घृणाको विश्वव्यापी महामारी
घृणाको विश्वव्यापी महामारी
घृणा नाउँ गरेको एउटा दानव स्वतन्त्र छ अर्थात् सारा संसारमा त्यो दानव मनपरी डुलिरहेको छ।
बाल्कन क्षेत्रमा हालै भएको जातीय संहारले गर्दा ती क्षेत्रहरू अझै पनि भयावह परिणाम भोग्न बाध्य छन्। शताब्दीयौं पुरानो इबी नै सामूहिक हत्या, बलात्कार, देश निकाला, आगलागी, लुटपाट अनि अन्नवाली तथा वस्तुभाउको सर्वनाश, भोक र अनिकालको कारण बन्यो। अझै पनि जताततै विस्फोटक पदार्थहरू बिछ्याइएका छन्।
सुदूर दक्षिण एसियाको पूर्वी टिमोरमा ७,००,००० त्रसित मानिसहरू हत्या, पिटाइ, अन्धाधुन्ध गोली र जबरजस्ती विस्थापनाको डरले गर्दा भाग्नु परेको थियो। तिनीहरू ती लुटेरा सैनिकहरूले तहसनहस पारेका उजाड ठाउँ हुँदै भागे। एक जना पीडित यसो भन्दै रोए, “म आफूलाई सिकारीले लखेटेको जनावरजस्तै महसुस गर्छु।”
मस्कोमा एउटा विशाल आतंककारी बम विस्फोटन हुँदा एउटा आवासीय भवन ध्वस्त भयो। उक्त विस्फोटनमा मारिएका केही केटाकेटीलगायत ९४ जना निर्दोष व्यक्तिहरूका लासहरू यत्रतत्र छरिएका थिए। घाइते हुनेहरू १५० भन्दा धेरै थिए। यो आङै सिरिंङ हुने घटनापश्चात् मानिसहरूले यस्तो प्रश्न गरे, ‘अब अर्को घटनाको सिकार को हुने होला?’
क्यालिफोर्नियाको लस एन्जलसमा एक जना जातीय भेदभाव राख्ने व्यक्तिले पूर्वप्राथमिक विद्यालयका यहूदी केटाकेटीहरूको एउटा समूहलाई आफ्नो बन्दुकको निसाना बनाइसकेपछि तिनले एक फिलिपिनो हुलाकीमाथि गोली चलाए।
घृणालाई विश्वव्यापी महामारीको संज्ञा दिनु उपयुक्त देखिन्छ। जब जातीय, वर्गीय वा धार्मिक वैमनस्यताले अराजक रूप लिन्छ तब त्यसको परिणाम के हुन्छ, त्यो प्रायः हरेक दिनको समाचारले बताउँछ। राष्ट्र, समाज अनि परिवारहरू छिन्नभिन्न भएको हामी देख्छौं। राष्ट्रहरू तीव्र जातीय संहारमा होमिएका हामी देख्छौं। मानिसहरूले घोर अमानवीय कार्य पनि सजिलै गरेको देख्छौं किनभने कोहीकोही मानिसहरूसँग मानवता नै छैन।
यदि त्यो दानवरूपी घृणालाई सधैंको लागि कैदमा जाक्ने हो भने, हामीले यो घृणित हिंसाको उत्पत्तिबारे बुझ्नैपर्छ। के घृणा मानव जीनमै हुन्छ? के यो पछि सिकिने बानी हो? के घृणाको चक्र तोड्नु सम्भव छ? (g01 8/8)
[पृष्ठ ३-मा भएको चित्रको स्रोत]
Kemal Jufri/Sipa Press