सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रार्थनाले मलाई कसरी मदत गर्नसक्छ?

प्रार्थनाले मलाई कसरी मदत गर्नसक्छ?

युवा जनहरू सोध्छन्‌ . . .

प्रार्थनाले मलाई कसरी मदत गर्नसक्छ?

“प्रार्थनाले गर्दा नै मैले आफ्नो जीवनलाई सही बाटोमा ल्याउन सकें।”—ब्राड। a

तपाईंलाई आजका युवा जनहरूले त्यति प्रार्थना गर्दैन जस्तो लाग्ला तर वास्तवमा थुप्रै युवा जनहरूले प्रार्थना गर्छन्‌। संयुक्‍त राज्य अमेरिकामा १३ देखि १७ वर्षका किशोर किशोरीहरूको आम सर्वेक्षण लिंदा ५६ प्रतिशतले खाना खानुअघि प्रार्थना गर्ने गरेको पाइयो। वयस्कहरूबीच गरिएको सर्वेक्षणमा चाहिं ६२ प्रतिशतले हरेक दिन प्रार्थना गर्ने गरेको पाइयो।

यद्यपि, धेरै युवा युवतीहरूको लागि प्रार्थना केवल अर्थहीन धार्मिक संस्कार अथवा रीति भएको छ। केही युवा युवतीसित मात्र बाइबलमा भनिएअनुसार ‘परमेश्‍वरको इच्छाको ज्ञान’ छ। (कलस्सी १:९, १०) फलतः अधिकांश युवा युवतीहरूको जीवनमा परमेश्‍वरले ठूलो भूमिका खेल्दैन। एउटा सर्वेक्षणमा किशोर किशोरीहरूलाई जीवनमा कुनै महत्त्वपूर्ण निर्णय गर्नुपर्दा तिनीहरूले कहिल्यै परमेश्‍वरको डोऱ्‍याइ खोजेका छन्‌ कि भन्‍ने प्रश्‍न सोधियो। एउटी किशोरीले यस्तो जवाफ दिइन्‌: “जीवनमा सही बाटो रोज्न डोऱ्‍याइको लागि म सधैं परमेश्‍वरलाई प्रार्थना गर्ने गर्छु।” तर, तिनले यो कुरा पनि स्वीकारिन्‌: “तर मैले प्रार्थना गरेर गरेको निर्णय चाहिं म अहिले एउटा पनि सम्झन सक्दिनँ।” त्यसैकारण, धेरै युवाजनहरूलाई प्रार्थनामा शक्‍ति छ वा प्रार्थनाले तिनीहरूलाई मदत गर्नसक्छ भन्‍ने विश्‍वासको कमी हुनु कुनै अचम्मलाग्दो कुरा होइन!

यद्यपि, सुरुमा उल्लेख गरिएको ब्राडले जस्तै हजारौं युवा युवतीहरूले व्यक्‍तिगत तवरमा प्रार्थनाको शक्‍ति अनुभव गरेका छन्‌। तपाईं पनि यस्तै अनुभव गर्न सक्नुहुन्छ! अघिल्लो अंकको लेखमा परमेश्‍वरले हाम्रो प्रार्थना सुन्‍नुहुन्छ भनेर हामी किन विश्‍वस्त हुनसक्छौं भन्‍ने विषयमा चर्चा गरिएको थियो। b अब प्रश्‍न उठ्‌छ, प्रार्थनाले तपाईंलाई कसरी मदत गर्नसक्छ? सर्वप्रथम आउनुहोस्‌, परमेश्‍वरले हाम्रो प्रार्थनाको जवाफ कसरी दिनुहुन्छ, जाँचौ।

परमेश्‍वरले कसरी प्रार्थनाको जवाफ दिनुहुन्छ

बाइबलकालीन केही विश्‍वासी व्यक्‍तिहरूले प्रत्यक्षतः अनि चमत्कारपूर्ण ढंगमा आफ्नो प्रार्थनाको जवाफ पाए। उदाहरणका लागि, राजा हिजकियाहले आफू घातक रोगको सिकार भएको थाह पाएपछि निवारणको लागि परमेश्‍वरलाई पुकारे। परमेश्‍वरले यस्तो जवाफ दिनुभयो: “मैले तेरो प्रार्थना सुने र तेरो आँसु देखें। म तँलाई निको पार्नेछु।” (२ राजा २०:१-६) अन्य ईश्‍वरभीरु पुरुष तथा स्त्रीहरूले पनि परमेश्‍वरले तिनीहरूको खातिर गर्नुभएको उपकार अनुभव गरे।—१ शमूएल १:१-२०; दानियल १०:२-१२; प्रेरित ४:२४-३१; १०:१-७.

यद्यपि, बाइबलकालीन समयमा पनि ईश्‍वरीय हस्तक्षेप सामान्य भने थिएन। परमेश्‍वरले आफ्ना सेवकहरूको प्रार्थनाको जवाफ धेरैजसो कुनै चमत्कारपूर्ण हस्तक्षेपद्वारा होइन तर तिनीहरूलाई ‘सारा आत्मिक बुद्धि र समझमा उहाँको इच्छाको ज्ञानले पूर्ण हुन’ मदत गरेर दिनुभयो। (कलस्सी १:९, १०) हो, परमेश्‍वरले आफ्ना जनहरूलाई आध्यात्मिक तथा नैतिक तवरमा बलियो बनाएर अर्थात्‌ बुद्धिमानी निर्णय गर्न बुद्धि र ज्ञान दिएर मदत गर्नुभयो। मसीहीहरू कठिन परिस्थितिको चपेटामा पर्दासमेत परमेश्‍वरले तिनीहरूलाई परीक्षाबाटै मुक्‍त गर्नुभएन। बरु, परीक्षा सहन सकोस्‌ भनेर उहाँले तिनीहरूलाई “असामान्य शक्‍ति” दिनुभयो!—२ कोरिन्थी ४:७, NW; २ तिमोथी ४:१७.

त्यसै गरी, आज तपाईंले पनि आफ्नो प्रार्थनाको जवाफ चमत्कारी ढंगमा नपाउनु होला। तर विगतमा झैं, हामीले जस्तो सुकै परिस्थितिको सामना गर्नु परे तापनि त्यसलाई सुल्झाउन परमेश्‍वरले हामीलाई उहाँको पवित्र आत्मा र बल दिनुहुनेछ। (गलाती ५:२२, २३) यसलाई स्पष्ट पार्न, प्रार्थनाले मदत गर्नसक्ने चारवटा खासखास तरिकामा ध्यान देऔं।

निर्णय गर्न मदत

करेन उच्च आध्यात्मिक लक्ष्य राख्ने जस्तो देखिने युवकसित प्रेम गर्थिन्‌। तिनी यसो भन्छिन्‌, “उसले सधैं ऊ मण्डलीको प्राचीन बन्‍न चाहेको कुरा मलाई बताउने गर्थ्यो।” यो सबै त ठीकै थियो तर “ऊ आफूले सुरु गरिरहेको व्यापारबारे र मेरोलागि उसले किनिदिन सक्ने सामानहरूबारे निकै कुरा गर्ने गर्थ्यो। मलाई उसको निष्कपटता माथि शंका लाग्न थाल्यो।” करेनले यस विषयमा प्रार्थना गरिन्‌। “मेरो आँखा खोलिदिनहोस्‌ र ऊ वास्तवमा कस्तो व्यक्‍ति हो भनी बुझ्न मलाई मदत दिनुहोस्‌ भन्दै मैले यहोवालाई प्रार्थना गरें।”

कहिलेकाहीं प्रार्थना गर्नु मात्र पनि फाइदाजनक हुन्छ। यसले तपाईंलाई कुनै पनि विषयवस्तुमा आफ्नो दृष्टिकोण नभई यहोवाको दृष्टिकोण राख्न मदत गर्छ। तर करेनलाई व्यावहारिक तथा मदतकारी सल्लाह पनि चाहिएको थियो। के तिनले चमत्कारी ढंगमा आफ्नो प्रार्थनाको जवाफ पाउने थिइन्‌? एकछिन, राजा दाऊदबारे बाइबल विवरणलाई ध्यान दिनुहोस्‌। जब उनले आफ्नो विश्‍वासी मित्र अहीतोपेलले आफ्नो धोकेबाज पुत्र आब्शालोमलाई सल्लाह दिंदैछन्‌ भनेर थाह पाए, तब दाऊदले यसप्रकार प्रार्थना गरे: “हे परमप्रभु, अहीतोपेलको सल्लाहलाई व्यर्थ तुल्याइदिनुहोस्‌।” (२ शमूएल १५:३१) तर दाऊदले आफ्नो प्रार्थनाअनुरूप काम पनि गरे। उसले आफ्नो मित्र हूशैलाई यो काम सुम्पे: “अहीतोपेलको सल्लाहलाई निष्फल तुल्याउनमा तिमीले मलाई सहायता गर्नसक्नेछौ।” (२ शमूएल १५:३४) त्यसरी नै, करेनले पनि आफ्नो प्रेमीलाई राम्ररी चिन्‍ने एक जना परिपक्व प्राचीनसित कुरा गरेर आफ्नो प्रार्थनाअनुरूप कदम चाले। उनको शंका साँचो साबित भयो: उनको प्रेमीको आध्यात्मिक प्रगति शून्य थियो।

करेन यसो भन्छिन्‌: “त्यस घटनाबाट मैले प्रार्थनाको शक्‍ति स्पष्टसित बुझें।” दुःखको कुरा, उनको पूर्व प्रेमीले धनको पछि लागेर परमेश्‍वरको सेवा गर्न छाडे। करेन यसो भन्छिन्‌, “यदि मैले उसित विवाह गरेको भए, सायद म अहिले एक्लै सभा धाइरहेकी हुन्थे होला।” प्रार्थनाले करेनलाई बुद्धिमानी निर्णय गर्न मदत गऱ्‍यो।

आफ्नो आवेगलाई वशमा राख्न मदत

बाइबलले हितोपदेश २९:११ मा यसो भन्छ, “मूर्ख मानिसले रीस पोखाउँछ, तर बुद्धिमान मानिसले पर्खेर त्यो शान्त हुनदिन्छ।” आज धेरैजसो मानिसहरू भावनात्मक तवरमा निकै तनाउग्रस्त भएर बाँच्छन्‌ र अक्सर आफ्नो होसहवास नै गुमाउँछन्‌। यसको परिणाम कहिलेकाहीं निकै भयानक हुन्छ। जवान ब्राएन यसरी सम्झन्छन्‌: “एक जना सहकर्मीसित मेरो सधैं ठाकठुक परिरहन्थ्यो। एक दिन उसले चक्कु निकाल्यो।” त्यस्तो परिस्थितिमा तपाईं भए के गर्नु हुन्थ्यो? ब्राएनले तुरुन्तै प्रार्थना गरे। उनी भन्छन्‌, “यहोवाले मलाई शान्त रहन मदत दिनुभयो, मैलै आफ्नो सहकर्मीलाई सम्झाउन सकें। ऊ चक्कु फ्याँकेर त्यहाँबाट गयो।” आफ्नो आवेगलाई वशमा राख्दा ब्राएनले रिसलाई काबूमा राख्न सके र सम्भवतः यसले उसको ज्यान जोगायो।

कसैले तपाईंलाई चक्कु तेर्साएर नधम्काउला। तर आवेगलाई वशमा राख्नु पर्ने धेरै परिस्थिति तपाईंको जीवनमा आइपर्न सक्छ। त्यस्तो अवस्थामा प्रार्थनाले तपाईंलाई शान्त रहन मदत गर्न सक्छ।

चिन्तित हुँदा मदत

बारबरा यसरी सम्झिन्छिन्‌, केही वर्षअघि “मेरो जीवन निकै कठिनाइमा गुज्रिरहेको थियो।” तिनी यसो भन्छिन्‌, “मेरो जागिर, परिवार, साथीहरू कहींबाट पनि कुनै मदत मिलेको जस्तो लागेन। अब के गर्ने, कसो गर्ने मैले सोच्नै सकिनँ।” बारबराले यताउता केही नसोची मदतको लागि यहोवालाई प्रार्थना गरिन्‌। तर अझै उसको एउटा समस्या थियो। तिनी भन्छिन्‌, “प्रार्थना त गर्ने तर प्रार्थनामा के को लागि मदत माग्ने, मलाई केही थाह थिएन। अन्तमा, मैले मनोशान्तिको लागि प्रार्थना गरें। सबै कुराको लागि चिन्तित नहुन मलाई मदत दिनुहोस्‌ भनी मैले हरेक रात प्रार्थना गर्न थालें।”

त्यो प्रार्थनाले उनलाई कसरी मदत गऱ्‍यो? उनी भन्छिन्‌, “मेरा समस्याहरू नहटे तापनि प्रार्थना गरेको केही दिनपछि मेलै ती समस्याहरूमा डुबेर चिन्तित नभएकी महसुस गरें।” बाइबल यस्तो प्रतिज्ञा गर्छ, “अन्तरबिन्तीमा तिमीहरूका माग परमेश्‍वरमा जाहेर होस्‌। औ परमेश्‍वरको शान्तिले, जो सारा समझलाई माथ गर्छ, तिमीहरूका हृदय र तिमीहरूका विचारलाई येशूमा रक्षा गर्नेछ।”—फिलिप्पी ४:६, ७.

यहोवासित घनिष्ठ हुन मदत

पल नाउँ गरेको युवकको अनुभवलाई विचार गर्नुहोस्‌। तिनी भन्छन्‌, “म आफ्ना नातेदारहरूसित बस्न थालें। एक रात मैले असाध्यै खिन्‍न महसुस गरें। हालै मात्र मैले उच्च माध्यामिक स्कूलको पढाइ सिध्याएको थिएँ र मलाई स्कूलका साथीहरूसित बिछोडिनु परेकोमा असाध्यै दुःख लागिरहेको थियो। हामीले सँगै बिताएका ती रमाइला पलहरूको सम्झनाले मेरा आँखाबाट आँसु झर्न थाल्यो।” यस्तो अवस्थामा पलले के गर्न सक्थ्यो? जीवनमा पहिलो पटक, उसले व्यग्र प्रार्थना गरे। उनी भन्छन्‌, “मैले आफ्नो हृदय खोलेर यहोवालाई बल अनि मनोशान्ति मागें।”

परिणाम के भयो? पल यसरी सम्झन्छन्‌, “बिहान उठ्‌दा, मैले आफ्नो सारा मनका बोझ हल्का भएको महसुस गरें, जुन मैले आफ्नो जीवनमा कहिल्यै अनुभव गरेको थिइनँ। मैले ‘सारा समझलाई माथ गर्ने परमेश्‍वरको शान्ति’ प्राप्त गरे।” त्यसपछि तिनको मन शान्त भयो। पलले कुनै पनि कुरामा अति संवेदनशील नहुन तर व्यावहारिक हुन सिके। अनि तिनले छिट्टै ‘उहिले उहिलेको असल जस्तो देखिने दिन’ अहिले सम्झँदा त्यति असल रहेनछ भन्‍ने कुरा पनि महसुस गर्न सके। (उपदेशक ७:१०) ती “साथीहरू” जसको तिनले निकै कमी महसुस गरेका थिए वास्तवमा, उनीहरूले तिनको जीवनमा कुनै असल प्रभाव पारेका थिएनन्‌।

सबैभन्दा महत्त्वपूर्ण कुरा त, पलले व्यक्‍तिगत रूपमा यहोवाको मायालु डोहऱ्‍याइ महसुस गरे। तिनले याकूब ४:८ का शब्दहरू आफ्नो जीवनमा सत्य साबित भएको महसुस गरे: “परमेश्‍वरको नजीक आओ, र उहाँ तिमीहरूका नजीक आउनुहुनेछ।” पलको जीवनमा यो एउटा नयाँ मोड थियो। तिनी आफ्नो जीवनमा यहोवालाई सबैभन्दा प्रथम स्थानमा राख्न र उहाँलाई आफ्नो जीवन समर्पित गर्न उत्प्रेरित भए।

परमेश्‍वरसित कुरा गर्नुहोस्‌!

यी सकारात्मक अनुभवहरूले, प्रार्थनाले मदत गर्न सक्छ भन्‍ने कुराको पुष्टि दिन्छ। निस्सन्देह, यो त्यतिखेर मात्र साँचो साबित हुनेछ जब तपाईंले यहोवालाई चिन्‍न र उहाँसित मित्रता कायम गर्न उत्कट प्रयास गर्नुहुनेछ। दुःखको कुरा, धेरै युवा युवतीहरू यसो गर्नदेखि पछि हट्‌छन्‌। करिसा मसीही परिवारमा हुर्केकी थिइन्‌। तर तिनी यसो भन्छिन्‌: “मलाई लाग्छ, मैले गत केही वर्षदेखि मात्र यहोवासँगको हाम्रो अद्‌भुत सम्बन्धको असाधारण महत्त्वलाई पूर्णतया बुझ्न सकें।” सबैभन्दा पहिला उल्लेख गरिएको ब्राड मसीही परिवारमा हुर्केका थिए तर तिनी धेरै वर्षसम्म साँचो उपासनाबाट तर्किए। तिनी यसो भन्छन्‌, “जब मैले आफूले गुमाएको कुरा महसुस गरें तब मात्र मेरो होस खुल्यो र म यहोवातिर फर्कें। यहोवासितको सम्बन्धविना जीवन कत्ति नीरस र खोक्रो हुन्छ भन्‍ने कुरा मलाई राम्ररी थाह छ।”

जीवनमा कुनै अप्रिय घटना घट्‌न अघि नै परमेश्‍वरसित घनिष्ठ हुनुहोस्‌। नियमित तवरमा उहाँसित कुरा गर्न सुरु गरिहाल्नुहोस्‌! (लूका ११:९-१३) ‘उहाँको सामने आफ्नो हृदयको दुःख पोखाउनुहोस्‌।’ (भजन ६२:८) यसो गर्नु भयो भने प्रार्थनाले साँच्चै मदत गर्छ भन्‍ने कुरा तपाईंले छिट्टै महसुस गर्न सक्नुहुनेछ! (g01 7/22)

[फुटनोटहरू]

a कुनैकुनै नाउँ परिवर्तन गरिएका छन्‌।

b जुलाई ८, २००१, ब्यूँझनुहोस्‌! अंकको “युवा जनहरू सोध्छन्‌ . . . के परमेश्‍वरले मेरो प्रार्थना सुन्‍नुहुनेछ?” विषयक लेख हेर्नुहोस्‌।

[पृष्ठ १५-मा भएको पेटी/चित्र]

प्रार्थनाले तपाईंलाई निम्न कुराहरूमा मदत गर्नसक्छ

● ठीक निर्णय गर्न

● तनाउको बेला शान्त रहन

● चिन्ताबाट मुक्‍त हुन

● परमेश्‍वरसित घनिष्ठ हुन