सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

चित्रकारको हैसियतमा मेरो जीवन

चित्रकारको हैसियतमा मेरो जीवन

चित्रकारको हैसियतमा मेरो जीवन

शिजुको कावाबाताको वृत्तान्तमा आधारित

“संसारभरि सुसमाचार उद्‌घोषणा गरिरहेका यहोवाका साक्षीहरू कत्ति असल छन्‌” फ्रान्सको भर्सेल्समा सन्‌ १९९९ मा प्रदर्शन गरिएका मेरा चित्रहरूमध्ये एउटाको विषय थियो।

उक्‍त प्रदर्शनी सुरु हुनुभन्दा एक हप्ताअघि मात्र फ्रान्सका यहोवाका साक्षीहरूले उनीहरूप्रति त्यहाँको सरकारले गरेको अन्यायी व्यवहारतिर सबैको ध्यान खिच्न देशभर १ करोड २० लाख पर्चाहरू वितरण गरे। साक्षीहरूको प्रशंसा गरिएको मेरो चित्रले गर्दा मैले एउटा विशेष पुरस्कार पाएँ। पछि त्यो पुरस्कार दिने व्यक्‍तिले यसो भने: “तपाईंसित साहस छ र मसित पनि साहस छ। त्यसैकारण, म यो विशेष पुरस्कार तपाईंलाई दिंदैछु।”

थुप्रै चित्रकार आफ्ना चित्रहरूमा सनसनी फैलाउने र आफ्ना भावनाहरू व्यक्‍त गर्ने प्रयास गर्छन्‌। म पनि त्यसै गर्ने प्रयास गर्छु। त्यसैकारण, मेरा चित्रहरूमा मेरा भावनाहरू झल्किन्छन्‌ र मेरा चित्रहरूमा मेरो खुसी तथा आनन्द व्यक्‍त हुने भएकोले ती जीवन्त देखिन्छन्‌। सानै छँदा मैले चित्रकलामा सिर्जनशील हुने प्रयास गरें र त्यसबाट धेरै आनन्द अनुभव गरें।

मैले चित्रकारिता सुरु गर्नुको उद्देश्‍य

मेरो जन्म १९२० मा जापानको मोरियोकास्थित एउटा धनाढ्य परिवारमा भएको थियो। मेरी दिदी र मलाई जापानका नृत्य, पुष्प सिंगार, चिया समारोह गर्ने, फोटो खिच्ने, कोटो बजाउने (जापानी बाजा जिथर), पियानो बजाउने, गाउने र त्यस्तै अरू कुराहरू सिकाउन प्रशिक्षक राखिएको थियो। मलाई यीमध्ये कुनै पनि कुरा मन पर्दैनथ्यो। त्यसैले, प्रशिक्षकहरू आउँदा म प्रायजसो भाग्थें र लुक्थें। त्यसपछि नोकरहरू मलाई खोज्थे र जबरजस्ती फर्काएर ल्याउँथे।

ती पाठहरूका नियमहरू मलाई मन पर्दैनथ्यो। मैले पहिला कहिल्यै नभेटेका मानिसहरूले मैले कसरी नाच्नुपर्छ, पुष्प सिंगार कसरी गर्नुपर्छ र चिया कसरी बाँड्‌नुपर्छ भनेर निर्णय गरिदिन्थे। आफ्नो बारेमा सोच्न र लक्ष्यहरू तय गर्न नपाएकोले मलाई आफू बन्धनमा परेजस्तो लाग्थ्यो। तर चित्रहरू कोर्दा कसैले पनि मलाई नजिकबाट नियाल्दैनथ्यो। के गर्नुहुन्छ के गर्नुहुँदैन भनेर कसैले पनि सुझाउ दिंदैनथे। त्यसैले, यहाँ भने मैले खोजिरहेको स्वतन्त्रता पाएँ।

चित्र कोर्न सिकाउने कोही प्रशिक्षक नभएको कारण मैले सिर्जनशील र उन्‍नतिशील हुने मौका पाएँ र कसैले पनि मेरो आलोचना गरेनन्‌। बिस्तार बिस्तारै मैले चित्रमा नयाँपन ल्याउन थालें। लगभग १२ वर्षको उमेरमा मैले बुबाको रेशमका टाईहरूमा चित्र कोर्न थालें। त्यसको केही समयपछि नै हामीले स्कूलमा ड्रेस बनायौं। मैले सिलाएको ड्रेसको अगाडिको आधा भाग काटेर त्यसको ठाउँमा सेतो कुरा राखेको देखेर मेरी शिक्षिका छक्क परिन्‌। तथापि, मेरो बुबाले जस्तै तिनले पनि कुनै टिप्पणी गरिनन्‌।

सपनाहरू र वास्तविकता

प्राथमिक कक्षामा पुग्दा मैले ठूलो भएपछि म चित्रकार बन्‍नेछु भनेकी थिएँ। मेरो लक्ष्य बदलिएन, म विश्‍वविद्यालयमा गएर चित्रकारिताबारे अध्ययन गर्न चाहन्थें। तर मेरा आमाबुबाले त्यसो गर्न दिनुहुने थिएन। किनकि उहाँहरूको भनाइअनुसार जापानमा चित्र बनाउने केटीलाई दुलहीको रूपमा स्वीकार गरिंदैन। त्यसैले मैले घरायसी कामकाजसम्बन्धी विषय लिनुपऱ्‍यो।

मलाई विदेशी कविता तथा किताबहरू मनपर्थ्यो र मैले तीमध्ये धेरै पढें पनि। तथापि, त्यसबेला त्यस्ता पुस्तकहरूलाई शत्रुहरूको साहित्य भनेर आलोचना गरिन्थ्यो। त्यस्ता पुस्तकहरू आफूसित राख्नु मात्रै पनि खतरापूर्ण थियो। स्कूलमा मैले पाँच वर्षसम्म एक जना फ्रान्सेली शिक्षिकाबाट फ्रान्सेली भाषा सिकें तर समयको अन्तरालमा जापानको परिस्थितिमा परिवर्तन आयो र विदेशी भाषामा चासो दिनेलाई समेत शंकाको दृष्टिकोणले हेर्न थालियो। हाम्रो वाक्‌ स्वतन्त्रताको खण्डन गरियो।

सन्‌ १९४३ मा दोस्रो विश्‍वयुद्ध चर्किन थाल्दा एक जना मानिसले विवाह गर्न योग्य ४० जना आइमाईहरूको तस्बिर हेरिसकेपछि मलाई आफ्नो सम्भाव्य श्रीमतीको रूपमा छाने। यो कुरा सुनेर मलाई फुर्क्याइएको जस्तो लाग्यो। उहाँको आमा र साथी हाम्रो छिमेकमा मलाई थाह नहुने गरी हेर्न आउनुभएका रहेछन्‌ भनेर मैले केही समयपछि थाह पाएँ। पछि, उहाँको परिवारले हाम्रो परिवारमा विवाहको प्रस्ताव पठायो र मलाई पनि स्वीकार्न मनाइयो। मैले त्यस मानिसलाई विवाहअघि एक चोटि मात्र भेटें।

हाम्रो विवाहपछि हवाई आक्रमणहरूले दिनहुँ हाम्रो जीवनलाई त्रसित पारिरह्‍यो र अन्ततः बाँकी शहरसितै जलेर हाम्रो घर पनि खरानी भयो। बचेकाहरूले पहाडहरूतिर भागेर शरण लिन खोजे तर त्यहाँ पनि हामी खतराका ध्वनिहरू सुन्थ्यौं र युद्धजहाजहरू देख्थ्यौं। यो एकदमै डरलाग्दो थियो। सबैजनाले दुःख भोगे। युद्धपछिको दस वर्षसम्म हामीलाई दुःखकष्टले पछ्याइरह्‍यो।

हाम्रा तीन जना छोराछोरीबाहेक सासू अनि छ जना देवर र नन्दहरू पनि हामीसितै बस्थे। हामीले नोकरहरू त राखेका थियौं तर खानको लागि हामी सबैले कठोर परिश्रम गर्नुपर्थ्यो। त्यतिञ्जेल म अत्यन्तै दुःखित भइसकेको कारण मैले हाँस्नै बिर्सिसकेकी थिएँ। तर मेरो दुःख शब्दहरूमा व्यक्‍त गर्दा आपसमा फाटो होला भनेर डराउँथें। तथापि, बिस्तारै मैले आफ्ना भावनाहरू चित्रमा व्यक्‍त गर्न सकिने रहेछ भनेर पत्ता लगाएँ।

चित्रकारको हैसियतमा नाउँ कमाउँदै

एउटा राम्रो चित्र कोर्न दक्ष चित्रकारले समेत धेरै समय कठिन परिश्रम गरेर बिताउनुपर्छ। मैले चित्रकारितासम्बन्धी थुप्रै पुस्तकहरू किनें र जापानका थुप्रै प्रमुख चित्रकारअन्तर्गत अध्ययन गरें। तिनीहरूमध्ये कसैले पनि मलाई आफ्नो पुरानो शैलीलाई परिवर्तन गर्ने सुझाउ दिएनन्‌।

मैले चित्रहरू अरूलाई देखाउनको लागि नभई आत्मसन्तुष्टिका लागि कोरेका भए तापनि चित्रकारिताका विश्‍लेषकहरूले ती चित्रहरूप्रति ध्यान दिनथाले। समयमा मभित्र पनि मानिसहरूले मेरो चित्रप्रति कस्तो धारणा राख्दो रहेछन्‌ भनेर बुझ्ने उत्सुकता जाग्यो। त्यसैले, १९५५ मा टोकियोको गिन्जामा मैले मेरो पहिलो प्रदर्शनी आयोजना गरें। यसको विषय “मौन संघर्ष, मौन अभिव्यक्‍ति, मेरो दैनिकी” राखें र यसले चित्रको रूपमा दैनिक जीवनलाई व्यक्‍त गऱ्‍यो। त्यो प्रदर्शनी सफल भयो।

साक्षीहरूसित भेटघाट

मेरो श्रीमान्‌ र म हाम्रा छोरीहरूले राम्रो स्कूलमा पढेर सम्भव भएसम्म राम्रो शिक्षा हासिल गरून्‌ भन्‍ने चाहन्थ्यौं। त्यसैले, हामी १९५८ मा टोकियो सऱ्‍यौं। मेरो जीवन चित्र बनाउनमै केन्द्रित रह्‍यो। दिनहुँ पाँच घण्टाजति चित्र बनाउनमा बिताउनु मेरो दिनचर्या नै भयो। बेलुकी म अरू चित्र बनाउने साथीहरूसित बाहिर गएर समय बिताउँथें र मेरो श्रीमान्‌चाहिं अरूसित बाहिर जानुहुन्थ्यो। हामीलाई हाम्रा छोराछोरीहरू कसरी हुर्काउने, त्यसबारे केही थाहै थिएन।

मेरो श्रीमान्‌ले आफ्नो काममा धेरै समय बिताउनुपर्ने भयो र त्यसले गर्दा छोराछोरीहरूलाई हुर्काउने जिम्मेवारी मेरो थाप्लोमा पऱ्‍यो अनि मलाई चाहिं आफूले तिनीहरूलाई हुर्काउन नसक्ने पो हो कि जस्तो लाग्न थाल्यो। सानो छँदा म क्याथोलिकहरूले खोलेको स्कूलमा पढेकी थिएँ। त्यसैले, कुनै किसिमको बाइबल शिक्षाले पो मदत गर्लान्‌ कि भन्‍ने विचार गर्न थालें। हाम्रो टोकियोको ओमोरी भन्‍ने ठाउँमा रहेको घरबाट सडकपारि एउटा लुथरान चर्च थियो र मैले छोराछोरीहरूलाई हामी त्यहाँ जानेछौं भनेर बताएँ। तर हामी त्यस चर्चमा जान चाहिं कहिल्यै पनि गएनौं।

बरु, त्यसको भोलिपल्ट १९५९ को सुरुतिर एक जना यहोवाको साक्षीले हाम्रो ढोका ढकढक्याए। मैले तुरुन्तै छोराछोरीहरूलाई एक ठाउँमा जम्मा गरें र हामी सबै सुन्‍न बस्यौं। त्यस साक्षीले बाइबलबाट हामी महत्त्वपूर्ण समयमा बाँचिरहेका छौं र परमेश्‍वरले चाँडै नै यस पृथ्वीबाट दुष्टता हटाउनुहुनेछ भनेर बताए। मैले तुरुन्तै बाइबल साहित्यहरूलगायत चारवटा बाइबल मगाएँ र तिनले पनि हरेक हप्ता हामीलाई सिकाउन आउने प्रस्तावलाई सहजै स्वीकारें। मैले मासिक ट्युशन फी कति होला भनेर सोधें तर यहोवाका साक्षीहरूले आफूले सिकाएको कुराको कुनै मूल्य लिंदैनन्‌ भन्‍ने कुरा सुनेपछि तीन छक परें। मैले चिनेका सबै शिक्षकहरूभन्दा कत्ति भिन्‍न!

मेरी छोरीहरूले सजिलै बाइबल सच्चाइ स्वीकारे र हाम्रो घरमा हप्तैपिच्छे सामूहिक अध्ययन सुरु गऱ्‍यौं। तर केही अध्ययनपछि मलाई अप्ठ्यारो लाग्न थाल्यो। मेरोलागि त्यो समय कष्टदायी हुन्थ्यो। त्यसैले, मेरो बाइबल अध्ययन गर्ने समय हुनै लाग्दा म कहिलेकाहीं लुक्थें वा बाहिर जान्थें।

बाइबलले भनेका सम्पूर्ण कुराहरू सत्य थियो र मैले यसको निर्देशन स्वीकार्नुपर्छ भन्‍ने कुरा थाह पाउनु नै मेरो समस्या थियो। त्यसका साथै, म एक जना सक्षम चित्रकार बन्‍न चाहन्थें र सिर्जनशील हुनको लागि स्वतन्त्र विचारधारा राख्नुपर्छ भनेर सोच्ने गर्थें। यस संकटको परिणामस्वरूप मेरो चित्रको गुणस्तर घट्‌न थाल्यो। मेरो चित्रले प्रदर्शनीमा कुनै राम्रो स्थान पाउन सकेन।

मेरो पेरिस भ्रमण

पेरिसमा भ्रमण गरेपछि म आफ्नो चित्रकलामा उन्‍नति गर्न सक्छु भन्‍ने मलाई लाग्यो। त्यसैले, १९६० मा म फेरि पेरिस गएँ किनभने त्यहाँ जापानी कलाको चिनारी दिने प्रमुख प्रदर्शनी हुँदै थियो। जापानबाट भाग लिने चित्रकारहरूमध्ये महिला चित्रकार म एक जना मात्र थिएँ। पेरिसको भिन्‍न जीवनशैली, पहिरन, सोचाइ, रंगढंग जम्मै कुराले मलाई रोमाञ्चित बनायो। त्यो प्रदर्शनी चार दिनसम्म चल्यो र आश्‍चर्यको कुरा त्यस देशमा नेताहरूले पनि सो प्रदर्शनी हेर्न आए। तथापि, अर्को आश्‍चर्यको कुरा मैले लगाएको किमोनो देखेर त्यहाँका आइमाईहरू मोहित भए। म त्यहाँ अझ बढी समय बिताउन तत्पर भएँ।

जापानबाट पठाएको पैसा कसरी पाउन सकिन्छ भनेर थाह नभएकोले गर्दा मैले आफ्ना किमोनोहरू बेच्न थालें। यसरी मैले अरू तीन महिनासम्म चित्रकला संग्रहालयहरूमा प्रदर्शन गरिएका चित्रहरू अध्ययन गर्न सकें। प्रदर्शनीको दौडान मेरो चित्रसँगै झुन्ड्याइएको चित्रका चित्रकारले भनेको कुरा म प्रायजसो सम्झने गर्छु। तिनले यसो भनेका थिए: “म उज्याला चित्रहरू कोर्छु। तपाईंचाहिं स्वाभाविकतः अँध्यारो अनि कालो चित्र कोर्नुहुन्छ किनभने तपाईं पूर्वीय दार्शनिकहरूबाट प्रभावित हुनुहुन्छ।”

पेरिसस्थित यहोवाका साक्षीहरूको शाखा कार्यालयबाट एक विवाहित दम्पती मेरो कोठामा आए। तिनीहरू दुई तीन चोटि मकहाँ आइसकेपछि म तिनीहरूसितै मसीही सभाहरूमा जान सहमत भएँ। त्यहाँ पुगेपछि त्यहाँको परिवेश देखेर म तीन छक परें। एक जना महिलाले रातो फराकिलो किनारा भएको सुन्दर टोपी पहिरेकी थिइन्‌। अर्कोचाहिंले चम्किलो हरियो लुगा लगाएकी थिइन्‌। तिनीहरूको पहिरनबाट तिनीहरू विभिन्‍न शैलीप्रति सजग हुनुका साथै त्यसप्रति चासो लिंदा रहेछन्‌ भन्‍ने कुरा झल्किन्थ्यो र यसले गर्दा मेरो साक्षीहरूप्रति रहेको पुरानो धारणामा पूर्णतया परिवर्तन आयो।

त्यहाँको कार्यक्रमबाट पनि म प्रभावित भएँ। पृथ्वीको चारै कुनामा एकै खालका कार्यक्रमहरू सञ्चालन गरिएको र एउटै शिक्षा दिइएको देखेर पनि यो समूह र यसको गतिविधि कुनै चानचुने गतिविधि होइन भनेर मैले बुझें। परमेश्‍वरद्वारा डोऱ्‍याइएका मानिसहरूसित संगत गरिरहेको छु भन्‍ने कुरा थाह पाएपछि मेरो हृदयलाई यसले गहिरो प्रभाव पाऱ्‍यो।

निर्णयहरू गर्दा

जापान फर्केपछि मैले गम्भीरतासाथ बाइबल अध्ययन गर्न थालें। हाम्रो सृष्टिकर्ताका निर्देशनहरूले हामीलाई मैले सोचेभन्दा धेरै स्वतन्त्रता दिन्छ भन्‍ने कुरा थाह पाएँ। उहाँले मायालु ढंगमा हामी सबैलाई भिन्‍नाभिन्‍नै व्यक्‍तित्व र आ-आफ्नो सीप अनि त्यसलाई खेती गर्ने स्वतन्त्रता दिनुभएको छ। त्यसैले, यहोवाको साक्षी हुने बित्तिकै मैले चित्र बनाउने आफ्नो सोखलाई त्याग्नैपर्छ भन्‍ने रहेनछ भनेर बुझें।

मेरी छोरीहरू र मैले बाइबल अध्ययनमा उन्‍नति गर्न थाल्यौं। एक जना छोरीले यहोवाप्रतिको समर्पण १९६१ मा बप्तिस्माद्वारा प्रकट गरिन्‌ भने अर्कीले १९६२ मा। तिनीहरू दुवै जना आजसम्म पनि परमेश्‍वरका विश्‍वासी सेवकहरूको रूपमा कार्यरत छन्‌। तथापि, मैलेचाहिं अझै पनि बप्तिस्मा लिन आनाकानी गरिरहें। त्यसपछि, १९६५ मा त्यसबेला जापानमा यहोवाका साक्षीहरूका कार्यहरूको रेखदेख गरिरहेका भाइ लोयड ब्यारीले मलाई यसो भन्दै प्रोत्साहन दिए: “यसो सोच्नुहोस्‌ त, प्रमोदवनमा सिद्ध मानिसहरूले झनै कत्ति राम्रा चित्रहरू बनाउनेछन्‌ होला!” त्यसको एक वर्षपछि मैले पनि बप्तिस्मा लिएँ।

यहोवाको सेवाले मेरो चित्रकलामा पारेको प्रभाव

यसो विगतलाई फर्केर हेर्दा, मैले आफ्नो जीवन अनि व्यक्‍तित्वमा ल्याएको परिवर्तनले मेरा चित्रहरूलाई कत्ति धेरै प्रभाव पारेछ भनेर म स्पष्टै देख्नसक्छु। मैले पहिला बनाउने गरेका चित्रहरू मेरो पीडा, दुःख अनि निराशा झल्काउने अँध्यारा तथा धमिला हुन्थे। तर त्यसपछि मैले बाइबलबाट हाम्रो सृष्टिकर्ता, उहाँका अद्‌भुत गुणहरू, उहाँलाई प्रशंसा गर्दा प्राप्त हुने आनन्द अनि हामीले जीवनमा कायम गर्नुपर्ने उचित स्तरहरूबारे सिकें। मेरा भावनाहरूमा परिवर्तन आउन थालेपछि मेरा चित्रहरूमा पनि परिवर्तन आउन थाले।

अहिले म धेरैजसो समय नियमित तवरमा अरूलाई बाइबलको सन्देश सुनाउनमा बिताउने गर्छु। अरूसित परमेश्‍वरको गुणका साथै यस पृथ्वीलाई आफ्नो पुत्र येशू ख्रीष्टको शासनअन्तर्गत प्रमोदवन बनाउने उहाँको अद्‌भुत उद्देश्‍यबारे बताउँदा मलाई धेरै आनन्द अनि सन्तुष्टि प्राप्त हुन्छ। बाइबल आधारित गतिविधिहरूले मलाई चित्र कोरूँ कोरूँजस्तो महसुस गराउँछ र मेरा भावनाहरू व्यक्‍त गर्न चित्र कोर्ने बुरुसहरू उठाउँछु। अनि वर्षौंको दौडान मेरो आनन्द बढ्‌दै जाँदा मेरा चित्रहरूमा पनि उज्यालोपन देखा पर्न थाल्यो।

बाइबललाई जोड दिंदै

मलाई आफ्ना चित्रहरू प्रदर्शन गर्न संसारभरिबाट अर्थात्‌ सिड्‌नी, भियना, लन्डन र न्यु योर्कबाट आग्रहहरू आउँछन्‌। तर मेरा चित्रहरूको प्रशंसा गर्नेहरूमा अधिकांश मानिसहरू युरोपेलीहरू हुन्‌। पेरिसको लुभ्रे रोयल एकेडेमी अफ आट्‌र्सका विशेषज्ञहरूले यस्तो प्रश्‍न गरे: “एक जना जापानी व्यक्‍तिले बाइबल र मसीही धर्मबाट प्रभावित भएर शताब्दीयौंको धार्मिक चित्रकलामा नदेखिएको आनन्द कसरी आफ्नो चित्रमा झल्काउन सकेकी होला?”

बाइबलका भजनरचयिता दाऊदले आफ्ना भावनाहरू संगीतबाट व्यक्‍त गरे र तिनले आफ्नो सांगीतिक सीप अरूलाई परमेश्‍वरका आश्‍चर्यहरूबारे सिकाउन प्रयोग गरे। मेरो लक्ष्य पनि त्यस्तै छ। म यहोवाको प्रशंसा गर्न चाहन्छु। मानिसहरूले मेरो चित्रमा यहोवा अनि उहाँका अद्‌भुत गुणहरू चिनेर पाउन सकिने आनन्द महसुस गरून्‌ भन्‍ने म इच्छा गर्छु। एक जना चित्रकारिताको समालोचकले मेरा चित्रका विषयहरूबारे यसो भने: “यस चित्रकारले एकदमै सिपालु ढंगमा आफ्ना चित्रहरूमा आफ्नो होइन तर बाइबलका पद्यांशहरू हुबहु सार्ने गर्छिन्‌।” मानिसहरूले मेरो चित्रमा बाइबलको शक्‍तिबारे थाह पाएको देखेर म रोमाञ्चित भएकी छु।

टोकियोमा मुख्यालय रहेको अन्तरराष्ट्रिय चित्रकला संगठन वर्ल्ड काउन्सिल अफ आट्‌र्सले १९९५ मा मलाई विश्‍वका उत्कृष्ट चित्रकारहरूमध्येकै प्रथम स्थानको पुरस्कार प्रदान गऱ्‍यो। मेरा चित्रहरूबारे उक्‍त काउन्सिलले यस्तो रिपोर्ट गऱ्‍यो: “यस चित्रकारले आफ्ना विषयहरू बाइबलबाट उद्धृत गर्छिन्‌। . . . तिनका सम्पूर्ण चित्रहरूमा बाइबललाई चित्रण गरिएको हुन्छ तर साँच्चै भन्‍ने हो भने, परमेश्‍वरसँगसँगै हिंड्‌ने एक जना चित्रकारको जीवन वास्तवमा त्यस्तै हुनुपर्छ।”

म आफ्ना सम्पूर्ण चित्रहरूमा खुला बाइबलको चित्र कोर्ने गर्छु त्यसैकारण तिनीहरूले माथि उल्लिखित कुराहरू भनेका हुन्‌। हालसालै, मैले आफ्ना चित्रहरूसित बाइबलको छापिएको पानालाई पनि सामेल गर्ने गरेकी छु। त्यसैले, दर्शकको दृष्टि मैले छानेको विषय अनि बाइबलका शब्दहरू र त्यसपछि मैले ती शब्दहरू चित्रमा कसरी उतारें भन्‍ने कुरातिर उनीहरूको ध्यान खिचिन्छ।

सन्‌ १९९९ मा थाइल्याण्डको बैंककमा मेरा केही चित्रहरू प्रदर्शन गरिए। एउटा चित्रलाई “यहोवा परमेश्‍वरले पृथ्वीलाई कस्तो अद्‌भुत ढंगमा बनाउनुभएर मानिसलाई बस्न दिनुभएको छ” भनियो भने अर्कोलाई चाहिं “दाऊदको प्रार्थना: ‘यहोवा, यी मानिसहरूको हृदय तपाईंसित एकताबद्ध होऊन्‌’ ” भनियो। थाइल्याण्डका नरेशले मलाई पनि अरू केही चित्रकारहरूका साथमा आफ्नो राजदरबारमा निम्तो दिई बक्सियो। नरेश मसित मेरा चित्रहरूबारे केही छलफल गर्न चाहिबक्सनु हुन्थ्यो त्यसैले उहाँबाट मसित थुप्रै प्रश्‍न सोधनी भयो। मैले नरेशसित लामो समयसम्म कुरा गर्न पाएँ अनि मेरो बाइबल आधारित विश्‍वासबारे पनि बताएँ। त्यसपछि, मौसुफलाई मेरो चित्र उपहारस्वरूप टक्राएँ।

विगत ३५ वर्षको दौडान मैले अरू चित्रकारहरूको चित्रलाई जाँच्ने न्यायिक समितिमा पनि काम गरें। मलाई भावना व्यक्‍त गर्ने चित्रहरू मनपर्छ। यदि कुनै चित्रले मलाई असल प्रभाव पार्छ र भित्री आनन्द दिन्छ भने, त्यो चित्र नै मलाई राम्रो लाग्छ। यहोवाका साक्षीहरूको प्रकाशनहरूमा छापिने चित्रहरूको म धेरै प्रशंसा गर्छु किनभने उनीहरूले बाइबलको सन्देश प्रस्तुत गर्ने उद्देश्‍य राम्ररी पूरा गर्छ।

परमेश्‍वरको सेविका हुँदाको आशिष्‌

मेरा चित्रहरूको कारण मैले यहोवा परमेश्‍वर र पृथ्वीको लागि उहाँका महान्‌ उद्देश्‍यहरूबारे साक्षी दिने विशेष सुअवसरहरूको आनन्द उठाएकी छु। यस्ता मौकाहरू पत्रिकाको लेख अनि टेलिभिजन कार्यक्रमहरूको लागि अन्तरवार्ता दिंदा पाइन्छ। वास्तवमा, म चाहे जहाँसुकै जाऊँ वा जोसुकैसँग कुरा गरूँ, यहोवाको सेवा गर्दा पाइने विश्‍वास, आनन्द र खुसीले मलाई त्यस्ता राम्रा चित्रहरू कोर्न मदत दियो भनेर मानिसहरूलाई थाह दिने प्रयास गर्छु।

मैले आफ्नो विश्‍वासलाई त्याग्नु पऱ्‍यो भने मेरा चित्रहरू पनि राम्रो हुनेछैनन्‌ भनेर मलाई यकिन भइसकेको छ। तर म एक जना यहोवाको साक्षी भएको र परमेश्‍वरको वचनको सत्यले आनन्द र सुख दिएको कारण नै मैले चित्र कोर्न सकेकी हुँ। (g01 8/22)

[पृष्ठ १५-मा भएको चित्र]

म पेरिसमा छँदा

[पृष्ठ १६-मा भएको चित्र]

अहिले दुई जना छोरीसित