सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

टेलिफोन सम्पर्क—कसरी हुन्छ?

टेलिफोन सम्पर्क—कसरी हुन्छ?

टेलिफोन सम्पर्क—कसरी हुन्छ?

जापानका ब्यूँझनुहोस्‌! लेखकद्वारा

मानिसहरूको जनसंख्या जति छ त्यतिनै टेलिफोन भएको ठाउँ जापानमा हरेक दिन ३० करोडभन्दा बढी चोटि टेलिफोन गरिन्छ। जापानमा अन्तरराष्ट्रिय कलहरू पनि १० लाख जति आउँछन्‌ र त्यत्तिकै संख्यामा जापानबाट अरू मुलुकमा पनि गरिन्छ।

तपाईं पनि साधारण टेलिफोन (तारले जोडिएको) अथवा सेलुलर हरेक दिन प्रयोग गर्नुहुन्छ होला। यो संसार जतिजति आधुनिकीकरणतर्फ अघि बढ्‌दै छ, त्यत्तिनै अर्को महादेशमा बसिरहेको मानिसलाई फोन गर्नु पनि थुप्रैको लागि सामान्य दिनचर्या भएको छ। तर तपाईंले फोन गर्नुभएको व्यक्‍तिसित कसरी वार्तालाप गर्न सम्भव भयो, के तपाईंले कहिल्यै सोच्नुभएको छ?

टेलिफोन नेटवर्कमार्फत जोडिएको

सर्वप्रथम, तपाईंको टेलिफोन, टेलिफोन नेटवर्कमा जोडिएको हुनुपर्छ। साधारण टेलिफोनको तार, घरमा राखिएको मुख्य ज्याक अथवा जङसन बक्समा जोडिएको हुन्छ। a अझै तारलाई हेर्दै जाने हो भने यो विद्युतीय खम्बा अथवा जमिनमुनि राखिएको केबुलसित जोडिएको हुन्छ र त्यो केबुल पनि स्थानीय टेलिफोन कार्यालयको टेलिफोन एक्सचेन्जमा पुग्छ। त्यहाँबाट यो एक्सचेन्ज अर्को ठूलो एक्सचेन्जमा जोडिन्छ र यसरी एउटा टेलिफोन नेटवर्क बन्छ। त्यसैले, तपाईंले आफ्नै शहरको साथीलाई फोन गर्नुहुँदा तपाईंहरूको टेलिफोनबीच नेटवर्कको माध्यमबाट ध्वनि प्रवाह हुन्छ।

सेलुलर फोन नि? तिनीहरू कसरी जोडिन्छन्‌? यसमा पनि साधारण टेलिफोनको जस्तै सिद्धान्त लागू हुन्छ। रेडियो तरंग भनिने अदृश्‍य “तार”-ले तपाईंको सेलुलर फोनलाई टेलिफोन नेटवर्कमा जोडिएको नजिकैको मोबाइल टेलिफोन स्वीचिङ कार्यालयसित जोड्‌छ। तर अर्कै महादेशमा बसिरहेको मानिससित कुराकानी गर्दा नि?

केबुलहरू महासागरको वारपार

महासागरबाट छुट्टिएका दुई महादेशहरूलाई केबुलद्वारा जोड्‌नु कुनै चानचुने योजना होइन। यसको लागि हजारौं किलोमिटर लामो केबुल समुद्रमुनि अनि सामुद्रिक सुरुङ र पहाडहरूमुनि बिछाउनुपर्छ। तथापि, यसरी नै अन्तर महादेशीय दूरसञ्चारको सुरुआत भएको थियो। सन्‌ १९५६ मा सबैभन्दा पहिलो आन्ध्र महासागर पार जोड्‌ने टेलिफोनको केबुल पानीमुनि बिछाउन सिद्धिएको थियो। b यसले स्कटल्याण्ड र न्युफाउन्डल्याण्डलाई जोड्यो र यसमा ३६ वटा टेलिफोन सर्किटहरू थिए। जापान र हवाइबीच पहिलो प्रशान्त महासागरीय केबुल १९६४ मा बिछ्याइएको थियो। त्यस केबुलमार्फत १२८ वटा टेलिफोन सर्किट जडान गरिएको थियो। अरू थुप्रै केबुल समुद्रमुनि जोड्‌ने काम कायमै रह्‍यो र त्यसले महादेशहरू अनि टापुहरूलाई जोड्यो।

फोनको लागि महासागरको पींधमा कस्ता केबुलहरू बिछाइन्छन्‌? सुरुसुरुमा प्रायजसो सुचालक तामाको तार र खोलको रूपमा तामा अथवा आल्मुनियम राखेर बनाइएको कोएक्जिएल केबुल प्रयोग गरिन्थ्यो। त्यस्तो कोएक्जियल केबुल अन्तिम पटक १९७६ सालमा बिछ्याइएको थियो र यसमा ४,२०० ध्वनि प्रवाह प्रसारण गर्नसक्ने क्षमता थियो। तथापि, १९८० को दशकमा फाइबरअप्टिक केबुल उपलब्ध भयो। यसप्रकारको पहिलो केबुल महादेशहरूबीच १९८८ मा बिछ्याइयो र डिजिटल प्रविधिको प्रयोगद्वारा यसले एकैपल्टमा ४०,००० टेलिफोन वार्तालाप प्रसारण गर्नसक्थ्यो। त्यसबेलादेखि केबुलहरूको क्षमता बढाइएको छ। आन्ध्र महासागरमा बिछ्याइएका केही केबुलहरूले २० करोड टेलिफोन सर्किट प्रसारण गर्नसक्छ!

दूरसञ्चारका केबुलहरू कसरी पानीमुनि बिछाइन्छ? यिनीहरूलाई समुद्रको पींधमा बिछाइन्छन्‌ र पींधै पींधबाट पारि लगिन्छ। समुद्र किनारमा चाहिं केबुललाई बलियो खोलभित्र बन्द गरेर टाढैबाट सञ्चालित उपकरणद्वारा सुरुङभित्र बिछाइन्छ। त्यो बलियो खोलले केबुललाई लंगुर अथवा जालबाट हानि नोक्सानी हुनदेखि जोगाउँछ। त्यसैले, तपाईंले अर्को महादेशको साथीलाई फोन गर्नु हुँदा तपाईंको आवाज समुद्रमुनिबाट यस्तै केबुलमार्फत जान्छ।

अदृश्‍य केबुलहरूले टाढाका ठाउँहरूलाई जोड्‌छन्‌

तथापि, महादेश अनि टापुहरूसित सम्पर्क राख्ने माध्यम पानीमुनि बिछाइएको केबुल मात्र होइन। अदृश्‍य “तार” अर्थात्‌ रेडियो तरंग पनि सामान्यतया प्रयोग गरिन्छ। यसप्रकारको तरंगलाई माइक्रोवेभ पनि भनिन्छ र यसले अन्तरराष्ट्रिय दूरसञ्चारलाई जोड्‌छ। माइक्रोवेभ प्रकाशको सानो किरणझैं सीधा जाने भएकोले यसले आफ्नो मार्गमा पर्ने ठाउँसित मात्र सम्पर्क राख्नसक्छ। पृथ्वी वक्राकार भएको हुनाले यस ग्रहको ठीक पछिल्तिर सीधै सम्पर्क गर्न सकिंदैन। त्यस्तो टाढाको ठाउँसँग सम्पर्क राख्न भूउपग्रह सञ्चारमाध्यम प्रयोग गर्नुपर्ने हुन्छ।

भूमध्यरेखाबाट समकोण भएर ३५,८०० किलोमिटर माथि जियोस्टेशनरी अक्ष भनेर चिनिने ठाउँमा भूउपग्रह रहँदा पृथ्वी र यस भूउपग्रहको परिक्रमा गर्ने समय लगभग एउटै अर्थात्‌ २४ घण्टाकै हुन्छ। तसर्थ, यो धेरैजसो पृथ्वीको उही अक्षमा रहिरहन्छ। भूउपग्रहले पृथ्वीको एक तिहाइ भाग ढाक्छ। त्यसैले, उक्‍त क्षेत्रभित्र पर्ने माइक्रोवेभ पठाउने र प्राप्त गर्ने पृथ्वीका स्टेशनहरूले भूउपग्रहसित सञ्चार कायम गर्नसक्छ। उसोभए, भूउपग्रहको माध्यमबाट दुइटा धेरै टाढाटाढाको ठाउँबीच कसरी सम्पर्क राख्न सकिन्छ त?

भूउपग्रहले ढाकेको ठाउँभित्र पर्ने पृथ्वीको स्टेशनले माइक्रोवेभ संकेत त्यसमा पठाउँछ। यसलाई अपलिंक भनिन्छ। त्यो तरंग प्राप्त गरेपछि भूउपग्रहमा राखिएको रेडियो रिपिटर अथवा ट्रान्सपोन्डरले उक्‍त फ्रिक्वेन्सीलाई अर्कैतिर मोड्‌छ र पृथ्वीको अर्को भागमा रहेको स्टेशनले ती संकेतहरू प्राप्त गर्छन्‌। यसलाई डाउनलिंक भनिन्छ। यसरी सीधै सञ्चार सम्बन्ध कायम गर्न नसकिने पृथ्वीको दुई कुनामा रहेका स्टेशनहरूलाई भूउपग्रहको अदृश्‍य तारले जोड्‌छ।

अर्ली बर्ड भनेर समेत चिनिने पहिलो व्यापारिक सञ्चार भूउपग्रह INTELSAT 1, सन्‌ १९६५ मा प्रक्षेपण गरिएको थियो। अहिले झन्डै २०० वटा जति सञ्चार कायम गर्ने भूउपग्रहहरू छन्‌ र तीमध्ये धेरैजसो जियोस्टेशनरी कक्षमा रहन्छन्‌। यिनीहरूले संसारका विभिन्‍न ठाउँहरूबीच सम्पर्क स्थापित गरिरहेका छन्‌। यी भूउपग्रहहरू अन्तरराष्ट्रिय दूरसञ्चारको लागि मात्र नभई टेलिभिजन ब्रोडकास्टिङ, मौसम पूर्वानुमान गर्न अनि अन्य उद्देश्‍यका लागि पनि प्रयोग गरिन्छन्‌। थुप्रै ट्रान्सपोन्डर रहेका त्यस्ता भूउपग्रहमा थुप्रै च्यानल प्रसारण गर्नसक्ने सर्किट हुन्छ। उदाहरणका लागि, अर्ली बर्डले एउटा टेलिभिजन च्यानल अथवा एकैपल्टमा २४० वटा टेलिफोन सर्किट प्रसारण गर्नसक्छ। सन्‌ १९९७ देखि सञ्चालन हुन थालेको INTELSAT VIII ले तीनवटा टेलिभिजन च्यानल र बढीमा १,१२,५०० टेलिफोन सर्किट एकैपल्टमा प्रसारण गर्नसक्छ।

के तपाईं बताउन सक्नुहुन्छ?

यी सम्पूर्ण परिवर्तनहरूले गर्दा अन्तरराष्ट्रिय टेलिफोन कलको मूल्य एकदमै कम भएको छ। अब त सायद तपाईं अर्कै महादेशमा रहेका आफ्ना साथी वा परिवारका सदस्यहरूसित धेरै चोटि कुरा गर्न सक्नुहुन्छ होला। त्यसबेला पानीमुनि बिछ्याइएका केबुल वा भूउपग्रहमध्ये कुनचाहिं माध्यमबाट कुरा गर्दै हुनुहुन्छ भन्‍ने कुरा तपाईं कसरी बताउन सक्नुहुन्छ?

भूउपग्रहको माध्यमबाट अदृश्‍य तार (जसमा अपलिंक र डाउनलिंक पनि समावेश छ) ७०,००० किलोमिटर टाढासम्म पुग्नसक्छ। त्यो दूरी पृथ्वीलाई दुई फन्का मार्न पुग्छ। माइक्रोवेभ प्रकाशको गतिमा जाने भए तापनि भूउपग्रहको माध्यमबाट पृथ्वीको एक स्टेशनबाट अर्कोमा पुग्न यसलाई झन्डै १/४ सेकेन्ड लाग्छ। यसको अर्थ, तपाईंको आवाज अर्को व्यक्‍तिकहाँ १/४ सेकेन्डपछि मात्र पुग्छ र अर्कोतिरबाट आउन पनि त्यत्तिनै समय लाग्छ। यसरी, जम्मा आधा सेकेन्डको अन्तर हुन्छ। यसबारे भने तपाईंले दिनदिनै कुरा गर्नु हुँदा अर्कोतिरबाट आवाज आएकै बेला तपाईं पनि बोलिरहनुभएको हुनेछ। यस्तो अनुभव गर्नु हुँदा तपाईंले भूउपग्रहमार्फत कुरा गर्नुभएको हो भनेर थाह पाउन सक्नुहुन्छ। तथापि, अर्कोपल्ट त्यही नम्बरमा कल गर्दाचाहिं त्यस्तो समयको अन्तर नै नहुनसक्छ। यसो हुनुको कारण यसपल्ट तपाईंले पानीमुनि बिछ्याइएका फाइबरअप्टिक केबुलमार्फत सम्पर्क गर्नुभएकोले हो। अर्को ठाउँमा यी दुईमध्ये कुन तरिकाबाट तपाईंको सम्पर्क हुने हो, त्यसबारे हामीले देख्न नसकिने जटिल टेलिफोन नेटवर्कले निर्धारण गर्छ।

पानीमुनि बिछ्याइएका केबुल, पृथ्वीको स्टेशन अनि भूउपग्रहको जटिल टेलिफोन नेटवर्कको आवश्‍यक मर्मत सम्भार गर्न थुप्रै दक्ष जनशक्‍ति र श्रमिकहरूको आवश्‍यकता पर्छ। त्यसैले, अर्कोपल्ट साथीलाई फोन गर्नुहुँदा तपाईंहरूबीच वार्तालाप सम्भव बनाउन गरिएका सम्पूर्ण कार्यलाई विचार गरे कसो होला? (g01 5/22)

[फुटनोटहरू]

a टेलिफोनको तारमा विद्युतीय करेन्टको केही भोल्टेज सधैं हुन्छ र फोनको घण्टी बज्दा भोल्टेज अझ बढ्‌छ। तसर्थ, जङसन बक्सभित्र अथवा त्यसमा जडिएको कुनै पनि धातुमा छुनु खतरनाक हुनसक्छ।

b आन्ध्र महासागरको वारपार आयरल्याण्ड र न्युफाउन्डल्याण्डबीच टेलिग्राफ केबुल १८६६ मा बिछाउन सम्भव भयो।

[पृष्ठ २०-मा भएको रेखाचित्र/चित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

रेडियो तरंगहरू

अपलिंक

डाउनलिंक

[पृष्ठ २०-मा भएको रेखाचित्र/चित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

समुद्रमुनि बिछ्याइएका केबुलहरू

सेलुलर फोन

[पृष्ठ २०-मा भएको चित्र]

आधुनिक फाइबरअप्टिक केबुलहरूले २० करोड टेलिफोन सर्किट प्रसारण गर्नसक्छन्‌

[पृष्ठ २१-मा भएको चित्र]

स्पेश सटलका कामदारहरू INTELSAT VI को मर्मत गर्दै

[स्रोत]

NASA photo

[पृष्ठ २१-मा भएको चित्र]

जहाजहरूले केबुलहरू बिछ्याउने र मर्मत गर्ने गर्छन्‌

[स्रोत]

Courtesy TyCom Ltd.