सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जब पानी रातो हुन्छ

जब पानी रातो हुन्छ

जब पानी रातो हुन्छ

फिलिपिन्सका ब्यूँझनुहोस्‌! लेखकद्वारा

साबिकबमोजिम, बिहान सबेरै डुंगा र जालो तैयार पार्न समुद्री किनारतर्फ गइरहेका माझीहरूलाई कल्पना गर्नुहोस्‌। सदाझैं आज पनि तिनीहरूले धेरै माछा मार्ने आशा गरेका छन्‌। आँखा मिच्दै आएका यी माझीहरूले जे देख्छन्‌ त्यो देखेर झसंग हुन्छन्‌। हजारौं माछा मरेर समुद्री किनारमा थुप्रिएका छन्‌। यस सामूहिक विनाशको मूल कारण के हो? रेड टाइड!

रेड टाइड एउटा विश्‍वव्यापी घटना हो। यो संयुक्‍त राज्य अमेरिका तथा क्यानाडाको आन्द्र र प्रशान्त महासागरको समुद्रीतटमा देखापरिरहेको छ। अस्ट्रेलिया, ब्रुनाई, उत्तरपश्‍चिमी युरोप, जापान, मलेसिया, पापुआ न्यु गिनी, फिलिपिन्स र अन्य देशहरूमा पनि यो देखा परेको छ। यसबारे कमैलाई मात्र थाह भए तापनि रेड टाइड कुनै नौलो कुरा भने होइन।

फिलिपिन्समा सबैभन्दा पहिला रेड टाइड सन्‌ १९०८ मा बाटान प्रान्तमा देखा परेको थियो। रेड टाइडले सन्‌ १९८३ मा सामार समुद्र, माकेडा र बिलेरिअल तटका माछा तथा झिंगेमाछाहरूलाई विषाक्‍त पारेको थियो। त्यस बेलादेखि रेड टाइड अन्य धेरै समुद्री तटहरूमा देखा पारिरहेको छ। फिलिपिन्स नेसनल रेड टाइड टाक्स फोर्समा कार्यरत जेनाइडा आबुसोले ब्यूँझनुहोस्‌!-लाई यसो भने, “रेड टाइडले माछा मार्नुको अलावा १,९२६ वटा प्यारालाइटिक शेलफिस पोइजनिङ गरेको घटना फिलिपिन्स मत्स्य व्यवसाय विभाग तथा जलचर स्रोतले सप्रमाण प्रस्तुत गरेको छ।” a तर यो घातक प्रकोप वास्तवमा के हो?

रेड टाइड भनेको के हो

“रेड टाइड” भन्‍नाले पानीको रङमा आउने परिवर्तन हो र यस्तो किसिमको परिवर्तन कहिलेकाहीं महासागर तथा समुद्रका केही खास भागहरूमा हुने गर्छ। प्रायः यसको रङ रातो हुने भए तापनि हल्का खैरो वा पहेंलो पनि हुनसक्छ। द वर्ल्ड बूक इन्साक्लोपीडिया यस्तो रिपोर्ट दिन्छ, “रङ परिवर्तन भएको भाग केही वर्ग मिटर वा गजदेखि १,००० वर्ग माइलसम्म (२,६०० वर्ग किलोमिटर) फैलिएको हुनसक्छ।”

यस्तो परिवर्तन हुनुको मूल कारण के हो? साधारणतया रेड टाइड विभिन्‍न जातका सूक्ष्म जीवहरू, एक कोषीय लेउ वा डिनोफ्लाजीलेट नामक प्रतिजीवीले गर्दा हुन्छ। यी सूक्ष्म जीवहरूका कोर्रा आकारका रौंजस्ता मसीना त्यान्द्रा हुन्छन्‌ र यसलाई फ्लाजेला भनिन्छ। यी फ्लाजेलाकै मदतले तिनीहरू पानीमा चलहल गर्न सक्छन्‌। डिनोफ्लाजीलेट करिब २,००० प्रकारका छन्‌ र तीमध्ये ३० प्रकारका डिनोफ्लाजीलेट विषाक्‍त हुन्छन्‌। यी सूक्ष्म जीवहरू प्रायः नुनको मात्रा धेरै भएको न्यानो पानीमा बस्छन्‌।

यी सूक्ष्म जीवी डिनोफ्लाजीलेट अकस्मात्‌ र तीव्र गतिमा वृद्धि हुँदा रेड टाइड उत्पन्‍न हुन्छ। यी जीवहरू एकै ठाउँमा टाँसिएर बस्दा एक लिटर पानीमा ५,००,००,००० जति हुनसक्छन्‌! वैज्ञानिकहरूले यसो हुनुको कारण राम्ररी बुझ्न नसके तापनि एकै चोटि पानीको अवस्थामा परिवर्तन आएपछि डिनोफ्लाजीलेट एकै ठाउँमा जम्मा हुने गर्छ। यस्तो परिवर्तनमा प्रतिकूल मौसम, अत्यन्तै अनुकूल तापक्रम, पानीमा चाहिने भन्दा बढी पोषण हुनु, प्रशस्त मात्रामा सूर्यको किरण र ठिक्क मात्रामा पानीका धारहरू पर्दछन्‌। घनघोर वर्षा हुँदा खनिज तथा अन्य पोषण तत्त्व जमिनबाट बगेर समुद्री तटको पानीमा मिसिन्छ। यी पोषण तत्त्वहरूले गर्दा पनि डिनोफ्लाजीलेट वृद्धि हुनसक्छ। परिणाम के हुन्छ? रेड टाइड!

दुःखको कुरा, यस प्रकोपलाई कहिलेकाहीं मानवजातिले झनै चर्काएको देखिन्छ। औद्योगिक कलकारखाना तथा मानिसहरूको दूषित फोहोरमैला पानीमा फ्याँकिंदा पानीमा कुनैकुनै पोषण तत्त्वको मात्रामा अत्यधिक वृद्धि हुनसक्छ। यसले गर्दा डिनोफ्लाजीलेटको संख्यामा अत्यधिक वृद्धि हुनसक्छ। पानीमा भएको अक्सिजनको मात्रा तुरुन्तै कम हुन्छ, फलतः थुप्रै माछा मर्छन्‌।

रेड टाइड न्यानो महासागर तथा समुद्री तटको शान्त पानीमा देखा पर्छ र यो प्रायः गर्मी महिनाको अन्तदेखि वर्षायामको सुरुतिरसम्म देखा पर्छ। स्थानीय अवस्थाअनुसार यो केही घण्टादेखि लिएर धेरै महिनासम्म रहिरहनसक्छ।

सिकारहरू

प्रायजसो रेड टाइड हानिकारक हुँदैनन्‌। यद्यपि, कुनैकुनै रेड टाइड एकदमै विनाशकारी हुन्छन्‌। कुनैकुनै जातका डिनोफ्लाजीलेट्‌सले पानीमा निष्कासन गर्ने विषले गर्दा माछा र अन्य सामुद्रिक जीव चलहल गर्न नसक्ने हुनुका साथै ती मर्छन्‌। यस्ता डिनोफ्लाजीलेट्‌सलाई आहारा बनाउँदा असंख्य माछा, सिपी, स्क्वीड, क्लाम, म्यूसेल्स, झिंगेमाछा र गंगटा मरेका छन्‌। हानिकारक रेड टाइडले आक्रमण गर्दा मरेका थुप्रै माछा पानीमा तैरिरहेको देख्न सकिन्छ र मरेका माछाहरू धेरै किलोमिटर परसम्म समुद्री तटमा थुप्रिन्छन्‌।

यसले मानिसहरूलाई पनि निकै असर गरिरहेको छ। माछा मार्नु नै आय आर्जनको प्रमुख स्रोत भएका क्षेत्रहरूमा रेड टाइडले गर्दा माझीहरू आफ्नो जीविकोपार्जनबाटै वञ्चित भएका छन्‌। सबैभन्दा दुःखलाग्दो कुरा त, रेड टाइडले गर्दा मानिसको समेत मृत्यु भएको छ।

रेड टाइड पोइजनिङ

डिनोफ्लाजीलेट्‌सले निष्कासन गर्ने एउटा विष साक्सीटक्सिन हो। यो घोलनशील नुन हो र यसले मानिसको स्नायु प्रणालीमा आक्रमण गर्छ। त्यसैले, यसलाई न्युरोटक्सिन वर्गमा राखिएको छ। द न्यु इन्साक्लोपीडिया ब्रिटानिका यस्तो रिपोर्ट दिन्छ, “पानीमा निष्कासित विषले मानिसको श्‍वासप्रश्‍वास प्रणालीमा गडबड गर्छ।” समुद्रमा आउने ठूलठूला छालहरूले गर्दा रेड टाइडका विष हावामा मिसिंदा समुद्र किनाराका होटेलहरू बन्द गर्नु परेको छ।

के तपाईंलाई झिंगेमाछा र अन्य समुद्री खाना मनपर्छ? रेड टाइडले डिनोफ्लाजीलेट खाने झिंगेमाछालाई विषाक्‍त बनाउन सक्छ। इन्फोम्यापर पत्रिका यसो भन्छ, “दुई खण्डे र अन्य झिंगेमाछाहरू जस्तै, सिपी, म्युसेल र क्लाम सबैभन्दा खतरनाक हुन्‌ किनभने यिनीहरू फिल्टर फिडर हुन्‌ अनि माछाले भन्दा यिनीहरूले धेरै विष सोस्छन्‌।’ यद्यपि, “माछा, स्क्वीड, स्रीम्प र गंगटा . . . मानिसहरू निसंकोच खान सक्छन्‌।” कारण? रेड टाइडका विष यी जीवहरूको आन्द्रामा जम्मा हुन्छन्‌ र अक्सर पकाउनुअघि आन्द्रा सबै फ्याँकिन्छन्‌।

तैपनि, रेड टाइडबाट प्रदूषित समुद्रबाट ल्याइएका समुद्री खाना विशेष गरी झिंगेमाछा खाँदा सावधानी अपनाउनु पर्ने हुन्छ। यसप्रकारको रेड टाइडले गर्दा प्यारालाइटिक शेलफिस पोइजनिंग वा पि एस पि नामक रोग लाग्न सक्छ। यदि तपाईंले रेड टाइडद्वारा विषाक्‍त खाना खानु भएको छ भने ३० मिनेटभित्र यसका लक्षणहरू देखा पर्न सक्छन्‌। पृष्ठ २४ मा दिइएको चार्टमा केही लक्षण सूचीबद्ध गरिएका छन्‌। ठीकसँग उपचार गरिएन भने, पि एस पि-ले गर्दा श्‍वासप्रश्‍वासमा पक्षाघात हुनसक्छ र अन्ततः मृत्यु हुनसक्छ।

हालसम्म रेड टाइडको विष नाश गर्न सक्ने औषधी पत्ता लागेको छैन। यद्यपि, केही आकस्मिक उपचारहरू भने केही हदसम्म सफल भएका छन्‌। बिरामीलाई वमन गराएर रेड टाइड विष बाहिर निकाल्न सकिन्छ। मुखबाट नलीभित्र पठाई पेट सफा गरेर पनि विष बाहिर निकाल्न सकिन्छ। कुनैकुनै अवस्थामा कृत्रिम श्‍वासप्रश्‍वास पनि आवश्‍यक पर्छ। फिलिपिन्सका केही मानिसहरू खैरो चिनीसँग नरिवलको झोल मिसाएर खाएमा बिरामी छिटो निको हुन्छ भन्छन्‌।

समाधान

हाल, रेड टाइड हाम्रो नियन्त्रणमा छैन। तर रसायनिक मल र कीटनाशक औषधीको प्रयोग कम गरेमा रेड टाइड कम गर्न सकिन्छ भन्‍ने धेरैको विश्‍वास छ। यसले जीवाणुहरूलाई समुद्रमा मिसिन दिंदैन। औद्योगिक कलकारखाना र ढलको फोहोर पानीमा निकास गर्न निषेध गरिएको खण्डमा पनि समस्या केही हदसम्म समाधान गर्न सकिन्छ। डिनोफ्लाजीलेट्‌सको संख्यामा वृद्धि गराउने पोषणका सम्भाव्य स्रोतहरूबाट समुद्री तटलाई मुक्‍त गर्नु पनि समाधान गर्ने अर्को तरिका हुनसक्छ।

त्यतिञ्जेल केही सरकारले यो समस्याप्रति सतर्कता अपनाउँदै निरीक्षण गर्दैछन्‌। उदाहरणका लागि, फिलिपिन्सका सरकारी निकायले स्थानीय अनि अन्तरराष्ट्रिय बजारमा झिंगेमाछा खानाका लागि कत्तिको सुरक्षित छन्‌ भनी नियमित तवरमा जाँच्ने गर्छन्‌। तथापि, पानी रातो हुँदा मानिसजातिमाथि आइपर्ने हानिकारक असरहरू अन्ततः सृष्टिकर्ताले मात्रै पूर्णतया नामेट पार्न सक्नुहुन्छ। (g01 6/8)

[फुटनोट]

a फिलिपिन्समा रेड टाइडले गर्दा नै प्यारालाइटिक शेलफिस पोइजनिङ हुने भए तापनि सबै देशमा यस्तै हुन्छ भन्‍ने छैन भनी केही विशेषज्ञहरू बताउँछन्‌।

[पृष्ठ २४-मा भएको पेटी]

रेड-टाइड पोइजनिङका लक्षणहरू

१. ओठ, गिजा र जिब्रो चहऱ्‍याउने वा पोल्ने

२. अनुहारका भागहरू चहऱ्‍याउने र लाटो हुने अनि पछि शरीरको अन्य भागमा पनि यो फैलँदै जान्छ

३. टाउको दुख्ने र रिंगटा लाग्ने

४. ज्यादै तिर्खा लाग्ने र ऱ्‍याल काड्‌ने

५. वाकवाक लाग्ने, वमन हुने अनि पखाला चल्ने

६. सास फेर्न, बोल्न र निल्न गाह्रो हुने

७. जोर्नी दुख्ने र भाउन्‍न छुट्‌ने

८. नाडीको चाल बढ्‌ने

९. मांसपेशी कमजोर भएर ढलपल हुने

१०. शरीर पक्षाघात हुने

[पृष्ठ २४-मा भएको चित्र]

रेड टाइड गराउने जीवाणुहरू

पाइरोडिनियम बाहामेन्स

जिमनोडिनियम क्याटेनाटम

गामबियर्डिस्कस

[स्रोत]

Courtesy of Dr. Rhodora V. Azanza, University of the Philippines

Courtesy of Dr. Haruyoshi Takayama

ASEAN-Canada Cooperative Programme on Marine Science

[पृष्ठ २५-मा भएको चित्र]

रेड टाइडका असर

[स्रोत]

Grant Pitcher/Courtesy WHOI

[पृष्ठ २३-मा भएको चित्रको स्रोत]

Peter J. S. Franks, Scripps Institution of Oceanography

[पृष्ठ २५-मा भएको चित्रको स्रोत]

Scripps Institution of Oceanography