जताततै सहयोगी हातहरू
जताततै सहयोगी हातहरू
उच्च माध्यामिक विद्यालयमा पढ्ने बाक्सटर नाउँ गरेका १५ वर्षीय छात्रले शनिवार दिउँसो गर्ने कार्य बडो रमाइलो छ। उनी वृद्धाश्रमका बूढाबूढीहरूलाई भेट्न जान्छन् र बाजा बजाउँदै तिनीहरूसँगै मिलेर धेरै मीठामीठा गीतहरू गाउँछन्। बाक्सटरका शिक्षक यसो भन्छन्, “उसले गर्दा यहाँका मानिसहरूको जीवनमा हाँसो, खुसियाली र आनन्द छाएको छ। लुसील नाउँ गरेकी ७८ वर्षीया वृद्ध पनि यस्तै दयालु कार्यहरू गर्छिन्। तिनी खाँचोमा परेकाहरूलाई भोजन वितरण गर्ने र अस्पतालमा एक्लो बिरामीहरूलाई भेट्न जाने गर्छिन्। लुसीलबारे उनकी मित्रले यसो भनिन्, “कतै आवश्यकता पऱ्यो र उनी मदत गर्न सक्षम छिन् भने उनी त्यहाँ हाजिर भई हाल्छिन्।”
स्वयम्सेवाको परिभाषा
‘जहाँ आवश्यकता छ त्यहाँ पुग्नुहोस्’ भन्ने धारणा भएका मानिसहरू विश्वमा करोडौं छन्। तिनीहरू निर्माणस्थल, कार्यालय, कल-कारखाना, नर्सिङ होम, धर्मशाला, शरणार्थी शिविर, घरबारविहीनहरूको आवास, अग्नि नियन्त्रण विभाग, संकटकालीन अवस्थाको लागि सहयोग केन्द्र, पशु आश्रयस्थल र अन्य विभिन्न क्षेत्रहरूमा सहयोग गर्न तत्पर हुन्छन्। भनौं भने, तिनीहरू जताततै छन्। गाउँघरमा गोठ बनाउनदेखि लिएर जनहितको लागि अनुदान संकलन गर्न र बेवारिसे बच्चाहरू स्याहारसुसार गर्न देखि लिएर गम्भीर रोग विरुद्ध लडिरहेका बिरामीहरूको पीडा कम गर्ने कार्यहरू गर्न तिनीहरू आफ्नो सीप र दक्षता प्रयोग गर्छन्। वास्तवमा, तिनीहरू स्वयम्सेवकहरू हुन्, जो मदत चाहिएका व्यक्तिहरूका लागि आफ्ना सहयोगी हातहरू अघि सार्छन्।
स्वयम्सेवालाई “सार्वजनिक हित वा जनकल्याणको सोचाइ जस्ता महान् विचारलाई व्यवहारमा उतार्नु” भनी व्याख्या गरिएको छ। यसो गर्नु भनेको एउटा सिद्धान्तप्रति प्रतिबद्धता, आत्मत्यागको मनोभाव, अवैतनिक सेवा र निःस्वार्थ भावना देखाउनु हो। धेरै समय स्वयम्सेवामा बिताइसकेका एक जना महिला तथा अर्का पुरुष स्वयम्सेवकले यसो भने, “स्वयम्सेवा भनेको अरूको हितको लागि आफ्नो समय, बल, बुद्धि, अरूलाई मदत गर्न सक्ने दक्षता, समस्या समाधान गर्न सक्ने कार्य कुशलता, पेसागत ज्ञान प्रयोग गर्नु हो।” अझ चाखलाग्दो कुरा त के छ भने, यस्ता त्यागहरूले स्वयम्सेवक आफैंलाई पनि फाइदा पुऱ्याउँछ।—“स्वयम्सेवकहरू आफै पनि लाभान्वित हुन्छन्” भन्ने पेटी हेर्नुहोस्।
बढ्दो संख्या —बढ्दो आवश्यकता
संयुक्त राज्य अमेरिकामा मात्र झन्डै दस करोड मानिसहरू स्यवम्सेवा गर्छन् र तिनीहरूको संख्या दिन प्रति दिन बढिरहेको छ। न्यु योर्क क्येर्स नामक स्वयम्सेवक संस्थाका कार्यकारी निर्देशक क्याथलिन बेरन्सले हालै ब्यूँझनुहोस्!-लाई यसो भनिन्, “हाम्रो संस्थाको द्रुत गतिमा वृद्धि भइरहेको छ। गत वर्ष मात्र ५,००० भन्दा बढी नयाँ स्वयम्सेवकहरू हाम्रो कार्यक्रममा सामेल भए।” युरोपेली स्वयम्सेवकहरूको समूहमा पनि त्यस्तै वृद्धि भइरहेको छ। उदाहरणका लागि, फ्रान्समा गत दुई दशकमा वर्षेनी ६ प्रतिशतको दरले स्वयम्सेवकहरूको संख्यामा वृद्धि भइरहेको छ। यद्यपि, स्वयम्सेवकहरूको आवश्यकता खट्किनै रहेको छ। अर्कोतिर, युनाइटेड नेशन्स भोलिन्टर्सअनुसार (संयुक्त राष्ट्र संघको एउटा निकाय) विश्व परिस्थितिलाई नियाल्ने हो भने, “अहिलेजति स्वयम्सेवकहरूको आवश्यकता पहिले कहिल्यै परेको थिएन।” एउटा संग्रहालयका सुपरिवेक्षक यसो भन्छन्, “स्वयम्सेवकहरू हाम्रो कार्यसञ्चालनको लागि अपरिहार्य छन्।”
यद्यपि, एउटा विरोधाभासपूर्ण कुरा पनि छ। स्वयम्सेवकहरूसँग मिलेर काम गर्ने अधिकांश निर्देशक, प्रबन्धक र संयोजकहरूले तिनीहरूको महत्त्व “सुन जत्तिकै” छ भनेर
बुझे तापनि स्वयम्सेवकहरूको प्रायजसो कार्यको उचित मूल्यांकन गरिंदैन। यस अवस्थामा परिवर्तन ल्याउन संयुक्त राष्ट्र संघले सन् २००१ लाई स्वयम्सेवक कार्यकर्ताहरूप्रति लक्षित गर्ने निर्णय गरेका छन्। संयुक्त राष्ट्र संघले हासिल गर्ने आशा राखेका केही लक्ष्यहरू “स्वयम्सेवकहरूको अन्तरराष्ट्रिय वर्ष” शीर्षक पेटीमा उल्लेख गरिएको छ।यसबीचमा, स्वयम्सेवाजगत्मा पनि केही परिवर्तनहरू आइरहेका छन् र यसले स्वयम्सेवकहरू अनि तिनीहरूलाई परिचालन गर्ने दुवैसामू चुनौती खडा गरेको छ। तर, यी सबका बावजूद अरूको हितको लागि आफूलाई अर्पण गर्ने व्यक्तिहरूको संसारमा कुनै कमी छैन। यसो गर्न तिनीहरूलाई केले उत्प्रेरित गर्छ? तिनीहरूले के-कस्ता कार्यहरू गरिरहेका छन्? तिनीहरूले तपाईंको जीवनलाई कसरी असर गर्नसक्छ? (g01 7/22)
[पृष्ठ ४-मा भएको पेटी/चित्र]
स्वयम्सेवकहरू आफै पनि लाभान्वित हुन्छन्
आंशिक समय स्वयम्सेवामा बिताउने माइकल यसो भन्छन्, “आफ्नो व्यावसायिक पेसामा पूरा समय बिताउँदा मैले प्राप्त गर्न सक्ने कुराहरूभन्दा अरूलाई मदत गर्न गरेको प्रयासले गहिरो, अर्थपूर्ण र अत्यन्तै आनन्ददायी इनाम पाएको छु। माइकल जस्तै अनुभव गर्ने अरू थुप्रै व्यक्तिहरू छन्। युनाइटेड नेशन्स भोलिन्टर्सका कार्यकारी संयोजक, श्यारोन केपलिङ-अलाकिजा यसो भन्छिन्, “विश्वभरि नै . . . स्वयम्सेवकको रूपमा काम गर्ने व्यक्तिहरूले आफ्नो अनुभवबाट कति लाभ उठाउन सके, त्यो उनीहरूलाई राम्ररी थाह छ।” स्वयम्सेवासम्बन्धी विशेषज्ञ, डा. डग्लस एम. लसनले पुष्टि गरेअनुसार अनुसन्धानकर्ताहरूले के पत्ता लगाएका छन् भने, “केही घण्टाको लागि स्वयम्सेवा गर्दा मात्र पनि एउटा व्यक्तिको व्यवहार र अरूको हित चिताउने तिनको सोचाइ निकै प्रबल हुन्छ। त्यसैले, यसलाई “स्वयम्सेवकहरूको उत्साह” भन्ने संज्ञा दिइएको छ। अनि यो “स्वयम्सेवकहरूको उत्साह” केवल क्षणिक अनुभूती होइन। कर्नेल विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले ३० वर्षसम्म मानिसहरूको एउटा समूहको अध्ययन गरे र तिनीहरूले पत्ता लगाएअनुसार “स्वयम्सेवा नगर्नेहरू भन्दा स्वयम्सेवा गर्ने व्यक्तिहरू बढी खुसी र स्वस्थ्य रहेको” पाइयो। चाखलाग्दो कुरा त के छ भने, बाइबलले पनि यसो भन्छ: “लिनुभन्दा दिनु अझ असल हो।”—प्रेरित २०:३५; हितोपदेश ११:२५.
[पृष्ठ ५-मा भएको पेटी/चित्र]
स्वयम्सेवकहरूको अन्तरराष्ट्रिय वर्ष
नोभेम्बर २०, १९९७ मा संयुक्त राष्ट्र संघको साधारण सभाले सन् २००१ लाई “स्वयम्सेवकहरूको अन्तरराष्ट्रिय वर्ष”-को (आइ वाइ भी २००१) रूपमा मनाउने घोषणा गऱ्यो। संयुक्त राष्ट्र संघअनुसार यस वर्षको दौडान मुख्यतः चारवटा उद्देश्य प्राप्त गर्ने लक्ष्य राखिएको छ।
बढी मान्यता सरकारहरूलाई स्वयम्सेवकहरूको महत्त्व बुझ्नको लागि अध्ययन गर्न र उपलब्धिहरूको विवरण तयार पारेर उत्कृष्ट स्वयम्सेवाको लागि पुरस्कारको व्यवस्था गर्न प्रोत्साहित गर्ने।
थप सुविधा स्वयम्सेवालाई सैन्य सेवाको विकल्पको रूपमा मान्ने वा उनीहरूलाई केही कर छुट प्रदान गरेर स्वयम्सेवालाई प्रोत्साहित गर्न राष्ट्रहरूलाई आग्रह गर्ने।
प्रचारप्रसार स्वयम्सेवामा प्राप्त सफलताबारे प्रचारप्रसार गर्न सञ्चार माध्यमहरूलाई आमन्त्रित गर्ने। यसो गर्दा लागू भइसकेको परियोजनाको अनुकरण मात्र गरे पुग्छ र “हरेक समुदायको लागि पुनः सुरुदेखि काम थाल्नु पर्दैन।”
प्रवर्धन स्वयम्सेवाबाट समाजले पाइरहेका लाभबारे सर्वसाधारणलाई अवगत गराउन विभिन्न प्रदर्शनीहरूको आयोजना गर्न स्वयम्सेवक संस्थाहरूलाई प्रोत्साहित गर्ने।
संयुक्त राष्ट्र संघले आइ वाइ भी २००१ कार्यक्रमद्वारा स्वयम्सेवाको माग बढ्ने, धेरैभन्दा धेरै मानिसहरूले स्वयम्सेवकको रूपमा कार्य गर्न इच्छुकता देखाउने र समाजको बढ्दो आवश्यकता पूरा गर्न स्वयम्सेवक संस्थाहरू सक्षम बनाउन पर्याप्त खर्च तथा सुविधाको प्रबन्ध गर्ने आशा राखेका छन्। संयुक्त राष्ट्र संघको यस प्रस्तावनालाई कुल १२३ देशका सरकारहरूले समर्थन जनाएको छ।