अचाक्ली चिन्तित नहुन म के गर्न सक्छु?
युवा जनहरू सोध्छन् . . .
अचाक्ली चिन्तित नहुन म के गर्न सक्छु?
“जवान मानिसको लागि सबैभन्दा तनाउपूर्ण कुरा नै उसको भविष्य हुनसक्छ। तपाईं आफ्नै लागि चिन्ता गर्नुहुन्छ। के मैले घर छोड्नुपर्छ? स्कूल जाऊँ कि? पूर्ण-समय सेवकाई गर्ने हो कि? विवाह गरूँ कि? तपाईंसित यति धेरै विकल्पहरू भएको कारण यसले तपाईंलाई के गरूँ, कसो गरूँ बनाउँछ।” —शान, २० वर्षीय युवक।
के तपाईं धेरै चिन्ता गर्नुहुन्छ? धेरै युवाहरू चिन्ता गर्छन् र तिनीहरूले चिन्ता गर्नुका कारणहरू धेरै छन्। आमाबाबुहरूलाई सर-सल्लाह दिने उद्देश्यले प्रकाशित एउटा खबर पत्रिकाले यस्तो रिपोर्ट दियो: “हालसालै ४१ मुलुकमा १५ देखि १८ वर्षका किशोर किशोरीहरूको विश्वव्यापी रूपमा सर्वेक्षण गर्दा आजका किशोर किशोरीहरूको प्रमुख चिन्ताको विषय नै राम्रो जागिर पाइएला कि नपाइएला भन्ने डर थियो।” अर्कोचाहिं आफ्ना आमाबाबुहरूको स्वास्थ्यको चिन्ता थियो। आफूले माया गरेको व्यक्ति गुमाउनु पर्ला भन्ने डर पनि चिन्ताको अर्को प्रमुख विषय थियो।
संयुक्त राज्य अमेरिकाको एउटा शिक्षा विभागद्वारा लिइएको सर्वेक्षणमा पत्ता लागेअनुसार, संयुक्त राज्य अमेरिकामा अधिकांश जवानहरूको ठूलो चिन्ता नै “पढाइमा राम्रो अंक ल्याउने दबाउ” थियो। धेरै युवा जनहरू शानले (माथि उल्लेखित) जस्तै सोच्दा रहेछन् भनेर पनि सोही सर्वेक्षणबाट थाह लाग्यो। आस्ली नाउँ गरेकी अर्की युवती यसो भन्छिन्, “म आफ्नो भविष्यबारे चिन्तित छु।”
त्यस्तै अरू युवाहरू आफ्नो सुरक्षाप्रति चिन्तित छन्। सन् १९९६ को सर्वेक्षणअनुसार संयुक्त राज्य अमेरिकामा झन्डै ५० प्रतिशत युवाहरूले आफ्नो स्कूलमा दिन प्रतिदिन हिंसा बढिरहेको महसुस गर्थे। असी लाखभन्दा धेरै (३७ प्रतिशत) किशोर किशोरीहरूले बन्दुकले मारिएका र घाइते भएका कोही न कोही व्यक्तिलाई आफूले चिनेको कुरा बताए!
यद्यपि, सबै प्रकारका चिन्ता डरलाग्दो हुँदैनन्। अधिकांश युवाहरू आफ्नो सामाजिक जीवनसँग सम्बन्धित कुराहरूले गर्दा बढी चिन्तित हुन्छन्। आमाबाबुहरूलाई सर-सल्लाह दिने एउटा इन्टरनेट पत्रिका यसो भन्छ: “किशोर किशोरीहरू आफ्नो प्रेमी वा प्रेमिका होलान् कि नहोलान् भनी चिन्ता गर्छन् तर त्योभन्दा पनि बढी त तिनीहरू आफ्नो साथी नै नहोलान् कि भनेर चिन्ता गर्छन्।” मेगन नाउँ गरेकी एक किशोरी यसरी आफ्नो चिन्ता व्यक्त गर्छिन्: “म कस्तो देखिन्छु र मेरो फेसन समयानुकूल छ कि छैन? भनेर भनिदिने साथीहरू भइदिए हुन्थ्यो।” त्यस्तै नथनेल नाउँ गरेका १५ वर्षीय मसीही युवक यसो भन्छन्, “स्कूलका केटाकेटीहरू आफ्नो स्टाइलबारे चिन्तित हुन्छन्। अरूको नजरमा आफ्नो हिंडाइ, बोलाइ र रूप कस्तो देखिन्छ, त्यसबारे तिनीहरू चिन्तित हुन्छन्। तिनीहरूलाई कतै आफू पाखे जस्तो देखिन्छु कि भन्ने चिन्ता लाग्छ।
समस्या—जीवनको एक हिस्सा
चिन्ता-मुक्त जीवन बिताउन सके हामी कत्ति आनन्दित हुन्थ्यौं होला। यद्यपि, बाइबलले यसो भन्छ, “स्त्रीबाट जन्मेको मानिस अल्प–आयुका र अशान्तिले भरिएको हुन्छ।” (अय्यूब १४:१) त्यसैले, समस्या र त्यससँगसँगै आउने चिन्ता जीवनको एक हिस्सा नै हो। तर यदि तपाईं चिन्ता र फिक्रीमै डुबिरहनुभयो भने, तपाईंले आफैलाई धेरै हानि पुऱ्याउनु हुनेछ। बाइबलले यस्तो चेताउनी दिन्छ: “चिन्तित हृदयले मानिसलाई अशान्ति ल्याउँछ।”—हितोपदेश १२:२५.
अनावश्यक चिन्ता हटाउने एउटा तरिका आफ्नो आचरणलाई वशमा राख्नु हो। सोह्र वर्षीया एना यसो भन्छिन्, “मेरा अधिकांश सहपाठीहरू गर्भवती वा यौनजन्य रोगहरूको सिकार भइएला कि भनी चिन्ता गर्छन्।” बाइबलका नैतिक स्तरलाई दृढतासाथ पालन गरेर तपाईं त्यस्ता चिन्ताहरू हटाउन सक्नुहुन्छ। (गलाती ६:७) तैपनि, तपाईंका सबै समस्याहरू चटक्कै हट्न वा सजिलै समाधान नहुनसक्छ। अचाक्ली चिन्तित नहुन तपाईं के गर्न सक्नुहुन्छ?
“बुद्धिमानीसाथ चिन्ता” गर्नुहोस्
अधिकांश मानिसहरूले चिन्तालाई आफूभित्रै दबाएर राख्छन्। किशोर किशोरीहरूका लागि प्रकाशित हुने एउटा पत्रिकाको लेखमा दिइएको सुझाउअनुसार चिन्तालाई सृजनात्मक कार्यमा परिणत गरेर कुनै पनि व्यक्तिले “बुद्धिमानीसाथ चिन्ता” गर्नसक्छन्! यसो गर्न मदतको लागि बाइबलमा धेरै सिद्धान्तहरू छन्। हितोपदेश २१:५ मा ध्यान दिनुहोस्: “पूर्व-सोच र परिश्रमले अवश्य लाभ ल्याउँछ।” उदाहरणका लागि, मानिलिनुहोस्, तपाईं आफ्नो मण्डलीका केही साथीहरूसित जमघट गर्न चाहनुहुन्छ। राम्रो योजना बनाउँदा धेरै चिन्ता गर्नु पर्दैन। तपाईं आफैलाई यस्तो प्रश्न सोध्न सक्नुहुन्छ, ‘क-कसलाई बोलाउने? तिनीहरूलाई कुन समयमा बोलाउने? जमघट कुन समयमा सकाउने? खानेकुरा कति राख्ने? सबैलाई रमाइलो लाग्ने क्रियाकलापहरू के-के होलान्? तपाईं यी कुराहरूलाई जति ध्यान दिएर सोच्नुहुन्छ, त्यो जमघट त्यति नै रमाइलो हुने सम्भवना हुन्छ।
यद्यपि, कामकुरालाई जति जटिल बनायो उति नै तपाईंको चिन्ता अझ बढ्नसक्छ। आफ्ना पाहुनाहरूको सत्कारको लागि आवश्यकता भन्दा बढी कष्ट गर्न खोज्ने एउटी स्त्रीलाई येशूले यस्तो सल्लाह दिनुभयो: “तर आवश्यकता एउटै मात्र कुराको छ।” (लूका १०:४२, नयाँ संशोधित संस्करण) त्यसैले, आफैलाई यस्तो प्रश्न सोध्नुहोस्, ‘यस जमघटलाई सफल बनाउन वास्तवमा महत्त्वपूर्ण कुरा के हो?’ कामकुरालाई सरल बनाउँदा त्यसले तपाईंलाई कम फिक्री गर्न मदत गर्नसक्छ।
स्कूलमा आफ्नो सुरक्षा चिन्ताको अर्को विषय हुनसक्छ। स्कूलको परिस्थिति नै परिवर्तन गर्ने सम्भावना त नहोला। तर आफ्नो सुरक्षाको लागि तपाईं केही व्यावहारिक कदमहरू भने अवश्य चाल्न सक्नुहुन्छ। हितोपदेश २२:३ ले यसो भन्छ, “चतुर मानिस दुःख आएको देखेर जोगिन्छ, तर सीधा-साधा त्यसमा पर्छ र दण्ड भोग्छ।” खतरनाक क्षेत्रहरू जस्तै, एकान्त ठाउँ मात्र नभई उच्छृंखल व्यक्तिहरू भेला हुने ठाउँहरूमा नगएर तपाईं, आफू डरलाग्दो परिस्थितिमा पर्न सक्ने जोखिमलाई कम गर्न सक्नुहुन्छ।
स्कूलका कृयाकलापहरू चिन्ताको अर्को विषय हुनसक्छ। तपाईंका धेरै महत्त्वपूर्ण गृहकार्यहरू हुनसक्छन् र ती सबै समयमै सिध्याउन नसक्ने हो कि भनेर तपाईंलाई चिन्ता लाग्नसक्छ। यस सन्दर्भमा फिलिप्पी १:१० (नयाँ संशोधित संस्करण) मा लिपिबद्ध सिद्धान्त मदतकारी हुन्छ: “जे उत्तम छ सो तिमीहरू खुट्याउन सक।” प्राथमिकता निर्धारण गर्न सिक्नुहोस्! कुनचाहिं काम सबैभन्दा जरुरी छ, निर्धारण गर्नुहोस् र सबैभन्दा पहिले त्यही काम गर्नुहोस्। त्यसपछि मात्र अर्को काम थाल्नुहोस्। तपाईंले बिस्तारै परिस्थिति सुध्रँदै गएको महसुस गर्न थाल्नु हुनेछ।
सल्लाह सुन्नुहोस्
अरेन जवान छँदा, आफ्नो अन्तिम परीक्षाबारे तिनी निकै चिन्तित भए। यसले गर्दा तिनको छाती दुख्न थाल्यो। तिनी यसरी सम्झिन्छिन्, “यस विषयमा मैले आफ्ना बुबामुमासित कुरा गरें, उहाँहरूले मलाई डाक्टरकहाँ पठाउनुभयो। डाक्टरले तुरुन्तै मेरो छातीमा कुनै खराबी नभएको कुरा पत्ता लगाए र फिक्रीले कतिसम्म शरीरलाई असर गर्नसक्छ भनेर पनि बताए। पछि मेरा बुबामुमाले परीक्षाको तयारीको लागि मैले गर्न सक्नेजति सबै कुराहरू गरेको कुरा बताउनुका साथै अहिले मैले आफ्नो बारेमा धेरै ध्यान दिनु आवश्यक छ भन्ने कुरा बुझ्न मदत गर्नुभयो। मेरो फिक्री कम भयो, छातीको दुखाइ पनि हरायो र मेरो परीक्षा पनि राम्रो भयो।”
यदि तपाईं चिन्तामा डुब्नुभएको छ भने, कसैलाई केही नभनी चुपो लागेर नबस्नुहोस्। अगाडि पहिलो भाग मात्र उद्धृत गरिएको हितोपदेश १२:२५ को पूरा भागमा यसो भनिएको छ: “चिन्तित हृदयले मानिसलाई अशान्ति ल्याउँछ, तर दयालु वचनले त्यसलाई आनन्द दिन्छ।” तपाईंले आफ्नो “चिन्तित हृदय”-बारे अरूसित कुरा गर्नु भए पछि मात्र प्रोत्साहनको “दयालु वचन” पाउन सक्नुहुन्छ!
सर्वप्रथम त, तपाईं आफ्नो चिन्ताबारे आफ्ना आमाबुबासित कुरा गर्न चाहनुहुन्छ होला; उहाँहरूले अवश्य पनि तपाईंलाई राम्रा सुझाउहरू दिनसक्छन्। तपाईंको स्थानीय मसीही मण्डलीका आध्यात्मिकतामा परिपक्व व्यक्तिहरू मदतको अर्को स्रोत हुनसक्छन्। पन्ध्र वर्षीया जेनेल यसो भन्छिन्, “मण्डलीको प्राचीनसित कुरा नगरेसम्म, लागूपदार्थ, यौन, हिंसा जस्ता मैले सामना गर्नुपर्ने कुराहरूको डरले गर्दा उच्च माध्यामिक विद्यालय जाने विषयमा म चिन्तित थिएँ। उहाँले मलाई धेरै व्यावहारिक सल्लाहहरू दिनुभयो। म तुरुन्तै ढुक्क भएँ किनकि म परिस्थितिको सामना गर्न सक्छु भनेर मैले बुझें।”
कामकुरालाई त्यत्तिकै नछोड्नुहोस्
कहिलेकाहीं हामीले गर्नुपर्ने केही कामकुराहरू हुन्छन् तर त्यो काम गर्दा रमाइलो नहुने भएकोले त्यसलाई हामी त्यतिकै छोडिदिन्छौं। उदाहरणका लागि, १९ वर्षीया शभोनको एक जना सँगी मसीहीसित अलिअलि खटपट परेको थियो। यस विषयमा उसित कुरा गर्नुपर्छ भनेर तिनलाई थाह थियो तर तिनले त्यो कुरालाई त्यतिकै राखिछोडे। तिनी यसरी स्वीकार्छिन्, “मेलै जति उसित कुरा गर्न ढिलाइ गरें, यसले त्यति नै मलाई चिन्तित तुल्यायो।” त्यसपछि शभोनले मत्ती ५:२३, २४ मा येशूले भन्नु भएका शब्दहरूलाई सम्झे, जहाँ यस्ता समस्याहरू तुरुन्तै सुल्झाउन मसीहीहरूलाई आग्रह गरिएको छ। शभोन यसरी सम्झिन्छिन्, “अन्ततः मेलै त्यसै गरें र मैले आफ्नो मन हल्का भएको महसुस गरें।”
के तपाईंले आफूलाई मन नपर्ने जिम्मेवारी वा मतभेदहरू जस्ता कुराहरूलाई नसुल्झाइ त्यतिकै राखी छोड्नुभएको छ? यस्ता कुराहरूलाई सकेसम्म छिटो सुल्झाइ हाल्नुहोस्। यसो गर्दा तपाईंले एउटा भए पनि चिन्ता कम भएको पाउनु हुनेछ।
गम्भीर परिस्थितिहरू
सबै परिस्थितिहरू सजिलै सुल्झाउन सकिंदैन। अब्दुर नाउँ गरेको एक जना जवान मानिसलाई ध्यान दिनुहोस्। तिनकी आमालाई क्यान्सर रोग लागेको छ र तिनले आफ्नी आमा तथा सानो भाइसमेतलाई आर्थिक रूपमा मदत गर्नुपर्छ। तिनी आफ्नी आमाको अवस्थाबारे चिन्तित हुनु स्वभाविकै हो। तर तिनी यसो भन्छन्: “म येशूका यी शब्दहरूबाट मदत पाउँछु, ‘तिमीहरूमध्ये कुन चाहिंले फिक्री गरेर आफ्नो कदमा एक हात थप्नसक्छौ?’ चिन्ताले ग्रसित हुनुको सट्टा म परिस्थितिलाई गहिरिएर विचार गर्ने अनि के गर्दा असल हुनेछ सो ठम्याउने कोसिस गर्छु।”—मत्ती ६:२७.
संकटको बेला शान्त रहनु सजिलो छैन। कोहीकोही त यति चिन्तित हुन्छन् कि तिनीहरू आफ्नो स्वास्थ्यको समेत ख्याल नगरी खानै छोडिदिन्छन्। यद्यपि, हेल्पिङ योर टिनएजर डिल विथ स्ट्रेस नामक पुस्तकमा चेताउनी दिएअनुसार जब तपाईंले आफूलाई आधारभूत खानेकुराबाट बञ्चित राख्नुहुन्छ, त्यतिबेला तपाईं “तनाउका विध्वंसकारी असरहरूको सामना गर्न झनै असक्षम हुनुका साथै तपाईंमा स्वास्थ्यसम्बन्धी गम्भीर समस्याहरू देखा पर्ने सम्भावना धेरै हुन्छ।” त्यसैले, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस्। पर्याप्त आराम अनि पौष्टिक खानेकुरा खानुहोस्।
बाइबलको सल्लाह पालन गरेर तपाईं धेरै सन्चो महसुस गर्न सक्नुहुन्छ: “तेरो भारी परमप्रभुमा राख्, र उहाँले तँलाई सम्हाल्नुहुनेछ, र उहाँले धर्मात्मालाई कहिल्यै डग्नदिनुहुनेछैन।” (भजन ५५:२२) माथि उल्लिखित शान आफ्नो भविष्यप्रति चिन्तित थिए। उनी यसरी सम्झिन्छिन्, “मैले परमेश्वरको वचन र उहाँका उद्देश्यहरूमा बढी ध्यान दिन थालें।” आफ्नो जीवन यहोवाको सेवामा लगाएको खण्डमा आफ्नो भविष्य सुखमय हुनेछ भनी उनले छिट्टै बुझे। (प्रकाश ४:११) शान यसो भन्छिन्, “मैले आफ्नो विषयमा चिन्ता गर्न छोडिदिएँ, मैले योभन्दा अझ महत्त्वपूर्ण कुरा सोच्नु परेको थियो।”
त्यसैकारण, यदि तपाईंले आफू अचाक्ली चिन्तित भएजस्तो लागेमा समस्याको समाधानको लागि कुनै रचनात्मक उपायहरूको खोजी गर्नुहोस्। परिपक्व व्यक्तिको सल्लाह सुन्नुहोस्। अनि सबैभन्दा ठूलो कुरा त, आफ्नो फिक्री यहोवामाथि राखिदिनुहोस् ‘किनकि उहाँले तपाईंको फिक्री गर्नुहुन्छ।’ (१ पत्रुस ५:७) उहाँको मदतद्वारा तपाईं अचाक्ली चिन्तित नहुन मदत पाउनसक्नुहुन्छ। (g01 9/22)
[पृष्ठ १३-मा भएको चित्र]
आमाबाबुसित आफ्नो चिन्ताबारे कुरा गर्नुहोस्
[पृष्ठ १४-मा भएको चित्र]
जति छिटो तपाईं समस्या सुल्झाउनुहुन्छ, त्यति नै छिटो तपाईं चिन्ता हटाउन सक्नुहुन्छ