सेवारत स्वयम्सेवकहरू
सेवारत स्वयम्सेवकहरू
ब्राजिलकी एउटी अधबैंसे शिक्षिका प्रत्येक शुक्रबार दिउँसो आफ्नो बैठक कोठालाई कक्षा कोठामा परिणत गर्छिन्। करिब दुई बजेतिर अमेलिया नाउँ गरेकी छात्रा आइपुग्छिन्। तिनी कहिल्यै आफ्नो पाठ छुटाउँदिनन् र माध्यामिक स्तरमा पढ्ने किशोर किशोरीहरूको तुलनामा तिनले पढाइमा पनि उन्नति गरिरहेकी छिन्। अमेलिया ८२ वर्षिया एक वृद्धा हुन्।
अमेलिया सर्लीद्वारा आफ्नै गाउँमा सञ्चालन गरिरहेको निश्शुल्क साक्षरता कक्षा उत्तिर्ण गर्ने ६० जना प्रौढहरूको उदाहरण पछ्याउँदै छिन्। हालै, ब्राजिलको जर्नल डु सुदेइस्ट नामक अखबारले सर्लीको स्वयम्सेवाबारे एउटा लेख छापेको थियो। “समुदायका मानिसहरूलाई तिनले पुऱ्याएको ठूलो योगदान”-बारे चर्चा गरिसकेपछि सर्लीले प्रौढहरूलाई सिकाउने शिक्षाको प्रभावकारिताबारे उक्त अखबारले यसो भन्यो, “कुल १२० घण्टाको कक्षापछि नै विद्यार्थीहरू चिठी लेख्न, पत्रपत्रिका पढ्न र दैनिक जीवनमा गर्नुपर्ने सानातिना हिसाबकिताब राख्न र अन्य कार्यहरू गर्न सक्षम भइसकेका हुन्छन्।” उक्त लेखले बताएअनुसार तिनले प्रयोग गरेको प्रमुख पाठ्यपुस्तकचाहिं यहोवाका साक्षीहरूद्वारा तयार पारिएको लर्न टु रिड एण्ड राइट पुस्तिका हो। a
हीनताबोधको बदलामा आत्मसम्मान
सर्लीकी अर्का छात्रा ६८ वर्षीया डोना लुजिया हुन्। उनले बताएअनुसार पढ्न र लेख्न सिक्नुअघि उनी मानिसहरूसित बोल्न लजाउँथिन्। किनमेल गर्नसमेत उनलाई गाह्रो लाग्थ्यो। अहिले उनी मुस्कुराउँदै यसो भन्छिन्, “अहिले म अन्य शहरमा बस्ने नातेदारहरूलाई चिठी लेख्छु र पैसाको राम्रो हिसाब किताब राख्न सक्छु। अब कसैले मलाई ठग्न सक्दैन।” मारिया नाउँ गरेकी ६८ वर्षीया महिलालाई आफ्नो निवृत्तिभरणको चेकमा औंठा छापद्वारा हस्ताक्षर गर्नु पर्दा साह्रै हीनताबोध महसुस हुन्थ्यो। तिनी भन्छिन्, “म आफू अपांग भएजस्तो लाग्थ्यो। तर साक्षरता
कक्षाको शिक्षाले गर्दा मारिया अहिले खुसीसाथ आफ्नो हस्ताक्षर गर्छिन्।सर्लीको निश्शुल्क साक्षरता कक्षामा अध्ययनरत तथा उत्तिर्ण विद्यार्थीहरूले गरेका प्रशंसाबाट कार्यक्रमको लोकप्रियता झनै बढेको छ र अहिले उनको बैठक कोठा निकै खचाखच हुन थालेको छ। छिट्टै नै त्यस कक्षालाई अलि ठूलो ठाउँमा सारिनेछ।
पुरस्कृत कार्यक्रम
सर्ली, एक यहोवाको साक्षी हुन्। यहोवाका साक्षीहरूले स्वयम्सेवाको रूपमा सञ्चालन गर्ने बाइबल शैक्षिक कार्यबारे त तपाईंलाई थाहै होला। तथापि, सर्लीको जस्तै
सफलता अरू थुप्रै ठाउँमा पनि प्राप्त भइरहेको छ। ब्राजिलभरि सयौं राज्यभवनहरूमा सञ्चालन भइरहेका साक्षरता कक्षाहरूले त्यस देशका २२,००० भन्दा बढी मानिसहरूलाई पढ्न र लेख्न सिकाएका छन्।संसारका अन्य भागहरूमा सञ्चालन गरिएका यस्तै कार्यक्रमहरूबाट यहोवाका साक्षीहरूले सफलता हासिल गरेका छन्। उदाहरणका लागि, अफ्रिकी मुलुक बुरूण्डीमा साक्षीहरूको साक्षरता कार्यक्रमको परिणाम देखेर राष्ट्रिय प्रौढ साक्षरता कार्यालय (शिक्षा मन्त्रालयअन्तर्गतको विभाग) निकै प्रसन्न भए। उक्त कार्यालयले “अरूलाई पढ्न सिकाउन कडा परिश्रम” गरे बापत साक्षीहरूको साक्षरता कक्षाका चार जना प्रशिक्षकलाई पुरस्कृत गरे। साक्षरता कक्षामा पढ्न र लेख्न सिक्ने ७५ प्रतिशत महिलाहरू त वयस्क थिए। लाजले भुतुक्क भएर यस्ता कार्यक्रमहरूमा उपस्थित हुनसमेत अप्ठ्यारो मान्ने यस्ता महिलाहरूले पनि पढ्न र लेख्न सिकेको देखेर सरकारी अधिकारीहरू निकै प्रभावित भए।
मोजाम्बिकमा ४,००० विद्यार्थीहरू साक्षीहरूका साक्षरता कक्षाहरूमा भर्ना भएका छन् र गत चार वर्षभित्रमा ५,००० भन्दा धेरै विद्यार्थीहरूले पढ्न र लेख्न सिकेका छन्। एक भूतपूर्व विद्यार्थीले यस्तो लेखे: “म यस स्कूललाई हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु। यस स्कूलको मदतले गर्दा अहिले म पढ्न र लेख्न सक्ने भएको छु।”
“औपचारिक नभई व्यावहारिक” उद्वार कार्य
यहोवाका साक्षीहरूले गर्ने अन्य स्वयम्सेवाहरूमध्ये उद्धारकार्य पनि एक हो। केही समयअघि
फ्रान्सको पेरिस नजिकैको एउटा गोदाममा एक हूल मानिसहरूको निकै चहलपहल देखिन्थ्यो। झन्डै ४०० जना स्वयम्सेवकहरूले बाकसहरूमा खाना, लुगाफाटा र औषधीहरू पोका पार्नेजस्ता कार्यहरू गरेर आ-आफ्नो सप्ताहन्तको छुट्टी बिताए। सप्ताहन्तको अन्ततिर नौवटा निकै ठूलठूला बाकसहरू राहत सामग्रीहरूद्वारा भरिए र करिब ४ करोड ५० लाख बराबरको राहत सामग्री ढुवानीको लागि तयार थिए। उक्त सामग्रीहरू तुरुन्तै युद्धग्रस्त मध्य अफ्रिकी देशहरूमा पुऱ्याइयो र ती सामग्रीहरू त्यहाँ पुग्न बित्तिकै स्थानीय साक्षी स्वयम्सेवकहरूले वितरण गरिहाले। अधिकांश राहत सामग्रीहरू पनि साक्षीहरूले नै अनुदान दिएका थिए।कंगोको (किन्सासा) एउटा पत्रिकाले यहोवाका साक्षीहरूको यस मानवीय कार्यलाई “औपचारिक नभई व्यावहारिक” भनी सरहाना गरे। शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय उच्च-आयुक्तको कार्यालय (यू एन एच सि आर)-ले पनि साक्षीहरूको कार्यप्रति त्यसरी नै समर्थन जनाए। प्रजातान्त्रिक गणतन्त्र कंगोमा कार्यरत यू एन एच सि आरका एक जना अधिकारी, साक्षीहरूको व्यवस्थित उद्वार कार्य देखेर निकै प्रसन्न भए र स्वयम्सेवकहरूलाई तिनले आफ्नो गाडीसमेत प्रयोग गर्न दिए। स्थानीय मानिसहरू पनि निकै प्रभावित भएका छन्। खाँचोमा परेका सबैलाई राहत सामग्रीहरू तुरुन्तातुरुन्तै व्यवस्थित ढंगमा वितरण गरेको देखेर केही पर्यवेक्षकहरूले छक्क पर्दै साक्षीहरूलाई यस्तो प्रश्न गरे: “कसैलाई नछुटाई सबै मानिसहरूलाई मदत गर्न तपाईंहरू कसरी यति व्यवस्थित हुन सक्नुभयो?”
यहोवाका साक्षीहरूले दशकौंदेखि संसारभरि गर्दै आएका थुप्रै कार्यहरूमध्ये उद्वार कार्य र साक्षरता कार्यक्रम त दुइटा उदाहरण मात्र हुन्। तथापि, साक्षीहरू चिरकालीन लाभ पुऱ्याउने अर्को एउटा स्वयम्सेवामा पनि संलग्न छन्। अर्को लेखमा यसबारे छलफल गरिनेछ। (g01 7/22)
[फुटनोट ]
a लर्न टु रिड एण्ड राइट पुस्तिका (जम्मा ६ वटा भाषामा उपलब्ध छन्) र हालै प्रकाशित भएको नयाँ पुस्तिका अप्लाई योरसेल्फ टु रिडिङ एण्ड राइटिङ (जम्मा २९ भाषामा उपलब्ध छन्) यहोवाका साक्षीहरूले प्रकाशित गरेका हुन्। निश्शुल्क प्रतिको लागि स्थानीय मण्डली वा यस पत्रिकाका प्रकाशकहरूसँग सम्पर्क राख्नुहोस्।
[पृष्ठ ६, ७-मा भएको पेटी/चित्र]
स्वयम्सेवाको बदलिंदो रूप
जुली आफ्नो व्यावसायिक भ्रमणको दौडान समय छाँटकाँट गरेर केही घण्टा भए पनि स्वयम्सेवा गर्ने प्रबन्ध मिलाउँछिन्। हालै दक्षिण अमेरिका गएको बेला तिनले चिली, सान्टियागोस्थित अनाथाश्रममा केही मदतकारी कार्यहरू गरेर दिउँसोको समय बिताइन्। उनी भन्छिन्, यात्रा गर्दा “विभिन्न तरिकामा” स्वयम्सेवा गर्ने अवसर प्राप्त हुन्छ।
जुली जस्तै धेरै स्वयम्सेवकहरूले समय त दिइरहेका छन् तर त्यो समय पर्याप्त छैन। स्वयम्सेवाको तथ्यांक संकलन गर्ने अनुसन्धान समूहकी अध्यक्ष सारा मिलेन्डिज यसो भन्छिन्, “यो स्वयम्सेवाको नयाँ रूप हो। मानिसहरू स्वयम्सेवा त गर्छन् तर कहिलेकाहीं त्यै पनि छोटो अवधिका आयोजनाहरूमा मात्र।” अतः धेरै संस्थाहरूमा स्वयम्सेवकहरूको अभाव छ र तिनीहरू आफ्ना आयोजनाहरूको लागि कर्मचारीहरूको खोजीमा छन्।
“परिस्थिति सुहाउँदो स्वयम्सेवा”
केही आयोजकहरूका अनुसार स्वयम्सेवामा थोरै मात्र समय दिने यो नयाँ शैली विकास हुनुको मुख्य कारण, स्वयम्सेवकहरूको मनोवृत्तिमा आएको परिवर्तनले गर्दा हो। स्वयम्सेवक समूहकी परामर्शदाता सुजन एलिस यसो भन्छिन्, “ ‘जहिलेसम्म मेरो आवश्यकता पर्छ, त्यतिञ्जेल म काम गर्न तयार छु’ भन्ने स्वयम्सेवाको मनोभाव बिलाइसकेको छ। मानिसहरू करारनामा गर्न चाहँदैनन्।” पत्रकार इलिन डासपिन पनि यस भनाइसित सहमत छन्। स्वयम्सेवकहरूको अभावबारे धेरै स्वयम्सेवक समूहका निर्देशकहरूसँग अन्तरवार्ता लिइसकेपछि तिनी यस्तो निष्कर्षमा पुगिन्, “दीर्घकालीन प्रतिबद्धता गर्न डराउने समस्याले स्वयम्सेवाजगत् ग्रसित छ।”
यद्यपि, अघिल्लो लेखमा उल्लेख गरिएको न्यु योर्क क्येर्स नामक स्वयम्सेवक संस्थाकी निर्देशक क्याथलिन बेरन्सका अनुसार छोटो समयको लागि वा कामको बीचबीचमा स्वयम्सेवा गर्नेहरूसित बचनबद्धताको होइन तर समयको कमी भएको कारण यस्तो भएको हो। हप्तामा ५० घण्टा भन्दा बढी जागिरमा समय बिताउनुका साथै आफ्नो बालबच्चा र वृद्ध आमाबाबुको हेरचाह गर्न समय बिताउने मानिसहरूको लागि नियमित रूपमा स्वयम्सेवा गर्नु पक्कै सजिलो छैन। तिनी भन्छिन्, “यद्यपि, यस्ता व्यस्त व्यक्तिहरूले पनि समाज सेवालाई आफ्नो जीवनको एउटा भाग बनाउनुबाट के प्रस्ट हुन्छ भने, अरूको लागि केही गर्ने तिनीहरूको इच्छा वास्तवमा निकै प्रबल छ।”
समयको अभाव हुने यस्ता स्वयम्सेवकहरूको लागि “परिस्थिति सुहाउँदो स्वयम्सेवा” नै एक मात्र समाधान हो। आज धेरै स्वयम्सेवक संस्थाहरूले एकै दिनको योजना बनाएर एकै दिनको लागि मात्र भए पनि स्वयम्सेवाको प्रस्ताव राख्ने गर्छन्। “यसले मानिसहरूलाई अर्थपूर्ण तरिकामा स्वयम्सेवा गर्न र परिस्थितिअनुसार समय समयमा स्वयम्सेवा गर्ने मौका प्रदान गर्छ।”
यसको अतिरिक्त धेरै मानिसहरूले आफ्नो घरमै बसेर कम्प्युटरमा आवश्यक अनुसन्धान र डाटा इन्ट्री गरेर पनि स्वयम्सेवा गर्छन्। द वाल स्ट्रिट जनरल नामक अखबार यसो भन्छ, “अन लाइन स्वयम्सेवा अलि बेग्लै प्रकारको र सम्भवतः फलदायी, ‘परिस्थिति सुहाउँदो स्वयम्सेवा’ ” बन्नसक्छ।
[पृष्ठ ८-मा भएको पेटी/चित्र]
कोबे उद्धार कार्यमा जुट्दै!
सन् १९९५ जनवरीमा जापानको वैभवशाली बन्दरगाह शहर कोबेमा गएको भूकम्पले विनाशकारी रूप लियो। सन् १९२३ यता गएको जापानलाई नै ठूलो धक्का पुऱ्याउने यो सबैभन्दा महा-विनाशक भूकम्प थियो, जसमा परी ५,००० भन्दा धेरै मानिसहरूले आफ्नो ज्यान गुमाएका थिए। जापानलगायत विश्वभरिका यहोवाका साक्षीहरू तत्काल पीडितहरूलाई राहत दिने कार्यमा जुटे। उद्धार कोष खडा गरिएको तीन दिनभित्रै दश लाखभन्दा धेरै अमेरिकी डलर अनुदान प्राप्त भयो। कोबेमा सबै प्रकारका राहत सामग्रीहरूको बाढी नै आयो।
उद्धार कार्यमा संलग्न एक जना प्राचीनले आफ्नो राज्यभवनमा चाहिने भन्दा धेरै राहत सामग्रीहरू थुप्रिएको पाए। अब यी बढी भएका राहत सामग्रीहरू के गर्ने? उनले केही सामग्रीहरू नजिकैको अस्पताललाई अनुदान दिने सुझाउ दिए। साक्षीहरूले गाडीमा यी सामग्रीहरू भरे र भग्नावशेषहरूका थुप्रोहरू हुँदै आफ्नो बाटो तताए। केही मिनेट मै पुगिने त्यो यात्रा पूरा गर्न घण्टौ लाग्यो। अस्पताल पुगेपछि, तिनीहरूले आफूले ल्याएका सामग्रीहरू अर्थात् कम्बल, डसना, टालो, ताजा फलफूल र उपयोगी औषधीहरू मुख्य चिकित्सकलाई सुम्पे। प्रशन्न हुँदै चिकित्सकले साक्षीहरूले दिनसक्ने कुनै पनि चीजलाई अस्पतालले खुसीसाथ स्वीकार्ने कुरा बताए। बिरामीहरूको लागि त्यहाँ पर्याप्त ताजा खानेकुराहरू नभएकाले विशेष गरी साक्षीहरूले ल्याएका ताजा फलफूलहरू तिनीहरूले खुसीसाथ स्वीकारे।
आफ्नो अत्यन्तै जरुरी काम भए तापनि साक्षीहरूले राहत सामग्रीहरू झारिरहेको दृश्य चिकित्सकले शान्तपूर्वक उभिएर हेरिरहे। त्यसपछि तिनी नम्र भई झुके र साक्षीहरूलाई धन्यवाद दिए। साक्षीहरू त्यहाँबाट गइसकेर पनि तिनी आफ्नो आभार व्यक्त गर्न उभिनै रहे। उक्त कार्यमा संलग्न प्राचीनले पछि त्यस अस्पतालमा यहोवाका साक्षीहरू बिरामी परेको बेला निकै राम्रो ख्याल गरिएको याद गरे।
[पृष्ठ ९-मा भएको पेटी/चित्र]
स्वयम्सेवा— सबैको हित हुने कार्य
बुरूण्डीको एउटा सानो समुदाय, काबेजीका स्वयम्सेवकहरूको एउटा समूहले राज्यभवन निर्माण गर्न चाहँदा, स्थानीय प्रशासनले उनीहरूलाई सोच्दै नसोचेको एउटा आग्रह गऱ्यो। अधिकारीहरूले साक्षीहरूलाई प्रस्तावित निर्माणस्थल नजिकैको बाटो पनि मर्मत गरिदिन आग्रह गरे। साक्षीहरू त्यो भत्केको सडक मर्मत गर्न राजी भए र आफ्नै हातले सबै काम पूरा गरे। स्वयम्सेवकहरूले त्यो काम निकै राम्ररी गरेको देखेर स्थानीय अधिकारीहरूले तिनीहरूको कडा परिश्रम र इच्छुक मनोवृतिका लागि आभार व्यक्त गरे। त्यसपछि, स्वयम्सेवकहरू आफ्नो राज्यभवन बनाउने काममा जुटे, जसको तस्बिर माथि दिइएको छ। अब तिनीहरूको सुन्दर राज्यभवन छ र भविष्यमा वर्षौंसम्म बाइबल शिक्षा फैलाउन यस राज्यभवनले मदत गर्नेछ। वास्तवमा भन्ने हो भने, जुनसुकै प्रकारको स्वयम्सेवा होस्, त्यसले चिरकालीन लाभ दिनसक्छ।
[पृष्ठ ७-मा भएको चित्र]
अरूलाई पढ्न अनि लेख्न सिकाउँदा सर्ली सन्तुष्ट महसुस गर्छिन्
[स्रोत]
Nelson P. Duarte-Jornal do Sudoeste