सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

शब्दमा व्यक्‍त गर्नै नसकिने दुःख सामना गर्दै

शब्दमा व्यक्‍त गर्नै नसकिने दुःख सामना गर्दै

शब्दमा व्यक्‍त गर्नै नसकिने दुःख सामना गर्दै

जेम्स जारानोको वृत्तान्तमा आधारित

बाजेबज्यै बन्‍नु जीवनका आनन्दमय अवसरहरूमध्ये एक हुन्‌। मेरी श्रीमती, भिक्की र म हाम्रो पहिलो नाति जन्मने दिन उत्कटतासाथ पर्खिरहेका थियौं। हाम्री छोरी, थेरीसा र ज्वाइँ जोनाथनको पहिलो बच्चा अक्टोबर २००० को सुरुतिर जन्मने थियो। यस्तो शब्दमै व्यक्‍त गर्न नसकिने दुःख सामना गर्नुपर्ला भनेर हामीले कल्पनासमेत गरेका थिएनौं।

मेरी श्रीमती, म अनि हाम्रा छोरा र बुहारीसित सेप्टेम्बर २३, शनिबारको दिन बिदा मनाउन घरबाट निस्क्यौं। हामीले अरू नातेदारहरूलाई भेट्‌ने अनि नर्थ क्यारोलाइनाको आउटर बेंक्समा एक हप्ता बिताउने योजना बनाएका थियौं। थेरीसा, गर्भावस्थाको नवौं महिनामा पुगिसकेकी हुँदा उनी र जोनाथनले हामीसित बिदामा नजाने निधो गरे। हुन पनि, यो हाम्रो घर ओहायोदेखि ११ घण्टे लामो यात्रा थियो।

हामी त्यो बिदालाई स्थगित गर्न चाहन्थ्यौं तर थेरीसाले हामीलाई जान कर लगाइन्‌। उनले हामीलाई मेरो चिन्ता गर्नु पर्दैन भनिन्‌। साथै, उनको डाक्टरले पनि नौ महिना पूरा लागेर मात्र बच्चा जन्मनेछ भनेको थियो। त्यसको मतलब बच्चा जन्मिन अझै दुई हप्ता बाँकी नै थियो।

बुधबार, सेप्टेम्बर २७, २००० अत्यन्तै घमाइलो दिन थियो र यसले हाम्रो परिवार केही वर्षदेखि लगातार यहाँ बिदा मनाउन आउनुको कारण झनै प्रस्ट पारेको थियो। एक दिन पनि बिदा मनाउन नपाउँदै हाम्रो जीवनमा एउटा आमूल परिवर्तन आउला भनेर हामीले कल्पनासमेत गरेका थिएनौं।

“थेरीसा हराइरहेकी छिन्‌!”

त्यही साँझ ओहायोमा बस्ने मेरो भाइले मलाई फोन गऱ्‍यो। ऊ एकदमै अनकनाइ रहेको र अतालिरहेको थियो। बल्लतल्ल उसले यसो भन्‍न सक्यो: “थेरीसा हराइरहेकी छिन्‌!” यसमा प्रहरीहरू पनि मुछिएका थिए किनभने उनी हराउनुको कारण शंकास्पद थियो। त्यस दिउँसो जोनाथन घर फर्कंदा अगाडिको ढोका खुल्लै थियो। थेरीसाको बिहानको खाजा टेबलमै थियो र पर्स पनि त्यहीं थियो। अर्को एउटा कुरा पनि अलि अनौठो थियो: उनको जुत्ता जुन गर्भावस्थाको नवौं महिनामा मात्र ठीक हुन्थ्यो, त्यो पनि ढोकामै थियो।

जोनाथनले बिहान ९:३० बजेतिर घरमा फोन गरेका थिए। थेरीसाले भनेकी थिइन्‌, एउटी आइमाईले हामीले बेच्न लागेको गाडी हेर्न आउँछु भनेर फोन गरेकी थिइन्‌। त्यसपछि, थेरीसाको केही किनमेल गर्न जाने योजना थियो। जोनाथनले खाना खाने समयमा घरमा फोन गर्दा उनी घरमा थिइनन्‌। दिउँसो पनि निकै चोटि फोन गरे तर कसैले फोन उठाएनन्‌। तिनी दिउँसो सवा चार बजेतिर घर फर्कंदा घरमा गाडी थिएन। आफ्नो बेथा सुरु भएकोले थेरीसा सायद अस्पताल गइन्‌ होली भन्ठानेर तिनले अस्पतालमा फोन गरे। तर उनी त्यहाँ थिइनन्‌। तिनले परिवारका अन्य सदस्यहरूलाई पनि फोन गरे तर कसैले पनि उनलाई देखेका रहेनछन्‌। यसो हुँदा तिनी साह्रै आत्तिए र प्रहरीलाई फोन गरे। साँझ ६ बजेतिर प्रहरीले त्यो गाडी तिनीहरूको घरको अलि पर फेला पारे। तर थेरीसाको अझै अत्तोपत्तो थिएन।

नर्थ क्यारोलाइनामा हामी भने यो खबर सुनेर स्तब्ध भएका थियौं। मेरी श्रीमती र म अनि हाम्रा छोरा र बुहारी लुगाफाटा पोका पारेर घर फर्क्यौं। यो अत्यन्तै लामो अनि तनाउग्रस्त यात्रा थियो। हामी रातारात यात्रा गरेर भोलिपल्ट बिहानै ओहायो आइपुग्यौं।

नयाँ जानकारी प्राप्त

यतिञ्जेल, जोनाथन, अरू नातेदार, नजिकका साथीहरू तथा अरू व्यक्‍तिहरूले रातभरि खटिएर थेरीसालाई खोज्न प्रहरीलाई मदत गरे। यो खोज पाँच दिनसम्म चल्यो। सोमबार, अक्टोबर २ तारिखका दिन एउटा नयाँ जानकारी प्राप्त भयो। त्यतिञ्जेल प्रहरीले थेरीसालाई बुधबार बिहान फोन गर्ने व्यक्‍ति पत्ता लगाइसकेका थिए। हाम्रो घरको अलि पर बस्ने आइमाईले सेलुलरबाट फोन गरेकी रहिछे।

उक्‍त आइमाईलाई सोधपुछ गरिसकेपछि प्रहरीलाई शंका लाग्यो। त्यसै दिनको साँझपख प्रहरी उक्‍त महिलाको घर गए। तर तिनीहरू ढोकामा मात्र के पुगेका थिए, गोली हानेको आवाज सुनियो। घरभित्र प्रवेश गर्दा तिनीहरूले त्यो आइमाई मृत अवस्थामा फेला पारे। तिनले आफैलाई गोली हानेकी रहिछे। अचम्मको कुरा त के थियो भने, दोस्रो तलामा तिनीहरूले नवजात शिशु पनि भेट्टाए। धन्‍न, यत्रो हल्लाखल्ला हुँदासमेत ऊ मजाले सुतिरहेको रहेछ!

तर अझै पनि थेरीसाको अत्तोपत्तो थिएन। त्यसपछि केही घण्टासम्म प्रहरीहरूले थेरीसा यहाँ आएकी थिइन्‌ कि थिइनन्‌ भन्‍ने प्रमाण फेला पार्न घरमा धुइँपत्ता खोजी गर्न थाले। मंगलबार बिहान उज्यालो नहुँदै तिनीहरूले त्यहाँ ग्यारेजमा केही प्रमाण भेट्टाए। त्यहाँ एउटा चिहानमा अलिकति खन्‍ने बित्तिकै थेरीसाको लास भेट्टाए। मृत्यु कसरी भयो भनी जाँचबुझ गर्ने अधिकृतले बताएअनुसार उसलाई पहिले बेहोस बनाएर ढाडमा गोली हानेको रहेछ। उनी तत्कालै मरिन्‌ र उनको पेटबाट बच्चा निकालिएछ। जे होस्‌, थेरीसा पीडाले त्यति तड्‌पिनु परेन होला भनी कल्पना गर्दा अलि ढुक्क लाग्छ।

नवजात शिशुलाई अस्पताल लगियो र उसको स्वास्थ्य परीक्षण गर्दा सबै राम्रो थियो, उसको शरीरमा कुनै चोटपटक लागेको थिएन! अनिवार्य डि एन ए परीक्षण गर्दा ऊ, हाम्रै नाति हो भनेर प्रमाणित भयो। जोनाथन र थेरीसाले ऊ जन्मनुअघि नै निधो गरिसकेको नाउँ उसलाई दिइयो अर्थात्‌ अस्कर ग्याभिन। दुईचार दिन अस्पतालमा बिताएपछि ३ किलोग्राम ९५० ग्राम वजन भएको हाम्रो नातिलाई बिहीबार, अक्टोबर ५ तारिखका दिन उसको बुबाको जिम्मामा दिइयो। नाति पाउँदा हामी अत्यन्तै हर्षित भयौं तर थेरीसाले छोरालाई समाउन नपाएको कुराले भने हामी औधी भावविह्वल भयौं।

समुदायको प्रतिक्रिया

हामीले चिन्दै नचिनेका र कहिल्यै नभेटेका मानिसहरूले देखाएको सहयोगले गर्दा म र मेरो परिवारले आँसु थाम्न सकेनौं। थेरीसा बेपत्ता भएको समयमा थुप्रैले उसलाई खोज्न मदत गरेका थिए। थुप्रैले चन्दास्वरूप पैसा दिए। स्थानीय कार्यालयहरूका लागि मालसामान प्रबन्ध गर्ने थुप्रै पसलहरूले थेरीसा बेपत्ता भएको जानकारी पर्चामा छापेर वितरण गर्न आफै खर्च बेहोरे। अनि स्वयम्‌सेवकहरूले थेरीसाको घरदेखि धेरै किलोमिटर टाढासम्म यी पर्चाहरू वितरण गरे।

हाम्री एउटी मसीही बहिनी एक जना स्थानीय अधिवक्‍ताकहाँ काम गर्नुहुन्छ र उक्‍त बहिनीले अधिवक्‍तालाई हाम्रो अवस्थाबारे बताउनुभएपछि उहाँ हामीलाई मदत गर्न राजी हुनुभयो। हामीले उहाँको मदत गर्ने प्रस्ताव स्वीकाऱ्‍यौं र यो निकै ठूलो आशिष्‌ साबित भयो। उहाँले हामीलाई सञ्चार माध्यमसित कामकुरा गर्दा अपनाउनुपर्ने होसियारी र अरू थुप्रै कानुनी मामिलाहरूमा मदत गर्नुभयो। साथै, उहाँले दुई जना जाँचकीहरूलाई मुद्दाको छानबिनको लागि सिफारिस गर्नुभयो र तिनीहरूले पनि उक्‍त मुद्दामा निकै मदत गरे। तिनीहरूको निष्कपट चासोले हामी निकै प्रभावित भयौं।

हाम्रो नाति फेला परेपछि अझ बढी सहयोग पाउन थाल्यौं। थुप्रै किराना पसलले खानेकुरा तथा घरायसी मालसामानहरू पठाए। थुप्रै मानिसले अस्करको लागि भनेर लुगाफाटा, डिस्पोजेबल डायपर, दूध र खेलौनाहरू दिए। हामीले अस्करलाई चाहिनेभन्दा बढी मालसामान पाएकोले कति त स्थानीय अस्पतालको प्रसूतिगृहलाई दियौं। सञ्चारमाध्यमलाई पनि हाम्रो कथाबारे थाह भइसकेको हुँदा हामीले आफ्नै समुदायबाट मात्र होइन तर संसारभरिका मानिसहरूबाट हजारौं पत्र तथा कार्डहरू प्राप्त गऱ्‍यौं।

हामीप्रति देखाइएको समर्थन विशेष गरी थेरीसाको स्मृतिमा आयोजना गरिएको सभामा देखियो, जुन आइतबार, अक्टोबर ८ का दिन आयोजना गरिएको थियो। हामीलाई थाह थियो, यसमा थुप्रै मानिस उपस्थित हुन चाहन्थे तर हामीले सोचेभन्दा पनि धेरै मानिसहरू भेला भए। स्थानीय उच्च माध्यामिक विद्यालयको प्रेक्षालय प्रयोग गर्ने प्रबन्ध मिलाइयो। यो १,४०० भन्दा बढी मानिसहरूले टन्‍नै भरिएको थियो। परिवारका सदस्यहरू, साथी भाइ, प्रहरी अधिकृत, मेयर तथा अन्य थुप्रै मानिस त्यहाँ उपस्थित थिए। सञ्चारकर्मीहरू पनि त्यहाँ उपस्थित थिए अनि स्थानीय टेलिभिजन स्टेशनले चाहिं पूरै कार्यक्रम खिच्यो, जुन इन्टरनेटद्वारा पनि प्रत्यक्ष प्रसारण गरियो। यसको अलावा, स्कूलको लबीमा सयौं मानिसहरूको भीड थियो अनि बाहिर पानीमा भिजेरै भए पनि थुप्रै मानिसहरूले लाउड स्पिकरद्वारा प्रसारण गरिएको सम्पूर्ण कार्यक्रम सुनिरहेका थिए। भाषणले हाम्रो बाइबल आधारित विश्‍वासबारे राम्रो साक्षी दियो।

त्यसपछि, हामीलाई समवेदना दिन सयौं मानिसहरू लाम लागेर धैर्य धारण गर्दै पर्खिरहे। त्यहाँ आएका सबैलाई अंकमाल गर्दै र तिनीहरू यसरी आइदिएकोमा मूल्यांकन व्यक्‍त गर्दै हामी त्यहाँ लगभग तीन घण्टा बस्यौं। त्यस कार्यक्रमपछि एउटा स्थानीय होटेलले हाम्रा परिवारका सदस्यलगायत घनिष्ठ मित्रहरू तथा हाम्रो नाति खोज्न मदत गर्ने अन्य व्यक्‍तिहरू गरी ३०० जना भन्दा बढीका लागि भोजनको प्रबन्ध गरिदियो।

विशेष गरी नचिनेका मानिसहरूले हामीलाई मदत गर्न जे जति गरे, त्यसको हामी कत्ति मूल्यांकन गर्छौं भनेर व्यक्‍त गर्ने हामीसित शब्दै छैन। यो अनुभवले गर्दा हामी मसीही सेवकाईमा अझ पूर्णतया भाग लिन कटिबद्ध भएका छौं किनभने इमानदार हृदय भएका अझ थुप्रै मानिसलाई हामीले परमेश्‍वरको राज्यको सुसमाचार सुनाउनु छ।—मत्ती २४:१४.

मण्डलीले कस्तो प्रतिक्रिया देखाए

यो समस्या सुरु भएदेखि नै हाम्रा मसीही भाइबहिनीहरूले हामीलाई निकै सहयोग गर्नुभयो। यस्तो सहयोग, यहोवाका साक्षीहरूको स्थानीय मण्डलीलगायत वरपरका मण्डलीहरूबाट प्राप्त भयो।

नर्थ क्यारोलाइनाबाट हामी घर पुग्नुअघि नै हाम्रो मण्डलीका प्राचीनहरूले थेरीसालाई खोज्न व्यवस्थित प्रयाससमेत गरिसकेका थिए। थुप्रै भाइबहिनीले आफ्नो कामबाट छुट्टी लिएर खोज कार्यमा मदत गरे। कसैकसैले त मालिकसित बेतलबी बिदा मागे तर कोहीकोही मालिकले भने तलबी बिदा नै दिए। थेरीसा हराएको समयमा कोहीकोही आध्यात्मिक भाइहरू जोनाथन एक्लै नहोस्‌ भनेर ऊसित बसिदिन्थे। थुप्रै भाइबहिनी आएर घर सरसफाइ गरी चिटिक्क पारिदिन्थे। अरूले भने स्वयम्‌सेवकहरूलाई खुवाएर तथा फोन उठाइदिएर मदत गरे।

थेरीसाको मृत्यु भएको लगभग छ हप्तापछि मेरी श्रीमती र जोनाथनले एउटा अत्यन्तै कठिन काम गर्नुपऱ्‍यो। त्यो काम, थेरीसाका मालसामान मिलाएर घर खाली गर्नु थियो। जोनाथनलाई थेरीसासित सँगै बसेको घरमा एक्लै बस्न सक्दिनँ जस्तो लागेको कारण तिनले त्यो घर बेच्ने निधो गरे। थेरीसाको मालसामान मिलाउँदा उनीहरू दुवैलाई असाध्यै गाह्रो भयो किनभने हरेक कुराले थेरीसाको झझल्को आउँथ्यो र असाध्यै उराठ लाग्थ्यो। तर यतिबेला पनि भाइबहिनीहरूले सहयोग गर्नुभयो। उहाँहरूले थेरीसाका सबै सामानहरू पोका पार्न अनि घर बेच्नुअघि आवश्‍यक मर्मतकार्य गरिदिनुभयो।

सबैभन्दा महत्त्वपूर्ण कुरा त, भाइबहिनीहरूले हाम्रो परिवारलाई चाहिएको आध्यात्मिक तथा भावनात्मक सहयोग दिनुभयो। उहाँहरूले हामीलाई टेलिफोन गरेर अनि भेटेर प्रोत्साहन दिनुभयो। थुप्रैले हृदयस्पर्शी कार्ड र पत्रहरू पठाउनुभयो। यस्तो मायालु सहयोग सुरुसुरुको दुईचार दिन र हप्तासम्म मात्र होइन तर महिनौंसम्म पाइरह्‍यौं।

हाम्रा थुप्रै भाइबहिनीहरूले केही कुरा भन्‍नुपऱ्‍यो भने हामीलाई सम्झनुहोला भन्‍नुभएको थियो र हामीले त्यस्तो सहयोगबाट निकै लाभ उठाएका छौं। आफूले माया गर्ने र भरोसा गर्ने साथीहरूलाई आफ्ना मनका कुराहरू पोख्दा साँच्चै सान्त्वना मिल्छ! साँच्चै, उहाँहरूले बाइबलको यो हितोपदेशअनुरूप काम गर्नुभएको छ: “मित्र हर समय एक मायालु साथी हुन्छ र दुःखकष्टमा साथ दिन जन्मेको दाजुभाइसरह हुन्छ।”—हितोपदेश १७:१७, NW; १८:२४.

हाम्रो परिवारमा परेको प्रभाव

थेरीसाको हत्याले सृजना गरेको परिस्थिति सामना गर्न मेरो परिवार र मलाई सजिलो भएको छैन। यसले हाम्रो जीवन नै परिवर्तन गरिदिएको छ। उनी मसित नभएकोमा म कहिलेकाहीं यत्तिकै रिसाउँछु। उसको अंकमाल र चुम्बनहरू नपाउँदा साह्रै न्यास्रो लाग्छ।

मेरी श्रीमती र थेरीसा असाध्यै मिल्थिन्‌। उनीहरू एकअर्कासित कुरा नगरेको दिनै हुँदैनथ्यो। थेरीसा गर्भवती हुँदा उनीहरू दुई जनाले एकआपसमा कति कुरा गरे, भनेर साध्य नै छैन। बच्चाको कोठा तयार गर्न पनि दुवैले निकै मेहनत गरेका थिए।

भिक्की आफ्नो मनको व्यथा यसरी पोख्छिन्‌: “म थुप्रै कुरामा उसको अभाव महसुस गर्छु। ऊसित प्रचारकार्यमा जान नपाएकोमा साह्रै नमज्जा लाग्छ। हामी सँगै किनमेल गर्न जान्थ्यौं तर अब नपाउँदा न्यास्रो लाग्छ। सबैभन्दा हृदयविदारक कुरा त उसलाई उसको छोरासित देख्न नपाउनु हो। अस्कर पेटमा छँदा नै उसले बच्चालाई असाध्यै माया गर्थिन्‌। पेटको बच्चा छोरा हो भनेर पनि उसलाई थाह थियो। मैले बच्चाको लागि कम्बल बनाएर थेरीसालाई दिंदा उसले कार्डमा मलाई यस्तो लेखेर पठाइन्‌:

‘प्यारी मुमा,

बच्चाको लागि बनाउनुभएको राम्रो कम्बलको लागि तपाईंलाई धेरै धन्यवाद। तपाईंले यो बनाउन निकै मेहनत गर्नुभएकोमा म यसको साह्रै मूल्यांकन गर्छु। जीवनमा एकदमै कठिन परिस्थितिहरू आइपर्दा मलाई दिनुभएको मदत तथा प्रोत्साहनको लागि फेरि एक चोटि म तपाईंलाई धन्यवाद दिन चाहन्छु। म त्यो कहिल्यै बिर्सनेछैन र ती सबैको लागि धन्यवाद छ तपाईंलाई। समय बित्दै जाँदा आमा नै सबैभन्दा घनिष्ठ मित्र रहेछ भनी मानिसहरूको होस खुल्नेछ भनेर मैले सुनेकी थिएँ। साँच्चै हो रहेछ र यो कुरा मैले छिट्टै बुझ्न सकेकोमा यहोवालाई दिनहुँ धन्यवाद दिन्छु। म तपाईंलाई सदा सर्वदा माया गर्नेछु।’ ”

हाम्रो ज्वाइँको अवस्था देखेर पनि हामीलाई असह्‍य हुन्थ्यो। अस्कर अस्पतालमा छँदा जोनाथनले एउटा अत्यन्तै पीडादायी कार्य गर्नुपऱ्‍यो। जोनाथनले केही समय हामीसितै बस्ने निर्णय गरेको कारण ऊ र थेरीसाले उनीहरूकै घरमा बनाएको बच्चाको कोठा पनि सार्नुपऱ्‍यो। तिनले काठको घोडा, कोक्रो र खेलौनाहरू सबै पोका पारेर हाम्रो घरमा सार्नुपऱ्‍यो।

सहन हामीलाई केले मदत गऱ्‍यो

आफ्नो प्रियजनको त्यसरी दुःखदायी मृत्यु हुँदा थुप्रै अस्पष्ट भावना तथा प्रश्‍नहरू मनमा उठ्‌छन्‌। मसीही प्राचीनको हैसियतमा त्यस्तै भावना तथा प्रश्‍नहरूसित संघर्ष गरिरहेकाहरूलाई मैले सान्त्वना र मदत दिएको छु। तर त्यस्तो अवस्थामा आफू पर्दा भावनाहरूले सन्तुलित सोचाइलाई धमिल्याउन सक्छ।

उदाहरणका लागि, थेरीसाको अवस्था अनि हामी एक हप्ताको लागि टाढा हुनेछौं भनी विचार गरेर यहोवालाई मैले उसको रक्षा गर्नुहोस्‌ भनी प्रार्थना गरेको थिएँ। उसको हत्या भएको खबर सुनेपछि मेरा प्रार्थनाहरूको सुनुवाइ किन नभएको होला जस्तो लाग्यो। हुन त, यहोवाले प्रत्येक व्यक्‍तिलाई चमत्कारपूर्ण ढंगमा बचाउने ग्यारेन्टी दिनुभएको छैन। मैले समझको लागि प्रार्थना गरिरहें। यहोवाले आफ्ना जनहरूलाई आध्यात्मिक तवरमा सुरक्षित राख्नुहुन्छ अर्थात्‌ उहाँसितको हाम्रो सम्बन्ध कायमै राख्न आवश्‍यक मदत प्रदान गर्नुहुन्छ भनी थाह भएकोले सान्त्वना पाएको छु। त्यस्तो सुरक्षा सबैभन्दा महत्त्वपूर्ण छ किनभने यसले हाम्रो अनन्त भविष्यलाई असर गर्छ। त्यस अर्थमा यहोवाले थेरीसालाई साँच्चै सुरक्षित राख्नुभयो। उनी मृत्युसम्मै विश्‍वासी रहिन्‌। उनको भावी आशाका प्रत्याशाहरू यहोवाको मायालु प्रबन्धमा सुरक्षित छन्‌ भनेर थाह पाउँदा निकै शान्ति महसुस गरेको छु।

थुप्रै शास्त्रपद एकदमै सान्त्वनादायी साबित भएका छन्‌। मलाई सहन मदत गरेका केही शास्त्रपदहरू यसप्रकार छन्‌:

“धर्मी र अधर्मीहरू समेतको पुनरुत्थान हुन्छ।” (प्रेरित २४:१५) पार्थिव प्रमोदवनमा पुनरुत्थान हुनेछ भन्‍ने बाइबलको प्रतिज्ञामा मैले विश्‍वास गर्न थालेको धेरै भइसक्यो तर यो आशा अहिले झनै वास्तविक लागेको छ। भविष्यमा मैले थेरीसालाई फेरि आफ्नै हातले समाउन पाउनेछु भन्‍ने आशाले मात्र पनि मलाई निकै बल दिन्छ।

“उहाँ मुर्दाहरूका परमेश्‍वर हुनुहुन्‍न, तर जीवितहरूका, किनकि सबै जना उहाँकै निम्ति जीवित छन्‌।” (लूका २०:३७, ३८) भविष्यमा, मरेकाहरूको पुनरुत्थान हुनेछ र तिनीहरू अहिले पनि यहोवाको लागि “जीवित” छन्‌ भनेर थाह पाउनु अत्यन्तै सान्त्वनादायी भएको छ। त्यसकारण, उहाँको नजरमा हाम्री प्यारी थेरीसा जीवित छिन्‌।

भिक्कीले विशेष गरी बल पाएकी केही शास्त्रपदहरू उनी बताउन चाहन्छिन्‌:

“ ‘परमेश्‍वरलाई झूट बोल्न असम्भव छ।’ (हिब्रू ६:१८; तीतस १:२) यहोवा झूट बोल्नुहुन्‍न, त्यसैले मरेकाहरूलाई ब्यूँताउनेछु भन्‍ने उहाँको प्रतिज्ञा उहाँले अवश्‍य पूरा गर्नुहुनेछ।

“ ‘यसमा अचम्म नमान, किनभने बेला आउँछ, जब [सम्झनाको, NW] चिहानमा हुनेहरू सबैले उसको [येशूको] सोर सुन्‍नेछन्‌। औ . . . निस्किआउनेछन्‌।’ (यूहन्‍ना ५:२८, २९) ‘सम्झनाको चिहान’ भन्‍ने अभिव्यक्‍तिले थेरीसालाई यहोवाको पुत्र येशू ख्रीष्टले पुनरुत्थान नगरुञ्जेल उनी उहाँको सम्झनामा रहनेछिन्‌ भनी संकेत गर्छ। तिनको लागि यहोवाको भरपर्दो सम्झनाभन्दा सुरक्षित ठाउँ अरू हुनै सक्दैन भनी मलाई राम्ररी थाह छ।

“ ‘सबै कुरामा धन्यवादसाथ प्रार्थना र अन्तरबिन्तीमा तिमीहरूका माग परमेश्‍वरमा जाहेर होस्‌। औ परमेश्‍वरको शान्तिले, जो सारा समझलाई माथ गर्छ, तिमीहरूका हृदय र तिमीहरूका विचारलाई येशूमा रक्षा गर्नेछ।’ (फिलिप्पी ४:६, ७) विशेष गरी, म बलको लागि यहोवाको आत्मा माग्छु। असाध्यै विचलित हुँदा म यहोवालाई यसो भन्छु, ‘म अझ बढी तपाईंको आत्मा चाहन्छु’ र उहाँले मलाई भोलि दिनभरिको लागि बल दिनुहुन्छ। कहिलेकाहीं म शब्दहरू व्यक्‍तसमेत गर्न सक्दिनँ तरैपनि उहाँले मलाई बल दिनुहुन्छ।”

शब्दमा वर्णनै गर्न नसकिने यो दुःखमा पनि यहोवाले हामीलाई सहन साँच्चै बल दिनुभएको छ। थेरीसाको मृत्युले गर्दा हामी अझै दुःखी छौं। हामीले उसलाई यहोवाको नयाँ संसारमा अंकमाल नगरुञ्जेल त्यो पीडा पूर्णतया हट्‌नेछैन होला। अहिले हामी यहोवाप्रति अझ विश्‍वासी भई सेवा गरिरहन कटिबद्ध छौं। जोनाथन पनि अस्करलाई सकेसम्म राम्ररी हुर्काएर यहोवालाई प्रेम तथा उहाँको सेवा गर्न मदत दिन चाहन्छन्‌ र भिक्की अनि म पनि उसलाई यथाशक्य मदत गर्नेछौं। हाम्रो भित्री इच्छा के छ भने, हामी परमेश्‍वरको नयाँ संसारमा थेरीसालाई स्वागत गर्न र उसले समाउन नपाएको छोरा दिन चाहन्छौं। (g01 7/22)

[पृष्ठ २५-मा भएको चित्र]

हाम्री छोरी थेरीसा आफ्नो छोराको मुटुको ढुकढुकी सुन्दै

[पृष्ठ २७-मा भएको चित्र]

हामीप्रति देखाइएको समर्थन थेरीसाको स्मृतिमा आयोजना गरिएको सभामा देखियो

[पृष्ठ २९-मा भएको चित्र]

थेरीसाको विवाह समारोहमा मेरी श्रीमती, भिक्कीसित

[पृष्ठ २९-मा भएको चित्र]

हाम्रो नाति अस्कर