सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विविधता—जीवन धान्‍नको लागि अपरिहार्य

विविधता—जीवन धान्‍नको लागि अपरिहार्य

विविधता—जीवन धान्‍नको लागि अपरिहार्य

सन्‌ १८४० को दशकमा आयरल्याण्डको जनसंख्या ८० लाख नाघ्यो र यो मुलुक युरोपभरिमै सबैभन्दा बढी जनसंख्या भएको मुलुकको रूपमा चिनिन पुग्यो। यस मुलुकको मुख्य आहारा नै आलु थियो र लम्पर नाउँ गरेको एकै जातको आलु सबैभन्दा बढी अनि व्यापक रूपमा सप्रन्थ्यो।

सन्‌ १८४५ मा कृषकहरूले सदाझैं लम्पर रोपे तर डढुवा रोगले गर्दा प्रायः सबै आलुहरू सखाप भए। आफ्नो पुस्तक द लास्ट हारभेस्ट—द जेनेटिक गेम्बल द्याट थ्रिटेन्स टु डिस्ट्रोइ अमेरिकन एग्रिकल्चर-मा पल रेबर्नले यस्तो लेखे, “त्यस कठिन वर्षहरूमा धेरैजसो आयरल्याण्डवासीहरू बाँचे। विनाश अर्को वर्ष पनि आइपऱ्‍यो। त्यही जातको आलु रोप्नुबाहेक कृषकहरूसित अन्य कुनै छनौट नै थिएन। तिनीहरूसित अरू जातको आलु नै थिएन। यसपालि डढुवा रोगले झनै नराम्रो आक्रमण गऱ्‍यो। त्यो वर्णन नै गर्न नसकिने पीडा थियो।” इतिहासकारहरूले लगाएको अनुमानअनुसार झन्डै १० लाख मानिसहरू भोकभोकै मरे, त्यस्तै १५ लाख मानिसहरू अन्यत्र बसाइँ सरे। ती मानिसहरूमध्ये धेरैजसो अमेरिका गए भने बाँकी रहेकाहरू गरिबीको चपेटामा परे।

दक्षिण अमेरिकाको एन्डीजका कृषकहरूले विभिन्‍न जातका आलु खेती गर्थे र थोरै मात्र डढुवा रोगबाट प्रभावित भए। त्यसैले त्यहाँ कुनै पनि महामारी फैलिएन। स्पष्टतः जाति र जातिभित्रको प्रजातिमा रहेको विविधताले सुरक्षा प्रदान गर्छ। एकै जातका अन्‍नहरू मात्र उत्पादन गर्नु भनेको बचाउको आधारभूत रणनीति विपरीत जानु र बालीलाई हानिकारक रोगहरूको मुखमा धकेल्नु हो। यसले एउटा बृहत्‌ क्षेत्रकै फसललाई स्वाहा पार्नसक्छ। त्यसैकारण विषादीहरू वातावरणीय दृष्टिकोणले अक्सर खतरनाक भए तापनि अधिकांश कृषकहरू जीवनाशक, झारनाशक र ढुसीनाशक विषादीहरूमा औधी भर पर्छन्‌।

त्यसोभए किन कृषकहरू आफ्ना धेरै स्थानीय विविधताहरूको सट्टा एकै जातको अन्‍नमै चित्त बुझाउँछन्‌ त? अक्सर आर्थिक दबाउको कारण तिनीहरू यसो गर्छन्‌। एकै जातको अन्‍न कटनी गर्न सुबिस्ता, रहरलाग्दो उत्पादन हुने, बिग्रने डर कम हुने र उत्पादनमा वृद्धि हुने सम्भावनाले गर्दा कृषकहरू यसप्रति आकर्षित हुन्छन्‌। यो लहर १९६० को दशकमा छ्यासछ्यासती फैलियो र यो हरित क्रान्तिको नाउँले चर्चित भयो।

हरित क्रान्ति

सरकारी तथा संस्थागत रूपमा सञ्चालित बृहत्‌ अभियानको सहयोग पाएर अनिकाल ग्रस्त भूमिका किसानहरू आफ्ना विविध जातका अन्‍नहरूको सट्टा एकै जातको उच्च उत्पादन दिने अन्‍नहरू विशेष गरी धान र गहुँ रोप्नपट्टि लागे। यी “चमत्कारी” अन्‍नहरूलाई विश्‍व भोकमरी समस्याको समाधान भनी घोषणा गरियो। तर ती अन्‍नहरू सस्ता भने थिएनन्‌, त्यस्ता अन्‍नहरूको बीउ सामान्य मूल्यभन्दा तीन गुणा महँगो थियो। यसको उत्पादन पनि पूर्ण रूपले रासायनिक पदार्थ, रासायनिक मल र ट्रयाक्टरजस्ता निकै महँगा औजारहरूमा भर पर्थ्यो। तर यसको बावजूद, सरकारी आर्थिक सहायताले गर्दा हरित क्रान्ति झनै फस्टायो। रेबर्न यसो भन्छन्‌, “यसले भोकमरीबाट करोडौंको ज्यान जोगाए तापनि अहिले यसैले विश्‍वको खाद्य सुरक्षालाई खतरामा पारिरहेको छ।”

यथार्थमा, हरित क्रान्तिले छोटो अवधिको लाभ दिएर लामो अवधिको लागि जोखिम उठाउने काम गरेको हुनसक्छ। चाँडै एकै जातको अन्‍न रोप्ने काम सारा महादेशभरि लोकप्रिय हुन थाल्यो। एकातिर अत्यधिक मात्रामा प्रयोग गरिएको रासायनिक मलले अनावश्‍यक झारहरूलाई बढायो भने, अर्कोतिर कीटनाशक औषधीहरूले लाभदायी परजीवी अनि कीराहरूलाई पनि नष्ट गर्न थाल्यो। विषालु रासायनिक पदार्थले धानबालीहरूमा बस्ने माछा, झिंगे माछा, गँगटा, भ्यागुता अनि खान योग्य वनस्पति तथा जंगली बोट बिरुवाहरू जस्ता मूल्यवान्‌ भोजनका स्रोतहरूलाई पनि नष्ट गऱ्‍यो। रासायनिक पदार्थहरूको प्रयोगले गर्दा कृषकहरूलाई पनि विष लागेका घटनाहरू घट्‌न थाल्यो।

संयुक्‍त राज्यस्थित ओपन युनिभर्सिटीका जीवविज्ञान विभागका शिक्षक डा. मे-अन-हो यस्तो लेख्छन्‌, “ ‘हरित क्रान्ति’ पश्‍चात्‌ उदय भएको एकबाली प्रणालीले संसारभरिका जैविक विविधता र खाद्य सुरक्षामा असर पारेको कुरा निर्विवाद छ।” संयुक्‍त राष्ट्र संघीय खाद्य तथा कृषि संघका अनुसार एक शताब्दीअघि खेती गरिने वनस्पतिहरूको ७५ प्रतिशत विविधताहरू अहिले नाश हुनुको मुख्य कारण नै औद्योगिक खेतीको अभ्यास हो।

वर्ल्ड वाच इन्स्टिच्युट यस्तो चेताउनी दिन्छ, “आनुवंशिक एकरूपतालाई अपनाएर हामीले निकै ठूलो पर्यावरणीय जोखिम उठाइरहेका छौं।” यस जोखिमलाई कसरी नियन्त्रण गर्न सकिन्छ? कृषि वैज्ञानिक र शक्‍तिशाली रासायनिक पदार्थहरूका साथै कृषकहरूका लागि वित्त व्यवस्थाको प्रबन्ध गर्नु आवश्‍यक छ। यद्यपि, अझै ग्यारेन्टी भने छैन। अमेरिकाका अनाजहरूमा विनाशकारी डढुवा रोग लाग्नु र इन्डोनेसियामा पाँच लाख एकड जमिनका धान नष्ट हुनुको प्रमुख कारण नै आनुवंशिक एकरूपता थियो। यद्यपि, हालैका वर्षहरूमा भने खेतीमा एउटा नयाँ क्रान्ति सुरु भएको छ। यसमा जीवनको आधारभूत एकाइ अर्थात्‌ जीनमा हुने परिवर्तन समावेश छ।

आनुवंशिक क्रान्ति

आनुवंशिक विज्ञानको अध्ययनले जैविक-प्रविधि नामक मुनाफायुक्‍त एउटा नयाँ उद्योगको उत्थान भएको छ। नाउँअनुसारै यसले आनुवंशिक इन्जिनियरिङ जस्ता प्रविधि अपनाएर जीवविज्ञान र आधुनिक प्रविधिलाई मिसाउने काम गर्छ। जैविक-प्रविधि कम्पनीको नाउँले चिनिने केही नयाँ कम्पनीहरू उच्च उत्पादन दिने, रोग, अनावृष्टि र हिमपातसित लड्‌न सक्ने तथा हानिकारक रासायनिक पदार्थहरूको आवश्‍यकतालाई कमी गर्ने नयाँ बीउको आविष्कारमा सक्रियतासाथ लागिरहेका छन्‌। यदि यस्ता लक्ष्यहरू प्राप्त गर्न सकिएमा निकै फाइदाजनक हुने थियो। तर कसैकसैले भने आनुवंशिक इन्जिनियरिङद्वारा उत्पादन गरिएका अन्‍नप्रति चिन्ता व्यक्‍त गरेका छन्‌।

जेनेटिक इन्जिनियरिङ, फुड, एण्ड आवर इन्भारोमेन्ट शीर्षकको पुस्तकले यसो भन्छ, “प्रकृतिमा आनुवंशिक विविधता सीमित हुन्छ। एउटा गुलाफलाई विभिन्‍न जातका गुलाफहरूसित क्रस गरेर नयाँ किसिमको गुलाफ फुलाउन सकिन्छ तर गुलाफलाई कहिल्यै पनि आलुसित क्रस गर्न सकिंदैन। . . . अर्कोतिर, साधारणतया कुनै आवश्‍यक गुण वा स्वभाव सार्नको लागि आनुवंशिक इन्जिनियरिङमा कुनै एक जातको जीन निकालेर अर्को जातको जीनमा सामेल गराइन्छ। यसो गर्नु भनेको, आलु वा स्ट्रबेरीलाई तुसारो निरोधक बनाउन सुमेरुका माछा (जस्तै, फ्लाउन्डर)-बाट तरल पदार्थलाई चिसोले जम्न नदिने रासायनिक पदार्थ उत्पादन गर्ने जीन निकालेर आलु वा स्ट्रबेरीमा मिसाउनु हो। अहिले आएर ब्याक्टेरिया, भाइरस, कीरा-फटेङ्‌ग्रा, जनावर वा मानिसहरूको जीनसमेत वनस्पतिमा मिसाउन सम्भव छ।” a निष्कर्षमा भन्‍नु पर्दा, जाति तथा प्रजातिहरूलाई छुट्याउने आनुवंशिक पर्खाललाई भत्काउन जैविक प्रविधिले मानिसहरूलाई अनुमति दिएको छ।

हरित क्रान्तिले जस्तै ‘आनुवंशिक क्रान्ति’-ले पनि आनुवंशिक एकरूपताको समस्यालाई बढाउन योगदान दिन्छ। कसै-कसैले भनेअनुसार आनुवंशिक क्रान्तिले एकरूपताको समस्यालाई झनै चर्काएको छ किनभने आनुवंशिक विशेषज्ञहरूले क्लोनिङ र टिस्यु कल्चरजस्ता प्रविधिहरूलाई प्रयोगमा ल्याउन सक्छन्‌ र हुबहु नक्कल तयार पार्न सक्छन्‌। त्यसैले, जैविक-विविधतामा हुने हानिप्रतिको चिन्ता यथावत्‌ छ। यद्यपि, आनुवंशिक परिवर्तन गरिएका वनस्पतिहरूले मानिसजाति अनि वातावरणमाथि पार्ने असर जस्ता नयाँ विवादहरू उब्जाएका छन्‌। विज्ञान लेखक जेरामी रिफकिनले यसो भने, “हामी कृषि जैविक-प्रविधिको नयाँ युगमा सम्भाव्य नतिजाको कुनै ज्ञानैविना ठूलो आशा लिएर गन्तव्यविहीन यात्रामा कुदिरहेका छौं।” b

अर्कोतिर, आनुवंशिक स्तरमा जीवनलाई नियन्त्रण गर्न सक्ने शक्‍ति हुनु सुनको खानी हुनु बराबर भएको कारण कम्पनीहरूले नयाँ बीउ र अन्य आनुवंशिक जीवहरूमा आफ्नो स्वामित्व कायम राख्ने प्रतिस्पर्धा गरिरहेका छन्‌। अर्कोतर्फ, बोट बिरुवाहरू नाश हुने क्रम भने रोकिएको छैन। सुरुमा उल्लेख गरिएझैं यो विनाशलाई रोक्न केही सरकारी अनि निजी संस्थाहरूले बीउ बैंकको स्थापना गरेका छन्‌। के यस्ता बैंकहरूले भावी पीढीहरूलाई विविध बीउहरू रोप्न अनि खेती गर्ने मौका दिनेछन्‌?

बीउ बैंकहरू—लोप हुनबाट बचाउन गरिने बिमा?

क्यु, बेलाइतस्थित शाही वनस्पति उद्यानले सहस्राब्दी बीउ बैंक आयोजना सञ्चालन गरेको छ। यसलाई “सबैभन्दा बृहत्‌ अनि कहिल्यै नभएको अन्तरराष्ट्रिय संरक्षण आयोजना” भनी प्रशंसा गरिएको छ। यस आयोजनाको निम्न प्रमुख लक्ष्यहरू छन्‌, (१) सन्‌ २०१० सम्ममा संसारको बीउ हुने वनस्पतिहरू मध्ये १० प्रतिशत अर्थात्‌ २४,००० भन्दा धेरै प्रजातिहरू संकलन एवम्‌ संरक्षण गर्ने र (२) त्यसअघि बेलाइतभरिकै सम्पूर्ण स्थानीय बीउ हुने वनस्पतिहरूको संकलन एवम्‌ संरक्षण गर्ने। अन्य देशहरूले पनि बीउ बैंकहरूको स्थापना गरेका छन्‌, जसलाई कहिलेकाहीं जीन बैंक पनि भन्‍ने गरिन्छ।

जीवविज्ञानी जोन टक्सील भन्छन्‌, बीउ बैंकहरूमा संरक्षित करोडौं बीउहरूमध्ये कम्तीमा पनि ९० प्रतिशत बीउ मूल्यवान्‌ अनि उपयोगी वनस्पति हुन्‌। यसमा गहुँ, मकै, जुनेलो, आलु, प्याज, लसुन, ऊखु, कपास, भटमास, सिमी आदि पर्छन्‌। तर बीउहरू जीवधारी हुन्‌। जति बेलासम्म तिनीहरूको आन्तरिक शक्‍ति हुन्छ ती जीवहरू त्यतिबेलासम्म मात्र बाँच्न सक्छन्‌। त्यसोभए बीउ बैंकहरू कत्तिको भरपर्दा छन्‌ त?

बैंकका समस्याहरू

टक्सीलको भनाइअनुसार बीउ बैंकहरू सञ्चालन गर्न वार्षिक झन्डै ३० करोड अमेरिकी डलर बराबरको खर्च लाग्छ। यद्यपि, यति खर्चले पनि नपुग्नसक्छ, किनकि तिनी यस्तो टिप्पणी गर्छन्‌, “जीन बैंकमा राखिएका १३ प्रतिशत बीउहरूलाई मात्र दीर्घकालीन सञ्चय क्षमता भएको सुविधाजन्य सञ्चयभवनहरूमा राखिएका छन्‌।” किनभने राम्रोसित सञ्चय नगरिएका बीउहरू पछिसम्म रहन सक्दैनन्‌। तिनीहरूलाई सकेसम्म छिटो रोपेर अर्को पुस्ताको लागि बीउ कटनी गर्नुपर्ने हुन्छ; अन्यथा बीउ बैंकहरू मृत बीउहरूको घर बन्छन्‌। निस्सन्देह, यस्ता कामको लागि धेरै जनशक्‍ति अनि खर्चको आवश्‍यकता पर्छ। सुविधाको कुरा पनि आउँछ जसको लागि खर्च छुट्याउनु निकै गाह्रो छ।

सिड अफ चेन्ज—द लिभिङ ट्रेजर नामक पुस्तकमा बताएअनुसार अमेरिकाको कोलोराडोस्थित राष्ट्रिय बीउ सञ्चय प्रयोगशालाले “धेरै कठिनाइहरू झेल्नु परेको छ, जस्तै, विद्युत्‌ आपूर्ति बन्द हुने, चिस्याउने उपकरणहरूले काम नगर्ने कर्मचारीहरूको ठूलो अभाव आदि।” बीउहरू व्यवस्थित तरिकामा नराखिने राजनैतिक उथलपुथल, आर्थिक संकट र प्राकृतिक प्रकोपहरूबाट बीउ बैंकहरू प्रभावित हुन्छन्‌।

लामो समयसम्म बीउ सञ्चय गर्दा अन्य समस्याहरू पनि उब्जन्छन्‌। बोट बिरुवासित प्राकृतिक वातावरणमा पनि आफैलाई अनुकूल बनाउन सक्ने सीमित तर महत्त्वपूर्ण क्षमता हुन्छ र यसले गर्दा रोगहरू तथा अन्य चुनौतीहरूको बावजूद बोट बिरुवाहरू जीवित रहन सक्छन्‌। तर बीउ बैंकको सुरक्षित वातावरणमा सञ्चित बीउ केही पुस्तापछि पर्नसक्छन्‌ र नयाँ पुस्तासित हुनुपर्ने क्षमता नहुनसक्छ। यद्यपि, राम्ररी सञ्चय गरिएका बीउहरूलाई शताब्दीयौंसम्म जोगाउन सकिन्छ। यस्ता सीमितता अनि अनिश्‍चिताहरूको बावजूद, बीउ बैंकहरूको अस्तित्वले खाद्यान्‍नको भविष्यप्रति मानवजातिहरूले निकै चासो राख्दा रहेछन्‌ भन्‍ने कुरा प्रकट हुन्छ।

निस्सन्देह, वनस्पतिहरूको विनाशलाई कम गर्ने सबैभन्दा उत्तम तरिका बोट बिरुवाहरूको प्राकृतिक वातावरणको संरक्षण गर्नु र अन्‍नहरूमा भएको विविधतालाई पुनर्जीवन दिनु हो। तर त्यसो गर्न “हामीले मानव आवश्‍यकता र प्राकृतिक संसारबीच नयाँ सन्तुलन विकास गर्नु” आवश्‍यक छ भनेर टक्सील बताउँछन्‌। यद्यपि, मानिसहरू औद्योगिक तथा आर्थिक उन्‍नतिको पछि जोडतोडका साथ लागिरहेको बेला मानिसहरूले प्राकृतिक संसारसित “नयाँ सन्तुलन विकास” गर्नेछ भनेर सोच्नु कत्तिको व्यावहारिक होला? हामीले थाह पाएअनुसार अत्याधुनिक प्रविधिहरू प्रयोग गरेर कृषि क्षेत्रलाई समेत व्यापारिक स्वार्थ तथा नाफा कमाउने उद्देश्‍यले सञ्चालित ठूलठूला व्यापारहरूमा परिणत गरिएका छन्‌। त्यसैले, यसको समाधान अरू नै केही हुनुपर्छ। (g01 9/22)

[फुटनोटहरू]

a आनुवंशिक रूपमा तयार पारिएको भोजनले मानिस र जनावरहरूको स्वास्थ्यमा पार्न सक्ने सम्भाव्य असरको सिद्धान्त हालसम्म पनि विवादास्पद नै छ। पटक्कै नमिल्ने जीव तत्त्वलाई आनुवंशिक रूपमा मिसाएको कारण कसैकसैले यस विषयमा नीतिगत प्रश्‍न उठाएका छन्‌।—अवेक!, अप्रिल २२, २०००, पृष्ठ २५-७ हेर्नुहोस्‌।

b न्यु साइन्टिस्ट पत्रिकाले दिएको रिपोर्टअनुसार युरोपेली चुकन्दरलाई “एक प्रकारको झारनाशक विषादीसित लड्‌न सक्ने बनाउन आनुवंशिक रूपमा त्यसलाई परिवर्तन गर्न खोज्दा दुर्घटनावश यसको जीन अर्को झारनाशक विषादीसित लड्‌न सक्ने हुन पुग्यो।” दुर्घटनावश आनुवंशिक रूपले अर्कै झारनाशक विषादी विरुद्ध लड्‌न तयार पारिएको चुकन्दरसित पराग-सेचन हुँदा त्यस चुकन्दरमा गलत जीन बढ्‌न थाल्यो। झारनाशक विषादीलाई प्रतिरोध गर्न सक्ने बालीहरूको व्यापक खेती गर्नाले झारनाशक विषादीसित लड्‌न सक्ने शक्‍तिशाली झारको उत्पत्ति हुनसक्ने कुरामा केही वैज्ञानिकहरू त्रसित छन्‌।

[पृष्ठ ७-मा भएको पेटी/चित्र]

कृषकहरू—‘संकटमा परेको जाति’?

खबरपत्रिका वर्ल्ड वाच-अनुसार, “१९५० देखि यता सबै औद्योगिक मुलुकहरूमा कृषि पेसामा संलग्न व्यक्‍तिहरूको संख्या घटेको छ, कुनैकुनै क्षेत्रहरूमा त ८० प्रतिशतभन्दा धेरै घटेको छ। उदाहरणका लागि, संयुक्‍त राज्य अमेरिकामा कृषकहरू कैदीहरू भन्दा पनि थोरै छन्‌। यसरी मानिसहरूले भूमिसितको आफ्नो नाता तोड्‌नुको कारण के हो?

सबैभन्दा प्रमुख तत्त्व आम्दानी घट्‌नु, ऋणमा डुब्नु, गरिबी बढ्‌नु र यन्त्रको प्रयोगमा वृद्धि हुनु हो। सन्‌ १९१० मा अमेरिकामा पसलेहरूले खाद्यान्‍न किन्‍न खर्च गरेको प्रत्येक डलरबाट कृषकहरूले ४० सेन्ट पाउँथे तर १९९७ मा कृषकहरूको भागमा पर्ने रकम घटेर करिब ७ सेन्ट पुगेको थियो। वर्ल्ड वाच-अनुसार गहुँ खेती गर्ने एक जना कृषकले, “उपभोक्‍ताहरूले पाउरोटीमा खर्च गरेको रकमबाट जम्मा ६ सेन्ट पाउने गर्छ।” यसको अर्थ, उपभोक्‍ताहरूले प्याकिङको लागि तिर्ने रकम जति मात्र कृषकहरूले आफ्नो गहुँको लागि पाउने गर्छन्‌। विकासोन्मुख मुलुकहरूमा कृषकहरूको अवस्था झन्‌ दयनीय छ। अस्ट्रेलिया वा युरोपको कृषकले कठिन वर्षहरूमा हर्जा टार्न बैंकबाट कर्जा लिन सक्छन्‌, तर पश्‍चिम अफ्रिकी कृषकले यसो गर्न सक्दैन। यस्तो अवस्थामा ऊ बाँच्न पनि सक्दैन।

[पृष्ठ ७-मा भएको चित्र]

“ ‘हरित क्रान्ति’ पश्‍चात्‌ उदय भएको एकबाली प्रणालीले सारा संसारको जैविक विविधता अनि खाद्य सुरक्षालाई नराम्रो असर पारेको छ।”— डा. मि-आन हो

[स्रोत]

Background: U.S. Department of Agriculture

Centro Internacional de Megoramiento de Maiz y Trigo (CIMMYT)

[पृष्ठ ८-मा भएको चित्र]

बेलाइतस्थित सहस्राब्दी बीउ बैंकले मूल्यवान्‌ वनस्पतिका बीउहरू संरक्षण गरिरहेका छन्‌

[स्रोत]

© Trustees of Royal Botanic Gardens, Kew