दैनिकी—भरपर्दो साथी
दैनिकी—भरपर्दो साथी
निष्ठुर संसारमा दैनिकीलाई भरोसायोग्य अनि सहानुभूतिशील साथीको रूपमा लिन सकिन्छ। दैनिकीले हामीलाई “हाम्रो जीवनका क्षणहरू समेटेर व्यक्तिगत यात्राको अभिलेख राख्न मदत गर्छ” भनी लेखिका क्रिस्टिना बाल्डविन बताउँछिन्। तस्बिरहरूले भरिएको आल्बममा हाम्रो जीवनमा घटेका घटनाहरूको ऐतिहासिक दृश्यहरू रेकर्ड गरेर राखेजस्तै दैनिकीले जीवनका घटनाहरूको लिखित “चित्रहरू” रेकर्ड गर्छ।
प्रायजसो बाइबलकालीन सरकारहरूले उल्लेखनीय घटनाहरूको अभिलेख राख्थे। बाइबलले समेत त्यस्ता थुप्रै सरकारी अभिलेखहरूबारे जानकारी दिएको छ। (गन्ती २१:१४, १५; यहोशू १०:१२, १३) युनानीहरूले एक किसिमको इफिमेरीडेस a भनिने पात्रो विकास गरे र त्यसमा तिनीहरूले नक्षत्र तथा ग्रहहरूको चालबारे दैनिक अभिलेख राख्थे। युनानीहरूलाई परास्त गरेपछि रोमीहरूले पनि तिनीहरूले जस्तै दैनिक घटनाहरूको अभिलेख राख्न थाले। तर त्यसको व्यावहारिक विशेषतालाई ध्यानमा राख्दै तिनीहरूले समाज अनि जनजीवनका दैनिक घटनाहरूलाई समावेश गरेर त्यसलाई झनै महत्त्वपूर्ण बनाए। तिनीहरूले यसलाई डायरियम नाम दिए, जुन ल्याटिन भाषाको डाइज शब्दबाट आएको हो र यसको अर्थ हुन्छ “दिन।”
तथापि, १७ औं शताब्दीपछि इंग्लिशम्यान शमूएल पीप्सले आफ्ना दैनिक क्रियाकलापहरूको अभिलेख राख्न थालेदेखि मात्र हरेक दिनको व्यक्तिगत घटनाहरू अभिलेख गर्ने दैनिकीको आविष्कार भयो। धार्मिक अनि लौकिक भावनाहरूको असाधारण मिश्रण गरेर पीप्सको दैनिकीले अंग्रेज सम्राट चार्ल्स द्वितीयको शासनकालमा जीवन कस्तो थियो भन्ने अन्तरदृष्टिपूर्ण अभिलेखहरू इतिहासकारहरूका लागि प्रस्तुत गऱ्यो।
त्यसबेलादेखि दैनिकी लेख्ने चलन झन् झन् प्रचलित हुन थाल्यो। थुप्रै दैनिकी बहुमूल्य ऐतिहासिक लेखोट साबित भएका छन्। यिनीहरूमध्ये नाजीहरूबाट लुक्दै हिंडेकी एक जवान यहूदी केटीको दैनिकी उल्लेखनीय छ। एन्नी फ्रान्कको एउटी युवतीको दैनिकी (अंग्रेजी) मानिसले मानिसप्रति गर्ने अमानवीय व्यवहारको दयनीय प्रमाण हो।
दैनिकीले के आह्वान गर्छ?
हरेक दिनका घटनाहरू अभिलेख गर्नु आधारभूत मानव चाहना अर्थात् आफ्नो भावना तथा
विचार व्यक्त गर्ने आधारभूत मानव इच्छा हो। बच्चाको पहिलो बोलीले गर्दा हामी रमाएको घटना होस् वा बढ्दै गरेको मायालु सम्बन्ध, दैनिकीले हामीलाई हाम्रो जीवनलाई असर गर्ने घटनाहरू पुनः स्मरण गर्ने मौका दिन्छ। पछि ती कुराहरू पढ्दा त्यसले हामीलाई कल्पनामा फेरि ती मूल्यवान् क्षणहरूमा फर्केर त्यस्तै भावनाहरूमा रमाउन मदत गर्छ।आफैलाई राम्ररी चिन्न मदत गर्नु दैनिकीको सबैभन्दा ठूलो फाइदाहरूमध्ये एक हो। लेखक ट्रिस्टीन रेनरले यसलाई “कुनै रोकटोकविना तपाईंको भावना व्यक्त गर्ने व्यावहारिक मनोवैज्ञानिक साधन हो” भनेर उल्लेख गरेकी छिन्।
बाइबलले हितोपदेश १२:२५ मा यसो भन्छ: “चिन्तित हृदयले मानिसलाई अशान्ति ल्याउँछ।” यदि कुनै मानिसले आफ्नो मनको ‘चिन्ता’ अरूलाई बताउन चाहँदैन भने ती कुराहरू लेखेर राख्नु आफ्नो भावनात्मक वेदना पोख्ने एउटा वैकल्पिक तरिका हुनसक्छ। दैनिकी लेख्नुलाई प्रायजसो भावनात्मक तनाउ सामना गर्ने उपयोगी साधनको रूपमा लिइएको छ। दैनिकीलाई कसैको जीवन विचार गर्ने, नयाँ लक्ष्यहरू राख्ने र समस्याहरूको समाधान खोज्ने वस्तुको रूपमा प्रयोग गर्न सकिन्छ। आफ्ना समस्या तथा भावनाहरू लिखित रूपमा राख्दा त्यसले वास्तविक समस्या बुझ्न र त्यसलाई आफ्नो ठाउँमा राख्न मदत गर्नसक्छ।
दैनिकी राख्नु शैक्षिक सामग्री पनि हुनसक्छ। शिक्षकहरूको अमेरिकी फेडरेसन आमाबाबुहरूलाई यस्तो सल्लाह दिन्छ: “आफ्ना छोराछोरीहरूलाई दैनिकी राख्न प्रोत्साहन दिनुहोस्। यस्तो लेख्ने बानीले लेख्न सिपालु बनाउनुका साथै तिनीहरूलाई सिर्जनशील हुन पनि मदत गर्नसक्छ।”
कसरी सुरु गर्ने?
सर्वप्रथम, एकान्त ठाउँ खोज्नुहोस् र तपाईंलाई मनपर्ने दैनिकी लेख्ने कापी अथवा नोटकापी लिनुहोस्। हो, धेरैजसो मानिसहरू खाली पाना देख्ने बित्तिकै हच्किन्छन्। तर इमानदार, स्वाभाविक अनि सरल भई लेख्नु नै मुख्य कुरा हो। तपाईं आफूले आफैलाई यस्ता प्रश्नहरू सोध्न सक्नुहुन्छ: ‘मैले आज के गरें? यसले मलाई कस्तो प्रभाव पाऱ्यो? मैले के खाएँ? को कोसित भेटें? मैले चासो राख्ने व्यक्तिहरूको जीवनमा के-कस्ता घटनाहरू घटिरहेका छन्?’ अथवा वर्तमान समयबाट सुरु गर्दै तपाईं यस्ता प्रश्नहरू सोध्न सक्नुहुन्छ: ‘म अहिले जीवनको कुन मोडमा छु? मेरा लक्ष्यहरू के के हुन्? मेरा सपनाहरू नि?’ त्यसपछि कुनै आलोचनात्मक दृष्टिकोण नराखी सरर्र लेख्न थाल्नुहोस्।
धेरै होस् वा थोरै, तपाईं जति चाहनुहुन्छ त्यति लेख्नुहोस्। चाहनुहुन्छ भने, बारम्बार अथवा कहिलेकाहीं मात्र लेख्नुहोस्। खुलस्त अनि निष्कपट ढंगमा लेख्नुहोस्। व्याकरण अथवा हिज्जेलाई वास्ता नगर्नुहोस् किनभने तपाईंको लेखाइलाई कसैले पनि हेर्नेछैनन्। तपाईं त्यसमा फोटो, अखबारका टुक्राहरू अथवा तपाईंलाई महत्त्वपूर्ण लाग्ने जुनसुकै कुरा टाँस्न सक्नुहुन्छ। यो तपाईंको आफ्नो पुस्तक हो। यो सफा पनि हुनसक्छ, नहुन पनि सक्छ, सानो वा ठूलो जस्तो पनि हुनसक्छ। अनि यसमा तपाईंले चाहेको बेला लेख्न सक्नुहुन्छ। तर यदि तपाईंले दैनिकीलाई गर्नैपर्ने कुनै काम वा कर्तव्यसरह ठान्न थाल्नुभयो भने चाहिं असन्तुष्ट महसुस गर्न थाल्नुहुनेछ र यो तपाईंलाई बोझिलो लाग्नेछ।—पेटी हेर्नुहोस्।
वैज्ञानिकहरूले आफूले अध्ययन गरिरहेको कुनै जैविक संरचनामा आएका भिन्नताहरू जाँच्न र लेख्न यस्तै अभिलेखहरू चलाउने गरेजस्तै, दैनिकीले पनि तपाईंलाई आफ्ना आनीबानी अनि झुकाउहरू जाँच्न र अध्ययन गर्न मदत गर्नसक्छ। तपाईंको दैनिकीले तपाईंको आनन्द, दुःख, कमजोरी तथा विशिष्ट गुणहरू प्रकट गर्नेछ। यसले तपाईंलाई आफू कस्तो छु भनेर व्यक्त गर्न सक्षम बनाउँछ। साँच्चै, दैनिकी राख्न संकल्प चाहिन्छ तर त्यस्तो संकल्पले प्रशस्त इनाम ल्याउँछ।— साभार। (g01 8/8)
[फुटनोट]
a युनानीमा इफिमेरोस भन्नाले “दिनभरि” भन्ने बुझिन्छ।
[पृष्ठ २७-मा भएको पेटी]
सुरु गर्ने सुझाउहरू
◆ टिकाउ अनि बोक्न सजिलो कापी छान्नुहोस्।
◆ तनाउमुक्त समय र एकान्त ठाउँ रोज्नुहोस्। हरेक पटक लेख्नुहुँदा मिति पनि लेख्नुहोस्।
◆ केही दिन लेख्न सक्नुभएन भने हतास नहुनुहोस्। लेख्न छोड्नुभएको थियो भने फेरि लेख्न थाल्नुहोस्।
◆ आफ्नो कामप्रति संकुचित दृष्टिकोण नराख्नुहोस्। निर्धक्क हुनुहोस् र आफ्ना भावनाहरू खुलस्तसित व्यक्त गर्नुहोस्। विस्तृत विवरण लेख्नुहोस्। सारांश मात्र होइन।