एउटा अफ्रिकी शहर, जहाँ पूर्वले पश्चिमलाई भेट्छ
एउटा अफ्रिकी शहर, जहाँ पूर्वले पश्चिमलाई भेट्छ
दक्षिण अफ्रिकाको ब्यूँझनुहोस्! लेखकद्वारा
डर्बानको सडकमा साँच्चै रंगीचंगी दृश्यहरू देख्न पाइँदो रहेछ! यहाँका थुप्रै मानिस विशेष गरी जवानहरूले पश्चिमी शैलीका पहिरनहरू लगाउन थालेको तपाईंले देख्नुहुनेछ। भद्र देखिने लामो लुगा लगाएकी अनि रंगीचंगी स्कार्फहरूले शिरलाई ढाकेकी वृद्धा जुलु महिलाहरूलाई पनि याद गर्नुहोस्। त्यहाँ सारी अथवा पन्जाबी लुगा र कुर्तासलवार लगाउने भारतीय महिलाहरू पनि छन्। समुद्र किनार जानुभयो भने तपाईंले त्यहाँ जुलु पुरुषहरू एकदमै झकिझकाउ लुगा लगाएर रिक्सा तानिरहेको देख्न सक्नुहुनेछ। साँच्चै, डर्बान एउटा अनौठो अफ्रिकी शहर हो, जहाँ पूर्वले पश्चिमलाई भेट्छ। तर यस मनमोहक शहरको इतिहास कस्तो छ?
दक्षिण अफ्रिकी शहर डर्बानमा मानिसहरू बसोबास गर्न थालेको दुई शताब्दी पनि भएको छैन। युरोपेली मूलका ४० जना आप्रवासीहरू यहाँ १८२४ मा बसाइँ सरेका थिए। त्यसबेला जुलुहरूका योद्धा राजा शाकाको शक्तिशाली राज्यको केन्द्रबिन्दु डर्बानको उत्तरतिर पर्थ्यो। दुई दशकपछि डर्बान र वरपरका भित्री प्रदेशलाई बेलाइतले कब्जा गऱ्यो। उन्नाइसौं शताब्दीको दौडान यी आप्रवासीहरू र जुलुहरूबीच थुप्रै युद्ध लडिए।
त्यसैबेला, अंग्रेजहरूले समुद्र किनारका भागहरूमा ऊखु खेती सप्रने रहेछ भनेर पत्ता लगाए। तिनीहरूको ऊखु खेतीमा काम गराउन त्यसबेलाको अर्को बेलाइती उपनिवेश भारतबाट कामदारहरूलाई झिकाइयो। सन् १८६० र १९११ का बीच झन्डै १,५०,००० भारतीयहरू डर्बान आए। परिणामस्वरूप, स्थानीय बासिन्दा जुलु, भारत मूलका एसियाली, बेलाइती र पश्चिमी युरोपजस्ता पृथ्वीका भिन्नाभिन्नै भागबाट आएका मानिसहरूलगायत हाल डर्बानको शहरी क्षेत्रको जनसंख्या तीस लाखभन्दा बढी छ।
यस शहरका अन्य चाखलाग्दा पक्षहरू पनि छन्। सँगैको चित्रमा देखिएझैं यहाँ एउटा यस्तो प्राकृतिक बन्दरगाह पनि छ जसको अघिल्तिर रहेको लामो औंलाजस्तो आकारको ब्लफ भनिने भीरले हिन्द महासागरबाट यसलाई
सुरक्षित राख्छ। यो आकर्षक भीर ९० मिटर अग्लो हुनुका साथै हराभरा देखिन्छ। हरेक दिन ठूलठूला जहाजहरू यस प्राकृतिक तवरमा सुरक्षित बन्दरगाहभित्र आउँछन्। डिस्कभरी गाइड टु सदन अफ्रिका नामक पुस्तकले डर्बानमा “अफ्रिकाकै सबैभन्दा ठूलो अनि व्यस्त र विश्वको नवौं स्थानमा पर्ने बन्दरगाह छ” भनेर बताउँछ। बिदा मनाउन जानेहरू डर्बानको सुन्दर समुद्री किनारतिर आकर्षित हुन्छन् र यसको न्यानो पानीमा रमाउँछन्। शार्कको आक्रमणबाट बचाउने जालहरू राखिएको कारण समुद्रमा खेल्न र नुहाउन चाहनेहरूले सुरक्षित महसुस गर्नसक्छन्।बाइबललाई मन पराउनेहरूसित पनि यस शहरप्रति रुचि देखाउने थप कारण छ। त्यसबेला बाइबल स्टुडेन्ट्स भनेर चिनिने यहोवाका साक्षीहरूले १९१० मा यहाँ शाखा कार्यालय स्थापना गरे। त्यसपछि अप्रिल १९१४ मा बाइबल स्टुडेन्ट्सको प्रथम अफ्रिकी अधिवेशन यही डर्बानमा सम्पन्न भयो। त्यहाँ दक्षिण अफ्रिकाभन्दा धेरै टाढटाढाबाट आएका प्रतिनिधिहरूलगायत झन्डै ५० जना जति उपस्थित भएका थिए। त्यस ऐतिहासिक अधिवेशनमा १६ जना नयाँ उपासकहरूले बप्तिस्मा लिए। अफ्रिकामा सबैभन्दा पहिलो शाखा कार्यालय स्थापना गर्न नेतृत्व लिने विलियम डब्लु. जोनस्टनलगायत त्यसबेला उपस्थित हुनेहरूमध्ये धेरैजसो अभिषिक्त मसीहीहरू थिए र तिनीहरू आफ्नो मृत्यु नहोञ्जेल विश्वासी रहे।
सन् १९१४ देखि यहोवाका साक्षीहरूले थुप्रै अरू अधिवेशनहरू आयोजना गरे। डिसेम्बर २००० मा यसै शहरमा सम्पन्न “परमेश्वरको वचन पालन गर्ने होओ” विषयक जिल्ला अधिवेशनमा १४,८४८ जना उपस्थित भए र २७८ जना नयाँ व्यक्तिहरूले बप्तिस्मा लिए। त्यहाँ उपस्थित थुप्रै भारतीय परिवारहरूमध्ये एउटालाई विचार गर्नुहोस्। बाबुचाहिं अर्थात् आलेनले दस वर्षअघि आफ्नी छोरी सोमाशीनीबाट बाइबल सच्चाइ सुनेका थिए। आलेनको रक्सी धेरै पिउने बानी थियो। तिनले यो कुलत छोड्ने अनि जीवनको उद्देश्य खोज्न प्रयास गरिरहेका थिए। त्यत्तिनै बेला भर्खर तीन वर्ष मात्र पुगेकी सोमाशीनीले छिमेकीको घरमा भेट्टाएको एउटा किताब आफ्नो बाबुलाई दिइन्। ट्रु पीस एण्ड सेक्युरिटी—हाउ क्यान यु फाइन्ड इट? (साँचो शान्ति र सुरक्षा—तपाईं यो कसरी पाउन सक्नुहुन्छ?) भन्ने यसको विषय देख्ने बित्तिकै उसलाई त्यो किताब पढूँ पढूँ लाग्यो। उसले आफूले पढिरहेको कुराबाट आनन्द उठाउनुका साथै यहोवाका साक्षीहरूसित संगत गर्न थाले। विवाहलाई कानुनी रूपमा दर्ता गर्नुपर्ने कुरा बाइबलबाट सिक्ने बित्तिकै आलेनले आफ्नो विवाह दर्ता गराए। चाँडै तिनकी श्रीमती रानीले पनि चासो देखाउनुका साथै यहोवाका साक्षीहरूको सभामा उपस्थित हुन थालिन्। त्यसबेला ती लोग्नेस्वास्नी, रानीको आमाबाबुसित बसोबास गरिरहेका थिए, जो मसीहीजगत्का चर्च धाउँथे। आमाबाबुले उनीहरूको नयाँ धर्मको विरोध गरे र यस्तो चेताउनी दिए: “कि त साक्षीहरूलाई छोड नभए हाम्रो घरबाट गइहाल!”
अर्को डेरा पाउन गाह्रो भए तापनि आलेन र रानीले घर छोड्ने निर्णय गरे। यहोवाका साक्षीहरूमध्येकै साथीहरूले तिनीहरूलाई बस्न उपयुक्त हुने ठाउँ खोजिदिए। सन् १९९२ मा आलेन र रानीले बप्तिस्मा लिए र यहोवाका साक्षीहरू भए। तिनीहरूले उन्नति गरिरहे र आज आलेन मसीही मण्डलीको प्राचीनको हैसियतमा सेवा गर्दैछन्।
डर्बान महानगर क्षेत्रमा यहोवाका साक्षीहरूको ५० वटा भन्दा बढी मण्डलीहरू छन्। ती मण्डलीहरूमध्ये धेरैजसो मण्डली जुलुहरू मिलेर बनेका छन्। तथापि, विशेष गरी शहरको मध्य भाग नजिकैका केही मण्डलीहरूमा भने जुलु, भारतीय तथा युरोपेली मूलका बासिन्दाहरू संगति गरिरहेका छन्। तपाईंले यीमध्ये कुनै सभाहरूमा भ्रमण गर्नुभयो भने, पूर्वले पश्चिमलाई भेटेको दृश्य मात्र होइन तर त्योभन्दा पनि बढी कुरा देख्नुहुनेछ। चिटिक्क लुगा लगाएका अफ्रिकी अथवा कुनै भारतीय वा युरोपेली मूलका साक्षीले मण्डलीको नेतृत्व लिइरहेका हुनेछन्। तैपनि, एउटा कुरा भने पक्का छ: श्रोतागणमा तपाईंले बाइबलसित सबै जातिका मानिसहरूलाई एकताबद्ध गर्न सक्ने अनि न्यानो र अनन्त मित्रतामा बाँध्न सक्ने शक्ति छ भन्ने कुराको जीवन्त प्रमाण देख्न सक्नुहुनेछ। (g01 9/22)
[पृष्ठ २६-मा भएको चित्र]
मण्डलीका सभाहरूले सबै जातिका मानिसहरूलाई एकै ठाउँमा भेला गराउँछ
[पृष्ठ २६-मा भएको चित्र]
आलेन, रानी र तिनीहरूका छोराछोरी
[पृष्ठ २६-मा भएको चित्र]
डर्बानको सभा गृह
[पृष्ठ २५-मा भएको चित्रको स्रोत]
Photos: Courtesy Gonsul Pillay