सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

संक्रामक रोगहरू—घातक तर रोकथाम गर्न सकिने

संक्रामक रोगहरू—घातक तर रोकथाम गर्न सकिने

संक्रामक रोगहरू—घातक तर रोकथाम गर्न सकिने

विध्वंशकारी भूकम्प तथा विनाशकारी बाढीका समाचारहरू पत्र-पत्रिकाको अघिल्लो पृष्ठमै छापिने गरे तापनि चालै नपाई फैलिने संक्रामक रोगहरूबारे भने त्यति प्रचारप्रसार गरिएको पाइँदैन। तैपनि, “गत वर्ष प्राकृतिक प्रकोपहरूमा परेर मर्नेहरूको संख्याभन्दा संक्रामक रोगहरू (जस्तै, एड्‌स, मलेरिया, श्‍वासप्रश्‍वाससम्बन्धी रोग र पखाला) लागेर मर्नेहरूको संख्या १६० गुणा बढी थिए” भनी जून २००० को रेड क्रस/रेड क्रेसेन्ट प्रेस प्रकाशन उल्लेख गर्छ। “अनि यो अवस्था झन्‌ झन्‌ नाजुक हुँदै गइरहेको छ।”

यस्तो भयावह तथ्यांकका लागि दुइटा तत्त्वहरूलाई जिम्मेवार ठहऱ्‍याइएको छ। एउटा हो, हरेक घण्टा ३०० भन्दा बढीको ज्यान लिने एड्‌सको तीव्र गतिमा भइरहेको फैलावट। एड्‌स “अब रोग मात्र रहेन। यो त महाप्रकोप भइसकेको छ” भनेर रेड क्रस अनि रेड क्रस क्रेसेन्ट सोसाइटीको अन्तरराष्ट्रिय संघका महाप्रकोप नीति निर्देशक पिटर वकरले बताए। “संसारभरि व्याप्त त्यस्तो रोगले कामदारहरूको ज्यान लिन्छ र अर्थतन्त्रलाई उथलपुथल गर्छ।” अर्को तत्त्व सार्वजनिक स्वास्थ्य प्रणालीहरूको खस्कँदो अवस्था हो। यसले गर्दा क्षयरोग, भिरिंगी अनि मलेरियाजस्ता कुनै समय निर्मूल भइसकेका रोगहरूसमेत फेरि देखा परिरहेका छन्‌। उदाहरणका लागि, हाल एउटा एशियाली राष्ट्रले हरेक वर्ष ४०,००० जनालाई क्षयरोग लागेको रिपोर्ट गरिरहेको छ। बितेको दशकमा एउटा पूर्वी युरोपेली देशमा भिरिंगीको संक्रमण ४० गुणाले वृद्धि भएको पाइयो।

तथापि, विवादास्पद कुरा के छ भने, संक्रामक रोगहरूले महाप्रकोपको रूप लिइरहेको भए तापनि यीमध्ये प्रायजसो रोगहरू रोकथाम गर्न सकिन्छ। वास्तवमा, रिपोर्टले देखाएअनुसार संक्रामक रोगहरूको कारण १९९९ मा भएको १ करोड ३० लाखभन्दा बढीको मृत्युलाई “प्रति व्यक्‍ति ५ अमेरिकी डलर मात्र खर्च गरेको भए पनि रोकथाम गर्न सकिने थियो।” यदि यस संसारका सरकारहरूले हरेक व्यक्‍तिको लागि ५ डलर अर्थात्‌ जम्माजम्मी ३० अरब डलरमात्र स्वास्थका लागि खर्च गर्न इच्छुक भएका भए कति धेरैलाई अकाल मृत्युबाट जोगाउन सकिने रहेछ कल्पना गर्नुहोस्‌ त!

यो रकम एकदमै धेरै जस्तो लागे तापनि संसारले अन्य सेवाहरूमा गर्ने खर्चहरूको तुलनामा भने यो निकै कम छ। उदाहरणका लागि, हालैको वर्षमा विश्‍वव्यापी सेनाले ८ खरब ६४ अरब डलर अर्थात्‌ प्रति व्यक्‍ति १४४ डलर खर्च गरिरहेको छ। यसो सोच्नुहोस्‌, यी रोगहरूको रोकथाममा भन्दा युद्धको तयारीमा कत्ति धेरै पैसा खर्च भइरहेको रहेछ! पैसा नपुगेकोले होइन तर अरू नै गम्भीर कारणहरूले गर्दा होला संक्रामक रोगहरूको भललाई रोक्ने शक्‍ति मानिसको हातमा छैन। आखिर, मानव सरकारहरूले सही प्राथमिकतासमेत छुट्याउन सक्दैनन्‌। (g01 7/22)

[पृष्ठ ३१-मा भएको चित्रको स्रोत]

X ray: New Jersey Medical School—National Tuberculosis Center

Photo of man coughing: WHO/Thierry Falise