के मानिसले आफ्नो खाद्यान्न स्रोत आफै नष्ट गरिरहेको छ?
के मानिसले आफ्नो खाद्यान्न स्रोत आफै नष्ट गरिरहेको छ?
“आजको हाम्रो वास्तविक संकट भनेको ऋण अनि न्यून अर्थव्यवस्था वा विश्वव्यापी प्रतिस्पर्धा होइन तर सही ढंगमा जीवन गुजारा गर्ने उपायको खोजी गर्नु हो अर्थात् सारा प्राणीहरूको जीवन धान्ने पृथ्वीको जीवमण्डल नष्ट नगरी बाँच्नु। मानवजातिले पहिले कहिल्यै यस्तो डरको सामना गर्नु परेको छैन: त्यो हो हामीलाई जीवित राख्ने मूल तत्त्वहरूको विनाश।”– अनुवंशिक विशेषज्ञ डेभिड सुजुकी।
स्याउलाई त्यति वास्ता गरिंदैन। यदि तपाईं स्याउ प्रशस्त फल्ने ठाउँमा बस्नु हुन्छ भने, तपाईंलाई यो सजिलै पाइने र विविध प्रकारका जातिबाट छान्न सकिने फल हो जस्तो लाग्ला। तर १०० वर्षअघि छान्नको लागि जति किसिमका स्याउहरू थिए, त्यति किसिमका स्याउहरू अहिले नहुनसक्छन् भन्ने कुरा के तपाईंलाई थाह थियो?
सन् १८०४ देखि १९०५ वर्षहरूको दौडान अमेरिकामा मात्रै ७,०९८ जातका स्याउहरू फल्थे। आज त्यसमध्ये ६,१२१ अर्थात् ८६ प्रतिशत जातका स्याउहरू लोप भइसकेका छन्। नास्पातीको अवस्था पनि त्यस्तै छ। कुनै समय फल्ने २,६८३ जातका नास्पातीहरूमध्ये अहिले ८८ प्रतिशत त लोप भइसकेका छन्। अनि तरकारीको कुरा गर्ने हो भने, यसको अवस्था त झनै दयनीय छ। केही चीज नासिंदैछ अनि त्यो हो, जैविक विविधता। अनि यसमा जीवित प्राणीहरूका विविध जाति मात्र होइनन् तर यसमा जातिभित्रका विविध प्रजातिहरू पनि समावेश छन्। अमेरिकामा उब्जने विभिन्न जातका तरकारीहरूको विविध प्रजातिमा असी वर्षभित्र ९७ प्रतिशतले कमी आएको छ! तर के विविधताको साँच्चै महत्त्व छ?
धेरै वैज्ञानिकहरू भन्छन्, यसको महत्त्व छ। हालसम्म पनि जैविक विविधताको भूमिकाबारे विवादहरू भए तापनि पृथ्वीमा जीवनको अस्तित्वको लागि यो अपरिहार्य छ भन्ने अधिकांश वातावरणविद्हरूको भनाइ छ। हामीले खानको लागि रोप्ने वनस्पतिहरूमा विविधताको जत्ति महत्त्व छ, संसारभरिका जंगल, झाडी र घाँसेभूमिहरूमा उम्रने वनस्पतिहरूमा पनि विविधताको महत्त्व त्यत्ति नै छ। एउटा जाति-भित्रको प्रजातिमा विविधता हुनु पनि त्यत्ति नै महत्त्वपूर्ण छ। उदाहरणका लागि, यदि विभिन्न जातिका धानहरू छन् भने, त्यसमध्ये कुनैकुनै जातिमा महामारीहरूसित लड्ने क्षमता हुनसक्ने सम्भवाना धेरै हुन्छ। अतः वर्ल्डवाच इन्स्टिच्युटद्वारा हालैसालै प्राकशित विज्ञप्तिमा भनिएअनुसार एउटा अति विशिष्ट तथ्यले पृथ्वीको जैविक विविधता नष्ट गर्नु कत्ति गम्भीर हुनसक्छ भनी मानिसजातिलाई देखाउनसक्छ। त्यो हो—हाम्रो खाद्यान्नको स्रोतमा पर्ने असर।
बोट बिरुवाहरूको विनाशले खाद्यान्नलाई कम्तीमा पनि दुई तरिकामा असर गर्नसक्छ: पहिलो, भविष्यमा विस्तार गर्न सकिने वंशाणुगत सम्भाव्य स्रोतहरू अर्थात् खेती गरिने वनस्पतिहरूकै जातिका जंगली वनस्पतिहरूको विनाशद्वारा र दोस्रो, खेती गरिने जातिका अन्नहरू-भित्रको विविध प्रजातिहरूको विनाशद्वारा। उदाहरणका लागि, २० औं शताब्दीको सुरुतिर एसियामा मात्र प्रायः १,००,००० भन्दा धेरै स्थानीय जातिका धान रोपिन्थे र तीमध्ये भारतमा मात्र कम्तीमा पनि ३०,००० जातिका धान रोपिन्थे। अहिले भारतका ७५ प्रतिशत अन्नहरूमा केवल १० विविधता पाइन्छन्। श्रीलंकामा पहिले २,००० जातिका धानहरू पाइन्थे भने अहिले ५ जातिका मात्र पाइन्छन्। मकै उत्पादनको लागि उद्गम स्थल भनेर चिनिने मेक्सिकोमा १९३० को दशकमा पाइने विभिन्न थरिका मकैमध्ये हाल २० प्रतिशत मात्र खेती गरिन्छ।
यद्यपि, खाद्यपदार्थ मात्र संकटमा परेका छैनन्। व्यापारिक तवरमा उत्पादन गरिने २५ प्रतिशत औषधीहरू वनस्पतिबाट तैयार गरिन्छन् र औषधीको रूपमा प्रयोगमा ल्याउन सकिने नयाँ-नयाँ वनस्पति पत्ता लाग्ने क्रम जारी नै छ। तर वनस्पतिहरू भने निरन्तर लोप
भइरहेका छन्। कतै हामी जुन हाँगामा बसिरहेका छौं त्यही हाँगा नै काटिरहेका त छैनौं?विश्व संरक्षण संघका अनुसार, वनस्पति र जनावरहरूका १८,००० प्रजातिहरूको अनुसन्धान गर्दा ११,००० भन्दा धेरै जातिहरू लोप हुने अवस्थामा रहेको पाइएको छ। इन्डोनेसिया, मलेसिया र ल्याटिन अमेरिका जस्ता देशहरूमा खेतीको लागि घना जंगलहरूको फडानी भइरहेको छ, अनुसन्धानकर्ताहरूले केवल अनुमान गर्न सक्छन् कि त्यस क्षेत्रमा कत्ति जातिहरू लोप हुने अवस्थामा पुगे वा कतिचाहिं सखापै भए होलान्। यद्यपि, द युनेस्को कुरियर-ले दिएको रिपोर्टअनुसार कोहीकोहीको भनाइअनुसार यो विनाश “तीव्र गति”-मा भइरहेको छ।
निस्सन्देह, पृथ्वीमा अहिले पनि पर्याप्त मात्रामा खाद्यान्न उत्पादन भइरहेको छ। तर पृथ्वीको जैविक विविधतामा ह्रास आउने क्रम जारी रहेमा जनसंख्या धमाधम वृद्धि भइरहेको मानवजातिले कतिञ्जेल आफ्नो आहारा जुटाउन सक्लान्? विभिन्न देशहरूले यस चिन्तालाई ध्यानमा राख्दै महत्त्वपूर्ण बीउहरूको हानि नोक्सानीबाट जोगिन बिमाको रूपमा बीउ बैंकहरूको स्थापना गरेका छन्। केही वनस्पति उद्यानहरूले प्रजातिहरूको संरक्षण गर्ने अभिभारा लिएका छन्। विज्ञानले आनुवंशिक इन्जिनियरिङ जस्तो शक्तिशाली नयाँ औजार उपलब्ध गराएको छ। तर के बीउ बैंकहरू र विज्ञानले साँच्चै समस्याको समाधान गर्न सक्ला? अर्को लेखले यस प्रश्नलाई केलाउनेछ।