन्त्रालयका विभागहरूद्वारा खोलिएका वेब पेजहरूलाई सरकार विरोधी ह्‍याकरहरूले तीन महिनासम्म अवैध ढंगमा प्रयोग गरे।

जनवरी २०००: विश्‍वव्यापी तवरमा हेर्ने हो भने, गत वर्ष हानिकारक भाइरसहरू फैलाएर गरिएको “आर्थिक आतंक” विरुद्ध लड्‌न व्यापारिक संगठनहरूले १२ अरब १० करोड अमेरिकी डलर खर्च गरेको रिपोर्ट गरिएको छ।

अगस्त २०००: संयुक्‍त अधिराज्यमा ह्‍याकर सरकारी-निकाय तथा स्थानीय-अधिकारीको वेब साइटमा घुसे।