सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

म कसरी बाइबल पढाइलाई अझ रोचक बनाउन सक्छु?

म कसरी बाइबल पढाइलाई अझ रोचक बनाउन सक्छु?

युवा जनहरू सोध्छन्‌. . . 

म कसरी बाइबल पढाइलाई अझ रोचक बनाउन सक्छु ?

“कहिलेकाहीं मलाई बाइबल बुझ्न साह्रै गाह्रो लाग्छ र त्यो नै मेरो निरुत्साहको कारण बन्‍नपुग्छ।”– अनालिजा, १७ वर्षीया किशोरी।

“मलाई बाइबल पढ्‌नु साह्रै पट्टाइ लाग्थ्यो।”– किमबर्ली, २२ वर्षीया युवती।

अधिकांश मानिसहरू पढ्‌न त्यति मन पराउँदैनन्‌। त्यस माथि पनि बाइबलजस्तो मोटो पुस्तक त उत्सुक पाठकहरूलाई लागि समेत पढ्‌न हम्मेहम्मे पर्नसक्छ। टेमी नाउँ गरेकी १७ वर्षीया किशोरी यसो भन्छिन्‌, “मेरोलागि बाइबल बुझ्नै गाह्रो र कठिन शब्दहरू भएको एउटा मोटो पुस्तक हो। मलाई लाग्छ, बाइबल पढ्‌न एकाग्र ध्यान र धैर्य चाहिन्छ।”

यसको अतिरिक्‍त, स्कूलको गृहकार्य, घरको कामकाज र मनोरञ्जनहरूले हाम्रो धेरैजसो समय खाइरहेको हुनसक्छ। यसले गर्दा पनि बाइबल पढाइमा ध्यान दिन अनि त्यसबाट आनन्द उठाउन गाह्रो हुनसक्छ। एलिसिया नाउँ गरेकी यहोवाका साक्षी, मसीही सभाहरूको लागि तयारी गर्न, उपस्थित हुन अनि आफ्नो विश्‍वासबारे अरूलाई बताउन समय निकाल्ने गर्छिन्‌। उनी यसरी स्वीकार्छिन्‌: “धेरै काम गर्न बाँकी नै छ भन्‍ने सोचाइले बाइबल पढाइ गाह्रो लाग्नसक्छ।”

यद्यपि, एलिसिया, टेमी र अन्य धेरै युवा जनहरूले यस्ता अवरोधहरू पार गर्न सके। अहिले, तिनीहरू नियमित तवरमा बाइबल पढ्‌छन्‌ र यसबाट भरपूर आनन्द उठाउँछन्‌। तपाईं पनि यसो गर्न सक्नुहुन्छ! बाइबल पढाइ अझ रोचक बनाउन तपाईंले गर्न सक्ने तीनवटा कुराहरूमा ध्यान दिनुहोस्‌।

बाइबल पढाइको लागि समय निर्धारण गर्नुहोस्‌

केली नाउँ गरेकी १८ वर्षीया किशोरी यसो भन्छिन्‌, “मेरो विचारमा धेरैजसो युवा जनहरूलाई बाइबल पट्टाइलाग्दो लाग्नुको कारण उनीहरूले पर्याप्त मात्रामा बाइबल नपढ्‌नु नै हो।” आफूले प्रायजसो खेलिरहने खेलकुद जसरी तपाईंलाई रमाइलो लाग्छ, त्यसरी नै नियमित रूपमा बाइबल पढ्‌नुभयो भने तपाईंलाई बाइबल पढाइ रोचक लाग्नेछ।

तर तपाईंसित निकै थोरै समय छ भने नि? प्रेरित पावल यस्तो सल्लाह दिन्छ: “यसैले कसरी हिंड्‌छौ ध्यानसँग हेर, निर्बुद्धि मानिसजस्तो होइन, तर बुद्धिमान्‌जस्तो। समयको पूरा सदुपयोग गर, किनकि दिन खराब छ।” (एफिसी ५:१५, १६, नयाँ संशोधित संस्करण) टिभी हेर्नेजस्ता अनावश्‍यक क्रियाकलापहरूमा कम समय बिताएर तपाईं ‘समयको सदुपयोग’ गर्न सक्नुहुन्छ। पावलले यहाँ प्रयोग गरेको “समय” शब्दले, कुनै विशेष प्रयोजनको लागि छुट्याइएको समय भन्‍ने अर्थ बुझाउनसक्छ। बाइबल पढाइको लागि कुन समय उपयुक्‍त हुनसक्छ?

धेरैले बिहानीपख, दिनहुँ धर्मशास्त्र जाँच्ने पुस्तिकाबाट शास्त्रपद तथा टिप्पणी पढिसकेपछि बाइबल पढ्‌ने गर्छन्‌। a अरूले चाहिं राती सुत्नुअघि बाइबल पढ्‌न रुचाउँछन्‌। व्यावहारिक समय रोज्नुहोस्‌ र आवश्‍यकता अनुसार त्यसमा काँटछाँट गर्नुहोस्‌। एलिसिया यसो भन्छिन्‌: “आफ्नो बाइबल पढ्‌ने तालिका सधैं कायम गर्न सक्नुको मुख्य कुञ्जी नै तालिकालाई परिस्थितिअनुसार काँटछाँट गर्नु हो।”

केही मसीही जवानहरूले बाइबल पढ्‌न दिनहुँ १० देखि १५ मिनेट छुट्याउने गर्छन्‌। यसो गरेर, एक वा दुई वर्षभित्रमै तिनीहरूले सम्पूर्ण बाइबल पढी सिध्याएका छन्‌! तपाईं यसो गर्न सक्नुहुन्‍न भने, हरेक दिन बाइबलको केही अंश पढ्‌ने लक्ष्य राख्नुहोस्‌। यदि बाइबल पढाइको लागि आफूले छुट्याएको समय तालिकाअनुसार नटुटाई बाइबल पढ्‌नुभयो भने, परमेश्‍वरको वचनप्रतिको तपाईंको प्रेम बढ्‌नेछ।—भजन ११९:९७; १ पत्रुस २:२.

बुद्धिको लागि प्रार्थना गर्नुहोस्‌

हो, नियमित तवरमा बाइबल पढ्‌ने व्यक्‍तिहरूलाई समेत परमेश्‍वरको वचनका केही अंशहरू बुझ्न गाह्रो हुन्छ। बाइबलका ग्रन्थकार, यहोवा परमेश्‍वर तपाईंले उहाँको वचन बुझेको चाहनुहुन्छ। प्रेरितको पुस्तकमा यशैया ५३ अध्यायको भविष्यवाणी राम्ररी बुझ्न नसकेका एक जना इथियोपियाली यात्रुबारे बताइएको छ। त्यस व्यक्‍तिले मदत मागे र तिनलाई भविष्यवाणीको अर्थ बुझाउन यहोवाको स्वर्गदूतले प्रचारक फिलिफलाई तिनीकहाँ पठाए।—प्रेरित ८:२६-३९.

त्यसोभए, फलदायी बाइबल पढाइको लागि प्रार्थना गर्नुपर्छ। कसैकसैले आफ्नो बाइबल खोल्नुअघि पढेका कुराहरू बुझ्न र सिकेका कुराहरूलाई मनमा राखेर त्यसलाई व्यवहारमा पनि उतार्न बुद्धिको लागि प्रार्थना गर्ने बानी बसालेका छन्‌। (२ तिमोथी २:७; याकूब १:५) प्रश्‍नहरूको जवाफ दिन वा सफलतासाथ परीक्षाहरूको सामन गर्न परमेश्‍वरको आत्माले तपाईंलाई बाइबलका पदहरू पनि स्मरण गराउनसक्छ।

एक जवान मसीही यसरी सम्झन्छन्‌: “म १२ वर्षको छँदा मेरो बुबाले हाम्रो परिवारलाई छोडेर जानुभयो। एक रातको कुरा हो, बुबालाई फर्काइदिनुहोस्‌ भन्दै मैले ओछ्यानमै यहोवालाई पुकारिरहेको थिएँ। त्यसपछि, मैले बाइबल उठाएँ र भजन १०:१४ पढे: “असहायचाहिं [यहोवा] तपाईंकै शरणमा पर्दछ। बाबु नभएकाहरूको सहाय तपाईंनै हुनुहुन्छ।” म केही मिनेट रोकिएँ। त्यतिबेला स्वयम्‌ यहोवाले नै उहाँ मेरो सहायक र पिता हुनुहुन्छ भनी मलाई भनिरहनुभएको जस्तो लाग्यो। उहाँभन्दा उत्तम पिता मेरोलागि अरू को नै हुनसक्छ र?”

के तपाईं हरेक चोटि बाइबल पढ्‌नुअघि प्रार्थना गर्ने बानी बसाल्न सक्नुहुन्छ? अडरियन यस्तो सुझाउ दिन्छन्‌: “बाइबल पढ्‌नुअघि र पछि प्रार्थना गर्नुहोस्‌। यसो गर्दा यहोवासित तपाईंको दोहोरो कुराकानी हुन्छ।” हार्दिक प्रार्थनाले बाइबल पढाइ तालिकालाई कायम राख्ने तपाईंको दृढतालाई अझ सुदृढ बनाउनुका साथै परमेश्‍वरसितको तपाईंको सम्बन्धलाई अझ बलियो बनाउनेछ।—याकूब ४:८.

बाइबल पढाइलाई जीवन्त बनाउनुहोस्‌

सबैभन्दा माथि उल्लेख गरिएको किमबर्लीलाई बाइबल पढ्‌न पट्टाइ लाग्थ्यो। हो, बाइबल एउटा निकै पुरानो अनि कम्प्युटर, टेलिभिजन वा हवाईजहाजको आविष्कार हुनुभन्दा धेरै पहिले लेखिएको पुस्तक हो र बाइबलका पात्रहरू मरेको हजारौं वर्ष भइसक्यो। यद्यपि, प्रेरित पावलले यस्तो लेखे: “परमेश्‍वरको वचन जीवित र प्रबल” हुन्छ। (हिब्रू ४:१२) यस्तो प्राचीन पुस्तक पनि कसरी प्रबल हुनसक्छ र?

शास्त्री एज्राको समयमा पुरुष, महिला र “सुनेका कुरा बुझ्नसक्ने सबै” व्यक्‍तिहरू यरूशलेममा मोशाको व्यवस्था सुन्‍न भेला हुन्थे। त्यस समयमा, व्यवस्था १,००० वर्षभन्दा पनि धेरै पुरानो भइसकेको थियो! तरैपनि, एज्रा र तिनका सहायकहरूले “परमेश्‍वरको व्यवस्थाको पुस्तक राम्ररी पढ़ेर त्यसको अर्थ बुझाइदिए। औ जे पढ़िएको थियो त्यसबाट तिनीहरूलाई शिक्षा दिए।” ती पुरुषहरूले धर्मशास्त्रको अर्थ बुझाइदिंदा र पढाइलाई जीवन्त बनाउँदा परिणाम के भयो? “सबै मानिसहरू खान-पीन गर्न, अरूहरूलाई भाग पठाइदिन र धूमधामसित उत्सव मनाउन गए। किनभने तिनीहरूलाई सम्झाएको कुरा तिनीहरूले बुझे।”—नहेम्याह ८:१-१२.

बाइबल पढ्‌दा तपाईं कसरी त्यसको ‘अर्थ बुझ्न’ सक्नुहुन्छ? पटक्कै पढ्‌न मन नपराउने क्याथी पढिरहेको कुरामा ध्यान दिन ठूलो स्वरमा पढ्‌ने गर्छिन्‌। निकी, आफूले पढिरहेको बाइबल विवरणको कल्पना गर्छिन्‌। तिनी यसो भन्छिन्‌, “आफू त्यस परिस्थितिमा भएको भए के गर्ने थिएँ होला भनी म सोच्ने गर्छु। रूथ र नाओमीको कथा मेरो मनपर्ने बाइबल विवरण हो। त्यो विवरण पढेर म कहिल्यै थाक्दिनँ। नौलो शहरमा बसाइँ सर्दा मलाई त्यो कथाले ठूलो ढाडस दियो किनभने बिरानो ठाउँमा जानु पर्दा रूथले कस्तो महसुस गरिन्‌ होली, म कल्पना गर्न सक्थें। तिनले यहोवामा कत्तिसम्म भरोसा राखेकी रहिछे भनी म बुझ्थें। अनि त्यस विवरणले मलाई पनि त्यसै गर्न मदत गऱ्‍यो।”—रूथ, अध्याय १-४.

बाइबल ‘प्रबल हुनको’ लागि मनन आवश्‍यक छ। हरेक पटक बाइबल पढ्‌नुहँदा, आफूले पढेको शास्त्रपदमा मनन गर्न समय लगाउनुहोस्‌ र सिकेका कुराहरू कसरी प्रयोगमा ल्याउने, विचार गर्नुहोस्‌। आफ्नो पढाइलाई गुणस्तरीय बनाउन तपाईं यहोवाका साक्षीहरूले प्रकाशित गरेका बाइबल अध्ययन सहायकहरू पढ्‌न चाहनुहुन्छ होला। b

लगनशील हुनुहोस्‌!

बाइबल पढाइ तालिकालाई कायम राख्नु सजिलो छैन। निकै अनुकूल बाइबल पढाइ तालिकालाई समेत समय समयमा काँटछाँट गरिरहनु पर्ने हुनसक्छ। दिनहुँ बाइबल पढ्‌ने आफ्नो लक्ष्यमा तपाईं कसरी लगनशील भई लागिरहन सक्नुहुन्छ?

यस सन्दर्भमा तपाईंका साथी र परिवारले मदत दिनसक्छन्‌। एम्बर नाउँ गरेकी १५ वर्षीया किशोरी यसो भन्छिन्‌, “म र मेरी बहिनी एउटै कोठामा सुत्छौं। कुनै रात म निकै थाकेकी हुन्छु र मलाई सुतिहाल्न मनलाग्छ तर मेरी बहिनीले मलाई बाइबल पढ्‌न सम्झाउँछिन्‌। त्यसैले म कहिल्यै बाइबल पढ्‌न बिर्सिदिनँ!” बाइबलको कुनै खास शास्त्रपद वा विवरण चाखलाग्दो लागेमा, यो कुरा अरूलाई पनि बताउनुहोस्‌। यसले परमेश्‍वरको वचनप्रतिको तपाईंको मूल्यांकन बढाउनुका साथै जससित तपाईंले कुरा गर्नुभयो, तिनीहरूको पनि बाइबल पढाइप्रति चासो जाग्नसक्छ। (रोमी १:११, १२) यदि तपाईंले एक वा एकभन्दा धेरै दिन बाइबल पढ्‌न हेलचेक्य्राइँ गर्नुभएको छ भने, त्यसलाई त्यतिकै नरोक्नुहोस्‌! तपाईंले रोक्नुभएको अंशदेखि फेरि पढ्‌न थाल्नुहोस्‌ र आफ्नो तालिका कायम राख्न पहिला भन्दा झन्‌ दृढ हुनुहोस्‌।

दिनहुँ बाइबल पढाइबाट प्राप्त हुने प्रचुर लाभलाई कहिल्यै नबिर्सनुहोस्‌। आफ्नो वचनद्वारा यहोवाले भन्‍नुभएका कुराहरू सुनेर तपाईं उहाँसितको घनिष्ठ सम्बन्धको आनन्द उठाउन सक्नुहुन्छ। तपाईंले उहाँका विचार तथा भावनाहरू बुझ्न सक्नुहुनेछ। (हितोपदेश २:१-५) स्वर्गमा बस्नु हुने हाम्रो मायालु पिताबाट आएको यो मूल्यवान्‌ सत्य तपाईंको लागि सुरक्षा हुनेछ। भजनरचयिताले यसो भने, “जवान मानिसले आफ्नो चालचलन कसरी शुद्ध राख्नसक्ला? तपाईंको वचनमा ध्यान दिएरनै हो।” (भजन ११९:९) त्यसैले, बाइबल पढ्‌न सुरु गरिहाल्नुहोस्‌ र यसलाई कायम राख्नुहोस्‌। यसो गर्नुभयो भने तपाईंले कहिल्यै सोच्दै नसोचेको अथाह आनन्द प्राप्त गर्न सक्नुहुनेछ! (g01 8/22)

[फुटनोटहरू]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित।

b अक्टोबर १, २००० अंकको प्रहरीधरहरा, पृष्ठ १६-१७ मा अझ गहिरिएर बाइबल अध्ययन गर्न धेरै व्यावहारिक सल्लाहहरू दिइएका छन्‌।

[पृष्ठ १८-मा भएको चित्र]

प्रार्थना र अनुसन्धानले बाइबल पढाइको गुणस्तर बढाउन र धर्मशास्त्रीय अर्थ बुझ्न मदत गर्नेछ

[पृष्ठ १९-मा भएको चित्र]

बाइबल विवरणको कल्पनाले बाइबल पढाइलाई अझ जीवन्त बनाउँछ