सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

केन्टे—राजसी पोशाक

केन्टे—राजसी पोशाक

केन्टे—राजसी पोशाक

घानाका ब्यूँझनुहोस्‌! लेखकद्वारा

आफ्नो अगाडि तन्काइएका लामालामा धागाहरूमा जुलाहाले आफ्नो हात छिटछिटो कहिले उँभो त कहिले उँधो गर्छ। घिर्नीको कानै खाने आवाज अनि उत्तोलकको तालसँगै हात चाल्दै कालिगढ आफ्नो अगाडि रहेको रंगीन कपडाको लामो टुक्रामा ध्यान दिन्छन्‌। उनले आफ्नो खुट्टाका बूढी औंलाहरूमा काठीहरू चलाउने डोरी अड्‌काएर राखेका हुन्छन्‌। यी औंलाहरूले डोरीहरू तान्‍ने बित्तिकै काठीहरूले तानमा तन्काइएका छ मिटर लामो ताना वा लम्बाइतिरबाट तन्काइएका धागोका रेसाहरूलाई छुटाउँछन्‌। a त्यसपछि बढो स्फूर्तिसाथ आफ्ना औंलाहरूले छुटिएका रंगीन धागोहरूको बीचहुँदो बाना अथवा तेर्सोतिरबाट रेसमको धागो छिराउँछन्‌। त्यसपछि काँगियोले बेस्सरी ठेलेर तेर्सोबाट छिराएको रेसमको धागोलाई कस्छ। यही क्रम जारी रहन्छ र अन्तमा सुन्दर कपडा तयार हुन्छ।

त्यसपछि बन्‍ने कपडाको चौडाइ मात्र दस सेन्टिमिटरको हुन्छ। तर यसको आँखै तिरमिऱ्‍याउने रङ अनि जटिल बुट्टा हुन्छ। आफूले बनाएको उत्कृष्ट केन्टे कपडाको टुक्रालाई हेरेर कारिन्दा सन्तुष्ट हुँदै मुस्कुराउँछ।

पुरातन समयदेखिको काम

हजारौं वर्षदेखि सिपालु कामदारहरूले यो बुन्‍ने प्राचीन कलाको सदुपयोग गर्दै आएका छन्‌। आलसको झार, कपास र रेसमबाट कातिएका धागोहरू यो कलामा धेरैजसो प्रयोग हुने साधानहरू हुन्‌। आधारभूत रङहरूचाहिं बोटका जरा तथा पातहरूबाट बनाइन्छन्‌। यसले गर्दा जुलाहाले सरल डिजाइन अनि शैलीको केन्टे सिर्जना गर्न सक्छ।

अफ्रिकाका फिरन्ते जुलाहाहरूले एक ठाउँबाट अर्को ठाउँमा सजिलै लैजान सकिने स-साना तानहरूको आविष्कार गरे। लामो पाते तान भनेर चिनिने ती तानहरूबाट ७.५ देखि ११.५ सेन्टिमिटर चौडाइसम्मको कपडा बनाउन सकिन्थ्यो। शरीरमा बेर्न पुग्ने ठूलो कपडा बनाउन यी लामो तर साँगुरो कपडाहरूलाई जोडेर सिलाइन्थ्यो। बोक्न सकिने यी पाते तानहरू जनावरहरूको पीठमा राखेर मरुभूमि, नदी अनि उच्च पर्वतहरू पारि लगिन्थ्यो। प्राचीन व्यापार मार्गहरू हुँदै यस्ता तानहरू थुप्रै ठाउँ पुगे र जहाँजहाँ पुगे, ज-जसले चलाए तिनीहरूको जीवनमा यसले निकै ठूलो असर पनि गऱ्‍यो।

लुगाको चाहना

खनिज पदार्थको धनी ठाउँ, गोल्ड कोस्ट भनेर युरोपेली अन्वेषकहरूले नामाकरण गरेको ठाउँलाई शताब्दीयौंदेखि पश्‍चिम अफ्रिकी राजा तथा तिनका सरदारहरूले आफ्नो नियन्त्रणमा राखेका थिए। b यस ठाउँबाट धेरै मात्रामा सुन निकालिने भएकोले शासनारूढ आशान्ति राजा तथा तिनका भारदार धनी भए। गह्रौं सुनका गहनाहरूमा सजिई विशेष प्रकारले बुनेका कपडा लगाएर यी राजा तथा तिनका प्रमुख भारदारहरूले आफ्ना अधीनमा रहेका मानिसहरू सामु आफ्नो वैभव र अख्तियारको प्रदर्शन गर्थे। यी शासकहरूले लगाउने विशेष प्रकारका कपडाहरूलाई केन्टे भनिन थालियो। यो शब्दले टोकरी बुन्‍ने कलासित मिल्दोजुल्दो भन्‍ने संकेत गरिरहेको हुनसक्छ। गोल्ड कोस्टका अन्य कुलहरूले पनि कपडाका टुक्राहरू बुन्‍न थाले तर आशान्ति राजाहरूका लागि केन्टे कपडाले प्रतिष्ठा अनि शाही ओहदाको प्रतिनिधित्व गर्न थाल्यो।

गोल्ड कोस्टका जुलाहाहरूले स्थानीय तवरमा कातिने कपासको धागो प्रयोग गर्थे। त्यसबेला नीलो रङका धागोहरू मात्र सजिलै पाउन सकिन्थ्यो। यी नीला धागोहरूलाई स्थानीय मानिसहरूले सरल वर्गाकार चित्र वा लामा धर्के बुट्टाहरू बनाउन सेतो कपासका धागोहरूसित बुन्थे।

गुणस्तरीय ढंगले बुनिएका शाही केन्टे कपडा गन्यमान्य मानिसहरूले मात्र लगाउन पाउँथे। उत्कृष्ट कपडा बुन्‍न सिपालु राजकीय जुलाहाहरूको समूह स्थापना गरिन्थ्यो। यस्तो कपडा सर्वसाधारणको लागि नबनाइयोस्‌ भन्‍ने हेतुले त्यस्तो विधिलाई अत्यन्त सुरक्षित अनि गोप्य राखिन्थ्यो। राजा तथा भारदारहरूको निम्ति मात्र बुनिने बुट्टाहरू अरू मानिसहरूको निम्ति बुन्‍न जुलाहाहरूलाई मनाही गरिएको हुन्थ्यो। भिन्‍नाभिन्‍नै डिजाइन तथा शैली भएका सयौं लुगाहरू राजाले संकलन गर्थे। परम्पराअनुसार तिनले जनसमुदायको अगाडि एकपल्ट लगाइसकेको लुगा फेरि कहिल्यै लगाउँदैनथे।

रङको खोजीमा

सोह्रौं शताब्दीतिर गोल्ड कोस्टमा अर्को प्रकारको कपडा पनि देखिन थाल्यो। यी नयाँ कपडाहरू अफ्रिकी तानमा बुनिएका होइनन्‌ तर धेरै टाढाको भूमिमा उत्पादन गरिएका र युरोपेली नाविकहरूले हस्तिहाड, सुन अनि दासहरूको खोजीमा आउँदा आफूसँगै ल्याएका थिए। यी आयात गरिएका कपडाहरूमा आँखालाई नै लोभ्याउने उज्याला रङका धागाहरू थिए। चाँडै, रातो, पहेंलो अनि हरियो रङका धागोहरूले बुनिएका यी आयात गरिएका रंगीन कपडाहरू बहुमूल्य सामग्री हुनपुग्यो। युरोपेली व्यापारीहरूबाट यस्ता महँगा रंगीन कपडाहरू किन्‍ने पैसा धेरैसित थिएन। समुद्र किनारमा राखिएका जहाजहरूमा सुन, हस्तिहाड अनि दासहरूको ओसारपसार गर्ने कार्यलाई नियन्त्रण गर्ने धनी आशान्तिहरूसित मात्र त्यस्तो कपडा किन्‍ने औकात थियो। तर आशान्ति राजा तथा तिनका सरदारहरूले चाहेकै कुरा भने यस किसिमको तयारी कपडाचाहिं थिएन।

यस्तो कपडा प्राप्त गरिसकेपछि जुलाहाहरूले निकै मेहनत गरेर त्यसलाई उधार्थे र आफूले चाहेको रङको धागो निकालिसकेपछि बाँकी कपडा फ्याँक्थे। त्यसपछि यी बहुमूल्य धागोहरूलाई शाही जुलाहाहरूले लामो पाते तानमा बुन्थे। रंगीन धागोहरूको थप प्रयोगसँगसँगै कारिन्दाहरूले आफ्ना सिर्जनशीलता अनि प्राविधिक दक्षता विकास गरे र यसरी नयाँ पद्धतिहरूको विकास हुन थाल्यो। आशान्ति राजाहरूले अन्य कुलहरूका दक्ष जुलाहाहरूलाई पनि जागिर दिन थाले र यसको परिणामस्वरूप अत्यन्तै गुणस्तरीय केन्टे कपडा तयार हुन थाल्यो।

माछा, चरा, फलफूल, पात, सूर्यास्त, इन्द्रेनी अनि अरू प्राकृतिक आकृतिहरूका बुट्टाहरू एकदमै राम्ररी एकएक बुट्टा छुटिने गरी भरिएका हुन्थे। यस्ता बुट्टाहरूको सांकेतिक अर्थहरू पनि हुन्थे। सुनौला धागोहरू मिसाएर बुनिएका कपडाहरूले धनको प्रतिनिधित्व गर्थ्यो भने हरियो रङले स्वच्छ विचार र नयाँपन, कालोले दुःख, रातोले क्रोध अनि रजत रङले शुद्धता तथा आनन्दलाई दर्शाउँथ्यो।

बुनिसकेको कपडाको आधारमा आफ्नो सीप तथा सिर्जनशीलता जोखिनेछ भन्‍ने कुरा थाह पाएकोले जुलाहाहरू महिनौंसम्म नहडबडाइकन धैर्यतासाथ काम गर्थे। त्यस्तो अत्युत्तम ढंगले बुनिएका केन्टे कपडाहरूको माग थोरै हुन्थ्यो किनभने यस्तो कपडा दुर्लभ साथै महँगा हुन्थे अनि धेरैले यो किन्‍न सक्दैनथे।

आधुनिक केन्टे

समय बित्दै जाँदा, राजा तथा शक्‍तिशाली सरदारहरूको प्रभाव कम हुँदै गयो। राज परिवार र सर्वसाधारणबीचको भिन्‍नतालाई छुट्याउन लुगाको आवश्‍यकता परेन। यी कपडाहरू सर्वसाधारणहरूका लागि बनाइन थालेपछि यस सुन्दर कपडाको माग बढ्‌न थाल्यो। चर्को मागलाई पूरा गर्न कपडाहरू छिटछिटो बुनिन थालियो र यसको फलस्वरूप केन्टे कपडाको गुणस्तर, कार्यदक्षता तथा मूल्यमा ह्रास आउन थाल्यो।

आज धेरैजसो केन्टे कपडाहरू कृतिम धागोहरूद्वारा बुनिन्छन्‌ र त्यसपछि यसलाई झोला, टाई, पेटी, टोपी तथा लुगा उत्पादन गर्न अत्यधिक मात्रामा प्रयोग गरिन्छ। पहिला जस्तो कठिन परिश्रम अनि धेरै समय लगाएर केन्टे कपडा उत्पादन गर्न रुचाउने जुलाहाहरू धेरै छैनन्‌। पुराना गुणस्तरीय केन्टे कपडालाई हाल मूल्यवान्‌ सम्पत्ति मानिन्छन्‌ र त्यस्ता कपडाहरू आफ्ना सन्ततिहरूलाई पुर्ख्यौली सम्पत्तिको रूपमा हस्तान्तरण गरिन्छ। हो, ती दिनहरू बितिसके जुनबेला अतुलनीय सीप र कलाले भरिभराउ केन्टे कपडाहरू बुनिन्थे र राजसी पोशाकको रूपमा चिनिन्थे। (g01 9/22)

[फुटनोटहरू]

a ताना—तानमा लम्बाइतिरबाट तन्काएर राखिएका धागोहरू। बाना—तानामा तेर्सोबाट छिराइएका धागोहरू।

b अहिलेको घाना।

[पृष्ठ १६-मा भएको चित्र]

पाते तान हल्का हुनुका साथै जहाँ पनि लैजान सकिन्छ

[पृष्ठ १७-मा भएको चित्र]

जुलाहाले आफ्ना खुट्टाहरू चलाएर तानका काठीहरू तलमाथि चलाउँछन्‌