सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

चिरकालीन लाभ पुऱ्‍याउने स्वयम्‌सेवा

चिरकालीन लाभ पुऱ्‍याउने स्वयम्‌सेवा

चिरकालीन लाभ पुऱ्‍याउने स्वयम्‌सेवा

येशू ख्रीष्टले खाँचोमा परेकाहरूलाई दया देखाइरहनुभयो। उदाहरणका लागि, उहाँले भोकाहरूलाई खुवाउनुभयो र बिरामीहरूलाई निको पार्नुभयो। (मत्ती १४:१४-२१) यद्यपि, उहाँले कुन चाहिं कार्यलाई सबैभन्दा बढी प्राथमिकता दिनुभयो? येशूले भर्खरै सेवकाई थाल्नुहुँदाको एउटा घटनाले यस प्रश्‍नको जवाफ दिन्छ। यो विवरण सुसमाचारको पुस्तक, मर्कूसको पहिलो अध्यायमा लिपिबद्ध गरिएको छ।

येशू गालील समुद्र नजिकै कफर्नहुममा हुँदा उहाँलाई सिमोन अर्थात्‌ पत्रुसको घरमा लगियो। त्यहाँ “शिमोनको सासू जरोले थला परेकी थिइन्‌” र येशूले तिनलाई निको पार्नुभयो। (मर्कूस १:२९-३१) पछि, “अनेक किसिमका बेथाले ग्रस्त भएका बिरामीहरू[को]” एउटा भीड पत्रुसको घरको ढोकामा जम्मा हुन थाले र येशूले तिनीहरूलाई पनि निको पार्नुभयो। (मर्कूस १:३२-३४) राती भयो र सबै जना सुत्न गए।

बिहानीपख “उज्यालो हुनभन्दा धेरै अघि” येशू ख्रीष्ट “एकलासको ठाउँमा जानुभयो” र “त्यहाँ प्रार्थना” गर्न थाल्नुभयो। त्यसको केही समयपछि चेलाहरू पनि उठे, घर बाहिर यताउता हेरे र त्यहाँ तिनीहरूले मानिसहरूको भीड ढोकामा येशूलाई कुरिरहेको देखे। अब के गर्ने? किनकि त्यहाँ येशू ख्रीष्ट हुनुहुन्‍नथ्यो! तुरुन्तै पत्रुस अनि तिनीसित हुनेहरू उहाँलाई खोज्दै गए र उहाँलाई भेट्टाएपछि यसो भने: “सबैले तपाईंलाई खोजिरहेका छन्‌।” (मर्कूस १:३५-३७; लूका ४:४२) वास्तवमा, तिनीहरूले येशूलाई यसो भन्‍न खोजिरहेका हुनसक्छन्‌: ‘तपाईं यहाँ के गरिरहनु भएको? हिजो राती तपाईंले बिरामीहरूलाई निको पार्नु भएको काम निकै सफल भयो। तपाईंको लागि आज अर्को एउटा राम्रो मौका छ!’

तर अब येशूको प्रतिक्रियालाई ध्यान दिनुहोस्‌: “आओ, हामीहरू अन्त कहीं आसपासका शहरहरूमा जाऔं, र त्यहाँ पनि म प्रचार गरूँ।” यो जवाफ निकै महत्त्वपूर्ण थियो। मानिसहरूलाई निको पार्न येशू पत्रुसको घर फर्कनुभएन। पत्रुसको घरमा नफर्कनुको कारण येशूले यसरी बताउनुभयो: “किनकि यसैको निम्ति [अर्थात्‌ प्रचार गर्न] म निस्किआएको हुँ।” (मर्कूस १:३८, ३९; लूका ४:४३) येशू आफ्ना चेलाहरूलाई के भन्दै हुनुहुन्थ्यो? अरूको हित हुने कार्य गर्नु महत्त्वपूर्ण थियो। तर येशूको प्रमुख कार्य परमेश्‍वरको वचनको प्रचार गर्नु अनि सिकाउनु थियो।—मर्कूस १:१४.

बाइबलले मसीहीहरूलाई ‘[येशूको] पाइलामा टेकेर हिंड्‌न’ आग्रह गर्ने हुँदा, कुन स्वयम्‌सेवालाई प्राथमिकता दिनुपर्छ, त्यो साँचो मसीहीहरूले स्पष्टसित बुझेका छन्‌। (१ पत्रुस २:२१) अघिल्लो लेखमा बताएझैं येशूले जस्तै तिनीहरू पनि खाँचोमा परेका मानिसहरूलाई मदत गर्छन्‌। येशूले जस्तै तिनीहरूले पनि राज्यको सुसमाचारबारे बाइबलको सन्देश सिकाउने कार्यलाई प्राथमिकता दिन्छन्‌। a (मत्ती ५:१४-१६; २४:१४; २८:१९, २०) तर अन्य विभिन्‍न मूल्यवान्‌ स्वयम्‌सेवालाई भन्दा बाइबलको सन्देश सुनाउने स्वयम्‌सेवालाई किन प्राथमिकता दिनुपर्छ?

किन र कसरी बाइबलको शिक्षा लाभदायी छ

एउटा एशियाली उखानले यस प्रश्‍नको जवाफ दिन्छ। यसले भन्छ, “यदि तपाईं एक वर्षको लागि योजना बनाउनु हुन्छ भने, बीउ छर्नुहोस्‌। यदि तपाईं दस वर्षको लागि योजना बनाउनुहुन्छ भने, रूख रोप्नुहोस्‌। यदि तपाईं सय वर्षको लागि योजना बनाउनु हुन्छ भने, मानिसहरूलाई शिक्षित बनाउनुहोस्‌।” वास्तवमा, जब स्थायी समाधानको कुरा आउँछ त्यतिबेला शिक्षा नै अपरिहार्य हुन्छ। किनकि शिक्षाले नै मानिसहरूको निर्णय गर्नसक्ने क्षमताको विकास गर्छ र यसले व्यक्‍तिविशेषको जीवनमा सुधार ल्याउँछ। त्यसैले, आज ६० लाख भन्दा धेरै, आंशिक तथा पूर्ण-समय स्वयम्‌सेवकहरूले जनसाधरणलाई निश्‍शुल्क बाइबल शिक्षा प्रदान गर्न आफ्नो समय, प्रयास तथा स्रोतसाधानहरू खर्च गरिरहेका छन्‌। निकै अघिदेखि प्रभावशाली साबित भइरहेको यहोवाका साक्षीहरूको यस स्वयम्‌सेवाले संसारभरिका मानिसहरूलाई लाभ पुऱ्‍याइरहेको छ। तर कसरी?

मानिसहरूले बाइबलको व्यावहारिक सल्लाह बुझ्न अनि पालन गर्न मदत पाएपछि, तिनीहरू जीवनमा आइपर्ने समस्याहरूसित अझ राम्ररी डट्‌न सक्षम हुन्छन्‌। हानिकारक आनीबानी त्याग्न नैतिक बल पाउँछन्‌। नेलसन नाउँ गरेका एक जना ब्राजिलियन युवक बाइबल शिक्षाको अर्को फाइदाबारे यसरी जोड दिन्छन्‌: “मैले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थालेपछि साँचो आनन्द के हो, सो थाह पाएको छु किनकि अहिले मेरो जीवनको उद्देश्‍य छ।” (उपदेशक १२:१३) भर्खरै परमेश्‍वरको वचन अध्ययन गर्न थाल्ने लाखौं जवान तथा वृद्धहरूले पनि नेलसनले जस्तै अनुभव गरेका छन्‌। बाइबल विद्यार्थीहरूलाई जीवनमा सन्तोषजनक उद्देश्‍य प्राप्त गर्न मदत गर्नुका साथै परमेश्‍वरको राज्यको सन्देशले भविष्यको लागि उज्ज्वल आशा दिन्छ र यो आशाले कठिन परिस्थितिहरूमा पनि जीवनलाई अर्थपूर्ण बनाउँछ। (१ तिमोथी ४:८)—“परमेश्‍वरको राज्यले के-कस्ता लाभहरू पुऱ्‍याउनेछ” शीर्षकको पेटी हेर्नुहोस्‌।

बाइबल शिक्षा प्रदान गरेर यहोवाका साक्षीहरूले चिरकालीन लाभ पुऱ्‍याउने स्वयम्‌सेवा गर्छन्‌। कुन हदसम्म चिरकालीन लाभ? परमेश्‍वरको वचन यसो भन्छ: “अनन्त जीवन यही यो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्‍वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात्‌ येशू ख्रीष्टलाई चिनून्‌।” (यूहन्‍ना १७:३) एकछिन आफू पनि त्यस चिरकालीन लाभ पुऱ्‍याउने कार्यमा भाग लिइरहेको कल्पना गर्नुहोस्‌। हो, यही नै अरूको हितको लागि गरिने स्वयम्‌सेवा हो! के तपाईंले अझ बढी जान्‍न चाहेको स्वयम्‌सेवा यही नै होइन र? यदि हो भने, आफ्नो इलाकामा बस्ने यहोवाका साक्षीहरूसँग सम्पर्क राख्नुहोस्‌। यस निम्तोलाई स्वीकार्नुभएमा तपाईंले कहिल्यै पछुताउनु पर्नेछैन। (g01 7/22)

[फुटनोट]

a यहोवाका साक्षीहरू प्रचारकार्यप्रति प्रेरित पावलको जस्तै दृष्टिकोण राख्छन्‌, जसले प्रचारकार्यलाई साँचो मसीहीहरूको आवश्‍यकता ठाने। पावलले यसो भने: “यदि मैले सुसमाचार सुनाएँ भने मलाई घमण्ड गर्न पर्ने केही छैन, किनकि मलाई करै लागेको छ।” (१ कोरिन्थी ९:१६) तिनीहरूको प्रचार कार्यलाई स्वयम्‌सेवा भन्‍न सकिन्छ किनभने तिनीहरूले स्वेच्छासाथ ख्रीष्टको चेला हुन रोजेका छन्‌। यो सुअवसरसँगसँगै जिम्मेवारीहरू पनि आउँछन्‌ भनेर तिनीहरूलाई राम्ररी थाह छ।

[पृष्ठ ११-मा भएको ठूलो अक्षरको क्याप्सन]

“यदि तपाईं एक वर्षको लागि योजना बनाउनु हुन्छ भने, बीउ छर्नुहोस्‌। यदि तपाईं दस वर्षको लागि योजना बनाउनुहुन्छ भने, रूख रोप्नुहोस्‌। यदि तपाईं सय वर्षको लागि योजना बनाउनु हुन्छ भने, मानिसहरूलाई शिक्षित बनाउनुहोस्‌”

[पृष्ठ १०-मा भएको पेटी/चित्र]

तिनी अरूलाई मदत गर्नुका साथै आशा प्रदान गर्छिन्‌

नाडिन नाउँ गरेकी ४३ वर्षीया फ्रान्सेली नर्सले उष्ण प्रदेशमा लाग्ने रोगहरूको उपचार गर्न विशेष प्रशिक्षण हासिल गर्नुका साथै स्वयम्‌सेविकाको रूपमा मध्य अफ्रिकामा सेवा पनि गरेकी छिन्‌। हालैको एक अन्तरवार्तामा तिनले यसो भनिन्‌, “मानिसहरूले मलाई किन यस्तो काम गरेकी भनेर सोध्छन्‌”। “म परमेश्‍वरमाथि विश्‍वास गर्छु; म मानिसहरूलाई प्रेम गर्छु र अरूलाई मदत गर्न म आफ्नो समय अनि प्रयास लगाउन चाहन्छु। अनि यहोवाको साक्षी भएकीले पीडित व्यक्‍तिहरूको उपचार गर्नुका साथै उनीहरूलाई आशा प्रदान गर्न पनि उत्प्रेरित हुन्छु।” अफ्रिकामा स्वयम्‌सेविकाको रूपमा काम गर्दा नाडिन, मानिसहरूको उपचार गर्नुका साथै स्थानीय साक्षीहरूले सञ्चालन गर्ने बाइबल शिक्षण कार्यमा पनि भाग लिन्छिन्‌।

[पृष्ठ १०-मा भएको चित्र]

अफ्रिकामा नाडिन

[पृष्ठ १२-मा भएको पेटी]

परमेश्‍वरको राज्यले के-कस्ता लाभहरू पुऱ्‍याउनेछ?

कृपया यहाँ दिइएका शास्त्रपदहरू आफ्नो बाइबल खोलेर पढ्‌नुहोस्‌ र निम्न क्षेत्रहरूमा मानिसहरूको आवश्‍यकता पूरा गर्न परमेश्‍वरले कस्ता प्रतिज्ञाहरू गर्नुभएका छन्‌, थाह पाउनुहोस्‌।

स्वास्थ्य “उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।”प्रकाश २१:४; यशैया ३३:२४; ३५:५, ६.

शिक्षा “तिनीहरूले मेरा सबै पवित्र पर्वतमा नता केही हानि न नोक्सानी गर्नेछन्‌, किनकि समुद्र पानीले भरिएझैं पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ।”यशैया ११:९; हबकूक २:१४.

रोजगार “तिनीहरूले घर बनाएर तिनमा बास गर्नेछन्‌, र तिनीहरूले दाखबारी लगाएर तिनका फल खानेछन्‌। तिनीहरूले बनाएर अरूहरू बस्ने, र तिनीहरूले रोपेर अरूहरूले खाने चाहिं हुनेछैन। . . . किनभने तिनीहरूले व्यर्थमा परिश्रम गर्नेछैनन्‌।”यशैया ६५:२१-२३.

भोजन “पृथ्वीले आफ्नो उब्जनी बढ़ाएको छ। परमेश्‍वर, हाम्रा आफ्नै परमेश्‍वरले हामीलाई आशीर्वाद दिनुहुनेछ।”भजन ६७:६; ७२:१६; यशैया २५:६.

सामाजिक अवस्था “परमप्रभुले दुष्टहरूको लौरो भाँचिदिनुभयो, . . . सारा पृथ्वीले विश्राम पाएको छ, र शान्त छ। तिनीहरू गाउनलागेका छन्‌।”यशैया १४:५, ७.

न्याय “हेर, राजाले न्यायोचित राज्य गर्नेछन्‌, र भारादारहरूले उचित शासन गर्नेछन्‌।”यशैया ३२:१, २; ११:३-५.