के पृथ्वीका प्रजातिहरू लोप हुनबाट जोगाउन सकिएला?
के पृथ्वीका प्रजातिहरू लोप हुनबाट जोगाउन सकिएला?
बाँदरदेखि आल्बाट्रस अनि आल्बाट्रसदेखि लिएर गाइने कीरालगायत अन्य प्रजातिलाई समेत मानवजातिले तीव्र गतिमा लोप हुने स्थितिसम्म पुऱ्याएको छ। यसले गर्दा हामीले आफ्नै अस्तित्वलाई समेत खतरामा पारिरहेका छौं” भनी क्यानाडाको द ग्लोब एण्ड मेल बताउँछ। उक्त अखबारको टिप्पणी स्वीट्जरल्याण्डको जेनेभास्थित विश्व संरक्षण संघद्वारा (आइ यु सी एन) प्रकाशित २००० आइ यु सी एन रेड लिस्ट अफ थ्रेटन्ड स्पिशीज-मा आधारित थियो। रेड लिस्ट-ले बोटबिरुवा र जनावरका लगभग ११,००० प्रजाति लोप हुने खतरामा छन् भनी चेताउनी दिन्छ। सबैभन्दा लोप हुने अवस्थामा पुगेका त स्तनधारी जनावर हुन्। “आज पृथ्वीमा जीवित रहेका चार प्रकारका स्तनधारीहरूमध्ये एउटा अर्थात् २४ प्रतिशत लोप हुने अवस्थामा छ” भनी ग्लोब रिपोर्ट गर्छ।
यस्तो संकट आउनुको कारण के हो? पाल्तु जनावरहरूको अन्तरराष्ट्रिय व्यापार, माछा मार्न राखिएका धेरै किलोमिटर लामा जालहरू अनि उपयुक्त बासस्थान नहुनु जस्ता कुराहरूलाई वैज्ञानिकहरू यी प्रजातिहरू लोप हुनुको मुख्य कारणको रूपमा औंल्याउँछन्। यसबाहेक, पहिला क्षति नपुऱ्याएका जंगलहरूमा पस्ने बाटो बनाउन थाल्दा “मानिसहरूले पहिले विरलै देख्न पाउने धेरैभन्दा धेरै जंगली जनावरहरूलाई देख्न थालेका छन्। अनि त्यसले गर्दा तिनीहरू ती जनावरहरूलाई मारेर खान्छन्। यसो गर्न थालेमा थुप्रै प्रजाति लोप हुनेछन्।”
यसले मानिसहरूलाई पनि खतरामा पार्छ भनी वैज्ञानिकहरू चेताउनी दिन्छन्। “हामीले यी प्रजातिहरूलाई नाश गऱ्यौं भने हाम्रो आफ्नै जीवन रक्षा प्रणाली नै कमजोर हुनेछ” भनी विश्व संरक्षण संघअन्तर्गत पर्ने प्रजाति बचाउ आयोगका अध्यक्ष डेविड ब्राकेटले बताए। “विभिन्न जीवहरू चिडियाखानामा राखेर मात्रै हाम्रो विश्व अस्तित्वमा रहन सक्दैन।”
आइ यु सी एन-को रिपोर्ट विश्वका समुदायहरूलाई यसो भन्दै आग्रह गर्छ, “यो संकट समाधान गर्न मानव तथा आर्थिक स्रोत अहिलेको भन्दा १० देखि १०० गुना बढी प्रयोग गर्नुपर्नेछ।” तथापि, दुःखको कुरा लोभले गर्दा हाम्रो विश्व सम्पदा जोगाउने निष्कपट प्रयत्न प्रायजसो असफल हुन्छ।
के पृथ्वीका प्रजातिहरू जोगाउन सकिएला? प्रथम मानव तथा तिनीहरूका सन्तानलाई हाम्रो ग्रहका विभिन्न जीवहरूको हेरचाह गर्ने काम सुम्पिएको थियो। “[यहोवा] परमेश्वरले मानिसलाई लगेर अदनको बगैचामा त्यो गोड-गाड र हेरचाह गर्न राख्नुभयो” भनी बाइबल बताउँछ। (उत्पत्ति २:१५) मानिसले आफ्नो दायित्व पूरा गर्न नसके तापनि यस पृथ्वीप्रतिको परमेश्वरको उद्देश्य भने परिवर्तन भएको छैन। उहाँ हाम्रो ग्रहको हेरचाह गर्नुहुन्छ र उहाँले यसलाई बेवास्ता गर्ने अथवा लोभीहरूको हातद्वारा नाश हुन दिनुहुनेछैन। (प्रकाश ११:१८) उहाँको वचन यस्तो प्रतिज्ञा गर्छ: “धर्मात्माहरूले देश अधिकार गर्नेछन्, र त्यसैमा सधैंभरि रहन्छन्।”—भजन ३७:२९. (g01 6/8)
[पृष्ठ ३१-मा भएको चित्रको स्रोत]
U.S. Fish & Wildlife Service, Washington, D.C./J.D. Pittillo