सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वदर्शन

विश्‍वदर्शन

विश्‍वदर्शन

सन्‌ २००० मा भएका असाधारण प्रकोपहरू

सन्‌ २००० मा थुप्रै असाधारण प्राकृतिक प्रकोपहरू भएका छन्‌ भनी म्युनिक रे नामक बिमा कम्पनी रिपोर्ट गर्छ। लगभग ८५० भन्दा बढी विपत्तिहरू भएको रिपोर्ट गरियो र त्यसमा परेर १०,००० मानिसहरूको ज्यान गएको थियो भने १३ खरबभन्दा बढीको धनमाल क्षति भयो। प्राकृतिक प्रकोपहरूको संख्या धेरै भए तापनि गएका वर्षहरूमा जति धनजनको क्षति भने भएन। धेरै धनजनको क्षति नहुनुको कारण जनसंख्याको घनत्व कम भएका ठाउँहरूमा त्यस्ता प्रकोपहरू हुनु हो भनेर उक्‍त कम्पनीको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। आँधीले गर्दा जम्माजम्मी ७३ प्रतिशत अनि बाढीले गर्दा २३ प्रतिशत बिमा घाटा भएको थियो। जनसंख्याको वृद्धि तथा अचलसम्पत्तिको मूल्यवृद्धिले गर्दा “प्राकृतिक प्रकोपका कारण हुने घाटा भविष्यमा झनै बढ्‌दै जानेछ भनी अनुमान लगाउन सकिन्छ” भनेर उक्‍त रिपोर्ट बताउँछ। (g01 8/8)

पारदर्शी खामहरू

अमेरिकाको एउटा कम्पनीले कुनै प्रमाण नै नछोडिकन “खामहरू बन्द रहेको अवस्थामानै त्यसभित्र हेर्न सकिने” एक प्रकारको स्प्रेको विकास गरेको छ भनी न्यु साइन्टिस्ट पत्रिका रिपोर्ट गर्छ। त्यो स्प्रे जुनसुकै रङको खाममा पनि प्रयोग गर्न सकिन्छ र यो “कुचालक, विषादीरहित, वातावरणलाई कुनै असर नपार्ने तरल पदार्थ” हो भनेर कम्पनीका प्रतिनिधि बब सालेगल बताउँछन्‌। त्यसले १०/१५ मिनेटजति गन्ध छोड्‌नुबाहेक “खाम अथवा चिठीमा मसी फुल्ने जस्तो कुनै प्रमाण छोड्‌दैन” भनी सालेगल अझ बताउँछन्‌। उक्‍त उत्पादन सार्वजनिक तथा अपराधिक कानुनी निकायलाई चिठीबम तथा अन्य सम्भाव्य खतराले भरिएका पोकाहरू पत्ता लगाउन सजिलो होस्‌ भन्‍ने हेतुले बनाइएको हो। तथापि, त्यस स्प्रेलाई बन्द चिठीहरू पढ्‌नको लागि पनि प्रयोग गर्न सकिन्छ। त्यसले गर्दा एक जना मानवअधिकारविद्‌ले त्यस उत्पादनको प्रयोगको नैतिकतामाथि प्रश्‍न चिह्न खडा भएको कुरा बताए। (g01 8/8)

माहुरीको यात्रा

चाकादेखि फूलमा र फेरि फूलदेखि चाकामा फर्कने माहुरीको क्षमताबारे सबैलाई थाह भएकै कुरा हो। तर प्राप्त प्रमाणअनुसार भारतको उत्तरी भेग आसाममा पाइने एक प्रकारको फिरन्ते माहुरीले सयौं किलोमिटर यात्रा गर्छ र यात्रा गरिसकेपछि पहिलेकै रूखमा फर्कने मात्र होइन तर रूखको त्यही हाँगामा दुई वर्षअघि आफ्ना नातेदारहरूले बनाएको चाकामा समेत फर्कन्छ! अझ चाखलाग्दो कुरा त के छ भने, कामदार माहुरीहरू तीन महिना अथवा त्योभन्दा कम समयसम्म मात्र बाँच्छ। त्यसैले, ती फर्केर आउने फिरन्ते माहुरीहरू चाका बनाउने माहुरीहरूभन्दा धेरै पुस्तापछिका हुन्‌। तिनीहरूले आफ्नो बाटो कसरी पहिल्याउँछन्‌ भन्‍ने कुरा अझ पनि रहस्यकै गर्भभित्र रहेको छ। द सिड्‌नी मर्निङ हेराल्ड पत्रिकाले दिएको रिपोर्टअनुसार यो तिनीहरूको सुँघ्नसक्ने क्षमताले गर्दा भएको हुनसक्छ। त्यसै गरी, जीवित रानी माहुरीले नाचेर जासुस माहुरीहरूलाई उड्‌नुपर्ने दिशाबारे जानकारी दिएको पनि हुनसक्छ। (g01 8/8)

भाषा अनि मस्तिष्क

मानिसले भाषा बुझ्न र सुन्‍नको लागि प्रयोग गर्ने मस्तिष्कका दुइटा भागलाई बहिराहरूले पनि सांकेतिक भाषाको लागि प्रयोग गर्ने गर्छन्‌ भनी साइन्स न्युज रिपोर्ट गर्छ। मस्तिष्कमा गरिएको स्क्यानबाट “सांकेतिक भाषा प्रयोग गर्ने बहिराहरूमा पनि यी स्नायु तन्तुका भागहरूले तुरुन्तै प्रतिक्रिया जनाएको” देखिन्छ भनेर उक्‍त रिपोर्ट बताउँछ। मन्ट्रियलमा अवस्थित म्याकगिल विश्‍वविद्यालयको यस अध्ययनकी नेतृ लरा-एन पेटिटोका अनुसार मस्तिष्कका यी क्षेत्रहरूले “बोली वा संकेतद्वारा व्यक्‍त गरिने जुनसुकै भाषासम्बन्धी आधारभूत क्रियाकलापलाई” नियन्त्रण गर्छ भनेर देखाउँछ। यसले भाषा बोल्ने सन्दर्भमा हाम्रो मस्तिष्क कतिसम्म लचकदार हुनसक्दो रहेछ भन्‍ने विषयमा थप अध्ययन गर्नुपर्ने आवश्‍यकता देखिन्छ। साइन्स न्युज यसो भन्छ: “बोली तथा सांकेतिक भाषा दुवैका लागि मस्तिष्कको लगभग एउटै भाग प्रयोग हुँदो रहेछ।” (g01 8/8)

निद्रा तथा स्मरणशक्‍ति

निद्रा विशेषज्ञहरूले रातभरि अनिदो बस्नुभन्दा राती राम्ररी सुत्नु, “आउँदा हप्ताहरूमा राम्ररी सम्झिरहन सक्ने हुनको लागि जरुरी छ” भन्‍ने कुरा पत्ता लगाएको छ भनी लण्डनको दी इन्डिपेन्डेन्ट-ले टिप्पणी गर्छ। हार्वड मेडिकल स्कूलका प्राध्यापक रोबर्ट स्टिकगोल्डले यसको लागि २४ जना स्वयम्‌सेवकलाई प्रयोग गरे अर्थात्‌ तिनीहरूमध्ये आधाजसोलाई दिमाग प्रयोग गर्नुपर्ने क्रियाकलाप गराइसकेपछि राती राम्रोसित सुत्न दिइयो भने, बाँकीलाई चाहिं रातभरि अनिदो बस्न लगाइयो। त्यसपछिको दुई दिन दुवै समूह सामान्य ढंगमै सुते र अघिल्लो रात सुत्न नपाएकाहरूलाई पनि थकाइ मेटियोस्‌ भनेर सुताइयो। स्मरणशक्‍तिको परीक्षा लिइँदा पहिलो रात सुत्नेहरूले “उत्तरहरू उल्लेखनीय अनि समान ढंगमा दिएको पाइयो भने, अर्को समूहलाई पहिलो दिनको निद्रा पुऱ्‍याउन अरू दिनमा सुत्न लगाए तापनि उनीहरूले कुनै उन्‍नति गर्न सकेनन्‌।” सम्भवतः निद्राले स्मरणशक्‍ति बढाउने भएको कारण यी खोजहरूले मस्त निद्रा लाग्ने समयमा पढ्‌नको लागि अनिदो बसेर पछि “अधकल्चो” सुताइले कुनै फाइदा पुऱ्‍याउँदैन भनेर देखाउँछ। (g01 8/8)

साक्षीहरूले रूसको अदालतमा विजय हासिल गर्छन्‌

फेब्रुअरी २४, २००१ को द न्यु योर्क टाइम्स-ले यस्तो रिपोर्ट गऱ्‍यो: “घृणा र असहिष्णुतालाई बढावा दिने धार्मिक पन्थहरूलाई १९९७ को ऐनअनुसार प्रतिबन्ध लगाइएको थियो र त्यही ऐन लागू गरेर यहोवाका साक्षीहरूमाथि प्रतिबन्ध लगाउन खोज्नेहरूमाथि आज [फेब्रुअरी २३] मस्कोको अदालतमा तिनीहरूले ठूलो विजय हासिल गरे जस्तो देखिन्छ।” उक्‍त मुद्दा मार्च १२, १९९९ मा स्थगित गरेर पाँच जना विशेषज्ञहरूलाई साक्षीहरूको विश्‍वासबारे अध्ययन गर्न नियुक्‍त गरिएको थियो। त्यो मुद्दा झन्डै दुई वर्षसम्म थन्कियो। तर फेब्रुअरी ६, २००१ मा यस विषयमा फेरि मुद्दा सुरु गरिएपछि झन्डै तीन हप्ताभित्रै विपक्षीहरूले लगाएको अभियोग आधारहीन भएको कुरा प्रस्ट भयो। उक्‍त निर्णयबारे टिपोट गर्दै लस एन्जलस टाइम्स-ले यसो भन्यो, “मिसनरी क्रियाकलापको घोर विरोध गर्ने रूसी अर्थोडक्स चर्च, थुप्रै धार्मिक संगठनहरूलाई दर्ता गर्न कठिनाइ उत्पन्‍न गर्ने १९९७ मा पारित गरिएको धार्मिक विधानको प्रमुख समर्थक थियो।” साक्षीहरूको न्यायिक विजयको लागि मस्कोका अधिकारीहरूले गरिरहेको अपिल रूसमा धार्मिक स्वतन्त्रताबारे चिन्ता गर्नेहरूका लागि खुसीको खबर भएको छ। (g01 8/22)

अनुदानस्वरूप दिइएका लुगाफाटाबाट नाफा कमाउने

अनुदानस्वरूप दिइएका “थोरै” लुगाफाटा मात्र साँच्चै खाँचोमा परेकाहरूकहाँ पुग्छन्‌ भनी जर्मनको सुडभेस्ट प्रेसे समाचारपत्रले बताउँछ। जर्मनीमा हरेक वर्ष ५,००,००० टन भन्दा बढी लुगाफाटा खाँचोमा परेकाहरूका लागि अनुदान दिइन्छ। तर साधारणतया ती लुगाहरू बटुल्ने संगठनहरूले तिनीहरूलाई अरबौं रूपियाँमा व्यापारिक संगठनहरूलाई बेच्छन्‌। लुगा बटुल्नेहरूलाई समेत ती चीजहरू कहाँ पुग्छन्‌ केही थाह हुँदैन। उक्‍त लेख यसो भन्छ: “आफूले दिएका लुगाहरूबाट गरिबहरूले साँच्चै फाइदा उठाओस्‌ भन्‍ने चाहनुहुन्छ भने, खाँचोमा परेकाहरूलाई तपाईं आफैले दिनुहोस्‌ होइन भने संकटग्रस्त इलाकामा बसोबास गर्ने कुनै भरपर्दो मानिसमार्फत त्यसलाई पठाउनुहोस्‌।” (g01 8/22)

पुरुष तथा महिलाहरू भिन्‍नाभिन्‍नै तरिकाले सुन्छन्‌

अनुसन्धानद्वारा पत्ता लागेअनुसार महिलाहरूले सुन्‍नको लागि मस्तिष्कका दायाँबायाँ दुवै भाग प्रयोग गर्छन्‌, जबकि पुरुषहरूले चाहिं आफ्नो एकातिरको भाग मात्र प्रयोग गर्छन्‌ भनी डिस्कभरी डट कम न्युज रिपोर्ट गर्छ। अध्ययनमा २० जना पुरुष तथा २० जना महिलाले एउटा पुस्तकको टेप रेकर्डिङ सुन्दै गर्दा उनीहरूको मस्तिष्कको स्क्यान गरिएको थियो। मस्तिष्कको परीक्षणले गर्दा पुरुषहरूले प्रायजसो सुन्‍नको लागि, सुन्‍न र बोल्नसित सम्बन्धित मस्तिष्कको बायाँतिरको भाग प्रयोग गरेको देखायो। अर्कोतर्फ, महिलाहरूको मस्तिष्कको दुवै भाग क्रियाशील रहेको पाइयो। इन्डियाना युनिभर्सिटी अफ मेडिसिनका सहायक रेडियोलोजी प्राध्यापक डा. जोसेफ टी. लुरीटो यसो भन्छ: “हाम्रो अनुसन्धानले पुरुष तथा महिलाहरूबीच भाषा बुझ्ने प्रक्रिया भिन्‍नाभिन्‍नै छ भन्‍ने कुरा स्पष्ट पारेको छ तर यसको अर्थ, कार्य दक्षता पनि भिन्‍नै हुनेछन्‌ भन्‍न खोजेको चाहिं होइन।” अरू अध्ययनहरूले चाहिं महिलाहरू “दुइटा वार्तालापलाई समेत एकै चोटि ध्यान दिनसक्छन्‌” भनेर देखाउँछन्‌। (g01 8/8)

गहनामा हुने सिसादेखि होसियार

“तपाईंका छोराछोरीले गहना चपाउने वा चुस्ने गर्छ भने, त्यस्ता गहनाहरूलाई तुरुन्तै हटाइहाल्नुहोस्‌ किनकि त्यस्ता गहनाहरूमा सिसा हुनसक्छन्‌” भनी हेल्थ क्यानाडाले रिपोर्ट दिन्छ। बच्चाहरूका लागि किनिने सस्तो खाले गहनाहरूमा ५० देखि १०० प्रतिशतसम्म सिसा हुन्छ भन्‍ने कुरा प्रयोगशालामा गरिएको परीक्षणबाट खुल्न आएको छ। “थोरै सिसाको प्रयोगले समेत शिशु र कलिला केटाकेटीहरूको बौद्धिक तथा मानसिक विकासमा समेत हानिकारक असर पुऱ्‍याउँछ” भनी उक्‍त रिपोर्ट बताउँछ। हो, सिसा छ कि छैन भनेर पत्ता लगाउन परीक्षणको आवश्‍यकता पर्छ। त्यसैले, बच्चाहरूले लगाउने गहनाहरू सस्तो खाले हुने भएकोले नेसनल पोस्ट समाचार पत्रले दिएको यो सुझाउ मान्‍नु बेस हुनेछ: “सिसा छ भनेर शंका लाग्ने बित्तिकै यसलाई फ्याँकी हाल्नुहोस्‌।” (g01 8/8)

वेश्‍यावृत्तिलाई मान्यता

यदि कसैले राजीखुसीसाथ वेश्‍यावृत्ति गर्छ भने त्यो “सैद्धान्तिक रूपमा अनैतिक नहुने” निष्कर्ष जर्मनको अदालतले निकालेको कुरा फ्रांकफर्टर आल्जेमाइन जाइटुङ रिपोर्ट गर्छ। वेश्‍याहरूले आफ्ना ग्राहकहरू खोज्न र नजिकैका कोठाहरूमा जान बर्लिन विल्मर्सडोर्फको एउटा क्याफेको प्रयोग गर्ने गरे तापनि यसलाई बर्लिनको प्रशासनिक न्यायालयले सञ्चालन गरिरहन अनुमती दिएको छ। न्यायाधीशहरूका अनुसार तिनीहरूको निर्णय वेश्‍यावृत्तिप्रति समाजको बद्‌लिंदो मनोवृत्तिमा आधारित छ। एक हजार दुई जनाको जनमत बुझ्दा ६२ प्रतिशतले वेश्‍यावृत्तिलाई पनि सामान्य पेसाकै रूपमा हेरिनुपर्ने महसुस गरेको कुरा देखिएको छ। न्यायाधीशहरूका अनुसार दोस्रो मत संग्रहले धेरै समयअघि नै जर्मनीको “आर्थिक संरचनामा यौन सेवा सम्मिलित भएको” कुरा अधिकांशले महसुस गरेका पत्ता लाग्यो। (g01 8/8)